कसैले गल्ती गरेको खण्डमा सच्याउने त छँदै छ, गलत नै नगरेकोलाई अनुसन्धानको नाउमा गलत करार गरिदिनु पनि उपयुक्त हुँदैन । सबैको सम्मान र स्वस्थ आलोचनाबाट मात्र समुन्नत साहित्यको निर्माण हुन सक्छ ।

के हामी तथ्यभन्दा पर छौं ?

असार १५ गते अपराह्न देशकै मूलधारको अग्रणी अनलाइन सञ्चार माध्यममा गोविन्द गिरी प्रेरणाको नाउँमा एक लेख छापियो, “दुई पुस्तकमा पारिजातबारे फरक चर्चा : कुन सही, कुन गलत ?”

उक्त लेखले विशेष गरी पारिजात र २०४६ सालको आन्दोलनको आलोकमा बसी दुई नेपाली पुस्तकमा लिखित सन्दर्भहरूलाई केलाउन खोजिएको थियो । र ती पुस्तकहरूमा वर्णित तथ्यहरूमाथिको विश्लेषण प्रस्तुत गरिएको थियो ।

सुकन्या

सुकन्या

उक्त विश्लेषणको क्रममा लेखक स्वयम्ले नै भनेका थिए, “मैले पारिजातको जीवनी पुस्तक ‘सुश्री पारिजात’ लेखनका लागि अध्ययन अनुसन्धानको क्रममा दुई पुस्तकमा पारिजातको सो कालोपट्टी बाँध्ने कार्यक्रम र सामूहिक गिरफ्तारीको विषयमा बिल्कुलै ‘असत्य’ अर्थात् ‘गलत’ लेखिएको पाएँ । हुन त मैले जीवनी लेख्दै गर्दा कतिपय शुभचिन्तकले फलानाले झुट लेखेको छ, असत्य लेखेको छ भनेर तपाईंको जीवनीमा आउनुपर्छ भन्ने सुझाव पनि पाएको हुँ । तर जीवनीमा मैले फलाना फलानाले असत्य लेखे भन्नु मेरो उद्देश्य थिएन । जे यथार्थ थियो, त्यो मात्र उल्लेख गरें । तर अहिले भने मलाई लाग्यो, कुनै पुस्तकमा असत्य लेखिएका छन् भने ती लेखकको जीवनकालमै सो कुरा प्रस्ट लेखिदिनुपर्छ ताकि ती लेखकले पनि गल्ती महसुस गरुन् र आगामी संस्करणमा तिनलाई सच्याउने अवसर प्राप्त होस् ।

मैले यहाँ मूल रूपमा दुई पुस्तकलाई दृष्टान्तको रूपमा लिएको छु । प्रकाश सायमी लिखित ‘बर्षादी दिनहरू’ (२०६६ साल, रत्न पुस्तक भण्डार) र हरिवंश आचार्य लिखित ‘चिना हराएको मान्छे’ (विसं २०६९, फाइनप्रिन्ट) ।”

अझ मसालेदार बनाउन उनी प्रकाश सायमीद्वारा लिखित बर्षादी दिनहरूको पङ्क्ति कोट्याउँदै त्यसको तलपट्टि लेख्छन्, “प्रकाश सायमीको पुस्तकमा वर्णित यो विवरण पढ्ने पाठकले कुनै अविश्वास गर्नुपर्ने ठाउँ देखिंदैन । लेखकले पारिजातलाई आफू सहितले बोकेर ट्रकमा हालेको भनेपछि पाठकलाई होला भन्ने नै लाग्छ । अझ पछि कैदमुक्त (हिरासत मुक्त ?) भएपछि भनें भन्दा त शङ्का गर्ने ठाउँ देखिंदैन ।”

त्यसैगरी हरिवंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’लाई आधार बनाएर त्यस पुस्तकका केही पङ्क्तिहरू टिपेपछि उनी थप्छन्, “हरिवंश आचार्यको पुस्तकमा वर्णित यो विवरणलाई पनि पाठकले कुनै पनि शङ्का गर्नुपर्ने देखिन्न । उनको लेखाइ अनुसार प्रहरीले कलेजलाई घेर्‍यो र ‘सबै’ साहित्यकार कलाकारलाई ट्रकमा राखेर बग्गीखानातिर लग्यो । ‘सबै’ भनेपछि त्यहाँ उपस्थित कोही नछुटेको भन्ने नै अर्थ लाग्छ । त्यति मात्र होइन बग्गीखानाबाट पारिजात, युद्धप्रसाद मिश्र, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई गाडीमा राखेर महेन्द्र पुलिस क्लबमा लग्यो । त्यहाँ लगेर पारिजात र युद्धप्रसाद मिश्रलाई क्लबको चौरमा राख्यो । लेखकको यति विस्तृत विवरण पढ्दा पाठकलाई प्रत्यक्ष प्रसारण जस्तै जीवन्त अनुभव हुन्छ ।

तर यथार्थ भने त्यो थिएन । प्रकाश सायमी र हरिवंश आचार्यले बयान गरेजस्तो भएकै थिएन ।”

प्रकाश सायमीको पुस्तकको चर्चा गर्न चाहन्न । किनकि विभिन्न कारणवश त्यो पुस्तक मैले पढ्न पाएको छैन ।

तर हरिवंश आचार्यको पुस्तक चिना हराएको मान्छे पुस्तक भने मैले पुरै छिचोलेको छु । २०७३ सालमा अच्युत घिमिरेको प्रसिद्ध कार्यक्रम श्रुति संवेगमा हरिवंश आचार्यको पुस्तक चिना हराएको मान्छेको वाचन भएको थियो । सोही वाचनकै क्रममा मैले उक्त पुस्तक पुरै सुनेको छु ।

उक्त कार्यक्रमको १० औं शृङ्खला पृष्ठ १८२ बाट सुरु भएको छ । संयोगवश उक्त शृङ्खला ‘कालोपट्टी’ भन्ने शीर्षकबाटै सुरु भएको छ, जहाँको प्रसङ्ग यहाँ लेखकले आफ्नो आलेखमा कोट्याएका हुन् । तर लेखक हरिवंश आचार्यले तथ्य बङ्ग्याएर लेखेको दाबी गर्ने लेखक प्रेरणा स्वयम्को दाबी नै गलत छ ।

उक्त पुस्तकमा लेखकले भनेझैँ पारिजात र युद्धप्रसाद मिश्रलाई क्लबको चउरमा राखेको भन्ने कहीँ कतै छैन । बरु लेखक आचार्यले स्पष्ट शब्दमा भनेका छन्, “नभन्दै एकछिनमा प्रहरीको एक जत्थाले कलेजलाई घेर्‍यो र भएजति सबै साहित्यकार, कलाकारहरूलाई ट्रकमा राखेर लग्यो बग्गीखानातिर । पारिजातको अशक्तता देखेर उनलाई त्यहीँ छोडिदियो । पछि कसैले ट्याक्सी खोजेर उनलाई उनको डेरामा पुर्‍याइदिएछ ।” अर्थात् लेखमा मैले सत्य बोलेँ भनेर दाबी गरेकै तथ्य उनले झुटो भनेर द्रष्टव्य दिएको पुस्तकमा छ । उक्त कार्यक्रमको श्रव्य फाइल पङ्क्तिकारसँग सुरक्षित नै भएकाले जुनसुकै बखत पनि पठाउन सक्छु ।

अन्त्यमा, जब पारिजातको जीवनी भनेर “सुश्री पारिजात” पुस्तक बजारमा निस्कियो, खुब उत्सुक भएर उक्त पुस्तक किनेर ल्याएको थिएँ । पुस्तकलाई सुमसुम्याउन समेत भ्याएको थिइनँ, कान्तिपुर अनलाइन पत्रिकामा मास्केले लिएकाे सुकन्या (पारिजातकी बहिनी) सँगको अन्तर्वार्ता प्रकाशित भएको रहेछ । हतार हतार उक्त अन्तर्वार्ता खोलेर हेरेको थिएँ । त्यहाँ मास्केको प्रश्नमा सुकन्याको उत्तर यस्तो थियो ।

– “अब एउटा सन्दर्भमा, भर्खरै ‘सुश्री पारिजातकिताब बजारमा आएको छ तपाईंलाई कस्तो लाग्यो ?

“त्यो चर्चै गर्नुनपर्ने विषय हो । ऊ (लेखक) अन्तर्वार्ता लिन आएथ्यो मसँग, केही अस्वस्थ जिज्ञासा लिएर, जुनबारे मलाई थाहा थिएन । अनि मलाई रिस उठ्यो । लेखक बारबरा निम्री अजिजले पनि भनेकी छन्– ‘उनी पारिजातबारे हरदम अनफेवरेबल भ्युजको खोजीमा थिए… !’”

उक्त सन्दर्भ पढेपछि आजसम्म पनि पुनः उक्त पुस्तक खाेलेर हेर्ने जाँगर चलेको छैन । तैपनि एक जनाले निकै दुख गरेर लामो अध्ययन अनुसन्धान गरेर लेखेको पुस्तक भनेर अहिलेसम्म त्यो पुस्तकलाई र्‍याकमा सम्मानका साथ थन्क्याएको थिएँ, आजको लेखले त झन् भएको अलिकति सम्मान पनि मरेर गएको छ । केही अनुसन्धान गरियो भन्दैमा अरूको विरुद्ध नभएको आरोप लगाउनु लेखक साहित्यकारलाई सुहाउने कुरो कदापि होइन । मरिसकेकी पारिजात होस् या जीवित हरिवंश वा प्रकाश, कसैलाई विवादित बनाउने अधिकार कसैमा छैन ।

साहित्य समाजको ऐना हो । तर कतिपय अवस्थामा साहित्य सङ्गीतले नै समाजलाई दिशा निर्देश गरिरहेको हुन्छ । त्यसैले साहित्यमा मनलाग्दी र तथ्यहीन प्रयोग गर्नु उपयुक्त हुँदैन । आफूलाई नायक बनाउने नाममा अरूलाई खलनायक बनाउने जस्तो घृणित कार्य पनि यस बौद्धिक बिदाका लागि उपयुक्त हुन्न । सबैले सबैको सम्मान गर्न सक्नु र सिक्नुपर्छ । कसैले गल्ती गरेको खण्डमा सच्याउने त छँदै छ, गलत नै नगरेकोलाई अनुसन्धानको नाउमा गलत करार गरिदिनु पनि उपयुक्त हुँदैन । सबैको सम्मान र स्वस्थ आलोचनाबाट मात्र समुन्नत साहित्यको निर्माण हुन सक्छ ।