बाइकले पानी छ्यापेर निथ्रुक्कै पारिदिएछ बुढो वीरमानलाई । आँखा देख्दैन ऊ । लौरो टेकेर हिंड्छ ।

टोलका केही सज्जनहरूले वीरमानलाई  सडकको केही अनुकूल स्थानमा उभ्याएर रुमालले पानी पुछपाछ पारी दिए ।

वीरमानसँग बाइकवालाको नाममा अझै केही गालीका शब्द बाँकी थिए । ऊ अझै गाली फलाकिरहेको थियो । उसको गालीमा पुरुष लक्षित शब्दहरू थिए ।

कसैले भन्यो, ‘अचेल केटीहरूले पनि बाइक हाँक्छन्, मोटर कुदाउँछन् । केटाले कुदाउने बाइकले मात्र पानी छ्याप्छ त !’

वीरमानले भन्यो, ‘हो; अचेल केटीहरू पनि बाइक हाँक्छन् रे; मोटर कुदाउँछन् रे; सेनामा भर्ती हुन्छ रे; मारामारको युद्धमा सामेल हुन्छन् रे; शरीरलाई चिरफार गरेर अप्रेसन गर्छन् रे । केटीहरू यी सबै काम गर्छन् होला । तर केटीहरू लौरो टेकेर सडक किनारमा हिंडेको बुढो मान्छेलाई पानी छ्याप्न पनि सक्छन्; मलाई यस्तो लाग्दैन ।’

बोली सकेर वीरमान फेरि पुरुष केन्द्रित गाली फलाक्न थाल्यो ।

शायद यतिखेर दसी, प्रमाण र वीरमान आफू होइन; उसको जीवन अनुभव बोलिरहेको थियो ।