सन् १९६१ को साहित्यतर्फको नोवेल पुरस्कार प्राप्त गरेर आफ्नो यश र सम्मानको साथै राष्ट्रको शीर उँचो राख्ने साहित्यकार हुन् – इवो आन्द्रिक । उनको जन्म १० अक्टोवर १८९२ मा ट्राभ्निक नजिकै वोस्नियाको डोलाकमा भएको थियो । उनका पिताको नाउँ अन्तुन आन्द्रिक तथा माताको नाउँ क्याटेरिना पेजिक आन्द्रिक हो ।
उनका पिता गरिब थिए र उनी २ वर्षको छँदो नै परलोक भए । त्यसपछि उनीहरु भाइसग्रेडमा बसाईं सरे । उनकी आमा कडा मिजासकी क्याथोलिक थिइन् । इवो आन्द्रिक जन्मले क्रोयट भए पनि रुचिले पछि सर्व भए । उनले माध्यमिक तहको शिक्षा बोस्नियाको राजधानी सरायभोमा प्राप्त गरे । त्यसपछि दर्शनशास्त्र र इतिहास अध्ययनको लागि जाग्रेव, भियना र क्राकाउ गए ।
उनी तन्नेरी हुँदै माडावोशा नाउँको संगठनसँग संलग्न भए जुन यस्तो सङ्गठन थियो – जसले एष्ट्रोहङ्गेरियन शासनबाट स्वतन्त्रता चाहने दक्षिणी देशभक्त दासहरूलाई एक सूत्रमा बाँध्ने काममा आफ्नो ध्यान केन्द्रित गर्दै थियो ।
यतिन्जेलसम्म उनले फुटकर निबन्ध र कविताहरु प्रकाशित गरिसकेका थिए । उनले वाल्टहिटमैनलाई पनि अनुबाद गरिसकेका थिए । सन् १९२० मा उनको कवितासङ्ग्रह “नेमिरी” र एउटा कथा प्रकाशित भएको थियो । यसबीच प्रथम विश्वयुद्ध शुरु भयो र उनी गिरफ्तार भए तथा उनलाई तीन वर्षको जेल सजाय तोकियो । जेलको शारीरिक अवस्थाले उनलाई दोस्तोयब्स्की र किर्केगार्द पढायो र त्यसको अमिट छाप उनमा पर्यो ।
डर दुःख र अनिश्चितताले उनको लेखनलाई लगाम लगायो जुन उनको गद्य र कविता एक्स्पण्टो र नेभीरोमा यसरी अङ्कीत छ – “पीडाभन्दा अर्को सत्य केही छैन, दुःखभन्दा अर्को वास्तविकता केही छैन, पानीको प्रत्येक थोपा, घाँसको प्रत्येक पात, प्रत्येक सास फेराइ, निद्रा र बिउँझो, जीवनअघि र सम्भवत जीवनपछि पनि !”
उनी भन्छन् –“ती वर्षहरुमा म आन्तरिक रूपले बढेँ ।”
सन् १९१८ मा उनी एउटा साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा सामेल भए । यसको साथसाथै ग्राज विश्वविद्यालय अष्ट्रिलियाबाट उच्च शिक्षा पूरा गरे । उनले सन् १९२३ मा डाक्टरेटको उपाधि प्राप्त गरे –“बोस्नियाली बुद्धिजीवीको जीवन तुर्की शासनको शताब्दीमा” विषयमा । त्यही वर्ष उनले कुटनैतिक सेवामा प्रवेश गरे ।
उनले सन् १९२० देखि नै लगातार लेख्न थालेका हुन् । उनले गद्य लेखनको खातिर पद्य लेखनलाई यसैबीच त्यागिदिए र कथा एवं उपन्यासहरूमा एकोहोरिए । उनको लेखनको केन्द्रीय विषय बोस्नियाका जनता र तिनीहरुको अँध्यारो इतिहास थियो र छिटै नै उनी–“युगोस्लाभियाका कथाकारहरुमा श्रेष्ठ” साबित भए ।
सन् १९३० मा उनको कुटनैतिक व्यस्तता बढ्यो र साहित्यिक लेखन घट्यो । सन् १९४१ मा उनी जर्मनीका लागि युगोस्लाभियाका मन्त्रीका रुपमा बर्लिन प्रस्थान गरेको केही घण्टापछि नै जर्मनहरुले बेलग्रेडमा धावा बोले ।
जर्मनले अधिपत्य जमाउन्जेल उनी नजरबन्द गरिए, बेलग्रेडको एउटा एपार्टमेण्टमा । र यो समयलाई उनले लेखनमा समर्पित तुल्याएर सदुपयोग गरे । बेलग्रेडमा बमबर्षा हुँदा आफूले झ्याल बाहिर जनता भागाभाग गरिरहेको दृष्यलाई यसरी उतारेका छन् – “तिनीहरु सबै आफ्नो ज्यान जोगाउने, बालबच्चा जोगाउने, प्रयासमा थिए । मलाई त केही जोगाउनु थिएन आफ्नो जिन्दगी सिवाय र मैले यो ज्यान जोगाउन दौड्नु मानवीय स्तरभन्दा तल्लो कुरा थियो ।”
यी बर्षहरुको साहित्यिक उपलब्धी “बोस्निया ट्रिलोजी” हो । उपन्यास त्रयी । यिनमा पहिलो उपन्यास थियो – “द्रिनामाथिको पुल” । यो कृति बोस्नियाको साँढे तीन शताब्दिको जनजीवनको दस्तावेज हो जुन सन् १९१४ मा समाप्त हुन्छ । यसमा द्रिना नदीलाई यस्तो प्रतीकको रुपमा प्रयोग गरिएको छ जसले बोस्निया र सर्भियालाई, पूर्व र पश्चिमलाई, विगत र वर्तमानलाई प्रतिनिधित्व गर्दछ । यसैले एउटा लामो इतिहासको कालखण्ड प्रस्तुत गर्दछ ।
केही समीक्षकहरुले यो कृतिमाथि आरोप लगाए – यो उपन्यासभन्दा बढी कथाहरुको एउटा चक्र हो । तर उनले भने – “यो सलल बगेको छ, विकसित हुँदै गएको होइन । यो वास्तवमा जीवनकै ढाँचा पनि हो,”। इगोन होस्तास्कीले भने – “यो न तोत्सातोयको ‘मोनुमेण्टल’ शैली हो न तुर्गेनेभको कवितात्मकता ।”
स्टोयन क्रिस्टोवले लेखे –“यो उपन्यासले आफ्नै स्वरुप सिर्जना गरेको छ । यो त्यहीँको माटोमा हुर्किएको मौसम झैं रचना गरिएको छ र यो राष्ट्रिय जनजीवनको ब्यालेझैँ भएको छ ।”
उनलाई सन् १९६१ मा नोवेल पुरस्कार पुरस्कारको घोषणा गर्दै भनियो –“यो पुरस्कार उनलाई मानवीय मूल्य र मान्यता आफ्नो राष्ट्रको इतिहासको सन्दर्भमा शक्तिशाली तवरले प्रस्तुत गरेबापत” प्रदान गरिएको हो ।
द ब्रिज अन द द्रिना उनको सबैभन्दा प्रख्यात उपन्यास हो । उनलाई नोवेल पुरस्कार दिलाउने श्रेय यही उपन्यासलाई दिइन्छ । यसमा सन् १५१६ देखि १९१४ सम्मको बोस्नियाली इतिहासलाई अङ्कित गरिएको छ ।
विशेष गरी बोस्नियाली उपन्यासत्रयीमा उनले ‘द्रिनामाथिको पुल” मा द्रिना नदीको परिवेशमा सोह्रौं शताब्दीको इतिहास र जनजीवनलाई प्रस्तुत गरेका छन् । त्यस्तै उनका ‘बोस्नियाली कथा ‘र’ सरायभोकी महिला’ कृतिहरुमा पनि उनले सफलतापूर्वक आफ्नो लेखन शक्ति देखाएका छन् ।
यस उपन्यासका विषयमा सोही उपन्यासका अङ्ग्रेजी अनुवादक लोभेट एफ एडवार्डले भनेका छन्, “परम्परागत हिसाबले द ब्रिज अन द द्रिना उपन्यास शब्दमा अटाउँदैन । यसको फैलावट विस्तृत छ । यसका पात्रहरु असङ्ख्य छन् । यसको कालखण्ड लामो छ । यो साँढे तीन शताब्दीसम्म फैलिएको छ । आन्द्रिकले यसलाई ईतिवृत्त मानेका छन्, हामी यही शब्दलाई सकारौं ।“
उनले नोवेल पुरस्कार पाएपछि पनि पुरस्कार र सम्मानहरु प्राप्त गरे । सन् १९६४ मा युनिभर्सिटी अफ जागिएलोनियन र सन् १०७२ मा युनिभर्सिटी अफ बेल्ग्रेडले मानार्थ डक्टरेटको उपाधिले सम्मान गरे । सन् १९६९ मा वोस्निया हर्जगोभिना एकेडेमीले मानार्थ सदस्यता प्रदान गरेको थियो ।
उनलाई फ्रान्सेली आलोचकहरुले “युगोस्लाभियाका टल्सटाय” को उपमा दिएका थिए ।
इवो आन्द्रिकले एउटा कथा लेखेका थिए – ‘सन् १९२० को चिठी’ । त्यसमा उनले भनेका थिए –“ बोस्निया डर र घृणाको देश हो ।” नब्बेको दशकमा आएर त्यही भयो । यो एउटा प्रेम पत्र हो – उदास प्रेम पत्र, विभाजित देशको लागि उनले लेखेका थिए “शायद तिम्रो सबैभन्दा ठूलो त्रासदी यही हो – तिमी तिम्रो प्रेम पछि कति घृणा लुकेको छ पत्तै पाउन्नौ ।”
आन्द्रिक आजपर्यन्त पुल निर्माताको रुपमा प्रतिष्ठित छन् – दुई विभाजित विश्वको पुल, यूरोप र ओरियण्ट बीचको पुल । यही नै त थियो उनको ‘द्रिनामाथिको पुल’ को विषयवस्तु ।
आन्द्रिकका कथाहरु कैयौं अर्थमा रक्त पिपासु देखिन्छन् । तिनीहरुले देखाउँछन् वाल्कानहरु कति थिए ठूला साम्राज्यहरुको चेपमा, सुल्तान र कन्स्तान्तीनोपोलको बीचमा, सेण्ट पिटर्सवर्गको जार र भियनाका सम्राटका बीचमा !
इवो आन्द्रिक एक परदेशी झैं रहेका छन् । उनले गहिराइसम्म पुगेर दृष्टि दिएको कुरालाई प्रसंशा नगरी रहन सकिँदैन ।
आन्द्रिकले निकै ढिलो बिहा गरे । सन् ७ सेप्टेम्बर १९५८ मा आफूभन्दा १८ वर्ष कान्छी सर्वियाको नेशनल थिएटरकी पोशाक डिजाइनर मिलिसा वाविकसँग । त्यतिबेला आन्द्रिक ६५ वर्षका थिए र मिलिका ४७ वर्षकी ।
खासमा मिलिसा आन्द्रिकका सहकर्मीकी पत्नी थिइन् । उनीहरु बीच मित्रता भयो र कतिबेला त्यो मित्रता प्रेममा परिणत भयो, उनलाई थाहै भएन ।
आन्द्रिकले करिब ३ दशकसम्म मिलिसालाई पर्खिए । जब सन् १९५७ मा उनको लोग्नेको मृत्यु भयो, तब उनीहरूले बिहा गरे । त्यसअघि उनीहरु प्रमालापपूर्ण पत्राचार गरिरहेका थिए । फोनमा कुरा गरिरहेका थिए । उनीहरुले १० वर्ष सुखद दाम्पत्य जीवन बिताउन पाए ।
उनकी पत्नीको मृत्यु सन् १९६८ मा भयो र त्यसपछि उनले सामाजिक गतिविधि बन्द गरे र उनको जीवन ऐकान्तिकतामा बित्न थाल्यो ।
आन्द्रिकले नोवेल पुरस्कारबाट प्राप्त प्राय: सबै रकम २ पल्ट गरी बोस्निया र हर्जगोभिनाका पुस्तकालयका लागि दान गरेका थिए ।
उनको मृत्यु मष्तिष्कघातका कारण ८२ वर्षको उमेरमा १३ मार्च १९७५ मा भयो । उनको मृत्युमा राष्ट्रपति जोसेफ टिटोले भनेका थिए, “यो हाम्रो संस्कृति र सिङ्गो देशका लागि अपूरणीय क्षति हो । उनले उपन्यासकार, कवि, कथाकार र पूर्व कुटनीतिज्ञका रुपमा राष्ट्रका लागि उल्लेखनीय योगदान गरेका थिए ।”
उनको देहान्तपछि उनको घरलाई म्युजियम बनाइयो र बेल्ग्रेडको उनी बस्ने फ्ल्याटलाई पनि म्युजियममा परिणत गरियो ।
स्केच: कृष्ण मर्सानी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।