आफ्नो गाउँमा माननीय आउने खबरले गाउँले हर्षित थिए । स्वागतमा बाउसमूह, आमासमूह तयारीका साथ आएका थिए । आफूले भोट हालेर जिताएको माननीयलाई घाँटीमै फूलको माला लगाइदिएर खुसीका कुरा केही र गुनासोका कुरा धेरै  गर्न मन थियो, सबैलाई ।

माननीयज्यू हतारमा देखिन्थे । अझ उनका दायाँबायाँ र पछि-पछि हिँड्नेहरू माननीयभन्दा पनि बढी हतारमा देखिन्थे ।

`ल है, माला हातमा दिम् है !´ माननीयका दायाँबायाँ लागेर हिँड्ने कार्यकर्ताहरू यसो भन्दै थिए । पछि लाग्नेहरू पनि  त्यही दोहोर्‍याउँदै थिए ।

`थाहा पाएको भए माला बनाइन्थेन नि ! फूलको गुच्छा दिइन्थ्यो ।´ बिहानभरि लगाएर दुःख गरी गरी बनाएको माला, माननीयलाई लगाइदिन नपाएकी महिलाको गुनासो यस्तो थियो ।

`माननीयलाई माला लगाउन मन पर्दो रहेनछ कि ?´ त्यही अड्कल काटे, बाउआमाहरूले पनि ।

भोलिपल्ट फेसबुकमा फोटो छ्यापछ्याप्ती देखियो ।

`ल है, माला हातमा दिम् है !´ भन्नेहरूले माननीयका घाँटीमा माला लगाएको दृश्यले फेसबुकको भित्तो भरिएको थियो ।

भोर्लेटार, लमजुङ