कोहलपुर, पुस ५ / बहुविधाका लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित २७ औं कृति ‘सुश्री पारिजात’को हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आख्यान विभागको आयोजनामा स्थानीय कोहलपुर पार्टी प्यालेसमा विशेष कार्यक्रम गरी चर्चा गरिएको छ ।

सो कार्यक्रममा विशेष गरी लेखक प्रेरणाले साहित्य लेखन यात्रा र “सुश्री पारिजात” लेखनका विविध अनुभव प्रस्तुत गर्दै पारिजातको जीवनका विविध पाटाहरूलाई इमान्दारीपूर्वक प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो ।

आफूले पुस्तकमा पारिजातको जीवनका विविध पाटाहरूलाई प्रामाणिक तथ्यहरूको आधारमा प्रस्तुत गर्ने प्रयास गरेको बताउँदै १६ वर्षको अध्ययन-अनुसन्धान र ४ वर्ष लेखन, पुनर्लेखन र प्रकाशनका लागि लागेको बताउनु भयो ।

तत्पश्चात् प्रश्नोत्तर गरिएको थियो । विशेषतः पारिजातलाई “सुश्री“ भन्न किन आवश्यक देखियो, राल्फामा उनको संलग्नता, महत्ताहीन उपन्यासको पृष्ठभूमि लगायतका जिज्ञासाहरू खोपिराम ओली, सागर गैरे, नवीन अभिलाषी, कपिल अन्जान, बद्री ढकाल, पुस्कर रिजालले राख्नु भएको थियो र लेखक प्रेरणाले उत्तर दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नरेन्द्रजंग पिटरले पारिजातसँगका आफ्ना सरसंगतका अनुभव सुनाउनु हुँदै उनी निडर र जुझारू लेखिका भएको, आजीवन अविवाहित भए पनि कुमारी नभएको बताउनु भयो ।

कार्यक्रम हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आख्यान विभागका संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपाने अध्यक्षतामा सम्पन्न भएको थियो ।

‘सुश्री पारिजात’को किताबी यात्रा चितवन, हेटौंडा, इटहरी, इलाम, फिदिम, विर्तामोडपछि कोहलपुरमा सम्पन्न भएपछि यस चरणको किताबी यात्रा पूरा भएको लेखक प्रेरणाले साहित्यपोस्टलाई बताउनु भयो ।