२०३६ सालको साउन महिनामा बहुदलको पक्षमा गरिएको सडक कविता क्रान्तिको टोलीमा पहिलोपल्ट पोखरा पुग्दा भेट भएको हो मेरो सरुभक्तसँग । त्यतिबेला उनी भक्त श्रेष्ठ थिए । त्यही नै उनको परिचयको नाम थियो । त्यही नामले कविता लेख्थे । नाटक लेख्थे । नाटक निर्देशन गर्थे । लामो कपाल पाल्थे । कम बोल्थे । सफा अक्षरमा लेखेका उनका कविताको एक बिटो मैले त्यतिखेर काठमाडौंका पत्रपत्रिकाहरुमा प्रकाशनार्थ बोकेर आएको पनि सम्झना छ ।
तर समयको क्रममा उनी भक्त श्रेष्ठबाट सरुभक्त भए । कविता महोत्सवमा पुरस्कृत भए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्ने नाट्य महोत्सवमा पुरस्कृत भए र पाएको पुरस्कार पनि बहिस्कार गरे । उनले उपन्यास लेखे । उपन्यासमा मदन पुरस्कार पाए । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाट्य विभागको प्राज्ञ भए । संगीत नाट्य एकेडेमीको कुलपति भए । उनी धेरै थोक भए ।
भक्त श्रेष्ठ पोखराको बगरमा आफ्ना पिताजीको पुर्ख्यौली घरमा बस्थे । कपडाको व्यापार थियो घरमा, तर उनी त्यो दोकानमा कहिल्यै देखिएनन् । व्यापारमा हात हाल्न रुचाएनन् । सघाउन पनि सघाएनन् । उनी पृथ्वी नारायण क्याम्पसमा पढ्थे । गम्भीर प्रकृतिका थिए । झ्यापुल्ले कपाल पाल्थे । कविता लेख्थे । पृथ्वी नारायण क्याम्पसको गेट अगाडिको आमाको चिया पसलमा घण्टौं घण्टा बिताउँथे । पाँच, दस, बाह्र गिलास चिया खान्थे । आधा दिनमा भात खान्थे । अध्ययन गर्थे । चिन्तन गर्थे । पृथ्वी नारायण क्याम्पसको कम्पाउण्डको गण्डकीको किनार तर्फको डिल नजिकको ढुङ्गामा बसेर घण्टौं बिताउँथे । उनलाई कतै नभेटे साथीहरु त्यही ढुङ्गामा खोज्न पुग्थे । तीर्थ श्रेष्ठहरुले त्यो ढुङ्गाको नामै “भक्ते ढुङ्गा” राखिदिएका थिए ।
पोखरामा पोयुसा अर्थात् पोखरेली युवा सांस्कृतिक परिवारले गतिविधिहरु गर्न थालेको थियो । कविताको साथै भक्तको कलम नाटकमा चल्न थालेको थियो । नाट्य लेखन मात्र होइन निर्देशनमा पनि उनी लागेका थिए । पोयुसाको तर्फबाट २०३६ सालपछि उनी नाटक लिएर काठमाडौं आए । नाटकले राम्रो वाहवाही पायो र उनको नाटक पुरस्कृत भयो । तर उनका टोलीका कलाकारहरुले सबैजसो पुरस्कार त्यही नाटकले पाउने अपेक्षा गरेका थिए । बजारमा हल्ला थियो, नाट्य टोलीका एक महिला कलाकारको विशेष अडानका कारण उनी नाट्य महोत्सवको पुरस्कार बहिष्कार गर्न बाध्य भए । एउटा खल्लो र नमिठो र असमञ्जसको मिश्रित अनुभूति लिएर नाटक टोली काठमाडौंबाट पोखरा फर्कियो । त्यतिबेला उनलाई के पत्तो त्यो प्रज्ञा भवनको नाट्य विभागको प्राज्ञ हुनेछन् भन्ने ।
पोखराका कवि भूपि शेरचन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पुगेपछि पोखरेली प्रतिभाहरुले राम्रो प्रोत्साहन पाउन थालेका थिए । राजाबाट बक्सिस हुने शीर्षकमा कविता लेखेर कविता उत्सवको प्रतियोगितामा भाग लिने प्रचलन थियो । भक्त श्रेष्ठ कविता महोत्सवमा प्रथम भए । उनी प्रथम भएपछि प्रगतिशील साहित्यकार पारिजातले उनलाई र पोखराकै अर्का कवि विजय बजिमयलाई भाट कवि भनेर आलोचना गरेकी थिईन् ।
यसैबीच भक्त श्रेष्ठको जीवनमा यौटा नयाँ चिज आयो । पोखराकै एक कन्यालाई उनले मन पराउन थाले । प्रपोज गरे । तर युवतीले भक्तलाई मन पराइनन् । तर भक्त एकोहोरो मन पराएरै पछि लागिरहे । उनी प्रेममा विजय प्राप्त गर्न चाहन्थे । युवती पोखरा छोडेर काठमाडौं पढ्न गइन् । भक्त पनि पढ्न काठमाडौं हान्निए । हरेक प्रकारले युवतीको मन जितेर प्रेम प्राप्त गर्नु मात्र उद्देश्य रह्यो भक्तको । उनले युवतीको नाममा बोली चढाए र एक ताक काठमाडौंमा बोल्नै छाडे । उनले गेरु वस्त्र पनि धारण गरे । युवतीको मन उनले कसैगरी पगाल्न सकेनन् । एक झरीको साँझ उनले मन पराएको ती युवती बस्ने कीर्तिपुरको महिला छात्रावासतिर मुख फर्काएर झमझम पानीमा रुझ्दै रात बिताए । तर केही सिप लागेन । ती युवतीको मन पग्लेन वा उनले पगाल्न सकेनन् ।
पोखरामा उनी युवतीको घरमै गएर आफूले मन पराएको जाहेर गरे । तर उनले युवतीको परिवारबाट दुर्व्यवहार बेहोर्नु पर्यो र उनी निराश भएर जीवनदेखि नै विरक्तिए । तर नजिकका साथीभाई र परिवारका सदस्यहरूले निगरानीमा राखेर उनको आवेगलाई रोके र उनलाई संरक्षण गरे । यही विन्दुबाट उनको जीवनले कोल्टे फेर्यो । उनले आफूले मन पराएको युवतीप्रति आफ्नो तर्फको प्रेमलाई युगयुगान्तरसम्म रहिरहोस् भनेर आफ्नो नाम भक्तबाट सरुभक्त राख्ने निर्णय गरे । भौतिक रुपमा प्राप्त गर्न नसकेको प्रेमको चिनो आजन्म नाममा जोडेर त्यसको क्षतिपूर्ती गर्ने यो उनको प्रण थियो । अर्को तर्फ आफ्नो त्यो एकतर्फी प्रेम भुल्ने प्रयत्नमा लागे । उनले प्रेमका आवेग र अतृप्तिलाई साहित्यिक उर्जाको रूपमा प्रयोग गरे । त्यसपछि नै लेखियो “ पागल वस्ती” जुन उपन्यासमा उनका प्रेमका आवेगहरु, असन्तुष्टिहरू, गुनासाहरू छताछुल्ल भएर व्याप्त भएको पाउन सकिन्छ । यो उपन्यास उनको मनले लेखेको उपन्यास थियो । हृदयको डडेलोले डामिएर खोपिएका अक्षरहरू थिए जसलाई उनले यौटा काल्पनिक बस्तीको रूप दिएर सिर्जनात्मकताको जलप लगाए । फलतः यस उपन्यासले पाठकको मन जित्न सफल भयो । नेपाली समालोचना क्षेत्रका लौह समालोचकका उपनामले परिचित कृष्णचन्द्र सिंहको पनि ध्यान तान्न सफल भयो । मदन पुरस्कार जित्न पनि सफल भयो ।
आजको सरुभक्त बन्नुमा त्यो असफल प्रेमको ठूलो योगदान रहेको छ । प्रेम सफल भएको भए भक्त श्रेष्ठ पति बन्थे । पिता बन्थे । परिवारवाला बन्थे । साहित्य पनि निरन्तर लेख्थे होलान् । तर आजको जस्तो फुक्काफाल जीवन हुन्नथ्यो । उनी भक्त श्रेष्ठ नै रहन्थे, सरुभक्त हुँदैनथे ।
सरुभक्तले मुक्तक लेखे, मुक्तक सङ्ग्रह निस्कियो । कविता लेखे कविता सङ्ग्रह प्रकाशित भए । उपन्यास लेखे, उपन्यासको पुस्तक प्रकाशित भयो । नाटक लेखे, निर्देशन गरे, पुस्तकाकारमा निकाले । उनले विज्ञान कथाहरु र विज्ञान उपन्यास लेखे । त्यसको पनि चर्चा भयो । नेपाली साहित्यमा विज्ञान कथाको शुरुवात गर्ने शङ्कर लामिछाने मानिन्छन् । उनको माया नं ६५० दृष्टान्तको रूपमा लिइन्छ । सरुभक्तको पनि एक अभिनवको आत्मकथा लगायत विज्ञान कथाहरू, नाटकहरू र उपन्यासहरू आए । केही समय चर्चा भयो । पछि उनले विज्ञान लेखनलाई निरन्तरता दिएनन् र अरू दौंतरी साहित्यकारहरूले पनि यो लेखनपट्टी खासै चासो दिइएको पाइएन । विज्ञान साहित्य नेपाली साहित्यमा पछिल्लो समयमा त असान्दर्भिक जस्तै देखियो ।
सरुभक्तको “तरुनी खेती” प्रकाशित भएपछि एक झमट निकै आलोचना भयो, केही नेपाली महिला लेखकहरु आक्रोशित भए, त्यस उपन्यासको विपक्षमा देखिए । तर पछि ती आलोचनाहरू सामसुम भए ।
सरुभक्तले लेखनमा “ अहम् वाद “ को शुरुवात गरे । यो एक्लैले परिभाषित तथा एक्लैले परिचालित वाद थियो । उनले केही समय यस वादको विषयमा आफ्ना पुस्तक तथा केही अन्तर्वार्ताहरूमा चर्चा गरे पनि आम मानिस, विद्वान समालोचक तथा अध्येताहरुले खासै ध्यान दिएर चर्चा गरेनन् । त्यसमा सहकर्मी लेखक साहित्यकारहरूले पनि चासो दिएर छलफल गरेनन् । अरू कसैले त्यो वादलाई अङ्गिकार पनि गरेनन् । पछि उनी आफैंले पनि यसलाई चर्चा गर्न रुचाएको देखिएन ।
सरुभक्तलाई मूल रूपमा नाट्य क्षेत्रका प्रतिभा मान्ने गरिएको छ । हो, उनी नाटककार हुन् । नाटक निर्देशक हुन् । नाट्य प्रस्तोता हुन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा पनि उनलाई नाट्य विभाग नै सम्हाल्ने अवसर प्राप्त भयो । संगीत नाट्य एकेडेमी गठनपश्चात् कुलपतिका लागि अशेष मल्ललाई प्रस्ताव गरिंदा उनले त्यो पद अस्वीकार गरिदिए । त्यसपछि सरुभक्त कुलपति भए । उता मदन पुरस्कार उपन्यास विधामा पाए । त्यसो त उनले आफ्ना गद्य संगालो ‘किरिङ मिरिङ रेखाहरू” का लागि उत्तम शान्ति पुरस्कार पाए । तर पनि उनलाई सम्बोधन गर्दा नाटककार सरुभक्त नै भन्ने गरिन्छ, कवि भनेर, निबन्धकार भनेर वा उपन्यासकार भनेर मूलभूत रूपमा सम्बोधन गरिंदैन ।
उनी सफल गीतकार पनि हुन् । उनका गीतहरु निकै चर्चित र लोकप्रिय भए । गीतकारको यो पक्ष दोछायाँमा परेको छ । उनको “हङकङ पोखरा” गीतले एकपल्ट निकै राम्रो बजार लिएको थियो र अद्यपि त्यो गीत उत्तिकै रुचिका साथ सुन्ने गरिन्छ । उनका गीति रचनाहरुको पुस्तक पनि प्रकाशित छ । तर उनको गीतकार प्रतिभा ओझेलमा पर्यो । त्यसको साहित्यिक चर्चा कम नै भएको छ ।
सरुभक्तले एकपल्ट यौटा कविता लेखे “सान्दाजुलाई लाल सलाम” शीर्षकमा । यो कविता समीक्षा साप्ताहिकमा प्रकाशित भयो । सान्दाजु अर्थात् काङ्ग्रेसीहरूले वीपी कोइरालालाई सम्बोधन गरिने प्रिय उपनाम । उनलाई लाल सलाम । लाल सलाम कम्युनिष्टहरूले गर्ने अभिवादन । यो अन्तरविरोधी कुरा देखिंदा कांग्रेस पक्षधरहरूलाई चित्त बुझेन । वीपीलाई व्यङ्ग्य गरिएको मानियो । धेरै कांग्रेसीहरू रुष्ट भए यो कविता पढेर । कांग्रेस पक्षधर साहित्यकार अशेष मल्लले तत्कालै समीक्षामा प्रत्युत्तर कविता लेखे, “सान्दाजुलाई तिम्रो लाल सलाम चाहिंदैन” । यो काव्यात्मक जुहारीले काठमाडौंको साहित्यिक वृत्त त्यसताक निकै गर्माएको थियो । पछि सरुभक्तले त्यो कविताको पृष्ठभूमि र आफ्नो मनसायको सन्दर्भलाई लेखको रूपमा लेखे जुन उनको उत्तम शान्ति पुरस्कार प्राप्त कृति “किरिङ मिरिङ रेखाहरू” मा सङ्कलित छ ।
सरुभक्त पोखरेलीका आदर्श भए । किनभने भूपि शेरचनपछि पोखरामा धेरै सम्मान, पुरस्कार र पद पाउने साहित्यकार उनै भए । मुकुन्दशरण उपाध्यायपछि मदन पुरस्कार पाउने उनै भए । लेखनमा पनि उनको नित्य निरन्तरता कायम रह्यो । उनी साहित्यमा ‘फूल टाइमर’ मात्र होइन ‘अलटाइमर’ भए । उनलाई जागिर खानु थिएन । वन्द व्यापार गर्नु थिएन । परिवारको झण्झट थिएन । उनी कि त लेख्थे, नभए पढ्थे, साहित्यिक समारोह र गतिविधिमा सरिक हुन्थे । घुम्थे । उनी संरक्षण कविता अभियानमा पनि सक्रिय भए । गाउँ गाउँमा गएर तिनै ग्रामिण जीवनको नजिक बसेर तिनैका सुखदुःखका कविता लेखेर तिनैलाई सुनाउने यो कार्यक्रम पनि लामै समय चलेको थियो ।
सरुभक्तले नेपाली साहित्यमा पोखराबाट अतुलनीय योगदान गरेबापत साथीभाईहरुले “सरुभक्त सरोकार केन्द्र” को स्थापना गरे । यो यौटा सर्जकलाई गरिएको उच्च महत्त्वको सम्मान थियो । त्यस केन्द्रले सरुभक्तका कृतिहरू प्रकाशन देखि विविध कार्यक्रमहरू आयोजना गर्ने गर्थ्यो । त्यस केन्द्रको पाँचौं वार्षिकोत्सवमा मैले पनि सहभागी हुने अवसर पाएको थिएं ।
सरुभक्तले विवाह गर्ने मन बनाएनन् । तर उनले सरस्वतीलाई छोरीको रूपमा अपनाए । उनले अजन्मा छोरीको रूपमा ग्रहण गरे जो नेपाली साहित्यमा सरस्वती प्रतीक्षाको रूपमा परिचित र चर्चित छिन् । उनले छोरीको रूपमा उनलाई साहित्यमा पनि अघि बढाए । साथै यात्रा गरे । यसलाई लिएर कतिपयले कुरा पनि काटे । बोल्नेको मुख कहाँ थुन्न सकिन्छ र । पछि उनले छोरीको विवाह गरिदिए । नाती पनि भयो । तर पछि सरस्वतीले पारपाचुके गरिन् । सरुभक्त छोरी र नातिनी पाएर खुशी छन् ।
सरुभक्त नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाट्य विभागको प्रमुख हुँदा माधव घिमिरे लिखित अत्यधिक लोकप्रिय गीति नाटक मालती मङ्गले अमेरिकामा प्रदर्शनको कार्यक्रम तर्जुमा भयो । खासमा त्यस गीति नाटकमा संलग्न कलाकारहरू “मालती मङ्गले” नाटक लिएर अमेरिका प्रवेश गर्न चाहन्थे । त्यसका लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्रशासन प्रमुखको रूपमा काम गरिसकेका कवि हेमन्त श्रेष्ठले अमेरिकाबाट सहयोग पुर्याइरहेका थिए । तर एकेडेमी तथा तालुकवाला मन्त्रालयका प्रतिनिधि समेत संलग्न हुँदा यात्राको प्रबन्धमा सहयोग पुग्ने र भिसाको लागि पनि सहज हुने आंकलन थियो । त्यसैले नाट्य विभाग प्रमुख सरुभक्तको नेतृत्वमा मालती मङ्गलेको टोली अमेरिका आउने प्रोसेस भयो र त्यो प्रोसेस सफल भयो ।
उनी अमेरिका आएपछि विशेष गरी डिसी मेट्रो क्षेत्रमा उनको सम्मानमा साहित्यिक कार्यक्रमहरू भए । नाट्य टोलीका सदस्यहरू लामो समय पनि डिसी मेट्रो क्षेत्रमै बसोबास गरेका थिए ।
सरुभक्तले टोली नेताका हिसाबले टोलीका सबै सदस्यलाई ईमान्दारीपूर्वक कार्यक्रम सकेपछि नेपाल फर्कने वचनबद्ध गराएर अमेरिका आएका थिए । विभिन्न स्थानमा मालती मङ्गलेको प्रदर्शन त भयो, तर आर्थिक हिसाबले टोलीले काठमाडौंदेखि अमेरिकासम्म आउँदा गरेको हवाई टिकटको तथा अन्य खर्च उठ्न सहज थिएन । फेरि सबै कलाकारहरू आफ्नै खर्चमा अमेरिका आएका थिए । त्यसैले कलाकारहरू नफर्कने मूडमा पुगे । यसले सरुभक्तलाई निकै पीडा भयो । उनले सम्झाउन खोजे, आउनुअघिको प्रतिबद्धता सम्झाउन खोजे । तर कलाकारहरूले हामी हाम्रो खर्चमा आएका, यत्रो लगानी गरेको नउठाई कसरी जान सक्छौं भनेपछि उनले थप दबाब दिन सकेनन् र केही उमेर ढल्केका र अमेरिकामा आफ्ना कोही नभएका ३।४ जना बाहेक सबै अमेरिकामै बसे । खासमा उनीहरूको पूर्वउद्देश्य नै त्यही थियो ।
अन्ततः निरास मूडमा उनी नेपाल फर्किए र कलाकारहरू आफ्नो प्रयासका बाबजूद अमेरिकामै हराए भनेर प्रेस विज्ञप्ति जारी गरे । उनी अमेरिका छँदै भेटघाटको क्रममा अमेरिका भ्रमणले उनलाई झ्याउरे छन्दमा काव्य लेख्न प्रेरणा मिलेको बताउँथे तर उनले त्यतिबेला नबताएको अमेरिकाको पृष्ठभूमिमा ढिलोगरी “प्रतिगन्ध” उपन्यास लेखे र त्यो प्रकाशित भयो । यो उपन्यास त्यही मालती मङ्गले गीति नाटक अमेरिका प्रदर्शनार्थ भ्रमण गरेकाले नै लेख्न सम्भव भएको थियो ।
संसारमा धेरै कवि लेखकहरू अविवाहित जीवन बाँचेका छन् । तिनको सन्तान भनेकै तिनका कृतिहरू हुन् । सरुभक्तको पनि वास्तविक सन्तान उनका कृतिहरू हुन्, अजन्मा छोरी र तिनको सन्तान नाती भए पनि ! साँचो अर्थमा सरुभक्त अक्षर पुजारी हुन्, साहित्य उपासक हुन्, सरस्वती भक्त हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।