सन् १९०१ विश्व साहित्यको इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । त्यसै वर्षदेखि नै अन्य क्षेत्रसहित साहित्यमा नोबेल पुरस्कारको वितरण प्रारम्भ भएको थियो । र, नोवेल पुरस्कारको इतिहासमा फ्रान्स नै पहिलो राष्ट्र भयो – यो पुरस्कारले सम्मानित हुने । सुली प्रुधों भए प्रथम साहित्यकार यो पुरस्कारले सम्मानित हुने । युरोप नै भयो प्रथम महादेश यो सम्मानले विभूषित हुने ।
एम. सुली प्रुधों पिता र क्लोटाइड साइलात सुली प्रुधों माताका सुयोग्य पुत्रका रुपमा रेने फ्रान्सिस अर्माण्ड सुली प्रुधों सन् १८३९ को मार्च १६ का दिन फ्रान्सको राजधानी पेरिसमा जन्मेका हुन् । उनी आफ्ना माता पिताका एक मात्र सन्तान थिए ।
हुन त प्रत्येक सन्तान आफ्ना माता पिताको प्रेमको विशिष्ट चिनो नै मानिन्छन् । आगामी पुस्ताका संरक्षक मानिन्छन् । तर सुली प्रुधोंको सम्बन्धमा भने उनी माता पिताका अत्यन्तै दुर्लभ प्रेमको विशिष्ट चिनो सावित भए । किनभने उनकी आमाले तरुण अवस्थामै जुन पुरुषलाई प्रेम गरिन् त्यो पुरुषसँगै बिहा गर्छु भनेर उनले दिव्य दस वर्षसम्म प्रतीक्षा गर्नुपर्यो । जे होस् त्यतिका वर्ष प्रतीक्षा गरेर पनि उनले उनै प्रेमीसँग बिहा गरिन् र उनीहरुको त्यस विशिष्ट प्रेमको विशिष्ट चिनो सुली प्रुधोंको जन्म भयो ।
तर दुर्भाग्यको कुरो – बिहाको चार वर्षपछि नै सुली प्रुधोंका पिताको देहान्त भयो । अत्यन्त कलिलै उमेरमा उनले टुहुरो हुनुपर्यो र पिताको प्रेम, स्नेह र अँगालोबाट वन्चित हुनुपर्यो । तर उनकी आमा आफ्नो सन्तानको लागि पिताको प्रेमको अभाव नखट्कोस् भनेर हरतरहले लागिन् । आमाले नै बाबुको प्रेमसमेत दिएर, पुल्पुल्याएर पालेर तथा उचित शिक्षाको बन्दोबस्त गरेर हुर्काइन् ।
पेरिसस्थित ‘इकोल पोलिहेक्निन्’ विद्यालयमा उनलाई पढाइयो । उनले गणितसम्बन्धी विज्ञानमा राम्रो प्रतिभा प्रदर्शन गरे । उनी विज्ञान पढेर सोही मुताविकको व्यक्तित्व विकास गर्न चाहन्थे । तर यसैबीच उनी लामो समयसम्म बिरामी भए आँखासम्बन्धी रोगले जसले उनको वैज्ञानिक मार्गमा बाधा पुर्यायो । उनले एकाग्रतापूर्वक अध्ययन गर्न सकेनन् । पढाइ छाड्नु पर्यो ।
उनले यौटा कारखानाको अफिसमा क्लर्कको काम शुरु गरे । तर सन् १८६० मा कानून अध्यनका खातिर त्यो काम छाडे । यसैबीच बरु उनले दार्शनिक ढङ्गका कविताहरु लेख्न थाले । उनका ती प्रारम्भिककालीन कविताहरुमा जिन्दगीका अभिप्रायसम्बन्धी धारणाहरु अभिव्यक्त भएका पाइन्छन् ।
यसरी प्रतिभाशाली छात्रको रुपबाट मोडिएर उनी प्रतिभाशाली तरुण कविको रुपमा स्थापित हुन पुगे । छब्बीस बर्षको उमेरमा उनको पहिलो कविता सङ्ग्रह “स्टैंजेज एट पोइम्स” प्रकाशित भयो जसमा उनको प्रख्यात कविता “द ब्रोकन भेस” रहेको छ । यो कविता सङ्ग्रहले सारा काव्यप्रेमीहरुको मात्र मन खिंचेन, आलोचकहरुसमेत प्रभावित भए र निकै राम्रो चर्चा पायो त्यस कविता कृतिले । बिक्री पनि राम्रो भयो र सुली प्रुधोंले निश्चय गरे – अब मलाई वकिल बन्नु छैन । प्राध्यापक बन्नु छैन । म पूरा समय साहित्यमा लगाउँछु । त्यसपछि त उनको कलम कविता क्षेत्रमा निरन्तर र सकृयतापूर्वक चल्न थाल्यो । उनका कविताका थप सङ्कलनहरु प्रकाशित भए । उनी झन् झन् चर्चित, स्थापित र विशिष्ट कवि हुनुको शिखरतर्फ उकालो लागिरहे । उनका नयाँ कविता संग्रहहरुका कविताले विवेक र भावको सङ्घर्षलाई सन्तुलित रुपमा प्रस्तुत गरेका छन् । ‘ला जस्टिस’ तथा ‘ले वानहुर’ मा त यस सङ्घर्षलाई निकै उग्ररुपमा अभिव्यक्त गरिएको छ ।
फ्रन्सेलीहरुको दृष्टिमा भिक्टर ह्यूगो समान सम्मानित रुप पाएका उनी सन् १८८१ मा ४२ वर्षकै अधबैंसे उमेरमा फ्रान्सेली एकेडेमीको सदस्यको रुपमा चुनिए ।
सुली प्रुधोंले आफ्नो विचार व्यक्त गर्ने दुई माध्यम रोजेको पाइन्छ । एक जिज्ञासु र अर्को आवाज । यिनै दुई माध्यमले सुली प्रुधोंले सबै वस्तुहरुको दार्शनिक यथार्थताको विश्लेषण गरेका छन् । संसारका सबै वस्तुहरुमा “दैवी रुप” हुन्छ भन्ने घोषणा गरेका छन् । उनले यो सिद्ध गर्ने प्रयास गरेका छन् – मनुष्यको हृदय भित्रको दुनियाँमा एउटा पवित्र मन्दिर हुन्छ र यसैमा न्याय र निरपेक्षता उपलब्ध हुन्छ । यो बाहिरी दुनियाँमा होइन ।
“ले वानहुर” कृतिमा सुली प्रुधोंले मानवलाई “चरम आनन्द” सम्म पुग्ने तीन बाटो देखाएका छन् जुन उत्सुकता, चेतना र ज्ञानको बलिदानको निष्ठा हो । यस काव्यका फाष्टस र स्टिला नामधारी दुई पात्र सुखको खोजीमा लाग्दछन् र संसारको माया, मोह एवं लोभबाट आध्यात्मिक उडान गरेर अर्थात् यिनबाट पृथक भएर आत्म बलिदानमा सुखको सम्भावना प्रस्तुत गर्दछन् ।
युद्धले सुली प्रुधोंको कवि हृदयलाई निकै आघात पुगेको थियो । उनको कोमल भावनामा चोट पुर्याएको थियो । उनले राजनीतिक बहशमा गएर त्यसमाथि पनि आफ्नो विचार अभिमत प्रकट गरेका थिए । सुली प्रुधोंले ललितकला, छन्दशास्त्र र काव्य सिद्धन्तका पुस्तकहरु पनि लेखेका छन् । निबन्धहरु लेखेका छन् । र “मके जान्दछु ?” भन्ने पुस्तक पनि लेखेका छन् ।
आफ्नो मृत्यु हुनु दुई वर्ष पूर्वसम्म पनि उनको कलम उत्तिकै तरुण रुपले चलिरहेथ्यो । उनले आफ्नो मृत्यु हुनु दुईबर्ष अघि “ला ब्रेई टेलिजन सेलां पास्कल” नामक ग्रन्थ लेखेका थिए जसमा जीवन र साहित्यमा आध्यात्मिक महत्वको सम्बन्धमा चर्चा गरेका थिए र आफ्नो दर्शन स्पष्ट पारेका थिए ।
आफ्नो जीवनको ६२ औं वसन्तमा सुली प्रुधोंले त्यसै बर्षदेखि प्रदान गर्न शुरु गरिएको सन् १९०१ को साहित्य तर्फको नोवेल पुरस्कार प्राप्त गरे । उनलाई “उनको काव्यिक संरचनाको विशेष मान्यताको लागि, जसले कोमल आदर्शवादको दृष्टान्त प्रस्तुत गर्दछ, कलात्मक परिपक्यता र हृदय एवं मष्टिष्कको अत्यन्त दुर्लभ संयोजन गर्दछ” भनेर यो पुरस्कार दिइएको हो ।
स्थापनाको पहिलो वर्ष भएर नोवेल पुरस्कारप्रति साराको चासो थियो । विश्वभरि नै चासो थियो । पुरस्कार वितरण समारोह सन् १९०१ को डिसेम्वर १० का दिन सम्पन्न गरिएको थियो । सो समारोहमा पुरस्कार ग्रहण गर्न सुली प्रुधों जान सकेनन् स्वास्थ्यका कारणले । उनको पुरस्कार फ्रान्सेली मन्त्रीले ग्रहण गरेका थिए ।
विद्वानहरु उनका कविताहरुलाई दुई प्रकारको शैलीका समुहमा राख्न रुचाउँछन् । उनको प्रारम्भिकालीन कविताहरु गीतात्मक र एकनासे पाइन्छन् जसको प्रमुख दृष्टान्त “द ब्रोकन भेस” कविता हो जुन उनको प्रथम कविता सङ्ग्रह “स्टयान्जेज एट पोइम्स” (१८६५) मा सङ्कलित छ । र त्यसपछिका उत्तरवर्ती कविताहरुमा उनी अलिक अमूर्तता तर्फ दार्शनिकतातर्फ र दीक्षापरकतातर्फ आकर्षित भए ।
सुली प्रुधोंको स्वास्थ्य प्रायः ठीक रहँदैनथ्यो । जीवनका अन्तिम बर्षहरुमा उनलाई पक्षाघात भएको थियो । उनको बारेमा फ्रान्सिस गियर्सनले लेखेका छन् –“सुली प्रुधों सुन्दर र बेग्लै ढङ्गका व्यक्ति थिए । उनको अन्तरदृष्टि स्पष्ट थियो । उनको आफ्नो बैज्ञानिक संसारको मायाजालको विरुद्ध युद्ध नै घोषणा गरेका थिए र आफ्नो कोमल भावले कविको सपनाको गहिरो अनुभूति प्राप्त थियो । आफ्नो घरमा उनी नयाँ कविहरुलाई ठूलो सत्कार गर्दथे । उनी सामाजिक जीवन कम रुचाउँथे तथापि उनी काउण्टेस दियाँ डी विसाकको घरमा प्रायः देखिन्थे । काउण्टेस एक साह्रै सुन्दरी र स्वच्छन्द स्वभावकी कवयित्री थिइन् । उनको सौन्दर्यले अनुप्राणित भएर कवि प्रुधों कविता रचना गर्दथे । यहीं यी दुई मित्र दर्शन र कलामाथि विचार विमर्स गर्दथे ।”
सुलीप्रुधोंका सहयागी र समकालीन साहित्यकार अनातोले फ्रान्सले उनको व्यक्तित्व र काव्य रचना दुबैको प्रसंशा गरेका छन् । अनातोले फ्रान्सको जीवनीमा यस्तो लेखिएको छ – “प्रुधोंको बुद्धी, उनको रुप तथा धन तीनै कुरा सुन्दरताको मिश्रण हो ।”
त्यसैगरी हडष्ल्यू इभान्सले ‘तीन कविहरु’ पुस्तकमा सुली प्रुधोंलाई फ्रान्सिस कोपी र फ्रेडरिक प्लेसीसँग तुलना गर्दै लेखेका छन् – “सुली प्रुधोंमा केवल कविको रहस्यपूर्ण गुणमात्रै थिएन, उनको हृदयमा नितान्त सरलता, नम्रता, करुण, अष्पटता, सादापन र दार्शनिक संशयवादीता थियो ।”
संसारमा जन्म लिएर आएपछि कवि, लेखक, दार्शनिक, राजनीतिज्ञ जो भए पनि एकदिन यो विशाल संसारलाई छोडेर जानै पर्दछ । मृत्यु विना जिन्दगी पूर्ण हुदैन । त्यस्तै सुली प्रुधोंले पनि सन् १९०७ को सेप्टेम्वर ६ तारिखमा यो दुनियाँलाई छाडे । उनले दुनियाँ त छाडे तर कुनै सन्तानहरु उत्तराधिकारीको रुपमा छाडेनन् । उनले एकजना आफन्तलाई मन पराएका थिए, तर तिनले उनको प्रेम अस्वीकार गरेपछि उनले जीवनमा कहिल्यै विहा गरेनन् । सन्तानको साटो छाडे त केवल साहित्यका अमूल्य निधिहरु, कृतिहरु, अद्वित्तिय विचार र दर्शन ।
सुली प्रुधोंको यौटा कविता;
यो धरतीमा
यो धरतीमा सारा फूलहरु ओइलाउँछन्
चराचुरुङ्गीका मीठा गीतहरु क्षणिक छन्
म त्यस्तो ग्रीष्मकालको सपना देख्छु
जुन सदा रहिरहोस् ।
यो धरतीमा ओठहरुको स्पर्श हल्का हुन्छ
र मिठासको स्वाद शेष रहन्न
म त्यस्तो चुम्वनको सपना देख्छु
जुन सदा रहिरहोस् ।
यो धरतीमा सारा मनुष्य शोकमग्न छन्
मित्र गुम्नुमा वा प्रितम गुम्नुमा
म त्यस्ता प्रेमीहरुको सपना देख्छु
जो सदा साथ रहिरहून् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

