प्राक्कथन :
आफ्नो बारेमा अरूले लेखेको पुस्तकलाई जीवनी भनिन्छ तर आफ्नो बारेमा आफैले लेखेकोलाई आत्मकथा र अंग्रेजीमा अटोबायोग्राफी भनिन्छ । व्यक्तिको विगतका महत्त्वपूर्ण कार्यहरूका बारेमा प्रकाश पार्दै लेखिएको साहित्यलाई जीवनी भनिन्छ भने व्यक्तिविशेष स्वयमले आफ्नो जीवनका बारेमा प्रकाश पार्दै लेखिएको साहित्यलाई आत्मकथा भनिन्छ । आत्मकथामा व्यक्तिको जीवनका घटनाक्रम, संस्मरण, दैनिकीहरू समेटिएका हुन्छन् ।
जीवनी लेखन पनि गद्य साहित्यको एउटा स्वरूप हो । यसमा व्यक्तिको जीवनका तथ्यपूर्ण घटनाहरू, अनुभव र उनले गरेका महत्त्वपूर्ण क्रियाकलापहरूलाई समेटिएको हुन्छ । विश्व वा राष्ट्रका महान् व्यक्तिहरूका बारेमा उनीहरूले गरेका उदाहरणीय, अतुलनीय, प्रशंसनीय र महान् कार्यका बारेमा जनमानसका बीच जानकारी गराउन व्यक्तिको देहावसानपछि जीवनी लेख्ने परम्परा रहँदै आएको छ । कतिपय जीवनी जीवनकालमै लेखिएका पनि छन् ।
तर आजको सन्दर्भमा आफ्नो जीवनमा देखा परेका उतारचढाव र आफूले गरेका संघर्ष र कार्यका बारेमा सबैमा जानकारी गराउन व्यक्ति आफैले पनि आफ्नो जीवनी लेख्ने र लेखाउने प्रवृत्ति बढ्दै गएको छ । जसलाई आत्मकथा भनिन्छ । आजको मितिमा आत्मकथा लेखन एउटा फेसनको रूपमा देखा पर्न थालेको छ । यस्तो लेखनबाट व्यक्तिका परिवारजनले उनले गरेका जीवन संघर्षका बारेमा र आफ्ना पुर्खाहरूका बारेमा धेरै कुरा थाहा पाउन सक्छन् । आफ्नो जीवनकालमा समाजमा विशिष्ट योगदान दिने व्यक्ति विशेषका बारेमा जीवनी लेखिन्छ भने आत्मकथा आफ्नै बारेमा लेखिने विधा हो ।
जीवनी साहित्यबाट हामी अरूका बारेमा जानकारी पाउने गर्छौं । प्रारम्भिक चरणमा धर्मप्रति मानिसको बढी आस्था र विश्वास हुनाले ईश्वरका बारेमा सबैलाई जानकारी गराउन ईश्वरको चरित्रमा आधारित गयात्मक कथा सुन्ने सुनाउने चलन रहेको थियो । अक्षरको थालनीअघि ईश्वरका लीलाहरू अङ्कित भएका चित्रहरू बनाउने र यस्ता चित्रहरू ढुङ्गामा समेत बनाइएका उदाहरणहरू हामी देख्ने गर्छौ । इन्डोनेसियाको बालीमा रहेको बोरोबुदुर बुद्ध विहारमा रामायण र महाभारतको कथाचित्र ढुङ्गामा कुँदेर बनाइएको छ । त्यस्तै पाटनको कृष्ण मन्दिरमा पनि रामायणको कथाचित्र कुँदेर बनाइएको छ । यस्ता धेरै उदाहरणहरू विभिन्न मन्दिरको परिसरमा देख्न पाइन्छ ।
कालान्तरमा अक्षरको आविष्कारसँगै प्रभुहरूको लीला र जीवनसम्बन्धी पुस्तकहरूको प्रकाशन हुन थाल्यो । आठौं शताब्दीमा अरबी भाषामा लेखिएको ‘मोहम्मद पैगम्बर’को जीवनीलाई पहिलो जीवनी लेखन मानिन्छ । तर पहिलो जीवनी लेखनका रूपमा कोर्नेलियस नेपोसले ईशापूर्व ४४ मा लेखिएको ‘लाइफ अफ आउटस्टेण्डिङ् जेनेरल्स’लाई पनि मानिंदै आएको छ । त्यस्तै सेन्ट अगस्ताइनले सन् ४०० नै ‘कन्फेशन्स’ आत्मकथा लेखेको देखिन्छ । सन् १७९१ मा जेम्स बोस्वेलले बेलायती साहित्यकार डा. साम्युल जोनसनका बारेमा ‘द लाइफ अफ साम्युल जोनसन’ शीर्षकमा जीवनी लेखेका थिए । यसलाई अंग्रेजी भाषामा लेखिएको उत्कृष्ट जीवनी पनि मानिन्छ ।
नेपाली साहित्यको इतिहास नियालेर हेर्ने हो भने प्रारम्भिक चरणमा अभिलेखहरूमा त्यस बेलाका राजाको जीवनीमाथि प्रकाश पारेर संक्षिप्त जानकारी कुँदिएको हुन्थ्यो । वि.सं. ५२१ मा चाँगुनारायणको राजा मानदेवको अभिलेख र वि.सं. ७८८ को पशुपतिको द्वितीय जवदेवको अभिलेखलाई जीवनी लेखनको प्रयासका रूपमा लिन सकिन्छ । (नेपाली साहित्यको संक्षिप्त इतिहास, साझा प्र. २०६१) त्यसपछि राजा महाराजा, वीर र पराक्रर्मीहरूको वीरता र साहसका कथाहरू मौखिक रूपमा सुन्ने सुनाउने लोककथाहरूलाई पनि मौखिक जीवनी साहित्यका रूपमा लिन सकिन्छ ।
लोकसाहित्यमा पश्चिमका भारत, चैत, धमारी, भैनी, चाँचरी, ढुस्को, पडेली, पैकेलो, ढुस्कोस पूर्वको सवाई आदिमा पनि जीवनीको झलक भेटिन्छ । तर ती पद्य गायन विधा भएकाले र जीवनी गद्य विधा भएकाले त्यसलाई मानिसमा रहेको जीवनी स्मरणको चेतना मात्र भन्न सकिन्छ, जीवनी नै भन्न सकिन्न । (नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना, प्रज्ञा, वि.सं.२०४४) । विशुद्ध साहित्यिक जीवनीको रचनाको थालनी मोतीराम भट्टद्वारा लिखित ‘आदिकवि भानुभक्तको जीवनचरित्र (वि.सं. १९४८) बाट नै हो ।
त्यसअघि अज्ञात लेखकहरूका ‘रामशाहको जीवनी’ र ‘पृथ्वीनारायण शाहको जीवन’ तथा सुन्दरानन्द बाँडाको ‘त्रिरत्न सौन्दर्य गाथा’ लेखिएको भए पनि ती विशुद्ध जीवनी नभई जीवनीका छनक पाइने रचना मात्र हुनाका साथै मोतिरामको जीवनीभन्दा पछि मात्र आम मानिसका लागि प्रकाशनमा आए । (नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना,, ऐ.) ।
जीवनी साहित्यमाथि धेरै अध्ययन अनुसन्धान पनि भएका छन् । प्रा. भिक्टर प्रधानको “नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना”( वि.सं.२०४४) अहिलेसम्म भए गरिएका अनुसन्धान मध्येका उत्कृष्ट ग्रन्थ मानिन्छ । हाल प्रज्ञा प्रतिष्ठानले यसबारे अर्को पुस्तक लेखाइरहेको जानकारीमा आएको छ ।
० ० ० ०
पुस्तक बारे :
विश्वको पहिलो जीवनी साहित्य सन् १७९१ को ‘द लाइफ अफ साम्युल जोनसन’ को ठीक एक सय वर्षपछि सन् १८९१ मा पहिलो नेपाली जीवनी साहित्य “आदिकवि भानुभक्तको जीवनचरित्र” (विसं १९४८) देखा पर्छ । यसरी सुरु भएको जीवनी लेखनको लाममा एक सय एकत्तिस वर्षपछि “सुश्री पारिजात” (सन् २०२२) देखा पर्छ ।
नेपाली साहित्यमा महिला हस्ताक्षरको कुरा चल्दा पारिजात नामनै यथेष्ट छ । उनका बारेमा र उनको साहित्यिक योगदानलाई चिन्हाउन धेरै पुस्तक प्रकाशित भएका छन् । उनको देहावसानपछि धेरै स्मृति विशेषाङ्क प्रकाशित भएका छन् । उनको जीवनी उजागर गर्ने कृतिहरू प्रकाशित भएका छन् । पारिजातका अझ बढी जानकारी गराउने पुस्तकहरूका माझ नेपालका साथै आप्रवासबाट पहिलो पटक सन् २०२२ मा गोबिन्द गिरी प्रेरणाको “सुश्री पारिजात” प्रकाशित भएको छ ।
पारिजातको पुर्खा केलाउँदै बाल्यकाल हुँदै साहित्यप्रतिको लत र चुरोटको तलतल, जन्मभूमिबाट कर्मभूमि, संघर्षमय जीवनदेखि राजनीतिक अभ्यास, साहित्यमा प्रगतिबाट प्रगतिवादी साहित्यको उन्मुखता आदि तेह्र वटा शीर्षकमा एकसय दुई वटा उपशीर्षक राखेर गिरीले पारिजातलाई राम्ररी चिनाउने तरिकाबाट शब्दहरूको पढ्ने डकुमेन्ट्री तयार पारेका छन् । “सुश्री पारिजात” नेपाली साहित्यमा पारिजातको उपस्थिति मन पराउने र साहित्यमा रुचि राख्ने साहित्यानुरागी तथा साहित्यमा कलम चलाउने सबैले एकपटक पढ्नै पर्ने पुस्तक बनेको छ ।
यस पुस्तकले नेपाली साहित्यिक, साहित्यकार, साहित्यिक संस्था र साहित्यका आरोप–प्रत्यारोपका बारेमा थाहा नभएका धेरै नै प्रसङ्गलाई खोतली दिएको छ । विशेष गरेर चालिस सालसम्मको समयावधिमा देखा परेको नेपाली साहित्यको अवस्थाको चर्चा भएको छ । पुस्तकको शीर्षक “सुश्री पारिजात” गिरीले रूपरेखाका सम्पादक उत्तम कुवरले आफ्नो पत्रिकामा यही शीर्षकमा पारिजात बारे लेखेको शीर्षकबाट पैँचो लिएको देखिन्छ ।
“सुश्री पारिजात” पढेपछि यसमा समेटिएका सामग्री र पारिजातको जीवनका विभिन्न मोडहरूलाई विभिन्न शीर्षक र उपशीर्षकमा राखेर चर्चा गरेकोबाट मेरो मनमस्तिष्कमा चलचित्रका दृश्यहरू सलबलाउन थालेको थियो । पढ्दापढ्दै पारिजातलाई पर्दामा उतार्न सके नारीको सङ्घर्षप्रतिको निष्ठा र त्यसको प्रतिफलले उब्जाएको प्रतिष्ठाले नारी जागरणको काम गर्न सक्थ्यो जस्तो लाग्यो । अर्थात् पारिजातलाई चलचित्रमा उतार्न सके शारीरिक रूपमा अस्वास्थ्य भएर पनि नारीमा भएको अठोट र आत्मबलले उसलाई सफलताको पराकाष्ठामा पुर्याउन सक्छ भन्ने विश्वास फैलाउन सफल हुने थियो ।
० ० ० ०
पारिजात चलचित्रमा
एकैछिन चलचित्रतिर घोत्लिऊँ । चलचित्रको इतिहासमा जीवनीपरक चलचित्रको थालनी मूक चलचित्र निर्माणकै अवधिमा जर्मनबाट साहित्यकार फ्रेडरिक शिलरको जीवनमा आधारित उनकै नामबाट सन् १९२३ मा ‘फ्रेडरिक शिलर’ निर्माण भएको पाइन्छ । छिमेकी मुलुक भारतमा पहिलो चलचित्र नै जीवनीमाथि राजा हरिश्चन्द्र सन् १९१३ मा निर्माण भएको थियो । नेपालमा चलचित्रका इतिहास त्यति लामो देखिंदैन तर यसको शुरुवात पनि भारतीय नेपाली डी.बी.परियारले जीवनीपरक चलचित्र ‘सत्य हरिश्चन्द्र’ सन् १९५१ बनाएर नेपाली चलचित्रको इतिहास रचेका थिए । त्यसपछि नेपाली चलचित्रमा यस्ता जीवनीपरक चलचित्र निर्माण एकाध बाहेक त्यति भएको देखिंदैन । यस तर्फ नेपाल सरकारको चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार मन्त्रालयले सोच्न समेत सोच बनाउन सकेको छैन जस्तो लाग्छ ।
सन् १९९८ मा यादव खरेलले ‘भानुभक्त’ बनाएपछि सन् २००२ मा सहजमान श्रेष्ठ र विजयरत्न तुलाधरले ‘वीर गणेशमान’ बनाएको देखिन्छ । हुन त २०१४ मा बिपी कोइरालाको शतवार्षिक जयन्तीको बेला बिपी चिन्तन प्रतिष्ठानले उनको जीवनमा आधारित चलचित्र बनाउने घोषणा गरेको थियो तर त्यो कहिल्यै कार्यान्वयन भएको देखिदैन । ‘भानुभक्त’ चलचित्रलाई सफल भएको मानिन्छ । त्यसरी नै पारिजातमाथि चलचत्रि बनाउनका लागि यो पुस्तकमा यथेष्ट सामग्री समेटिएको छ । मञ्जुलको ‘छेकुडोल्मा’ उपन्यासमा पारिजातलाई आधार बनाएर लेखिएकोले त्यसमा उनको प्रतिबिम्ब पाइन्छ भन्नेबारे पारिजातले समेत स्पष्ट पारिदिएका छिन् । अर्थात् यिनैलाई आधार बनाए पारिजातलाई चलचित्रमा उतार्न सकिन्छ ।
चलचित्रका दृष्टिकोणबाट नियालेर हेर्दा यस कृतिमा पटकथाका लागि चाहिने स्थल र घटनाहरू प्रचुर मात्रामा राखिएको छ । जस्तै : दार्जिलिङ जन्मघर, दार्जिलिङको प्राकृतिक परिवेश, प्रेमिल वातावरण, संघर्षका दिनहरूमा शिक्षिका, शिरीषको फूल लेखिनु अघिको नकारात्मक सोच र शंकर लामिछानेको आगमन, राल्फासँगको समीपता र लेखन एवं विचारमा परिवर्तन, तीसको दशकमा पारिजातको पुतली सडकको डेरा साहित्यकारहरूका भेटघाटको चौतारी, छद्म नामबाट गरिने शाब्दिक दुर्व्यवहार, साहित्यकारको पहिरनमा साहित्यकारहरू माझ रहने सरकारी जासुस, त्यस बेलामा देब्रे विचारधारामा विश्वास राख्ने नेता र साहित्यकारको आचरण, आफ्नै मान्छेले गर्ने गरेको बदख्वाइँ, प्रसङ्गवश बिपी कोइरालाका कृति नपढ्नु, बैनीको बिहे, राजनीतिमा प्रवेश, चुरोट, रक्सी अनि यौनका प्रसङ्ग, विमल राल्फासँगको सम्बन्ध र बिछोड, चलचित्र निर्माण गर्ने रहर, नेपाल र भारत आवत् जावतका प्रसङ्ग र औचित्य, छयालिस सालको आन्दोलन र सहभागिता, प्रज्ञा प्रतिष्ठानप्रतिको वितृष्णा र सहयोग, काव्य गोष्ठी, सहभागिता र आयोजक, अस्पतालभित्र र बाहिर, मृत्युशय्या र अर्थी ।
० ० ० ०
निष्कर्ष
नेपाली साहित्यमा पारिजात एउटा बेग्लै धार समातेर अघि बढेका साहित्यकारका रूपमा परिचित नाम हो । उनको बारेमा धेरैले अनुसन्धान गरेर कृति प्रकाशित गरेका छन् । सबै कृतिको आ–आफ्नै महत्त्व रहेको छ । उनको गरिमालाई कुनै देशको सीमाले सीमान्तरण गर्न सक्दैन ।
नेपालको इतिहासमा नागरिकता बिना राहदानी लिने एक मात्र नेपाली पारिजातलाई कुनै नागरिकताको आवश्यकता पर्दैन । उनी नेपाली भाषा बोल्ने र नेपाली अक्षर चिन्ने विश्वभरि फैलिएर बसेका नेपालीहरूका माझ विद्यमान छिन । उनलाई अझ बढी चिनाउने दायित्व नेपालसँगै भारतको दार्जिलिङ प्रान्त र सिक्किम राज्यको हो । उनलाई नजिकबाट नियाल्ने र चिन्ने भूपी शेरचनबाट, उत्तम कुँवर, मदन रेग्मी, पुरुषोत्तम बस्नेत, विजय मल्ल, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, निनु चापागाई, हरीगोबिन्द लुइँटेलसँगै तत्कालीन राल्फाली समूहका रामेश, मञ्जुल, अरीम, गणेश रसिक, रायन आदि धेरै नामहरू उनको सामीप्यमा रहेको बारे थाहा पाउन सकिन्छ ।
यस पुस्तकमा आएका मध्ये धेरै नामहरू अहिले पनि हामी माझ छन् । उनलाई डोर्याउँदै, हेरविचार गर्दै, सँगसँगै अघि बढ्दै पारिजातकै एउटा अङ्ग बनेर होस्टेमा हैंसे गर्दै आउनु भएकी बैनी सुकन्या पनि हामी सामु छिन् । यस्तो अवसरलाई समातेर “सुश्री पारिजात”लाई लाइट–क्यामरा–एक्सन भन्ने महापुरुषको खोजी गर्नु जरुरी देखेको छु ।
टोरन्टो, क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।