पुस महिना, काठमाडौंको जाडोलाई एउटा च्यातिएको बोराले छेक्ने असफल प्रास गरिरहेको त्यो केटोलाई देख्दा कतिको मनमा दयाको अङ्कुरण हुन्छ । अनि कोलाहलपूर्ण वातावरणमा “च्वच्व…” आवाज थपिन्छ । कसैको दृष्टि स्वचालित मेसिन झैं ऊबाट अर्कैतर्फ मोडिन्छ । कोही पाँच दश पैसा फ्याँकेर उदार र दयावान् बन्न खोज्छन् त कोही धर्म बटुल्ने आशा राख्दछन् ।
ऊ बोरामा बेरिएर सडकको पेटीमा लडिरहेको छ । बोरामा ऊ बेह्रिए झैं ऊभित्र असङ्ख्य व्यथाहरु बेरिएका छन् । जुन व्इथा उसले व्यक्त गर्न सक्दैन, चाहँदैन र व्यक्त गर्न चाहे पनि सुनिदिने कोही छैनन् । हुन पनि उसको व्यथा सुनिरहने चासो कसलाई ?
करिब पाँच वर्ष अघिको उसको जीवन र आजको जीवनमा जमिन आसमानको फरक छ । जीवनचक्रको घुमाइमा ऊ आज सहरको घृणित एवम् उपेक्षित मानव रुपमा बाँचिरहेछ । उसको अन्तस्करणको भावना, ईच्छा, आकांक्षा एउटै छ, ‘बस् एक पेट खान पाउँ’ भन्ने । तर यो चाहना पनि केही दिन अघिदेखि चाहनामै सीमित भएको छ । केही दिन अघिदेखि उसको पेटमा मुस्किलले दुई चौथाई भटमास परेको छ ।
उसका पनि बाबुआमा र घरबार थियो, केही पहिले । उसको बाबुको मृत्यु ऊ सानै छँदा भएको थियो भन्ने कुराको जानकारी उसकी आमाबाट पाएको थियो । बाबुको मृत्युपछि उसकी आमाले उसलाई राम्रोसँग पालेर घरजम गरेर बसिरहेकी थिई । घरबारी, खेत के थिएन ? गाई गोठ, बाख्रा भैंसी सब थिए । तर त्यो त विगतका सपनाहरु याद भए जस्तै हुन्छ । हुन पनि नौ वर्षे बालकले यस्तै उमेरमा देखेका सुनेका कुराहरु यस्तै हुन्छ होला, सायद !
उसकी आमाले छोराको मुख हेरेर मृत पति बिर्सेकी थिई । आफ्नो श्रीसम्पत्ती र छोराको तेजिलो मुहार देख्दा छोराको भविष्य सुनौलो देखेकी थिई । तर यो समाजको भनौं या मानिसको यस्तो स्वभाव हुन्छ कि कसैको एक मानाको बन्दोवस्त भएको वा हुन लागेको फुटेको आँखाले पनि देख्न चाहँदैन । त्यसैले त उसकी आमाको दिवास्वप्न चकनाचूर भयो पत्थरमा परेको काँच जस्तै । अनि उसको भविष्य पनि अन्धकारमय भयो औंशीको रात जस्तै ।
[bs-quote quote=”रानी पोखरीको उत्तरी भाग जहाँका फलामका बारहरु खियाले खाएर जिर्ण भई टुटेका थिए, त्यहीँबाट उसले प्रवेश गर्यो । अनि त्यसपछि शान्तमय वातावरणमा “झ्वाम्म” आवाज गुँजायमान भयो ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=” ‘गोविन्द गिरी प्रेरणा’ ” author_job=”वि.स. २०३४ सालमा खिचिएकाे तस्बिर” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/11/Me-at-2034-.jpg”][/bs-quote]
फागुनको महिना थियो । खेतीको कुनै काम थिएन । एक दिन उसकी आमाले भनी, “बुझिस् चन्द्र, आज तेरो मामाघर जाने !”
मामाघर जान पाउने भएकोमा उसको बालहृदय हर्षले पुलकित भएको थियो । विहान घामको झुल्कोमा घरबाट निस्केकी सूर्य साँझमा पश्चिमतिर लागेपछि माइतबाट बिदावारी भएर फर्कँदै थिई, छोरालाई साथमा लिएर ।
ऊ गाउँको निकट आइपुगी, उसको दृष्टिमा विशाल आगोको ज्वाला पर्यो । उसले सोची, कसको घरमा आगो लागेछ । ऊ जति जति गाउँको निकट बढ्दथी उसको मनमा अज्ञात भय उत्पन्न भएको अनुभव गर्दै थिई । अब उसले प्रष्टै देखी, त्यो बलेको घर अरु कसैको नभई उसैको थियो । डाँको छाडेर रुँदै घरछेउ पुगी । घर आधाभन्दा बढ्ता जलिसकेको रहेछ । भोलिपल्ट घरको ठाउँमा खरानीको थुप्रो थियो ।
केही दिनपछि चन्द्र एक्लै त्यो गाउँमा रुँदै मागेर खाँदै हिँडेको देखियो । एक जना गाउँलेले उसलाई भन्यो , “बुझिस् चन्द्रे, हाम्रा गाउँका ठूलाबाबु साहेबले तेरो भाग्यमा भएको श्रीसम्पत्ती हात लगाए, घर पनि डडाईदिए । तेरी आमाको पनि प्राण लिएर लास बेपत्ता पारे । तँ कसो भएर बाँचिछस् । तँलाई पनि विषको सेलो सम्झेर मार्लान् । एउटाको साथ लागेर कतै जा, यो गाउँमा नबस् ।“
उसले त्यस मानिसले भनेको सबै कुरा सुन्यो तर सबै कुरा बुझेन, बुझ्न सक्ने क्षमता पनि उसमा थिएन । सिर्फ उसले, “एउटाको साथ लागेर कतै जा । यो गाउँमा नबस् ।” भन्ने कुरा चाहिँ बुझयो । र मनमनै यी वाक्य दोहोर्राएर घोकिरह्यो आज्ञाकारी छात्रले गुरुले दिएको पाठ झैं । भाग्यवश एक जना काठमाडौं जाने सिपाहीको साथ लागेर ऊ काठमाडौं आइपुग्यो ।
आकाशतिर हेर्दै हिँडेको एउटा मानिसको खुट्टा उसको जीउमा ठेस लाग्यो । ऊ झसङ्ग भएर झस्क्यो । उसका चङ्ख कर्ण कुहरमा बटुवाको तीखो स्वर पर्यो, “मर्न नसकेका हिर्दोकहरु बाटामा पसारिन्छन् । झण्डै लडेको !”
सायद त्यो बटुवा यसभन्दा पनि बढी केही भन्दै थियो । आवाज मसिनो हुँदै गयो र नसुनिने भयो । उसले उठेर वरिपरि हेर्यो । पाँच पैसा ऊ नजिकै थियो । उसलाई लाग्यो त्यो पाँच पैसाले उसको उपहास गरिरहेछ । ऊ विस्तार उठ्यो । जाडोले उसको मुटु काँपिरहेको थियो । के सुर चल्यो कुन्नि ? झोंक्कैले त्यो पाँच पैसालाई सडक पारी पुग्ने गरी झटारो फ्याँक्यो । सायद सन्तुष्टि आभाष भयो क्यारे उसलाई, लामो सास फेर्यो ।
“बाँच्नैको कुरा गर्ने हो भने गल्लीका कुकुर पनि त बाँचेकै छन् नि !” ऊ जुरुक्क उठ्यो ।
बिजुलीको प्रकाशमा च्यातिएको बोरा ओढेको, जिङरिङ्ग कपाल अनि मैलो अनुहारको आकृति स्पष्ट देखिन्थ्यो । ऊ सरासर रानी पोखरीतिर बढ्यो, जसरी कुनै मानिस जरुरी कामले लम्कन्छ । ठूलो साँझ परिसकेको थियो । मानिसको त्यति आवतजावत् थिएन, कम भइसकेको थियो ।
रानी पोखरीको उत्तरी भाग जहाँका फलामका बारहरु खियाले खाएर जिर्ण भई टुटेका थिए, त्यहीँबाट उसले प्रवेश गर्यो । अनि त्यसपछि शान्तमय वातावरणमा “झ्वाम्म” आवाज गुँजायमान भयो ।
यो दृष्य हेर्न कठिन लागेर होला । चन्द्रमाले बादलको घुम्टो ओढेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।