
उत्प्रेरणा, उक्साहट, प्रलोभन, आश्वासन जे भन्नुहुन्छ यस्तै यस्तै बहुरङ्ग पोतिएको रङ्गिन सपना साँचेर अमुर्त यात्रामा सिङ्गो यौवन दौडाएकी थिई राममायाले ।
‘ मान्छेको जीवन कर्मको लीला हो ! जस्तो गर्यो त्यस्तै फल पाइन्छ ! ‘ भन्थी ऊ । देश गणतन्त्र प्राप्तिको अन्तिम सङ्घारमा थियो । “केही गर्नुपर्छ मुलुकका निम्ति ” ऊ र उसका थुप्रै युवाजोशमा यही हुटहुटी थियो । त्यही दौरान भेटिएको थियो उसलाई हरिपाल ।
हरिपाल सानोतिनो मुस्कानले हाँस्दैनथ्यो । सधैँ गम्भीर मुद्रामा भेटिन्थ्यो ऊ । एउटा जुग पल्टिनुपर्थ्यो उसको ओठ खुल्न । पहिलो चोटि राममायालाई भेट्दा हाँसेको थियो ऊ । अनि दोस्रो पटक देशमा गणतन्त्र आउँदा हो । जस्तो लाग्छ, फिक्का सम्झना छ उसलाई । त्यसपछि त उनीहरुको जीवनमा रङ्ग भर्छु भन्ने व्यवस्थाकारहरु आफैं रङ्गीन पुगेपछि — उसले आफै डोब मेटेको हो पैतालाले हाँसोको । आशा त्यागेको हो फल प्राप्तिको ।
आजकल, हरिपाल बालुवाका सिङ्गा डल्लाहरू एक्लै फोडिरहन्छ । उसले बोक्ने ढुङ्गाको भारी उसको बाँच्ने हतियार हो । तमाम बिग्रेका ताल्चा खोल्ने चाबी हो उसको पसिना । ऊ खोलाको भित्रसम्म दगुरेको हुन्छ । ‘ सेतो रङ चालेपछि, पहेंलो भेटिन्छ ‘ उसले सुनेको छ ।
परतिर एकहुल युवायुवती फागु पूर्णिमाको भल छोप्न अनुहारमा रातो निलो पहेंलो उमङ्ग बोकेर जोडाजोडी खेल्दैछन् । ऊ तिनीहरूको रूपरङ्गको हाँसो थोरै चोर्छ । मनभित्र घुसार्छ र सम्झिन्छ राममायालाई । धस्छ मन फुकाएर मनको रङ्ग उसको अधरभरी । जो धेरै समय रहन सकिन ऊसँग ।
ड्याम्म आएको आवाज र उसकी राममायाको चिच्याहटले अझै पोलिरहन्छ उसको कान ।
गएरातिको साह्रो रोटी टोक्दै, जब जब उसकी छोरी प्रश्न गर्छे ,” बा ! आमा मरेर के पायौँ हामीले ? ”
ऊ हरेक पटक सरकारी राजपत्र फर्काएर हेर्छ ।
‘ पाना नं ७, रोल क्रम ७५३ , वीर शहीद, कमरेड राममाया मगर, जिल्ला कञ्चनपुर , संघीय गणतन्त्र नेपाल । ‘
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
