नेपाली लोकगीत र लोक संस्कृतिका अध्येता एवम् लमजुङे स्रष्टा लालबहादुर भुजेल (२०१२) सुन्दरबजार नगरपालिका-४ दुराडाँडा घर भई हाल चाँगुनारायण नगरपालिका, भक्तपुरमा बसोबास गर्दै आएका स्रष्टा हुन् । हाल चाँगुनारायण साहित्य समाज भक्तपुरका अध्यक्ष रहेका उनी  नेपाल सरकार, सह सचिव पदबाट अवकाशप्राप्त भई पछिल्लो समय साहित्य साधनामा लागेका देखिन्छन् ।

उनका साँघुटारमा केही रात (नियात्रासंग्रह), पराकाष्ठा (हाइकुसंग्रह),  अकर्मण्यता (ताङ्कासंग्रह), परिवेश (कवितासंग्रह), भुन्टे खरायो (बाल-कवितासंग्रह), चट्पटे र पानीपुरी (बाल-कवितासंग्रह), ठाडो भाकाको लोक सांस्कृतिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन् ।

उनको ‘ठाडो भाकाको लोक सांस्कृतिक इतिहास’ नामक कृति चाँगुनारायण साहित्य समाज, भक्तपुरद्वारा विसं २०७५ वैशाखमा प्रकाशित ग्रन्थ हो । २५४ पृष्ठमा फैलिएको यस अनुसन्धानात्मक ग्रन्थमा भुजेलले नेपाली लोकगीतका क्षेत्रमा चर्चा बटुलेको ठाडो भाकाका बारेमा ६ ओटा अध्यायमा विस्तृत र गहन अध्ययन गरेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र संस्कृतिविद् डा. जगमान गुरुङका जानकारीमूलक सामग्री र पठनीय भूमिका समेत समेटिएको यस कृतिमा नेपाली लोकसाहित्य र लोकसंस्कृतिका बारेमा उनै विद्वान् त्रयका मननीय भूमिका मार्फत ठाडो भाका लोकगीतको परिचय पाउन सकिन्छ ।

ठाडो भाका लोकगीतका सम्बन्धमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो भूमिकाका माध्यमबाट गण्डकी भेगमा कुनै बेला  ठाडो भाका गायक गायिकालाई मात्र लोक दोहोरीको कलाकार ठानिने यो सांस्कृतिक सम्पदा स्वदेशमा मात्रै नभएर विदेशमा समेत नेपाली माझ हृदयको ढुकढुकी साबित भएको छ भनेर चर्चा गरेका छन् ।

वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीले आफू लमजुङमा औद्योगिक सर्वेक्षणको काममा खटिएर सामाजिक, आर्थिक तथा ग्रामीण उद्योग बारे काम गर्ने सिलसिलामा ठाडो भाकासँग परिचित रहेको उल्लेख गर्दै जनस्तरबाट औधी रुचाइएको लोकगीत भनेका मायाप्रेममा मात्र सीमित नभई जीवनका दुःख-सुख र आँसु-हाँसो समेट्ने विधा भएको आशय झल्काएका छन् । ‘ठाडो भाका गीतको सांस्कृतिक महत्त्व’ शीर्षक दिएर संस्कृतिविद् डा. जगमान गुरुङले ठाडो भाकाको ऐतिहासिक महत्त्व समेट्दै यस्तो विचार अभिव्यक्त गरेका छन् :

कुनै बेला ठाडोभाकालाई दोहोरी गीतको जननी मानिन्थ्यो र गायक-गायिका र ठाडोभाकाका पारखीहरू गाएर, नाचेर, सुनेर र हेरेर कहिल्यै थाक्दैनथे । शिवरात्रिको मौकामा पञ्चसुब्बा र देउबहादुरको दोहोरी ठोक्कान ठाडोभाकामा हुँदा राता-पिरा, रसिला-भरिला उन्मत्त तरुनीहरू मौन बस्न नसकी पिपलपाते ओठ सल्बलाएर गुनगुनाउन, छोप्न र फलाक्न थाल्थे । यसरी, मिठासपूर्ण दोहोरी प्रेमिल गीत दुई पृथक् लिङ्गीबीच चल्न सुरुवात भई बिस्तार भयो भनिन्छ । कसै-कसैले देउबहादुरले नेटा, दुरागाउँकी मैह्रानी दुरालाई ठाडोभाकामा पोख्त बनाएपछि केटा-केटीबीचको जुहारी चल्दै गयो भनिन्छ ।”

आफ्नो अनुसन्धानात्मक ग्रन्थ लेखनपूर्वको पृष्ठभूमि स्वरूप लेखक स्वयम् भुजेलले ‘मनमा लागेका कुरा’ शीर्षक दिएर ठाडो भाकाको ऐतिहासिक सन्दर्भ खोतल्दै यसको महत्त्वका बारेमा पाठकलाई चित्त बुझ्ने गरी मिहिन ढङ्गमा चर्चा गरेका छन् । लोक दोहोरी गीत र ठाडो भाका बिचको फरक औँल्याउँदै लेखक भुजेल यसो भन्छन् :

ठाडोभाकामा दुवै पक्षबीच ठाडै तातै खाऊँ, जल्दी मरौं शैली चल्दैन, यस्तो संस्कार र संस्कृति बन्देज छ । अर्थात्, केटापक्ष र केटीपक्षबीच तत्कालै ठाडै सवाल-जबाफ नगरी अनुनय-विनय पारामा घुमाएर शालीन ढङ्गले सभ्य र भद्र पाराले, व्यवहार गरी उत्तर दिइन्छ । आफ्नो गीतिधारबाट गाउँदा, भट्टयाउँदा, खालको अर्को पक्षको इज्जत-आमोद एवम् मान-मर्यादा-प्रतिष्ठामा आघात नपरोस् भन्ने हेतुले शिष्टता र नैतिकताको खूबै ख्याल गरिन्छ । गीत-बातमा छेडछाड गर्ने, होच्याउने, हुर्मत लिने, रीस-रागले नाङ्गेझार पार्ने मनसुवा भए पनि आफू तलै परेर नम्र र सहिष्णुता अवलम्वन गरेर सुसंस्कारयुक्त र अनुशासित ढङ्गले व्यङ्ग्य गरी छेड हानिन्छ । तीतो, टर्रो, छाडा, अश्लील र उच्छृङ्खल शब्दहरूको प्रयोग स्वीकाययोग्य हुँदैन । तिखो व्यङ्ग्यवाण प्रहार गर्ने सन्दर्भमा स्थानीय रैथाने बोलीचालीको भाषामा कूटनीतिक पाराले व्यवहार गरिन्छ । अरूलाई पेच पर्ने गरी कटु शब्दको प्रयोग गर्नु अव्यावहारिक र कुसंस्कारयुक्त ठानिन्छ ।”

ठाडो भाकाको इतिहास उल्लेख गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो भूमिकामा के उल्लेख गरेका छन् भने “मौलिक संस्कृतिका प्रतिपादक र प्रवर्द्धक देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबाट सुरुमा यो भाकाको श्रीगणेश भएको थियो । बौद्धसिं गुरुङ र उनका उत्तराधिकारीको रूपमा मोतीलाल गुरुङले ठूलो योगदान गरे । बौद्धसिंको गीतिधारा अलाप्दै मोतीलाल आफ्नो गुरुङ भेषभूषामा लमजुङको ईशानेश्वर महादेवस्थान परिसर करापुटार बजारमा जाने गर्थे । ठाडोभाका गीत झिकेर आफैँ मादल बजाई नक्कले पाराले हाउभाउका साथ नाचगान गर्दा मेला भर्न आउने जात्रुहरू रानु वरिपरि माहुरी झुम्मिएजस्तै हुन्थे भन्ने सुनिन्थ्यो । मोतीलाल गुरुङका शिष्यका रूपमा पञ्चसुब्बा गुरुङ पहिले लमजुङ, पछि कास्की रबैडाँडा, (वि.सं. १९४७) उदीयमान भए । केही वर्षपछाडि लमजुङ, हाँडीखोला, ठूलो वर्धनमा जन्मेका देउबहादुर दुरा (वि.सं. १९५४) र पञ्चसुब्बा गुरुङले केटा-केटीको भूमिका करापुटारको मेलामा यो गीत गाए । केटा-केटाबीच ठाडोभाका गाउँदा रौनक नभएकाले पछि केटीमान्छेले पनि गाउन थालेपछि यो भाकाप्रति जनमानसको आकर्षण बढ्‌दै विकास-बिस्तार हुँदै गयो । भनिन्छ, सन् १९५० अगाडि, शास्त्रीय सङ्गीतको पाश्चात्य र पूर्वीय जगत्‌मा ठूलो बाहुल्यता कायम थियो भने वि.सं. १९७० को दशकदेखि २०३० को दशकसम्म नेपालको गण्डकी प्रदेशको भूभागमा ठाडोभाकाले बजार पिटेको थियो ।”

यस पङ्क्तिकार (रमेशचन्द्र घिमिरे) ले भोर्लेटार लमजुङबाट प्रकाशित हुने ‘टरेली’ पत्रिकाका लागि भेडीखर्के साइँलासँग (ठाडो भाकाका पर्यायः भेडीखर्के साइँला) गरेको अन्तर्वार्ताका आधारमा ठाडो भाका लोकगीतलाई यसरी पनि चिनाउन सकिन्छ :

  • ठाडो भाका गीत दुई टोलीहरू अलि टाढै बसेर गाइन्छ ।
  • ठाडो भाका नाचेर गाउने भाका हो, गीत गाउने पुरुष उभिएर र नाचेर अर्थात् ठाडै भएर गाउँछन् । एक जना छोरा मान्छे नाचेर र उभिएर गीत गाउने हुनाले नै यसलाई ठाडो भाका भनिएको हो ।
  • यसमा छोरी मान्छे नाच्ने चलन हुँदैन अचेल ठाडो भाकामा छोरी मान्छेहरूले नबुझेर नाचेका हुन् । वास्तवमा छोरी मान्छेले ठाडो भाकामा नाच्न मिल्दैन ।
  • ठाडो भाकामा एउटा समूह नेताले पहिला चरणमा अघिल्लो फेद भन्ने र दोस्रो चरणमा अन्त्यानुप्रास मिलाउँदै उही समूह नेताले पछिल्लो टुक्का भनी समूहले छोप्ने गरिन्छ र अघिल्लोको तुलनामा पछिल्लो चरणको टुक्का लामो हुन्छ ।
  • ठाडो भाकामा छोरा मान्छे नाच्दै गाउँछन्, छोरी मान्छे बसेर गाउँछन् ।

लेखक भुजेलले यस ग्रन्थमा ठाडो भाकाका गायनका सन्दर्भमा गेयात्मक शैलीमा बङ्ग्याइएका शब्दहरूको टिपोट गरेका छन् भने विशेष गरी ठाडो भाकामा गाइने मौलिक शब्दहरूको अर्थसमेत उल्लेख गरेका छन् ।

६ ओटा अध्यायमा विभाजित यस ग्रन्थको पहिलो अध्यायलाई लेखकले गण्डकी क्षेत्रको परिचय भन्ने शीर्षक दिएका छन् र ऐतिहासिक पृष्ठभूमि खोतल्दै ठाडो भाकाको उत्पत्ति एवम् विकासक्रमको चर्चा गरेका छन् । पहिलो पुस्ताका रूपमा बौद्धसिं गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, पञ्चसुब्बा गुरुङ, देउबहादुर दुरा, मनिराम दुरा र आफली घर्ती गरी सात जना गायक गायिकाका बारेमा चर्चा गरेका छन् भने दोस्रो पुस्ताका रूपमा दीर्घराज अधिकारी अर्थात् भेडीखर्के साइँलाले ठाडो भाकाको संरक्षणका लागि गरेका प्रयासलाई उल्लेख गरेका छन् । यसभन्दा बाहेक उनले ठाडो भाका गीत गाउने पछिल्लो पुस्ताका अन्य गायक गायिकाको नाम समेत यसमा सूचीबद्ध गरेका छन् ।

‘साहित्य समीक्षा’ शीर्षक दिइएको अध्याय २ मा लेखकले ठाडो भाकाका सम्बन्धमा विभिन्न विद्वान् तथा लेखकहरूले लेखेका लेख र यसका सम्बन्धमा गरिएका अनुसन्धानका बारेमा उल्लेख गरिएको छ । जनकविकेशरी धर्मराज थापाको ‘गण्डकीका सुसेली’, कवि एवम् समालोचक कृष्णप्रसाद पराजुलीको ‘नेपाली लोकगीतको आलोक’ जस्ता ग्रन्थका आधारमा त्यहाँ समेटिएका ठाडो भाकाको परिचय र प्रसङ्गको उल्लेख यसमा गरिएको छ । यसमा नवीनचन्द्र घिमिरे, डा. कुसुमाकर न्यौपाने लगायतका लेखकका ठाडो भाकासम्बन्धी रचनाको समेत साभार गरेर ठाडो भाका लोकगीतलाई अझ स्पष्ट पारिएको छ ।

‘ठाडो भाकाको पृष्ठभूमि र परिभाषा’ उपशीर्षकमा लेखकले ठाडो भाकाको नामकरणका सम्बन्धमा तथ्यहरू प्रस्तुत गरेका छन् । तेस्रो अध्यायमा लेखकले भूकम्प र बाढी, पहिरो, जुजु धौ, वैदेशिक रोजगारी, मानव बेचबिखन, खेलकुद, छुवाछुत प्रथा, अपाङ्गता, भ्रष्टाचार, नारी, आभूषण, जेष्ठ नागरिक, भौगोलिक अवस्था, कृषि तथा पशुपालन, पर्यटन व्यवसाय, प्रौढ शिक्षा लगायतका विषयवस्तुमा विभिन्न समूहले गाएका ठाडो भाकाका गीतलाई जस्ताको तस्तै उतारेका छन् ।

पहिलो अध्यायमा सामान्य चर्चा गरिएका ठाडो भाकाका स्रष्टाहरूको पूर्ण परिचय र नालीबेलीको विवरण लेखकले चौथो अध्यायमा गरेका छन् भने पाँचौँ अध्यायमा ठाडो भाकाका रचनाहरूको विभिन्न कोणबाट विश्लेषण समेत लेखकले गर्न भ्याएका छन् । ठाडो भाकाका हस्ती मानिएका देउबहादुर दुरा र पञ्चेसुब्बा गुरुङ तथा अन्य स्रष्टाका ठाडो भाका गीतको समीक्षात्मक विश्लेषण लेखकले यसमा राम्रो ढङ्गले गरेका छन् भने भेडीखर्के साइँलालाई विशेष महत्त्वका साथ उल्लेख र चर्चा एवम् भिन्न-भिन्न ठाउँमा गाइएका उनका विभिन्न ठाडो भाकाका गीतका बारेमा घनिभूत विश्लेषण गरेका छन् । लेखकले लमजुङे ठाडो भाकाका अतिरिक्त गोर्खाली ठाडो भाका र सङ्खुवासभाको ठाडो भाकाको नमुना समेत यसमा प्रस्तुत गरेका छन् । कृतिको अन्तिम अर्थात् छैटौँ अध्यायमा निष्कर्ष र सुझावसहित लेखकले आफ्नो लेखनीको बिट  मारेका छन् ।

यस कृतिको परिशिष्ट -१ मा स्रष्टा भुजेलले ठाडो भाकाको रानो भेडीखर्के साइँलासित शीर्षक दिएर लिइएको अन्तर्वार्ताको मूल अंश प्रस्तुत गरेका छन् । परिशिष्ट -२ मा दुराडाँडाको अन्तर्य शीर्षक दिइएको छ । यसमा दुराडाँडाको परिचय, राजनैतिक सीमाङ्कन र जातीय स्थितिदेखि लिएर लमजुङको चर्चित क्रान्ति हलो पर्वसम्मको चर्चा गरिएको छ । परिशिष्ट -३ मा नेपालको पुरानो र ऐतिहासिक साहित्यिक पत्रिका ‘शारदा’ को २००४ माघमा प्रकाशित सत्यमोहन जोशीको पञ्चे सुब्बा शीर्षकको लेख समाविष्ट गरिएको छ ।

ठाडो भाकाका क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूका दुर्लभ तस्वीर सहित लेखक स्वयंले हासिल गरेका अन्य तस्वीर समेत गरी ८ ओटा पृष्ठमा २७ ओटा ऐतिहासिक फोटाहरूको सञ्चयन परिशिष्ट -४ मा गरिएको छ ।

लेखकले प्राप्त गरेको गलत सूचनाका आधारमा लमजुङ भोर्लेटारकी ९४ वर्षिया कान्छी बज्यै (बुद्धिमाया गुरुङ) को फोटोलाई कान्छी तामाङ नाम दिइएर प्रकाशित गरेको देखिन्छ । त्यसो त ठाडो भाका गीत गायनमा आफ्नो दीर्घ जीवन समर्पण गरेकी उनै बुद्धिमाया गुरुङ तथा अर्की गायिका धनमाया गुरुङ र ठाडो भाकाको उद्गमस्थल मानिने करापुटार क्षेत्रका कतिपय गायक गायिकाहरूको नामावली पनि यसमा छुटेको देखिन्छ ।

ठाडो भाकाको लोक सांस्कृतिक इतिहास जस्तो गहन अनुसन्धानात्मक ग्रन्थ प्रकाशन गरी लेखक लालबहादुर भुजेलले नेपाली लोकसाहित्य, लोकसंस्कृति र ठाडो भाकाको प्रवर्धनमा इँटा थपेर गुन लगाउने काम गरेका छन् । लेखकको खोजमूलक अनुसन्धान र साधना हेर्दा विद्यावारिधि उपाधिका लागि तयार पारे जस्तो देखिने यस कृतिलाई ठाडो भाकाको नाम दिएर जन्मिएका कतिपय संस्था तथा लोकगीत, लोकसंस्कृति र लोकसाहित्यसँग सम्बद्ध अन्य कुनै पनि संस्थाले कृतिलाई पुरस्कृत र लेखकलाई सम्मान गर्नुपर्ने ठहर यस पङ्क्तिकारले गरेको छ ।

नेपाली लोकगीत र ठाडो भाकाको जगेर्नाका लागि आफ्नो लेखनी मार्फत उजागर गर्न खोज्ने लेखक लालबहादुर भुजेलको यो प्रयास प्रशंसनीय र स्तुत्य रहेको छ भने जम्मा मूल्य रु. ५००/- अङ्कित यस कृति चाहिं लोकसाहित्य र संस्कृति प्रेमीका लागि पठनीय र संग्रहणीय समेत रहेको छ ।