मेरा समकालीन मित्रहरू, दौंतरीहरु प्रायः सबै तीसका दशकदेखि मित्रताको सूत्रमा बाँधिएका हुन् । नवराज कार्की पनि तीसको दशकमै मित्र मण्डलीमा गाँसिएका हुन् । उनी पोखराबाट काठमाडौं आएका हुन्, यद्यपि उनको जन्मघर भने पोखरा थिएन । काठमाडौं आउनुअघिको बिसौनीस्थल थियो पोखरा जहाँ उनको साहित्यिक लेखन क्रमशः फस्टाउँदै थियो ।

navaraj karki

नवराज कार्की

काठमाडौंमा नवराजसँग मेरो मित्रताको डोरी बलियो बनाएको अशेष मल्ललाई नाटककारको रुपमा ख्याति दिलाउने उनको नाटक “सडकदेखि सडकसम्म”ले हो । यो नाटकमा हामी दुवै कलाकार थियौँ । त्यो नाटकमा सबैजसो साहित्यकार कलाकार थिए । कतिपय त खासै अभिनय गर्नु नपर्ने बटुवाको रुपमा मञ्चको एकातिरबाट प्रवेश गरेर अर्कोतिरसम्म हिँड्ने मात्र थियो । तर नवराज र मेरो राम्रै भूमिका थियो । समानान्तर संवाद हुँदा आधा समय मुक अभिनय र आधा समय आवाजसहित संवाद बोल्ने । प्रयोगात्मक नाटक जो थियो ।

नाटकको कार्यक्रम सकिएपछि, नाटक मञ्चन नहुँदा पनि हाम्रो भेटघाट चलिरह्यो । उनी त्रिभुवन विश्वविद्यालयको मानविकी डिन कार्यालयमा सहायक प्रशासक थिए, मचाहिँ केन्द्रिय कार्यालयको लेखापरीक्षण शाखामा लेखापाल थिएँ । अफिसियल काम हाम्रो खासै पर्दैनथ्यो । तर आक्कल झुक्कल भेट हुन्थ्यो ।

एकदिन उनले दिउँसो आफ्नो डेरामा बोलाए । उनी त्यतिबेला होटल इडेनको सामुन्नेको गल्ली जहाँ जोर गणेश छ त्योभन्दा अलि परको होटल इडेनतिरै फर्केको घरमा बस्थे, डेरामा । म पुगेपछि केहीबेर हामी कुराकानीमा लाग्यौँ । उनको कोठाको भित्तामा राजा वीरेन्द्र र माओत्से तुङले हात माएको रङ्गिन फोटो फ्रेम हालेर झूण्ड्याएका रहेछन् ।

त्यो फोटो देख्ने बित्तिकै चिनेँ मैले । त्यो फोटो मसँग पनि थियो । राजा वीरेन्द्र चिनको राजकीय भ्रमणमा जाँदा माओत्से तुङसँग भेट्दाको फोटो थियो । त्यो त्यतिबेला भोटाहिटीको वैद्यको किताब पसलमा पाइने चिन सचित्रमा छापिएको थियो । त्यतिवेला चिन सचित्र सुपथ मूल्यमा पाइन्थ्यो । अक्सर चिन सचित्र किताब कापीमा जिल्दा हाल्ने काममा प्रयोग हुन्थ्यो । म पनि त्यही प्रयोजनका लागि किन्थेँ । अनि मैले राजा रानीको फोटो छापिएको पानाको कटिङ जतन गरी राखेको थिएँ । शौखले । रमाइलोको लागि । जुन मेरो काठमाडौंको नीजि पुस्तकालयमा अझै पनि छ । नवराजले फ्रेममा राखेको फोटो त्यही नै थियो ।

त्यो फोटोतिर मेरो आँखा अल्झिएको देखेपछि नवराजले भने, “गोविन्द ! मलाई यी दुई राजनेताप्रति अति आदर र सम्मान छ, त्यसैले फ्रेम हालेर राखेको !”

भर्खर एक महिना बढी बहुदल र प्रजातन्त्रको लागि सडक कविता क्रान्तिमा भाग लिएको म उनको कुराले झसङ्ग भएँ । मैले क्यै पनि भनिनँ । बरु त्यति नै बेला भाउजुले खाजा ल्याउनुभो, चिउरा, आलुको तरकारी र अचार । अनि हामी खाजा खानतिर लाग्यौँ ।

खाजा खाइसकेपछि मैले प्लेट पर सारेँ ।

नवराजले भने, “गोविन्द ! यो किन छोडेको ? सबै खाऊ ! यसरी छोड्नुहुन्न ।”

म झस्किएँ । मैले आलुको एक टुक्रा र अलिकति च्यूरा प्लेटमा छोडेको थिएँ । त्यसरी छोड्ने एक प्रकरको प्रचलन थियो । विशेष गरी पाहुनाले त अलिकति अनिवार्य जस्तै छाड्ने गर्थे । चाटी चुटी खाए, कस्तो दरिद्र रहेछ भनेर कुरा काट्लान् भन्ने हुन्थ्यो होला शायद । तर नवराजको मित्रवत् आदेशले म झस्किएँ । साँच्चै भन्ने हो भने त्यसपछि मैले त्यसरी खाना जानी जानी छाड्नै बन्द गरेँ । त्यो मेरा लागि पाठ भयो, शिक्षा भयो, एक प्रकारको चेतावनी भयो ।

नवराजले लाजिम्पाटमा फलफूलको दोकान राखे । दोकान निकै चल्यो । त्यतिबेला लाजिम्पाटमा त्यस्ता फलफूल दोकान खासै थिएनन् । फेरि त्यो इलाका कुटनैतिक नियोगहरु भएको, अलि इलिट वर्ग बस्ने ठाउँ भएकाले थोरै समयमै उनले पसलबाट राम्रो आम्दानी गरे र जग्गासमेत जोडे । बेलाबेलामा भेट हुँदा उनी मेरो दोकानमा फलानो एम्बेसीको मान्छे आएको थियो भनेर गर्वका साथ भन्थे ।

पछि उनी विश्वविद्यालयमा प्रशासन सेवाबाट शिक्षणतिर लागे । सुरुमा अस्थायी सहायक प्राध्यापक भए पनि स्थायी हुँदा उनी एक तहमाथि उपप्राध्यापक भए । उनीसँगैका अशेष मल्ल र विष्णुविभू घिमिरे सहायक प्राध्यापक भए । साथीहरु छक्क परे । त्यसमा खास कारण के थियो, थोरैलाई मात्र थियो ।

नवराज मूलतः कवि हुन् । कविता नै उनको मूल लेखन रह्यो सदा । कविताका विविध उपविधामा पनि उनी उत्तिकै सिर्जनशील थिए र काव्यिक व्यङ्ग्य रचना उनको अर्को उनको बलियो रचनात्मक पक्ष हो । उनी समालोचक होइनन् । उनको समालोचनाको कुनै कृति कहिल्यै देखिएन, सिवाय यौटा समालोचना लेख । त्यो समालोचना लेख “गरिमा” मासिकमा प्रकाशित भएको थियो । त्यो बाहेक अरु समालोचनात्मक लेख मैले देखेको याद छैन । गरिमाको त्यो समालोचना लेख पनि कतिको नजरमा पर्यो, या कतिले अहिले याद गर्छन्, त्यो पनि भन्न सकिँदैन ।

हो, त्यही समालोचनात्मक लेखले नै उनलाई उपप्राध्यापक बनाएको थियो ।

नवराज मानविकी डिन कार्यालयमा काम गर्ने हुनाले उप प्राध्यापकमा सोझै कसरी लड्न पाइन्छ, बुझेका थिए । कुनै अनुसन्धानात्मक लेख रचना प्रकाशित भएको प्रमाण पेश गरे सोझै उप प्राध्यापकमा लड्न पाइने नियम बुझेर सोही प्रयोजनका लागि उनले सो समालोचना लेखेर छपाएका थिए । र त्यो समालोचनाले “अनुसन्धानात्मक लेख” को काम गर्यो, उनी उप प्राध्यापक भए । यो कुराको ज्ञान सबैलाई थिएन ।

अशेषले पछि मसँग “नवराजले त्यति पनि भनेन” भनेर चित्त दुखाएका थिए ।

एकातिर प्राध्यापनको काम । अर्कोतिर पसल । नवराजलाई फुरेको कविता पनि लेख्न समय नहुने अवस्था हुन थाल्यो । अनि एकदिन उनले फलफूल पसलको व्यापारलाई अन्त्य गर्ने मन बनाए । दोकान बेचियो । यौटा घनघोर व्यस्तताबाट मुक्ति पाए ।

तर दोकानबाट मुक्ति लिए पनि उनले यौटा नयाँ योजनामा हात हाले । त्यो थियो साहित्यिक पत्रकारिता । किशोर उमेरका पाठकलाई लक्षित “किशोर” पत्रिकाको सम्पादन प्रकाशनको थालनी । उनले निकै उत्साहकासाथ आकर्षक ढङ्गले किशोरको प्रकाशन थाले पनि उचित बजारीकरण हुन सकेन । साहित्यिक पत्रिकालाई विज्ञापन माग्नु त भिखारीले भिख मागे जस्तै हो नेपालमा । घाटामाथि घाटा सहँदै ४, ५ वर्ष चलाए र त्यसबाट पनि मुक्ति लिए ।

साहित्य लेखनमा भने उनको कलम चलायमान नै रह्यो । वि.सं. २०३८ सालको कविता महोत्सवमा उनी पुरस्कृत भएका थिए । तर कवि गोष्ठीहरुमा र साहित्यिक पत्रपत्रिकामा उनको उपस्थिति भने कम बेसी निरन्तर नै थियो ।

उनको “राजा” शीर्षकको कविता निकै चर्चित थियो । कविताको उच्च मूल्य, प्रतिकात्मकता र बिम्बकाे सफल प्रयोग थियो त्यसमा । तर पनि त्यो राजाको गुणगान नै थियो ।

नवराजको कविताले हास्य व्यङ्ग्य चेतलाई बढी आत्मसात गर्दथ्यो । त्यसैले उनी बर्सेनी आउने गाईजात्राको अवसरमा एकेडेमीले आयोजना गर्ने गाइजात्रा महोत्सवमा हाँस्य व्यङ्ग्य कविका रुपमा भाग लिन्थे । उनले वि.सं. २०३७, २०३८ र २०३९ तीन साल लगातार सर्वोत्कृष्ट हाँस्यव्यङ्ग्य कविताको पुरस्कार पाएका थिए । पुरस्कार त आफ्नो ठाउँमा छँदै थियो, महोत्सव हप्ता दस दिन, दुई हप्ता चल्थ्यो र नियमित महोत्सवभरि कविता प्रस्तुत गर्दा पाइने दामासाहीको पारिश्रमिक निकै आकर्षक हुन्थ्यो । त्यतिबेला साझा प्रकाशन वा एकेडेमीले प्रकाशन गरेको किताब बापत पाइने रोयल्टी भन्दा यौटा कविताले पाउने पारिश्रमिक बढी हुन्थ्यो । एक प्रकारले दशै आएजस्तै हुन्थ्यो हाँस्यव्यङ्ग्य कलाकार र थोरै कविलाई पनि । त्यो थोरै कविमा नवराज पनि थिए ।

त्यस्तै युव कलाकार समूह “YAG” को वार्षिक प्रकाशन “भाँडभैलो” जुन वर्षेनी गाईजात्राको बेला प्रकाशन हुन्थ्यो, गाईजात्रा विशेषाङ्कको रुपमा, त्यसमा पनि नवराजको संलग्नता थियो सल्लाहकार सम्पादक एवम् स्तमभकारको रुपमा ।

हुन त नवराजले थोरै तर तत्कालीन समयमा लेख्ने राम्रा कथाकारकै समकक्षमा कथा लेखेका हुन् । मधुपर्क लगायतमा प्रकाशन भएका पनि हुन् । उनले लघुकथा पनि लेखेका हुन्, प्रकाशित भएका हुन् । तर उनले कथा एवम् लघुकथा पनि लेख्थे भन्ने तथ्य कति समीक्षक समालोचकलाई हेक्का छ, मलाई थाहा छैन । स्वयम् नवराजलाई पनि हेक्का छ कि छैन त्यो पनि थाहा छैन । तर मलाई विसं. २०३८ साल साउनको मधुपर्कमा प्रकाशित “थर” शीर्षकको कथा अझै पनि याद छ ।

अनि यौटा लघुकथा पनि म बिर्सन्न जुन कुनै गोजिका पत्रिकामा प्रकाशित थियो । त्यो लघुकथाको सार थियो, यौटा पर्यटकले हिमाल हेर्दै नेपाली भरियालाई भन्छ, म यो हिमाल हेरेर कहिल्यै अघाउन्न । अनि भरियाले पनि भन्छ, हो साप, म पनि अघाउन्न, त्यसैले त तपाईंको भारी बोकिरहेको छु । साह्रै घतलाग्दो, चोटिलो र व्यङ्ग्यपूर्ण यस्ता लघुकथा आजकाल खासै लेखिँदैनन्, धेरै लघुकथाकारले असङ्ख्य लघुकथा लेखे पनि ।

तर नवराज स्वयंले आख्यान विधालाई नै माया मारिदिए ।

समयले नवराजलाई साझा प्रकाशनको महाप्रबन्धकको कुर्सीमा पुर्यायो ।

त्यसको पनि कथा छ ।

वि.सं. २०५९ सालको साझा प्रकाशनको सञ्चालक पदका लागि शेयर होल्डरका तर्फबाट प्रतिनिधित्व गर्ने ३ स्थानका लागि भएको निर्वाचनमा विनय रावल, राजेन्द्र पराजुली र नवराज कार्की निर्वाचित भए । यो रमाइलो नतिजा थियो, तीन विचारधाराका शेयर होल्डरहरुको प्रतिनिधित्व भएको थियो ।

यो चुनाव यस्तो बेलामा भएको थियो, जुन बेला साझा प्रकाशनको अध्यक्षमा नकुल सिलवाल र महाप्रबन्धकमा म आकाङ्क्षी भएर तत्कालीन प्रधानमन्त्री साहित्यकार लोकेन्द्रबहादुर चन्दसँग कुरा चलाइरहेका थियौँ । नकुलजी र म प्रधानमन्त्री कार्यालय सिंह दरबार गएर हामीले कुरा राखेका थियौँ र उनले “हुन्छ, भैहाल्छ” भनेका थिए । प्रकृयागत हिसाबले भने सञ्चालक समितिले नियुक्तिको लागि बहुमतले प्रस्ताव पारित गर्नुपर्थ्यो । तर प्रधानमन्त्रीले चाहेपछि नहुने कुरा थिएन ।

तर अध्यक्षमा अचानक क्षेत्रप्रताप अधिकारी नियुक्त भएपछि हामी जिल्लाराम भएका थियौँ । नकुलले आकाङ्क्षा राखेको पद अब रिक्त थिएन । राजा ज्ञानेन्द्रको शासन काल थियो । क्षेत्रप्रतापले भनेका थिए, “म मेरो राजनैतिक भाग तलमाथि नहुने गरी आएको हुँ ।”

क्षेत्रप्रताप अधिकारी अध्यक्षमा नियुक्त भैसकेपछि अब बाँकी भएको महाप्रबन्धक पदमा नकुलजी र मेरो सहमतीअनुसार मलाई उनले सहयोग गर्ने बेला थियो, तर सहमति विपरित नकुलजी आफैं महाप्रबन्धक पदका लागि आकाङ्क्षी भएपछि हामी बिच “मिस अण्डरस्ट्याण्डिङ” पैदा भयो । धेरैले हामीलाई मिलेर एकजना अघि बढ भन्ने सल्लाह सुझाव दिएका थिए, तर त्यसो हुन सकेन । नवराजले चुनाव जितेपछि रणमुक्तेश्वर अगाडिको यौटा चिया पसलमा मैले निम्तो गरेर खाजा खाँदै मेरो आफ्नो इच्छा दर्शाएको थिएँ र नवराजले पनि तिमीहरुको सल्लाह मिलाऊ पहिला भनेर सुझाव दिँदै भने, “मलाई त त्यहाँ जानु छैन, के भो र !”

क्षेत्रप्रताप अधिकारीले म अर्को कृष्णचन्द्र सिंह प्रधानको खोजीमा छु, आफ्नो बायोडाटा ल्याउनोस् भने र मैले दिएँ पनि । अरुहरुले पनि दिए ।

त्यसै बिच गोरखापत्रमा यौटा विज्ञप्ति प्रकाशित भयो, जसमा २०४६ सालपछिको बहुदलवादी कालखण्डलाई “कालरात्री” को संज्ञा दिइएको थियो । त्यसरी बहुदलको कालखण्डलाई “कालरात्री”को संज्ञा दिँदै विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुको सिरानमा क्षेत्रप्रताप अधिकारीको नाम थियो र अरु हस्ताक्षर गर्नेहरुमा नवराज कार्की पनि थिए । त्यतिबेला नयाँ सडक पीपलबोट वरिपरि चिया पिउने जमातका विमल निभा, पुरुषोत्तम सुवेदीहरुले नकुल र तपाईंको नाम किन त्यो विज्ञप्तिमा आएन भनेर निकै व्यङ्ग्य गरेका थिए ।

र केही समयको अन्तरालमै साझा प्रकाशनको सञ्चालक समितिले नवराजलाई महाप्रबन्धकको रुपमा नियुक्त गर्यो र नियुक्तिको लगत्तै उनले सञ्चालक पदबाट राजिनामा गरेर सुझबुझपूर्ण काम गरेका थिए । साझा प्रकाशनमा उनले वि.सं. २०६० देखि २०६२ सम्म तीन वर्ष महाप्रबन्धकको रुपमा काम गरे । तर कार्यकालको अन्ततिर साझा प्रकाशनमा उनका लागि “प्रिय समय” नभएर बहिर्गमन भयो भन्ने समाचार सुन्दा नमज्जा लाग्यो । यो विषयमा मैले नवराजलाई कहिल्यै सोधिनँ । अप्रिय कुरा किन सोध्नु भन्ने लाग्यो ।

नवराजले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिए । तर उनले शिक्षण पेशालाई त्यागेनन् । “सिर्जना कलेज अफ फाइन आर्टस्” को उनी संस्थापक शिक्षकहरुमध्ये एक हुन्, उनले सो कलेज स्थापनाका लागि २ वर्ष निशुल्क भए पनि अध्यापन गर्नेछु भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए, जुन नभई कलेज स्थापना हुन सक्दैनथ्यो । त्यो कलेजका अरु संस्थापकहरुमा शशी शाह, कृष्ण मानन्धर, उत्तम खरेल लगायत थिए ।

तर समयले उनलाई नेपाल बाहिर पुर्यायो । सुरुमा उनी अमेरिका आए । त्यसपछि अष्ट्रेलिया पुगे र फेरि लामै समयदेखि उनी अमेरिकामै छन् र अमेरिकालाई कर्मभूमिका रुपमा स्वीकारेका छन् । तर अष्ट्रेलिया पुगे पनि, अमेरिका बसे पनि साहित्य लेखनप्रतिको उनको प्रतिबद्धता, निष्ठा र निरन्तरतामा कमी आएको छैन । उनी सामाजिक सञ्जालमा व्यङ्ग्यपूर्ण मुक्तकहरु नित्य निरन्तर पस्किरहेका हुन्छन् । अष्ट्रेलिया, अमेरिका दुवै देशमा उनले एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेका छन् ।

पछिल्लो समयका मुक्तकहरुको सँगालो पनि प्रकाशित भएको छ ।

यौटा साहित्यकारका लागि उसको भूमि भनेको उसको मातृभाषाको सिर्जना हो, रचना हो, भाषा प्रेम हो, साहित्य प्रेम हो । त्यसलाई नवराजले निष्ठापूर्वक निरन्तरता दिएका छन् ।

आकाश पुगे पनि पाताल पुगे पनि साहित्यकारले गर्ने भनेको उसको जन्मभूमिको अक्षर पूजन नै त हो !