उनले मलाई सल्लाह दिए, “कोट सिलाउँदा अलिकति ठुलै सिलाउनू है ।“

किन भनेर सोद्धा, उनले भने, “अलिकति ठूलो भयो भने घटाउन मिल्छ । सानो भयो भने कोट बिग्रिन्छ ।”

मैले भनें, “राम्ररी नापेर जीउमा ठिक्क फिट हुने सिलाउनु पो बरु राम्रो होला ।”

तर उनले जोडदार रूपमा भने, “हैन, हैन, अलिकति ठूलो सिलाउनु पर्छ । पछि घटाउन मिल्छ ।”

मैले भनें, “एक पल्ट सिलाइसकेपछि निश्चित रूपमा फेरि उधारेर सिलाउने जुक्ति मलाई चित्त बुझ्दो लागेन ।”

उनले भने, “किन उधार्नु पर्‍यो त ! ठुलै लाउँदा भैहाल्छ । नत्र पछि घटाउन मन लागेको बेला घटाउँदा हुन्छ ।”

मैले भनें, “जीउभन्दा ठूलो कोट राम्रो हुँदैन । जीउमा मिल्ने लाउँदा पो राम्रो हुन्छ ।”

“होइन, होइन, कोट सिलाउँदा अलिकति ठूलै सिलाउनु पर्छ; बरु पछि घटाउन मिल्छ,” भन्दै उनी आफ्नो जोड-घटाउको सिद्धान्तमा अडिग रहे । उनले आफ्नो विचार बदल्न चाहेनन् ।

यसकारण समाजमा उनी, एक सिद्धान्तनिष्ठ, आस्थावान, बौद्धिक र प्रबुद्ध व्यक्ति कहलिए ।

कोट त मैले मेरो जीउमा ठिक्क मिल्ने नै सिलाएँ, तर समाजमा त्यो मेरो कुनै अडिग विश्वास, विचारधारा वा आस्थाको रूपमा स्थापित हुन सकेन ।