हेम हमाल नेपाली कविताको क्षेत्रका यस्ता कवि थिए, जो सुस्तरी कविता लेखनमा लागिरहे, छोटा मीठा, बिम्बात्मक कविताले आफ्नो सिर्जन यात्रालाई निरन्तर बढाइरहे । तर जीवनको पछिल्लो समयमा भने साहित्यिक वृत्तभन्दा बाहिर थिए या भनौँ साहित्यकारको संसर्गबाट टाढा थिए । यसको ज्वलन्त उदाहरण मैले आफैंले देखेको थिएँ । म छोटो समयको लागि अमेरिकाबाट नेपाल आउँदा केही आदरणीय, मनमा छपक्कै बसेका साहित्यकारहरुलाई भेट्ने प्रयत्न गर्दछु । मैले केही वर्षअघि आउँदा हेम हमाल के गर्दै हुनुहुन्छ भनेर उनको खैखबर गर्दा धेरैले धेरै वर्षदेखि देखभेट नभएको बताए भने केहीले हेम हमाल अझै छन् र ? समेत भने ।
एक साँझ मेरा प्रिय मित्र कवि नियात्राकार जय छाङ्छा र म हेम हमालको निवास बानेश्वरमा खोज्दै गयौँ र अन्तत्वगत्वा उनको निवासमा पुग्यौं । बढ्दो शहरीकरण, अत्यधिक जनसङ्ख्या र घरहरुको चापले नराम्ररी थिचिएको काठमाडौंको केही पटक गइसकेको हेम हमाल निवास भेट्न जयजी र मलाई सजिलो भएन । दर्जनौं सँगको सोधपुछपछि मात्र हामी उनको निवास पुग्न सकेका थियौं । साँझ झमक्क परिसकेको थियो । उनी आराम गरेर बसिरहेका रहेछन् । मेरो आगमनले निकै खुशी भए । छोटो कुराकानी भयो । केही वर्षअघि किड्नीको उपचारपछि घरमै आराम गरिरहेको थाहा भयो र लेख्न पनि खासै केही नलेखेको उनले बताए ।

गोविन्द गिरी प्रेरणा

हेम हमालसँग मेरो परिचय २०३८ तिर भएको हो । २०३८ सालमा साहित्यिक पत्रकार संघले नेपालमा पहिलोपल्ट “साहित्य संगोष्ठी २०३८” को आयोजना गरेको थियो र सोका लागि संघको कार्य समितिमा रहेका र नरहेका समेतको बेग्लै आयोजक समिति बनेको थियो । त्यो समितिको सचिव अशेष मल्ल थिए भने कार्यकारी सदस्यमा म पनि थिएँ । अनि सो संगोष्ठी सफल पार्न चाहिने स्रोत जुटाउन हामी लागिपरेका थियौँ तर हामीले स्रोत जिन्सीमै उठाउने, नगद नलिने नीति बनाएका थियौं र चिनेका र सहयोग गर्न सक्ने साहित्यकारहरुको सूची बनाएर हामी घरदैलो अभियानमा जुटेका थियौं । हाम्रो सूचीमा कमल दीक्षित, जगदीश घिमिरे, हेम हमाल लगायतका नाम थिए । त्यतिबेला जगदीश घिमिरे र हेम हमाल पुतली सडकमा यौटा अफिस खोलेर अफिस टाइमबाहेक अतिरिक्त काम गर्थे, आफ्नो क्षेत्रको । हामी त्यही अफिस पुगेका थियौं र हामी युवा प्रतिभालाई राम्रो स्वागत गरेका थिए । अनि संगोष्ठीलाई सहयोग पनि गरेका थिए ।

पछि त जगदीश घिमिरे र हेम हमालले अशेषलाई जागिर पनि दिए । जगदीश घिमिरे र हेम हमालकै सदाशयतामा अशेषले परिवार नियोजन संघमा जागिर पाए । पछि त्रिविमा प्राध्यापनमा पूरै लाग्नु अघिसम्म लामै समय अशेषले परिवार नियोजन संघमा जागिर खाएका हुन् । यही समयमा अशेषले खोजीमेली गरेर निकै मिहिनेतका साथ हेम हमालका छरिएर रहेका कविताहरु भेला पारी कविता सङ्ग्रह तयार गरिदिए र त्यो “गाउँ गाउँजस्तो छैन, शहर शहरजस्तो छैन” शीर्षकमा वि.सं. २०३९ सालमा छापियो । त्यसअघि २०२९ सालमा छापिएको “यो शहर छाड्नुभन्दा पहिले” पछि प्रकाशित उनको यो दोस्रो कविता सङ्ग्रह थियो ।

संयोग कस्तो पर्यो भने उनको उनको तेस्रो कविता सङ्ग्रह “हेम हमालका कविता” मेरो सम्पादनमा प्रकाशित भयो पछि ।

खासमा सिसास अर्थात् सिर्जनशील साहित्य समाज स्थापनापूर्व त्यसको प्रारम्भिक छलफल, विधानको तर्जुमा तथा त्यसको गठन प्रक्रियाको समयमा म त्यो कमिटीका अग्रज साहित्यकारहरुसँग निकट थिएँ । काठमाडौंमा एक्लै उच्च अध्ययनको लागि बसेको, फुर्सतिलो, साहित्यमा रस बस्दै गएको, अग्रजले भनेको आज्ञाकारी भएर मान्ने बानीले गर्दा म स्नेहको पात्र बनेको थिएँ । त्यो समूहमा हेम हमाल पनि थिए । पछि औपचारिक रुपमा सिसासको निर्वाचनमा हेम हमाल उपाध्यक्ष निर्वाचित भएका थिए ।

सिसासको उनी उपाध्यक्ष भएको कार्यकालमा सिसासका धेरै कार्यक्रमहरुमा उनीसँग बसउठ गर्ने मौका मिल्यो र आत्मियताको न्यानो फेरोमा बाँधियौं हामी । राजाको सवारी शिविर धनकुटामा हुने कवि सम्मेलनका लागि सिसासको टोलीमा हामी सँगै थियौं । त्यस्तै पोखरामा भएको राजाको सवारी शिविरमा हुने कवि गोष्ठीका लागि हामी तत्कालीन समयमा प्रमुखको रुपमा कार्यरत सिआरएस कम्पनीको उनी चढ्ने गाडीमा रमाइलो गर्दै गएका थियौं । यो बेग्लै कुरा हो, त्यतिबेला गएका हामी ४ मध्ये २ जनालाई मात्र कवि गोष्ठीमा सामेल हुन पाउने अवसर प्राप्त भयो । राजाको सवारी शिविरमा अध्यक्ष तथा उपाध्यक्षका रुपमा तुलसी दिवस र हेम हमाल कविता वाचनका लागि सहभागी भएका थिए भने अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा र म पर्यटक भएका थियौं ।

२०४१ फागुन ५ गते मैले उनकै निवास बानेश्वरमा यौटा साहित्यिक अन्तरवार्ता लिएको थिएँ । त्यो दिनको मलाई विशेष सम्झना आउने केही कारण छन् । उनले विहान ९ बजे आउनोस्, खाना पनि यतै खानेगरी भनेर समय दिएका थिए । अन्तरवार्ता लिनका लागि मसँग त्यतिबेला टेप रेकर्डर किन्ने हैसियत थिएन । अनि प्रश्नहरु केही लिखित बनाएर गएको थिएँ, अन्तरवार्ता लिने शौख, उत्साह उमङ्ग थियो, उतिसारो ज्ञान नभए पनि । तर पाएसम्म अन्तरवार्ताहरु विभिन्न पत्रपत्रिकामा पढ्ने, सकेको अनुवाद गर्ने गरेर अभ्यास भने गर्दै गएको थिएँ । अन्तरवार्ता लिएपछि उनले स्कचको बाेतल खोले र दुई पेग ह्विस्की तयार गरे अनि खानाको लागि पाक्दै गरेको चिकेन फ्राई पनि हाम्रो टेबलमा भाउजूले ल्याइदिनु भयो, “ल, हेर बिहान बिहान” भन्दै । यो मेरो लागि अभूतपूर्व अनुभव थियो । बिहानको खानाअघि स्कच पान !

हेम हमालको व्यक्तित्व निकै प्रभावशाली थियो । उनको अनुहार र जुँगा हेर्दा राजा वीरेन्द्रको झल्को आउँछ भन्थे धेरैले । मलाई पनि त्यस्तै लाग्थ्यो । मात्र उनको उचाईंले धोका दिएको थियो । उनी होचा थिए । आफ्नो होचो कदमा पनि प्रभावशाली व्यक्तित्वका धनी थिए । उनका कविता पनि छोटा तर निकै प्रभावशाली थिए, छन् । उनका कवितामा देश बोल्छ, गाउँ बोल्छ, शहर बोल्छ, मानवीय सुख दुःखका आरोह-अवरोह गुञ्जित हुन्छन् । उनको शरणार्थी कविता विश्वका कुनै पनि भाषामा अनुवाद गरे पनि सार्वकालीक हुन्छ भन्ने मलाई लाग्छ । यही प्रभावका कारण उनको त्यही एउटा कविताको विश्लेषण गरी मैले यौटा समालोचना लेखेको थिएँ, प्रकाशित भएको थियो र मेरो एक मात्र समालोचनाको पुस्तक “तेलको धूप” मा त्यो सङ्ग्रहित पनि छ । मसँगको अन्तरवार्ताको क्रममा उनले “पुलको खम्बा”, “सुटकेश” सहित “शरणार्थी” आफूलाई मनपर्ने कविता बताएका थिए ।

“शरणार्थी” कविताका पूर्ण पङ्ति यस्ता छन्ः

कसको समुद्रमा गएर डुब्नू म
कसको पहाडमा लुक्नू ।
आकाशबाट खसेको ताराले
कुन देशको नाम सम्झनू।

धर्मका कारण
जातिका कारण
चेप्टो नाकका कारण
ध्वाँसे अनुहारका कारण
आफ्नै देश छाड्नु पर्यो मैले
दिउँसो मासै
दैलो उदाङ्गै
छाडेर
दिशाहीन बाटो लाग्नुपर्यो मैले।

यो घरलाई नभत्काइराख्नू
बिहान उदाउने हरेक सूर्यलाई बचाइराख्नू
म फर्की आउँछु
एउटा बत्ती जगाइराख्नू
अहिलेलाई त जसोतसो गरुँला
आफ्नो भाग्यको परदेशमा बास बसुँला ।

प्रतीकले सजाएर बिम्ब निर्माण गर्दै कवितालाई गहिराईसम्म पुर्याउने आफ्नै निजी शैली थियो, जसलाई नेपाली कविता साहित्यका विद्वानहरुले, पण्डितहरुले त्यति ख्याल नगरेको जस्तो देखिन्छ । उनी चर्चा, पुरस्कार र सम्मानको भीडबाट अलग भए पनि आफ्नो समयका महत्त्वपूर्ण र प्रभावशाली कवि थिए ।

अशेषकै मिहिनेत र हुटहुटीले उनको दोस्रो कविता सङ्ग्रह प्रकाशित भएको थाहा पाएको उनको तेस्रो कविता सङ्ग्रह प्रकाशनका लागि भने मैले हुटहुटी लगाउन थालें । त्यो हुटहुटीले काम गर्यो । उनले मलाई उनको कविता सङ्ग्रहको सम्पादनको अभिभारा नै सुम्पिदिए । अनि मेरो सम्पादनमा प्रकाशित भयो उनको तेस्रो कविता सङ्ग्रह “हेम हमालका कविता” । त्यो सङ्ग्रह प्रकाशनको उपलक्ष्यलाई महत्त्वपूर्ण बनाउन मेरो अध्यक्षतामा गठन भएर साहित्यिक गतिविधि गरिरहेको राइटर्स क्लब र नकुल सिलवालको अध्यक्षतामा सञ्चालित बगर फाउण्डेसनबाट उनलाई सम्मान गर्ने प्रस्ताव गर्यौं र उनले त्यसलाई सहर्ष स्वीकार गरे । अनि होटल अर्किड त्रिपुरेश्वरको सभाकक्षमा हेम हमालका कविता पुस्तकको विमोचन तथा उनको सम्मान साहित्यकार तथा भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको हातबाट सम्पन्न भयो । मुसलधारे पानीमा रुझ्दै भिज्दै आएका सहभागीहरुको रमाइलो र उल्लेख्य उपस्थितिमा २०५६ साल असार ८ गते सम्पन्न सो कार्यक्रम निःसन्देह निकै स्मरणीय रह्यो ।

तीसको दशकमा नेपाली साहित्यमा स्पष्ट रुपमा दुई धारमा नेपाली कविता लेखनले गति लिइरहेको थियो । यौटा थियो मोहन कोइराला, ईश्वरवल्लभ लगायतका नबुझिने कविताका नायकहरुको धार । अर्को थियो भूपि शेरचन, मोहन हिमाँशु थापा, वासुशशी लगायतले नेतृत्व गरेको सरल कविताको धार । हेम हमाल पछिल्लो धारका एक नायक थिए । सङ्ख्यामा न्यून भए पनि हेम हमालको लेखन यात्रा भने निरन्तर नै थियो । नत्र चार चार वटा कविता सङ्ग्रह कसरी तयार हुन सक्थ्यो । मेरो सम्पादनमा निस्केको “ हेम हमालका कविता” पछि पनि उनका कविताहरुको चौथो तथा अन्तिम कविता सङ्ग्रह “ शहर र सपना” २०६३ सालमा प्रकाशन भयो । खासमा उनका सबै पूर्ववर्ती ३ कविता सङ्ग्रहको प्रकाशन कुनै अरु व्यावसायिक प्रकाशन थिएनन् । यो चौथो मात्र नेपालको निजी क्षेत्रको अग्रणी प्रकाशक रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो ।

विसं १९९८ भाद्र २३ आइतवार काठमाडौं बानेश्वरमा जन्मिएका कवि हमालले अमेरिकामा उच्च अध्ययन गरेका थिए । उनको काव्य यात्राको क्रममा कवि वासु शशीसँग अन्तरङ्गता थियो । खाने पिउने मामलामा पनि यी दुई कविहरु रमाइलो प्रतिस्पर्धा गर्ने गर्थे । वासु शशीले लामो समय सम्पादन प्रकाशन गरेको “सञ्चय” डाइजेष्ट पत्रिकामा पनि हेम हमालको निकटता थियो । संयोग मान्नु पर्छ, वासु शशीको निधनपछि स्थापित वासु शशी स्मृति समितिले उनलाई वासु शशी स्मृति पुरस्कार प्रदान गरेको थियो । त्यसो त उनले रत्नश्री पत्रिकाले आफ्नो पत्रिकामा प्रकाशित रचनामध्ये एक वा एक भन्दा बढी स्रष्टालाई वर्षेनी प्रदान गर्नौ रत्नश्री स्वर्ण पदक २०२१ सालमै प्राप्त गरेका थिए ।

मृगौला पीडित भएपछि र मृगौला प्रत्यारोपणपछि शान्त एकान्तवास बस्न थालेपछिको पछिल्लो समय उनी साहित्यिक जगतबाट टाढिएका थिए र सिर्जना पनि गर्न छाडेका थिए । त्यसैले उनको देहान्तको खबर पनि साहित्य जगतले निकैपछि मात्र थाहा पाएको थियो । उनको देहान्त विसं २०७५ साउन २५ गते काठमाडौंमा भएको थियो ।

हेम हमालले गीत पनि लेखेका थिए र त्यो गाइएको पनि थियो । त्यो गीतको संगीत सिर्जना गर्ने तथा स्वरबध्द गर्ने अरु कोही नभई नेपाली गायन क्षेत्रका दुर्लभ गायक बच्चु कैलाश थिए । त्यो गीत यस्तो थियोः

पहरामा बास बसी छहराको पानी पिऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला ।

सुनकोशी को पानी जस्तै चोखो प्रीत लाउन पाए
दुई खोलाको दोभान जस्तै सधै भरि भेटन पाए
तेलकासा खेल्दै वनमा कन्दरामा गीत गाऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला ।

दुई छातिको दुइटा मुटुसाटिवरी राख्न पाए
चन्द्रमा र चाँदनी झैं एकार्का हुन पाए
जुनेली भई हामी दुवै रातभरि टल्किदिऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला ।

हेम हमाल उनका कोमल कवितामा जीवन्त छन् । देसको महिमा गानमा जीवन्त छन् । मीठो कर्णप्रिय गीतमा जीवन्त छन् । नेपाली काव्यको बगैंचामा सहज बिम्ब र प्रतीकहरु मगमगाउँदै सुवासित छन् ।