असार पन्ध्रको दिन । सहरको कुनै फाइभस्टार होटेलको भव्य हलमा सुकिलामुकिला मान्छेहरूको बाक्लो उपस्थिति थियो । उद्घोषकको उद्घोषसँगै प्रमुख अतिथिका रूपमा पुगेका मन्त्री उठे । धानको बीउ लिएर गमलामा रोपे । गडगडाहट तालीले पुरै हल गुन्जियो ।

“साला चोरहरू ! यहाँ खेतमा पानी छैन । रोप्ने बीउ छैन । मल छैन । यिनीहरूलाई नौटङ्की देखाउनै ठिक्क छ ।” टीभीको दृश्यले उमेश आगो भयो ।

“चोरहरू ? खोइ बाबा  कहाँ छन् ?” बुबाको कुराले ५ वर्षे विपिन अचम्मित भयो ।

“ऊ क्या त टीभीमा हेर न !” शान्त हुँदै उमेशले भन्यो र उठेर खेततिर लाग्यो ।

० ० ० ०

केही समयपछि फेरि चुनावको घोषणा भयो । नेताहरूको  पाउ फर्काउने क्रम जारी थियो ।

“घरमा को हुनुहुन्छ ?” ढोकाको ढकढकसँगै बाहिरबाट आवाज आयो ।

“जा जा बाबु हेर त !” बाउको आदेशसँगै हेर्न गएको विपिन तुरुन्तै फर्कियो ।

“को रहेछ बाबु ?” बाउको प्रश्न खस्न नपाउँदै उसले भन्यो- “चोरहरू !”