वि.सं. २०३७ सालमा हुनुपर्छ म पहिलोपल्ट विराटनगर पुगेको । मलाई विराटगर पुऱ्याएको थियो मेरो जागिरले । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षण शाखामा काम गर्थेँ र त्यसै सिलसिलामा चितवनको रामपुर कृषि क्याम्पसदेखि इलाम क्याम्पससम्म जाने क्रममा आन्तरिक लेखा परीक्षणका लागि टोली नेता र सहकर्मीहरूका साथमा म विराटनगर पुगेँ । मैले विराटनगर पुगेपछि भेट्ने साहित्यकारको सूचीमा प्रमोद प्रधान थिए । मैले उनी कार्यरत अफिस रासस विराटनगर क्षेत्रीय कार्यालयमा सोधखोज गर्दै भेटेको थिएँ ।

पहिलो भेटमै म अचम्मले खुसी भएँ । त्यो खुसीको कारण साहित्यिक थिएन । सामाजिक थिएन । सांस्कृतिक थिएन । उनको ‘शरीर’ थियो । उनी मभन्दा पनि दुब्ला रहेछन् । काठमाडौँमा साथीहरूमाझ, आफन्त र परिवारमाझ म लुखुरे, पिलन्धरे, खाने बेलामा बाहिर निकालेजस्तो, फुकिढल लगायतको उपमा प्राप्त थिएँ म । त्यसैले उनलाई देख्नासाथ म खुसी भएको होला तर आज लाग्छ, त्यो कुनै खुसी हुनुपर्ने कारणै होइन । जे होस्, खुसी भएँ उनलाई भेट्दा । उनी पनि खुसी भए । नामले हामी परिचित थियौँ । कतिपय पत्रपत्रिकामा हाम्रा रचना एकै अङ्कमा पनि प्रकाशित भएका हुँदा हुन् ।

प्रमाेद प्रधानका साथमा गोविन्द गिरी प्रेरणा

त्यो भेट, त्यो परिचय, त्यो दिन रोपिएको आत्मीयताको बीज रुख भएर, चौताराको बरपिपलझैँ झाँगिएर जाने क्रममा निरन्तरता छ । मित्रतापूर्ण सम्वन्धमा विस्तार छ ।

प्रमोद प्रधानको घर विराटनगर । जागिर विराटनगर । साहित्यिक गतिविधि विराटनगर र वरिपरि नै । त्यस्ता त्यति वेला भनिने “मोफसल” युवा साहित्यकारका बारेमा मदन पुरस्कार गुठीका हर्ताकर्ता नेपाली वाङ्मयका अन्वेषणात्मक निबन्धकार कमल दीक्षितले गोरखापत्रमा सम्पादकलाई चिट्ठी लेखेर प्रमोद प्रधानको तारिफ गरे । यो एक प्रकारको दुर्लभ घटना थियो, कमसेकम युवा साहित्यकारका लागि । त्यो चिट्ठी लेखाएको थियो उनको लेखले जुन विराटनगरबाट प्रकाशित हुने “नव संसार” पत्रिकामा प्रकाशित थियो । त्यो थियो “पत्रकारिताको दृष्टिले मोरङ जिल्ला” नामक अनुसन्धानात्मक लेख । निकै मेहनत, इमानदारी र गहन अध्ययन गरेर लेखिएको हुनाले नै कमल दीक्षितले त्यसरी गोरखापत्रमा चिट्ठी लेखेर तारिफ गरेका थिए ।

उनले लेखेका थिए, विराटनगरबाट प्रकाशित हुने द्वैमासिक नवसंसारको हालै प्रकाशित पूर्णाङ्क-६ मा श्री प्रमोद प्रधानको एउटा लेख छ-पत्रकारिताको दृष्टिले मोरङ जिल्ला। तपाईँको सम्मानित पत्रमार्फत म श्री प्रधान र नवसंसारलाई बधाइ ज्ञापन गर्छु । मदन पुरस्कार पुस्तकालयको मदन गौरवले गर्न नसकेको काम उहाँहरूले गर्नुभएको छ । एउटा जिल्लाको मात्र भए पनि यावत् पत्रपत्रिकाको साङ्गोपाङ्गो विवरण दिएर उहाँहरूले अरुहरूलाई पनि बाटो देखाइदिनुभएको छ । पर्सा, बाँके र कास्की जिल्ला तथा लुम्बिनी अञ्चलका जाँगरियाहरूले पनि यस्तै गरिदिए कति राम्रो हुने थियो ।”

यो चिट्ठी गोरखापत्र दैनिकको सम्पादकलाई चिट्ठी स्तम्भमा वि.सं. २०३८ साल माघ ३ गते प्रकाशित भएको थियो ।

प्रमोद प्रधान मूलतः कवि हुन् । उनले वि.सं. २०२९ सालमा नयाँ सन्देश पत्रिकामा एक टुक्रा कविता प्रकाशन गरेर विता लेखन यात्रा सुरु गरेका थिए । उनको पहिलो कृति पनि कविता सङ्ग्रह थियो, “रातभरिका सुस्केराहरू” । यो संग्रह विराटनगरबाटै वि.सं. २०३२ सालमा प्रकाशित भएको थियो तर पत्रकारिता उनको रोजीरोटी थियो । जागिर थियो । उनको साहित्य लेखन र पत्रकारिताको यात्राको सुरुवातको वेला पञ्चायतको उत्कर्ष थियो । अधिकांश नेपालीहरू पञ्चायत र राजाका पक्षधर थिए । नेपाली कविहरू कहिले राजा रानीको जन्मोत्सव आउला र गोरखापत्रमा कविता छपाउँला भनेर कुर्दथे । पञ्चायत दिवसमा आयोजित वा राजाको जन्मोत्सवमा आयोजित कविता गोष्ठीमा कविता पढ्न लालायित हुन्थे । परिस्थिति बदलिएपछि ती दिन बिर्सनेहरूको लामै सूची बन्ला त्यो बेग्लै कुरा हो ।

प्रमोदले आफ्नो सुरुवातको निष्ठा कायम राखे । वि.सं. २०३६ सालको जनमत सङ्ग्रहको घोषणाले साहित्यकारलाई पनि पञ्चायत पक्षधर र बहुदल पक्षधर दुई फ्याकमा विभाजित गऱ्यो । सुधारिएको पञ्चायतले जनमत सङ्ग्रहमा विजय हासिल गरेपछि कैयन् बहुदलवादी कविहरू पञ्चायतमै फर्किए । प्रमोद भने कतै डेग चलेनन् ।

तर वि.सं. २०४६ सालको जन आन्दोलनले पञ्चायत व्यवस्था ढालेपछि प्रमोदको जागिरे जीवनमा तुवाँलो लाग्यो, ग्रहण लाग्यो । उनलाई आफ्नै निकटका मित्रहरूले उनको आस्थाको कारणले लखेट्न थाले, दुःख दिन थाले । उनलाई अपायक ठाउँमा सरुवा गर्नेदेखि प्रमोसनमा समेत भाँजो हाले तर उनको लेखनमा उनको आस्था झल्कन्नथ्यो, उनको काममा आस्था झल्कन्नथ्यो तर पनि उनलाई दुःख दिने क्रम रोकिएन तर उनले आफ्नो कर्मलाई निष्ठापूर्वक निरन्तरता दिइरहे, लेखनलाई निरन्तरता दिइरहे ।

उनले आफ्नो कलमलाई कविता, समालोचना, पत्रकारिता र बाल साहित्यलेखनमा विस्तारित गरे । पुस्तकाकारमा नल्याए पनि जागिरको सिलसिलामा विदेश भ्रमणमा जाँदाको यात्रा संस्मरण पनि उनले थोरै सङ्ख्यामा कलमबद्ध गरेका छन् । लेखनप्रतिको लगाव, लेखन प्रतिको प्रतिबद्धताले उनी खारिँदै गए । म विराटनगर जबजब जान्थेँ, म उनलाई भेट्न पुगेकै हुन्थेँ । शनिवार साहित्य समूहले आयोजना गरेको “विराट् साहित्य सम्मेलन” मा जाँदा पनि हाम्रो भेट भएको हो । धनकुटा सवारी शिविरमा वि.सं. २०३९ साल पुस २७ गते राजालाई कविता सुनाउन पनि हामी सँगै पुगेका हौँ । यसरी हाम्रो साहित्यिक मित्रताले निरन्तर झाँगिने मौका पायो ।

उनको कथाकार देवकुमारी थापासँग राम्रो सम्बन्ध थियो । विराटनगरकी सबैकी वेदकुमारी दिदी प्रमोदकी साक्खै दिदीजस्तै थिइन् । यो सम्बन्धलाई उनले साहित्यमा विस्तारित गरे । उनले देवकुमारी थापाका निबन्धात्मक गद्य रचनाहरूलाई सङ्कलन गरे, सम्पादन गरे र प्रकाशित भयो, “क्षण, विचार र स्मृतिहरू” । यो पुस्तकले वि.सं. २०४९ सालको उत्तम पुरस्कार प्राप्त गऱ्यो । यो उनका लागि पनि निकै प्रसन्नताको विषय थियो । “उत्तम पुरस्कार” जुन पछि “उत्तम शान्ति पुरस्कार” भयो, सम्पादित कृतिले सम्भवतः पुरस्कार पाएको यो नै एउटा कृति हो जुन कृतिसँग प्रमोदको नाम जोडिएको छ ।

आफ्नो लेखनलाई उचाइ दिने काममा निरन्तर लाग्दालाग्दै उनले साहित्यिक कृतिको सम्पादन कार्यमा पनि निरन्तरता दिए । उनको समालोचनात्मक चेत र दृष्टिकोणले गर्दा उनले सम्पादन गरेका कृतिहरू महत्त्वपूर्ण र गम्भीर साबित भए । विराटनगरमा स्थापित वाणी प्रकाशनको आग्रहमा उनले “नेपाली यौन कथा” सम्पादन गरे । यो निकै मेहनत र बौद्धिक कसरतका साथ सम्पादन गरिएको कृति थियो । सूधपाका एक मूर्धन्य व्यक्तित्व सूर्यविक्रम ज्ञवालीको स्मृतिमा प्रकाशित स्मृतिग्रन्थ अर्को निकै महत्त्वपूर्ण ग्रन्थ हो उनको सम्पादनमा प्रकाशित भएको ।

वि.सं. २०५४ सालमा यौटा रमाइलो र आकस्मिक संयोगको समाचार प्रकाशन, प्रसारण भयो । त्यो थियो युवा वर्ष मोती पुरस्कारको घोषणा र विजेता थियौँ प्रमोद प्रधान र म स्वयं । यौटा घनिष्ठ साथीसँग संयुक्त रूपमा पुरस्कृत हुन पाउँदा मलाई निकै प्रसन्नता र खुसी हुनु स्वाभाविक थियो । प्रमोदलाई पनि त्यस्तै प्रसन्नता र खुसी भएको मैले महसुस गरेँ । हाम्रो मित्रताको फूलबारीमा यस्तो फल फलेको थियो, जो हामी दुईले आधा-आधा प्राप्त गरेर निकै रमाउँदै ग्रहण गऱ्यौँ । ४० वर्षमुनिका युवा साहित्यकारलाई पुरस्कृत गरिने पुरस्कार थियो त्यो ।

वास्तवमा प्रमोद प्रधान विराटनगरमै रमाएका थिए । उनका पति पत्नी दुवैको जागिर विराटनगर भएकाले आफ्नो प्रकारको स्थायी निवास पनि विराटनगरमै बनाएका थिए तर पछि उनले राजधानीलाई नै कर्मक्षेत्र बनाउने निधो गरे । काठमाडौँमा उनले आफ्नो लेखनप्रतिको निष्ठा, निरन्तरता र प्रतिबद्धतालाई अगाडि बढाइ नै रहे । काठमाडौँ नेपालको राजधानी मात्र नभएर अवसरहरूको राजधानी पनि हो । उनले आफ्नो अनुसन्धानात्मक लेखनलाई काठमाडौँमा झन् तिखारे ।

बालसाहित्यसँग नजिकको नाता भएकाले वि.सं. २०५७ सालमा उनको नेपाली बाल साहित्यको इतिहास प्रकाशित भयो । नेपाली बाल साहित्यको यस्तो गहकिलो इतिहास यसअघि प्रकाशित भएको थिएन । यसलाई सुरुमा बगर पत्रिकामा र पछि किताबको रूपमा नकुल सिलबालले बगर फाउन्डेसनको तर्फबाट प्रकाशन गरेका थिए । पछि उनले वि.सं. २०६५ मा “नेपाली बाल वाङ्मय परिचयकोश” पनि प्रकाशनमा ल्याए । नेपालको बाल साहित्यको क्षेत्रमा यो अपूर्व र दुर्लभ योगदान हो । यो उनले नेपाली वाङ्मयको बगैँचामा फुलाएको सुगन्धित फूल थियो ।

अझ उनले विश्लेषणात्मक रूपमा लेखेको “नेपाली निबन्धको इतिहास” नेपाली वाङ्मयकै विशिष्ट कृति हो । यस विधामा यति विस्तृत र यति विश्लेषणात्मक र व्यापक अनुसन्धान गरिएको पुस्तक यसअघि प्रकाशित भएको थिएन । यसमा उनको अनुसन्धान र विश्लेषण हेर्दा धेरै प्राध्यापकहरूले लेखेको टापटिपे लेखनभन्दा निकै गम्भीर लेखन प्रस्टै देख्न सकिन्छ । यसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थियो । मेरो विचारमा यो कृतिकै आधारमा उनलाई कुनै पनि विश्वविद्यालयले मानार्थ डाक्टर उपाधि दिन कन्जुस्याइँ गर्नुपर्ने देख्दिनँ । यसलाई कतिपय विश्वविद्यालयले पाठ्यक्रममा सन्दर्भ सामग्रीको रूपमा राखेका छन् । प्राध्यापन क्षेत्रबाहिरका व्यक्तिले लेखेको यसप्रकारका कृति पाठ्यक्रममा राखिएको नेपाली वाङ्मयको परिप्रेक्षमा अति न्यून दृष्टान्त मात्र होलान् । त्यो अति न्यून प्रतिभामा प्रमोद पनि एक हुन पुगे ।

काठमाडौँ आएपछि प्रमोदले काठमाडौँ बसाइलाई पुरस्कार वा वरदानका रूपमा परिवर्तन गरिदिए । उनले काठमाडौँको महत्त्वपूर्ण क्षेत्र कोटेश्वरमा पनि आफ्नो निवास निर्माण गर्न सक्षम भए । उनी विराटनगरमै रमाइरहेका थिए । काठमाडौँ नआउँदा पनि उनको योगदान कम थिएन । जसरी धेरै राम्रा प्रतिभाहरू काठमाडौँ नआईकनै आफ्नो प्रकारको विशिष्ट योगदान दिएर प्रतिष्ठित जीवन नै बाँचिरहेका छन्, उनी पनि विराटनगरमा सम्मानित प्रतिभा थिए । हो, प्रतिभालाई उद्याउन, ठुला अवसर प्राप्त गर्न स्थान विशेषको महत्त्वपूर्ण भूमिका हुने कुरामा विमति देखिन्न तर पनि प्रतिभा आफैँ निष्ठावान् छैन, अनुशासित छैन भने ती स्थानले दिने भूमिका र अवसर टुकुचामा बगेका दृष्टान्तहरू पनि प्रशस्तै देखिन्छन् । प्रमोदले विराटनगरमै बसेर लेख्दा पनि कमल दीक्षितले चिट्ठी लेख्न मन लाग्ने बनाउन सक्ने लेखन गर्न सक्षम भएका थिए । निःसन्देह काठमाडौँ आगमनले उनको लेखनगत, अनुसन्धानगत क्षितिज उघारिदियो, व्याप्ति दियो, प्रकाशनका विविध अवसरहरू दियो ।

उनी विवेक सिर्जनशील प्रकाशनसँग पनि आबद्ध भए, यद्यपि त्यो प्रकाशनले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेन । उनी निरन्तर नेपाल बाल साहित्य समाजसँग सम्बद्ध हुँदै अध्यक्षको जिम्मेवारीसम्ममा पुगे र अहिले उनी नेपाली नियात्राको विस्तृत इतिहास लेखनमा जुटिरहेका छन् र नियात्रा कृतिहरूको अनुपम भण्डार संकलन गर्न सक्षम भएका छन् र सम्बद्ध सबैबाट सहयोग पनि पाइरहेका छन् । यसरी उनले सहयोग पाउनुको एकमात्र कारण उनले लेखनमा स्थापित गरेको निष्ठा हो । इमानदारी हो । प्रतिबद्धता हो । निरन्तर साधना र अनुसन्धान तथा विश्लेषण हो ।

प्रमोदको लेखनको लुकेको यौटा पक्ष हो उनको गीत लेखन । विराटनगरकै सिनेमा निर्माता उद्धव पौड्यालको आग्रहमा उनले “तिलहरी” सिनेमाका लागि गीत लेखे । त्यो गीत निकै लोकप्रिय बन्यो । भारतका प्रख्यात गायक गायिका सुरेश वाडकर र पूर्णिमाले गाएको तथा दार्जीलिङका प्रख्यात साहित्यकार रामललाल अधिकारीका भाइ जीवन अधिकारीको सङ्गीतमा सजिएको त्यो गीतको बोल थियो –

धरतीभरि खोज्दाखोज्दै, फूलभरि रोज्दारोज्दै

मैले यौटा परी पाएँ …..”

त्यसो त उनले भिडियो सिनेमा “आँधी” का लागि पनि गीत लेखेका थिए जसलाई भूपेन्द्र रायमाझीको सङ्गीतमा लोचन भट्टराईले गाएकी थिइन् । पछि जीवन अधिकारीकै सङ्गीतमा मणि राईले पनि एक गीत गाएका छन् जसको बोल छ –

यति धेरै थिए कि बातहरू

केही आँखाले बोलेँ, केही ओठले वोलेँ”

यो गीत लव गाउँलेको सम्पादन तथा अन्जुकुमारी सिंहको प्रकाशकत्वमा प्रकाशित नागबेली पत्रिकामा प्रकाशित भएको थियो ।