हाम्रा स्मृतिहरू कति महत्त्वपूर्ण छन् र शब्दान्तरमा स्मृति नै इतिहास रहेछ भलै त्यो लिखित नहोस् । अतीत बेगर हुनु भनेकै इतिहास नहुनु हो । तत् क्षणमा हामी बाँचिरहेका हुन्छौँ तर विगत हटाइदिने हो भने आधार विहीन हुन्छौँ, अपूर्ण नै रहन्छौँ । यतिखेर म त्यही बितिगएको क्षणलाई सम्झिन चाहन्छु ।

केही वर्षअघि हार्दिक होटलमा— ‘डायास्पोरा सिद्धान्त, रचना र समालोचना’ पुस्कतको विमर्श भएको थियो । स्रष्टा रक्ष राई र मिजास तेम्बेज्यूको संयुक्त कर्म थियो त्यो । बेलायतदेखि आएर स्रष्टा द्वयले त्यो कार्यक्रम आयोजना गरेका थिए । भरे थाहा पाउँछु दुवै ब्रिटिस सेनाका मानिस रहेछन् । उक्त विमर्शित पुस्तक त्यतिखेर मलाई रक्ष राईले दिएका थिए । त्यो धुमिल स्मृतिलाई सम्झिँदैछु फेरि । त्यस बखत लागेको थिएन, त्यो दिन भविष्यमा यसरी स्मरण गर्नु पर्ला ।

यस निमेष म होसमा छु—हाम्रा हरेक अतीतहरू कहीँ न कहीँ उपयोगमा आउँदा रहेछन् । हर क्षणको मूल्यवान् इतिहास हुँदो रहेछ । हरेक क्षण सचेत भएर बाँच्नु पर्ने रहेछ । त्यसो नहुने हो भने हिजोका हाम्रा दिन हराएर जानेछन् ।

आजको मेरो सम्पूर्ण पाठ आदिम मानव इतिहासदेखि वर्तमानसम्म रहेको हुँदा ममा यस्तो चेतना जागरण भएको छ । म अतीतप्रेमी भएकी छु । इतिहासप्रेमी भएकी छु । सन्दर्भ कवि, चिन्तक, अध्येता, अनुसन्धाता-लेखक रक्ष राईकै कर्मसँग शृङ्खलित छ । सात-सात वर्षको अनवरत खोज, अनुसन्धान र व्यापक अध्ययनको दीर्घ प्रयासबाट तयार भएको ‘युद्ध सौन्दर्य चिन्तन’—युद्ध दर्शनको अर्को नाम हो । ६५६ पृष्ठको यस ग्रन्थले मलाई रात्रिकालीन प्रहरप्रति पनि सकारात्मक हुन दृष्टि दिएको छ । मलाई दिवाको त्यो उज्यालो मात्रै मन पर्थ्याे । अब निशाको कालो रात पनि मन पराउने भएकी छु ।

रात्रिको आफ्नै उल्लेख्य विशिष्टता छ । दृष्टिमा केही थोक देखिएन भनेर त्यहाँ दृश्य नै थिएन भन्नु एउटा ठूला भ्रम रहेछ । दृष्टि भ्रम । त्यही भ्रमलाई अन्वेषक राईले  ‘युद्ध सौन्दर्य चिन्तन’मा सच्याएका छन् । अँध्यारो रातमा नदेखिएको सुन्दर दृश्यलाई उनले प्रस्ट देखाउन सकेका छन् ।

मेरो बुझाइ थियो, युद्ध पनि कहीँ सुन्दर हुन सक्छ ? के युद्धमा सौन्दर्य चिन्तन जायज छ ? युद्धले कहिल्यै सकारात्मक नवीनता ल्याउन सक्छ ? के नव सभ्यताको उदय गराउँछ ? युद्ध त केवल विनाश हो, ध्वंसको प्रतीक हो । मृत्युको भयावह खेल हो । मानव सभ्यतालाई उथलपुथल गराउने प्रभावक घटना हो, अझ डरलाग्दो घटना हो ।

हाम्रो दृष्टि छेलिएको युद्धमा अर्को पाटो पनि रहेछ । ‘युद्ध सौन्दर्य चिन्तन’ले त्यही थोक देखाएको छ जुन थोक हामीले किञ्चित देखेका थिएनौँ । उत्तरआधुनिक युगको यस निमेष पनि हामी कसैले सोच्न नभ्याएको नेपाली वाङ्मयमा अध्येता राईले यस्तो अद्भुतको चेतना कसरी प्राप्त गर्न सके होलान् ? कुन प्रेरणाले जागृत भई यस प्रकारको जटिल कार्य सम्पादनमा लागे होलान् ? सोच्दै आएको भन्दा बेग्लै धारको उनले अन्वेषण गरेका छन् । पुरानो मनस्थिति बदल्न तथा फेर्न ‘युद्ध सौन्दर्य चिन्तन’ जस्ता अन्वेषणात्मक पुस्तकको अध्ययन गरेर आफूलाई युग सापेक्ष बनाउन समयको आह्वान छ ।

युद्धप्रति हामी थोरै पनि सकारात्मक हुन सकेका छैनाैँ, हुन सक्दैनाैँ । अध्येता राई भन्छन्, “हाम्रो साहित्यमा युद्धको कुरूप पक्ष मात्रै बोलिँदै आइएको छ । त्यसको सुन्दर पक्ष पनि त छ नि ! उनले यसरी सुन्दर पक्षको खोज अनुसन्धान गरेका छन् । हाम्रो लागि यो अत्यन्तै नौलो विषय हो ।”

राईले बताएअनुसार युद्धको कहिल्यै अन्त्य छैन । उनको यस उद्गारप्रति कतिलाई नराम्रो लाग्न सक्छ । युद्ध रुचाइएको, ध्वंस चाहेको अर्थ पनि लाग्न सक्छ । तर त्यसो होइन । यो त एउटा आदिम चेतना हो, जुन कहिल्यै विलुप्त हुँदैन । यस्तो मानव मनोविज्ञान बोध भएका राई शुरुमै बोल्छन्, “युद्ध मानिसको निम्ति नियति बन्यो । सृष्टिको प्रातःकालदेखि अन्त्यसम्म मानिसले युद्ध बहोर्नु पर्ने निश्चित छ । यसको विरोध गरेर, अन्तर्राष्ट्रिय कानुन र अदालत, न्यायालयको स्थापना गरे पनि यो रोकिने स्थितिमा छैन । यसले कुनै न कुनै रूपमा मानव जातिलाई गिजोल्छ नै । बरु यसलाई दर्शनको रूपमा स्वीकार गरेर नयाँ ज्ञानको जन्म दिन सकिन्छ कि (पृ-१२) !”

‘युद्ध सौन्दर्य चिन्तन’मा बोल्नु पर्दा म बडो अलमलमा पर्छु । विराट विषय कहाँबाट शुरु गरेर कसरी अन्त्यमा पुग्ने ? कठिन कुरा छ । वैश्विक चेतना, वैश्विक इतिहास, वैश्विक अवधारणा, वैश्विक ज्ञानलाई लेखकले यहाँ नेपालीकरण गरेका छन् । ‘भगवद् गीता’ र डा. गोविन्दराज भट्टराईकृत ‘उत्तरआधुनिक विमर्श’बाट अभिप्रेरित भएर युद्धमा सौन्दर्य चिन्तनको खोजी गरेको उनी बताउँछन् ।

एक योद्धा मनभित्रको विशाल साहित्यिक तृष्णा त्यस्तै आधुनिक युगलाई अझ उत्तरआधुनिक युगलाई हेर्ने उनको नव दृष्टिकोण देख्दा मलाई आश्चर्य लाग्छ । वैचारिक उचाइ र गहनताले भरिएको कर्ममा यसरी सैन्य जीवन भोगेका एक स्रष्टा तपोनिष्ठ हुन्छन्—मैले त सोचेको पनि थिइनँ ।

हाम्रोमा युद्ध चेतनाको वैज्ञानिक अध्ययन हुन सकेको थिएन । विनाशको रूपमा एकपक्षीय अध्ययन शुष्क र अधुरै रहेको—नेपाली साहित्यमा राईले बहुल दृष्टिकोणबाट अध्ययन गरेर नवीन आयाम थपेका छन् ।

पराय भूमिमा युद्ध चेतनाले तत्पर, हमेसा शत्रुपक्षलाई निशाना लगाउन कटिबद्ध भएका—राईको कर्म एक किसिमले मलाई असाधारण लाग्छ । कति ठूलो नव साहित्यिक चिन्तन, कति ठूलो भाषा संस्कृतिको चिन्ता । आजसम्म सोच्दै आएको भन्दा फरक ढङ्गले उनका कर्महरू घटित भएका छन् । नदेखिएको सत्यलाई उनले उत्खनन् गरेका छन् । साहित्यमा उनको कलम सशक्त छ—एक दर्जन पुस्तक छापामा आइसकेका छन् । वैचारिक विमर्शमा कलम चलाउने उनी एक दार्शनिक अध्येता हुन् र लेखक पनि हुन् । सैनिक जीवन भोग्दै आएका उनी युद्ध रच्ने स्वयं एक हिस्सा हुन् । भोक्ता हुन् ।

युद्ध एउटा पीडादायी विषम परिस्थिति हो भन्ने मान्यतालाई स्विकार्दै, त्यसको विपरीत कवि राईले युद्ध सौन्दर्य, युद्ध कला, युद्ध विज्ञान विषयमा आम पाठकलाई केही सोच्न अनुप्रेरित गरेका छन् । उनले जुन थोकको अन्वेषण गरेका छन्, त्यस विषयमा हामी अनभिज्ञ थियौँ । यसले एउटा नयाँ विश्व देखाएको छ ।

‘युद्ध सौन्दर्य चिन्तन’को जति गहिराइमा पुग्छु—लेखकको ज्ञान विस्तृतिले म अवाक् हुन्छु । त्यो मस्तिष्कमा कति धेरै थोक अटेको होला भनूँ लाग्छ ।

छ खण्डमा विभक्त ‘युद्ध सौन्दर्य चिन्तन’ले आदिम मानव सभ्यतादेखि विद्यमान युगसम्म आइपुग्दाको विश्वको सामाजिक, आर्थिक, राजनैतिक, ऐतिहासिक विषयको गहन अध्ययन गरेको छ । युद्ध-युद्धशास्त्रको अभिन्न भएर आएको छ मानवशास्त्र । समाजशास्त्री, राजनीतिशास्त्री, इतिहासशास्त्री, अर्थशास्त्री, मावनशास्त्री लगायत केही शास्त्रीको लागि पनि यो ग्रन्थ विशेष महङ्खवको रहेको छ । मानव इतिहासको बारेमा यस अनुसन्धानले धेरै थोक बोलेको छ ।

त्यस्तै आदिम युग, पाषाण युग, मध्य युग हुँदै उत्तरआधुनिक युगसम्म आइपुग्दाको सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाजविज्ञान, युद्धविज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तनमा लामो विवेचना गरिएको छ । युद्ध पनि एउटा कला हो, विज्ञान हो, सौन्दर्य हो । ध्वंसपछिको निर्माण र परिष्कृति हो-निचोड रहेको छ ।

आरम्भिक चरणमा युद्ध चेतना मानवमा कसरी उत्पत्ति भयो ? त्यो चेतनाले आदिम युगदेखि वर्तमान युगसम्म आइपुग्दा कस्तो रूप लियो ? अत्यन्तै गम्भीर प्रसङ्ग छ ।

शुरुमा आहारको लागि, बाँच्नको लागि मानिसले प्रकृतिसँग सङ्घर्ष गर्न थाल्यो । त्यसको लागि हतियारहरू बनिए । सिकार खेल्न थालियो । खानापछि बास र सुरक्षाको लागि ऊ भिड्न थाल्यो, यो मानव सभ्यता आरम्भ हुनु अघिको कुरा हो, “सर्वप्रथम उनीहरूले प्रकृतिको प्रतिकूलतासँग सङ्घर्ष गर्न सिके। त्यसपछि सुरक्षको लागि हिंस्रक वन्यजन्तुसँग लड्न सिके । आरम्भमा मानवको दुश्मन प्रतिकूल प्रकृति मात्र थियो । तर जब मानव जाति सिकारी युगमा प्रवेश गर्‍यो, उसले मावन जातिको विरुद्धमा पनि युद्ध लड्न थाल्यो (पृ-३०)।”

यसरी प्रकृतिसँग जुध्ने सिलसिलामा मानवमा युद्ध चेतना विकसित भएको पाइन्छ । मानसिक तथा भौतिक चेतनाको विकाससँगै, युद्ध प्रवृतिको पनि विकास हुँदै आएको देखिन्छ । युद्ध विनाशकारी खेल हो भन्ने युद्ध ज्ञान हुँदाहुँदै पनि मानिस युद्ध प्रेरित छ । युग सापेक्ष अनुकूल-प्रतिकूल परिस्थितिले नै युद्धका कारणहरू जन्मिँदै आएका छन् । त्यस्तै “आरम्भमा प्रकृतिसँग सङ्घर्ष गर्दा जन्मिएको युद्धभाव—मानव सभ्यताका चरणहरूसँगै प्रेरित हुँदै विज्ञान र प्रविधिको विकासले युद्धको रूप भयानक र विकराल हुँदै आएको छ (पृ-२७)।”

मानव जातिको विकास र समृद्धिसँगै युद्ध नीति, युद्धका कारण पनि जटिल हुँदै गएका छन् । प्रधान विषय युद्धमा सौन्दर्य चिन्तनको अन्वेषण भए पनि मानव उत्पत्ति र क्रमविकासलाई केन्द्रमा राखिएको छ । त्यसको अनुपस्थितिमा लेखन अभिप्राय साकार हुन सक्दैन । अझ भनौँ युद्ध मानवद्वारा घटित घटना हुँदा-मानव चेतनाद्वारा निर्देशित हुँदा-मानव उत्पत्ति, विकास र जीवन पद्धतिमा-समयक्रमसँगै विज्ञान र प्रविधि अभिन्न भएर आएको छ । त्यस्तै समाज निर्माणमा अर्थनीति र राजनीतिले उतिकै प्रभाव पारेको हुन्छ । यस्तै अनेक प्रभावक विषयले गर्दा पुस्तकको प्रमुख ध्येय युद्ध, युद्ध चेतना र युद्ध सौन्दर्य हुँदाहुँदै पनि अरू धेरै कुरा प्रमुख लाग्छन् ।

ती दिनमा युद्ध क्षीण स्वार्थ र जीविकाको लागि हुने गर्थ्याे । पछि आएर आर्थिक पुँजीको लागि अनि भाषा, धर्म, संस्कृति, जाति र राष्ट्रवादमा थिग्रिएको पाइन्छ । वर्ग विभेदका लडाइँ कति डर लाग्दा छन् । राष्ट्रवादकै कारण आफ्नो जातीय पहिचान विस्तार गर्न, शक्ति प्रदर्शन तथा विस्तृतिको लागि साम्राज्यवाद, उपनिवेशवादले पनि युद्ध नै जन्मायो । पहिलो र दोस्रो विश्वयुद्धमा त्यही शक्तिको मादकता चढेको थियो ।

अझ अहिले त वैचारिक युद्ध झन् ठूलो छ—विचारले युद्ध जन्माएको छ । युद्ध नभोगिएको कुनै युग छैन । स्थान छैन । एक न एक किसिमले युद्ध घटिरहन्छ । पौराणिक कालदेखि आदिमभौतिक युग, मध्ययुग हुँदै उत्तरवर्तीयुग कहीँ पनि युद्ध छुटेको छैन । युद्धको उद्देश्य विस्तारित हुँदै विश्व ब्रह्माण्ड नै एकल शक्तिको अधीनमा राख्ने प्रयास भएका छन्, “आदिकालमा जमिनबाट युद्ध लड्न शुरु गरेको मानव जातिले आधुनिककालमा आइपुग्दा युद्ध क्षेत्रलाई जमिन, जल, आकाश हुँदै ब्रह्माण्डसम्म पुर्यायो । आधुनिक युद्धले मानव जातिलाई पृथ्वी मात्र नभएर भूउपग्रहको प्रक्षेपणद्वारा ब्रह्माण्ड कब्जा गर्ने र अन्तरिक्षयानद्वारा मानव प्रक्षेपण गरेर चन्द्रमा र यन्त्र मानव प्रक्षेपण गरेर मङ्गलग्रह कब्जा गर्नेसम्म पुर्यायो (पृ-३२) ।

युद्ध एउटा प्राकृतिक वृत्ति हो । युद्धभाव मानिसको आदिम चरित्र हो । मानव सभ्यता र इतिहास युद्धै युद्धले भरिएको छ । युद्ध सौन्दर्यले बताए अनुसार ज्ञानको स्रोत नै युद्ध हो, आविष्कारको स्रोत नै युद्ध हो । समृद्धिको स्रोत नै युद्ध हो-सभ्यताको स्रोत नै युद्ध चेतना हो । सोही चेतनाले आज हामी यहाँ आइपुगेका छौैँ, “आजको मानव ज्ञानको भण्डार तिनै पुरापाषाण कालदेखि मानव जातिले सिकार खेल्ने स्वभाव र युद्ध लड्ने चरित्रद्वारा प्राप्त अनुभावद्वारा आर्जित ज्ञानको लामो शृङ्खला हो (पृ-४८) ।”

तर्क, वैचारिक समालोचना र तथ्याङ्कमा आधृत पुस्तक भएर पनि ‘युद्ध सौन्दर्य चिन्तन’ले मलाई लोभ्याइरह्यो । कलात्मक प्रस्तुतिले यो अनुसन्धानात्मक ग्रन्थ आफैँमा साहित्यिक कृति जस्तो लाग्छ । बेला-बेलै अन्वेषकलाई सम्झिरहेँ—कस्तो महान् कर्ममा उनको ध्यान रहेको छ । लामो धैर्य, लगनशीलता, तत्परता र विराट ज्ञानले मात्रै यस्तो कार्य सम्पादन गर्न सकिन्छ । ज्ञानको परिधि विस्तृत गर्न, अतीतको अवधारणा मेटेर युगानुकूल हुनको लागि पनि ग्रन्थ स्वीकार्य छ । वर्तमान समयको युद्ध नीति बुझ्नको लागि अझ बढी महत्त्वपूर्ण छ । हरेक दृष्टिबाट हेर्न सकिने यसमा विषय व्यापकता छ । त्यो सबै कुरा छोडेर तेस्रो मुलुकका, विकासोन्मुख देशका नागरिक हामी किन पछि परिरहेका छौँ ? त्यसको लागि पनि एक पटक पुस्तक पढ्नै पर्ने छ । विश्व कहाँ पुगिसक्यो ? विश्वमानचित्रमा हाम्रो उपस्थिति कहाँनेर छ ? त्यो जान्नको लागि फेरि पनि भन्छु त्यो पुस्तक पढ्नै पर्ने छ ।

वर्तमान विश्व अदृश्य युद्धको भुमरीमा छ । भन्नु पर्ने बोल्नु पर्ने कुरा ‘युद्ध सौन्दर्य चिन्तन’मा धेरै छ । सम्पूर्णतालाई देखाउन त यहाँ म सक्दिनँ नै । त्यस्तै साधारण पाठकको लागि यो अन्वेषणात्मक कृति ग्राह्य छैन पनि । केही सीमित पाठकको लागि भने अत्यन्तै प्रिय छ । अझ अन्वेषकको लागि धेरै उपयोगी छ ।

आजको हाम्रो युवा पुस्ता कसरी विकृत हुँदै गएको छ—लागू औषध र सामाजिक सञ्जालको दुरुपयोगमा । शक्तिको मादकताले उत्तेजित मुलुक— जसले गरीब देशका नागरिकलाई कस्तो तवरले निष्क्रिय बनाएर एकल शक्ति आफ्नो हातमा लिँदैछ ? त्यो कुरा बोध भएपछि हामी सचेत हुनेछौँ । विशेषतः युवा पुस्ताले यो कुरा जान्नै पर्ने छ । हामीमाथि कति ठूलो घात रचिएको छ । त्यति मात्रै हामीले बुझ्न सक्यौँ भने— अर्को कुरा आफ्नो भाषा, धर्म संस्कृति, कला, साहित्य, गीत-सङ्गीतप्रति हाम्रो लगाव बढ्ने छ । हामी आफूजस्तै हुनुमा गौरव गर्न सक्नेछौँ । अरूको कला संस्कृतिलाई आफू अनुकूल प्रयोग गर्न जान्नेछौँ ।

सुधो अर्थमा हामीले अझै बुझेका थिएनौँ । लागू औषध व्यापार त्यस्तै देह व्यापार जस्ता कुरा शब्दान्तरमा युद्धकै नीति हुन् । युद्ध नै हुन् । राईले एकदमै गहिरो सन्दर्भ उठाएका छन् । तेस्रो मुलुकमाथि महाराष्ट्रहरूले कसरी झेलबखेडा रच्दै आएका छन् । विद्यमान युवा पुस्ता यस विषयमा अवगत हुन अत्यन्तै आवश्यक छ ।

‘युद्ध सौन्दर्य चिन्तन’ले ज्ञानको नवीन विश्व उघारेको छ । युग चेत नहुँदा हरेक क्षेत्रमा हामी पछाडि पर्नेछौँ, पर्दै आएका छौँ । यो कुरा अब थाहा हुन जरुरी छ ।

विश्वमा विज्ञान प्रविधिको अत्यधिक प्रयोग कहीँ भएको छ भने त्यो युद्ध, युद्ध सामाग्री र युद्ध कौशलमै भएको छ । हामीलाई लाग्छ युद्धमा विज्ञानको दुरुपयोग भएको छ । विकासको अन्तिम उपलब्धि नै आणविक हातहतियार र शक्ति प्रदर्शनीमा टुङ्गिएको छ । तर होइन । ‘युद्ध सौन्दर्य चिन्तन’को अध्ययन गरिसकेपछि थाहा हुन्छ—युद्धले नै प्रविधि जन्माएको रहेछ । युद्धले नै राज्य र राष्ट्रको विस्तार भएको, सैन्य सङ्गठनको स्थापना युद्धकै कारण भएको छ ।

विश्वमा सर्वप्रथम युद्ध प्रयोजनकै निम्ति सैनिक सङ्गठन विस्तार भएको पाइन्छ । सैनिकको जिम्मेवारी भनेकै सुरक्षा दिनु हो । सम्भावित युद्धकै कारण हरेक देशले सैनिक शक्ति सक्रिय राखेको हुन्छ । परोक्षरूपमा हामी सबैभित्र युद्ध चेतको बीज सुषुप्तावस्थामा रहिरहेको हुन्छ । प्रत्येक मुलुकमा सैनिक भर्ती गर्नु, प्रशिक्षण दिनु, हातहतियारले मजवूत हुनु प्रकारान्तरले युद्धकै तयारी हो ।

सैन्य विज्ञानको विस्तारित रूप नै सैन्य समाज विज्ञान भएको बताउँदै लेखकले अध्याय दुई र तीनमा सैनिक सङ्गठनको संरचनात्मक ढाँचा, कार्यविधि र त्यसको सम्पूर्ण युनिटको संयोजन, समन्व र व्यवस्थापनको मसृण अध्ययन गरेका छन् । त्यस्तै सैनिक जीवनपद्धतिको व्यवस्थापन, सैनिक नियम-मूल्य मान्यत, आचरण र विश्वकै सैन्य मनोविज्ञानका कुरा छन् । विशेषतः यो अध्याय सेना र सुरक्षा नीति अनि सैनिक विभागको लागि उल्लेखनीय छ ।

लेखक राईको विषय विस्तृतिमा—म आश्चर्यित हुन्छु । उनी कति धेरै थोकका जानकार रहेछन् । भनौँ कति सूक्ष्म अन्वेषण गरेका रहेछन् । उनको खोज अनुसन्धानको क्षेत्र फराकिलो छ । पूर्वको पौराणिक कालदेखिका युद्ध, युद्ध दर्शन उता पश्चिमेली युरोपेली—आदिम भौतिक युगदेखिका युद्ध, युद्धजन्य गतिविधि र दर्शन विराट छ । अझ विश्वकै युद्ध इतिहास छ । ढुङ्गे युगदेखि उत्तरआधुनिक युगसम्मको युद्ध कुशलता, युद्ध कला, युद्ध सामाग्रीको परिवर्तनसँगै साइबर युद्धका विषयले विज्ञान र प्रविधिको गतिलाई मूल्याङ्कन गरेको छ । यी मावन सभ्यताकै चरणहरू हुन् । मारमुङ्ग्रीबाट शुरु भएको उच्चाधुनिक विष्फोटक अस्त्र तथा तालिम प्राप्त सैनिक-युद्ध हुँदै असैनिक-अदृश्य, मनोवैज्ञानिक अनि साइबर युद्धहरू आश्चर्य लाग्दा छन् ।

हिन्दू दर्शनले युद्धलाई शास्त्रको रूपमा लिएको छ भने पश्चिमले कलाको रूपमा लिएको छ । आखिरी कुरा एउटै हो । शास्त्र या विद्या आफैँमा एउटा प्रतिभा हो, कला हो । अध्याय चारमा प्राचीन युगदेखि वर्तमानसम्म लडिएका युद्धको चर्चा गरिएको छ, युद्ध विधिको चर्चा गरिएको छ । विशेष गरी उन्नाइसौँ शताब्दीमा नेपोलियनको युद्धकालदेखि सैनिक सङ्गठनले विशाल आकार लिन थाल्यो । त्यसै समयदेखि युद्ध लड्ने विधिको क्रमविकासले विज्ञानको रूप लिएको—भनिएको छ, “यसरी युद्धलाई आधुनिकीरण गर्दै लैजानमा हजारौँ लडाकु या योद्धाहरूको अनुभव जोडिएको छ (प-१७७)।” यो एक्कैचोटि भएको परिवर्तन र विकास होइन ।

मानिसको अपरिमित  महत्त्वाकाङ्क्षाले द्वन्द्व र सङ्घर्षको कहिल्यै अन्त्य छैन, बरु युद्ध लड्ने मानिस अस्थायी छ तर युद्ध अविनाशी छ, “प्रकृतिको शाश्वत नियम र मावन प्रवृतिले युद्ध जन्माउने मानिसलाई अस्थायी तङ्खव र युद्धलाई स्थायी शक्ति बनायो (पृ-२०७)।”

पाँचौँ अध्याय-युद्धकलामा पुग्दा तपाईंलाई लाग्न सक्छ, युद्धमा कहीँ कला हुन्छ ? विषयवस्तु लाभ या हानिको हुन सक्छ, निर्माण या ध्वंसको हुन सक्छ तर त्यसमा पनि एउटा कला हुन्छ । चोर्नु खराब कुरा हो तथापि त्यसमा पनि त कला हुन्छ नि । प्रत्यक्षतः युद्ध खराब मानिए पनि विज्ञान र प्रविधिको गतिमा—तीव्रता त्यसैले ल्याएको छ । ‘युद्ध सौन्दर्य चिन्तन’मा यस विषयलाई स्पष्ट र तर्कपूर्ण पुष्टि गरिएको छ ।

युद्धकला भनेको, युद्ध जित्ने शिल्प वा विधि हो । हार्नै पनि अवस्थामा हारेर पनि विजयी हुने कला सिकाउँछ छ, “कला सुन्दरताको प्रस्तुतीकरण वा प्रदर्शनी हो । युद्ध स्वयंमा मृत्यु र विध्वंसको खेल हो, तर यसले प्राप्त गर्ने विजय सुन्दर पक्ष हो । यही विजयसम्म पुग्ने युद्ध जुक्तिको कलात्मक प्रदर्शनी युद्धकलाबाट हुने गर्छ (पृ-२०९)।”

पाँचौँ शताब्दीका चीनका सेनापति एवं युद्ध दार्शनिक सन जुको युद्धकला  पुस्तकले युद्धकलामा नयाँ क्रान्ति ल्याएको पाइन्छ । आधुनिककालको युद्धकला त्यसैको उत्कर्षता हो, “सन जुको युद्धकलालाई चौधौँ शताब्दीमा युरोपले चिनियाँ भाषाबाट अङ्ग्रेजीमा अनुवाद गरेपछि त्यसको प्रभावबाट युरोपले आधुनिक युद्धकलाको विकास गरी सैन्य शक्तिलाई बलियो बनाएर साम्राज्य फैलाएको रहेछ भन्ने थाहा भयो । आधुनिक हतियारको लागि शक्तिशाली विष्फोटक पदार्थ बारुदको अभ्यास पनि चीनबाट नै शुरु भएर युरोप पुगेको रहेछ (पृ-१४) ।”बाह्रौँ शताब्दी हुँदै चौधौँ शताब्दीमा बारुद युगको आरम्भ हुन्छ ।

विश्वको युद्ध इतिहासमा जुक्ती सङ्गत लड्ने असिरियन जातिका लडाकुको प्रसङ्ग आवृत्ति भइरहँदा लाग्छ—कला नै श्रेष्ठ तङ्खव हो । जसका सामु जगत नै झुक्छ । हरेक क्षण अर्थपूर्ण तरिकाले बाँच्नु पनि जीवनको कला रहेछ ।

अनुसन्धानलाई निचोड दिन, खोजलाई विस्तृत गर्न राईले पूर्वको पौराणिक-वैदिककालदेखिको युद्ध र युद्ध दर्शनको पुनः व्याख्या गरेका छन् । युरोपको, पश्चिमको प्राचीन युद्ध इतिहासदेखि वर्तमानसम्म आपुगेका छन् । जगतकै युद्ध विषयमा यस अन्वेषणले मोटामोटी धेरै थोक बोलेको छ । त्यति मात्र होइन यसले मानव इतिहासकै, मानव सभ्यताकै बारेमा खोज गरेको छ ।

ई. पू. पाँचौँ शताब्दी पूर्व रणकुशलताको सम्बन्धमा कुनै लिखित इतिहास देखिँदैन । सन जुको युद्ध सिद्धान्त पुस्तक आएपछि अरू सिद्धान्तकार-युद्ध दार्शनिकहरूको उदय हुन्छ । सन जुपछिका सेना नायकहरू मध्ये—बाह्रौँ शताब्दीका मङ्गोल सम्राट जेंगिज खाँ, उन्नाइसौँ शताब्दीका नेपोलियन बोनापार्ट र बीसौँ शताब्दीमा—जर्मनीका हिटलर, रुसका नेता जोसेफ स्टालिनले आश्चर्यजनक तरिकाले सेना तयार गरेका थिए । जुन इतिहासकै ठूला घटना, कलापूर्ण युद्ध थिए । योद्धाको रगत उमाल्ने, आहुति दिन तत्पर गराउने सेनापतिको त्यो कलाले—लडाकुको मनोजगत् नै एक किसिमले अस्वाभाविक देखिन्छ । स्वाभाविक अवस्थामा सेनाहरू त्यसरी होमिन सक्दैनन् ।

आजसम्म कति भीषण युद्धहरू घटिए । युद्ध रणनीति बनिँदै गए, आधुनिक-उत्तरआधुनिक युग झन् संवेदनशील बन्दै रह्यो । तर वैदिक युगको ‘भगवद्गीता’ जस्तो महान् युद्धदर्शन अझै नलेखिएको र कृष्ण जस्ता महान् युद्ध दार्शनिकको अझै उदय नभएको अनुसन्धानले बताएको छ । यसले के पनि पुष्टि गर्छ भने पूर्वीय सभ्यता जगत्कै समृद्ध र पुरानो सभ्यता थियो । त्यसबखत र अहिलेको—युद्ध लडिनुको उद्देश्य फरक भएको छ, “त्यो समयको युद्ध असत्यको पराजय र सत्यको विजय वा धर्मको स्थापनाको लागि लडिन्थ्यो । अहिले धन सम्पत्ति, शक्तिको मात, अहम् र दम्भको विजयको लागि असत्य र अर्धमको शक्तिले झूटको स्थापनाका लागि युद्ध लडिन्छ (पृ-२१८) ।”

आखिर युद्धको समाप्ति हुने सङ्केत कहीँ छैन । त्यो अनेक तरिकाले चलिरहन्छ, घटिरहन्छ । युद्ध अस्वाभाविक होला तर युद्ध मनोविज्ञान स्वाभाविक चेतना हो, स्वाभाविक प्रक्रिया हो ।

रक्ष राईले युद्धसँगसँगै मावन मनोविज्ञानको जटिल विश्लेषण गरेका छन् । सृष्टिको आदिकालदेखिकै मानव चेतनाको कुरा गहिरो छ । अझ भनौँ मानव चेतनाको इतिहास छ । मानवले गर्दै आएको सङ्घर्ष, उसले प्राप्त गरेको उपलब्धि, निर्माणपछिको विनाश, विनाशपछिको जागृति—नव आविष्कार, नव चेतना, नवयुगका कुरा छन् । छायामा परेको सत्यको उद्घाटन छ ।

वर्तमान युद्धकला, युद्ध रणनीति—अतीतका भौतिक द्वन्द्वभन्दा कैयन् गुणा घातक, शक्तिशाली र अदृश्य बन्दै गएका छन् । शक्ति राष्ट्रहरूले तेस्रो मुलकुसँग कसरी अप्रत्यक्ष युद्ध लडिरहेका छन् ? कुन रीतले विजयी भएका छन् ? कस्तो लाभ उठाइरहेका छन् ? जुन कुरा अहिले बहसको विषय बनेको छ । गरीब राष्ट्रलाई उत्पादनहीन कुरामा भुलाएर (जस्तो कि अहिलेको टिकटक, फेसबुक …) अक्रियाशील बनाई समृद्ध मुलुकले विश्वबजारमा आफ्नो वर्चस्व कायम राख्ने नीति लिएको छ । यो झन् डरलाग्दो युद्धकला हो । परोक्ष युद्ध नीतिले शत्रु राष्ट्रको विकास र समृद्धि रोकेर कमजोर बनाउने ध्येय राखेको छ ।

विकासोन्मुख देशका नागरिकलाई पलायन उन्मुख गराई, उद्यमशील हुनबाट अनेक तरिकाले वञ्चित गरी, आफ्नो व्यापार व्यवसाय फस्टाउन—महाराष्ट्रले रचेको प्रपञ्च हामी जस्ता पिछडिएको देशका नागरिकले बुझ्न जरुरी छ ।

भौतिकबाट अभौतिक बन्दै गएको युद्ध कुशलताले हामी प्रत्येक मानव जातिलाई छ्यान्द्रो बनाएको छ । परन्तु त्यसको क्षति हामी कसैले महसुस गरेका छैनौँ । पहिलो, दोस्रो विश्वयुद्ध बरु त्यति घातक नभएको—जति घात वर्तमान साइबर युद्धले रचेको छ । फेरि त्यो अदृश्य युद्धको आभास हामीले गर्न सकेका पनि हुँदैनौँ ।

समाजशास्त्री, राजनीतिशास्त्री, अर्थशास्त्री, युद्धशास्त्री ई.पू. पन्ध्रौ शताब्दीका—भारतवर्षका कौटिल्यबाट युद्धकलाको आरम्भ भए यता मनोवैज्ञानिक अस्त्र ज्यादै शक्तिशाली देखिन्छ । युद्ध उत्साह भरेर हिटलरले जर्मनवासीलाई कसरी आत्मवलिदानी हुन प्रेरित गरेका थिए । धार्मिकीकरण गरेर कत्रा युद्ध भए । त्यस्तै नश्लीकरण गरेर पनि युद्ध उत्साह भरिए ।

स्वयं आफैँ एक योद्धा राईले यहाँ लडाकु मनोविज्ञानको गहन चिन्तन गरेका छन्, “युद्ध लड्नु मात्र होइन युद्धमा मृत्युवरण गर्नु पनि एउटा कला हो (पृ-२२२) ।” यस वाक्यले—एउटा सिपाहीले मृत्युवरण गर्दा दुश्मनलाई मात्र होइन मृत्युलाई पनि जितेर मर्ने मृत्यु कला अभिव्यञ्जित गरेको छ ।

युद्ध र योद्धाको सन्दर्भमा—नेपाली जातिको वीरत्व, सौर्य, पराक्रम र इमानदारीले बनिएको इतिहास पढ्दा गौरव बोधले अभीभुत भइन्छ । विश्वमा अपराजित लडाकु जातिको गौरवपूर्ण इतिहास बनाएका पुर्खाको सम्झनामा शिर अनायास झुक्छ । ‘नेपाली जाति’ भनेर कुनै तरिकाले विश्वमा नामाङ्कित गर्न नसकेको इज्जतलाई त्यही योद्धा पुरुषार्थको ख्यातिले अहिलेसम्म धानिरहेको छ । विश्वमा अब हामीले अर्को इतिहास रच्नु पर्छ ।

विश्वकै युद्ध इतिहासमा नेपाली लडाकुले पनि आफ्नो इतिहास रचेका छन् । ‘आयो गोर्खाली’, ‘वीरहरूको पनि वीर’ को उपमा पाएका लडाकुलाई—“यदि गोर्खाली सेना मेरो साथ भइदिएको भए म संसार जितिदिन्थेँ” हिटलरले त्यसै कहाँ भनेका थिए र ? अर्का ठाउँमा मार्सल मानेक्सले भनेका छन्, “यदि कोही मान्छे मलाई मर्नदेखि डर लाग्दैन भन्छ भने कि त्यो मान्छेले ढाँटिरहेको छ कि त्यो गोर्खाली हुनु पर्छ (पृ-५०८) ।” हाम्रो पुर्खाको त्यही पुरुषार्थलाई कदर गर्न भी.सी पदक दिइएको थियो ।

“यदि तिमी शान्ति चाहन्छौ भने युद्धको लागि तयार हौ ।” रोमन सैन्य एवं लेखक भेगेटसको अभिव्यक्तिले पनि युद्धको किमार्थ अन्त्य नहुने बताएको छ । युद्ध किन ? कसका लागि ? कसरी लडिँदैछको जवाफ समयसँगै कठिन हुँदै गएको छ ।

मानव जातिले लडेको र लड्दै आएको युद्धले प्राचीनकाल, शास्त्रीयकाल, मध्यकाल हुँदै आधुनिककाल पार गरिसकेको छ—युद्धका यी कालखण्डहरू अर्को किसिमले मानव सभ्यताकै चरणहरू हुन् । यस अध्ययनले मानव सभ्यताका हरेक चरणको अन्त्य र नयाँ चरणको प्रस्थानबिन्दुमा—युद्धले निर्णायक भूमिका खेलको तथ्य प्रस्ट्याइएको छ ।

विश्वमा युद्धको स्वरूपले जसरी भयावह रूप लिँदै गयो त्यसरी नै अस्त्र शस्त्रमा पनि क्रान्तिकारी परिवर्तनहरू आए । ‘युद्ध सौन्दर्य चिन्तन’मा प्राचीन मानव जातिले प्रयोग गरेका ढुङ्गे हतियार भाला, धनु काँडदेखि— विश्वयुद्धका घातक शस्त्रास्त्र अझ यता उत्तरार्द्धमा आविष्कार भएका हतियारका प्रकार, आघात गर्न सक्ने क्षमताको त्यो मिहिन जानकारीमा लाग्छ—अन्वेषक कडा छन् । कति थोक जान्नु परेको—कति थोकलाई सिलसिला जोडर प्रस्तुत गर्ने विज्ञता भएको । यो पुस्तक तयार गर्दा साँच्चि नै उनको भोक निद्रा सबै थोक हराएको हुनुपर्छ ।

पुस्तकको अन्तिम अध्याय युद्ध सौन्दर्य चिन्तनमा अघिल्ला पाठ सहितको विस्तृत चर्चा गरिएको छ । मानव पुर्खा रामापिथेकसले एक करोड चालीस लाख वर्ष अघिदेखि काठको टुक्रा, ढुङ्गा फाल्न सिकेको थियो । त्यतिखेर ऊ बल्ल चार पाउ टेक्न छोडेर दुई खुट्टाले हिँड्न अभ्यस्त हुँदै थियो ।

पहिलो आधुनिक मानव प्रजाति—अस्ट्रालोपिथेकसले चलाएको औजारलाई उसैको नाम दिइएको छ । ऊ पहिलो प्राचीन औजारको निर्माता हो । दुई खुट्टा टेकेर हिँड्न सक्ने ऊ पहिलो मानव पनि हो । त्यो मानव क्रमविकास आज यहाँ आइपुगेको छ ।

युद्ध भयबाट सुरक्षित हुन र युद्ध चेतकै हेतु भाषाको आवश्यकता ती पुर्खाहरूलाई भएको थियो । यसो पनि भनौँ युद्धले नै भाषा जन्मायो । हरेक परिवर्तन र नव आविष्कारको पछाडि युद्ध नै प्रमुख कारक देखिन्छ ।

होमो एरेक्टस, हामो सेपिएन्स, नेदरथेल हुँदै ती मानव र तिनका हातहतियार परिष्कृत, परिमार्जित हुँदै उत्तरआधुनिक मानवका रूपमा हाम्रो परिचय बनिएको छ । भोलि हामीलाई ती प्राचीन मानव जस्तै गरी पछिल्ला मानवहरूले अध्ययन गर्ने छन् निश्चय । हो त्यतिखेर रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’ उनीहरूको लागि अध्ययनको थप सामाग्री हुनेछ । त्यस्तै यो लेख पनि कहीँ अध्ययन स्रोतको रूपमा आउन सक्छ । आखिरी एक दिन समयले सबै कुरालाई प्राचीन बनाउँदो रहेछ ।

होमो एरेक्टस प्रजाति निकै बुद्धिमानी मानव पुर्खा र त्यही प्रजातिले आगोको आविष्कारक थियो । तीन लाख वर्ष पुरानो मानव निर्मित भाला जर्मनीको शोनिन्जेन शहरमा अहिले पनि सुरक्षित रहेको इतिहास कस्तो अनौठो लाग्छ । त्यो कसरी पत्ता लाग्यो ? आजतक कसरी सुरक्षित रह्यो होला ?अहिलेसम्मकै सर्वाधिक पुरानो हतियार ।

लिखित इतिहास अनुसार असिरियन र बार्बेरियनहरू प्राचीन लडाकु जातिका रूपमा चिनिन्छन् । सभ्यताको आरम्भिक चरणमा मेसोपोटामियान, एजिप्शियन, प्रसियन, ग्रीक र रोमनहरू क्रमशः लडाकु जातिको रूपमा चिनिएका थिए । ग्रीक सेनाले शास्त्रीयकालमा नै बहादुरीको इतिहास बनाएको थियो । अचानक ई.पू. बाहौँ शताब्दीमा आइपुग्दा ग्रीसको त्यो सभ्यता कसरी अन्त्य भयो ? अझै अनुसन्धान हुन सकेको छैन—ग्रीक इतिहासमा त्यसलाई अन्धकार युग मानिएको छ ।
उच्च प्रविधि युक्त विष्फोटक यन्त्रहरूले पहिलो विश्वयुद्ध घटायो । पछि शान्ति सन्धि र हातहतियार प्रतिबन्धको नियम बनाए पनि भित्रभित्रै नियम उलङ्घन गरेर, प्रविधि सम्पन्न शस्त्र-अस्त्रहरूको आविष्कार र उत्पादनमा शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा चलिनै रह्यो । दोस्रो विश्व युद्धपछि त्यो क्रम झन् डर लाग्दो भयो । हातहतियारको आधारमा कुन राष्ट्र कति समृद्ध र बलवान् भनी—मूल्याङ्कनको आधार बन्यो । उसको हतियार नै उसको सामर्थ्य बन्यो । शक्ति बन्यो । उसको सेना र रणकुशलता नै उसको समृद्धि बन्यो । इज्जत बन्यो । प्रतिष्ठा बन्यो ।

दोस्रो विश्वयुद्धपछि परमाणु युगको उदय हुन्छ । सोभियत संघको नक्षत्र युद्ध योजना—मेरो त कल्पनामा समेत यस्तो विज्ञानको विषय थिएन । नक्षत्र र ग्रहकक्षमा विशाल हतियार भण्डार— प्रतिरोधक उपकरण र मिसाइललाई जमिनबाट नै नियन्त्रण गर्न सकिने वेस खडा गर्ने जस्ता विराट चक्रव्यूह रचनाले विश्व कता मोडिँदैछ ? प्रश्न उठ्छ । भयङ्कर रहस्यको कुरा छ ।

वर्तमानका हामी सम्पूर्ण रणमैदानमा छौँ । सेना रहित अबको युद्ध झन् भयावह छ । भाषा, धर्म, संस्कृतिको अतिक्रमण अझ घोर युद्ध नीति रहेछ । अहिले हाम्रा गाउँ बस्तीमा देखिएको क्रिश्चियन धर्मको व्यापकता, धार्मिक प्रचार नभएर युद्ध नीतिको नव संस्करण रहेछ ।

विश्वबजार युद्ध, साइबर युद्ध, मनोवैज्ञानिक युद्ध जस्ता युद्ध उत्तरआधुनिक युगका असैनिक, अप्रत्यक्ष यद्ध—युद्ध रणकौशलहरू हुन् । हत्या, हिंसा, द्वन्द्व रहित युद्धको मारमा प्रायः विपन्न मुलुकका नागरिक परेका छन् । राजनैतिक अस्थिरता र जातीय फुट पनि नवीन युद्धकै रणनीतिमा पर्दछन् ।

त्यस्तै हामीले बुझ्नै पर्ने अर्को थोक के छ भने—आफ्नो भाषा, धर्म, संस्कृतिलाई हामीले माया गरेनौँ-बचाएनौँ भने भोलि हामी नाम बेगरका, इतिहास बेगरका, सभ्यता बेगरका मानव हुनेछौँ । तेस्रो मुलुकका हामीलाई परिचयविहीन बनाउन हाम्रा पछाडि ठूला शक्तिहरू लागेका छन् ।

दोस्रो विश्वयुद्धपछि भौतिक रूपले उपनिवेश हटे पनि उपनिवेशक राष्ट्रहरूले विज्ञान प्रविधिको माध्यमबाट अनेक तरिकाले आफ्नो वर्चस्व कायमै राखेका छन् । उत्तर-उपनिवेशकवादीहरूले राजनीति र युद्धलाई पुँजीवादी अर्थतन्त्रमा रूपान्तरण गरेर विश्वबजारमा आफूलाई अग्रस्थानमा राख्दै आएका छन् । नेपालमा एमसीसी पारित हुनु पनि उत्तर-उपनिवेशवादकै दृष्टान्त हो, “कमजोर र गरिब राष्ट्रलाई विभिन्न प्रलोभनमा फसाएर उसको स्वतन्त्रता र सार्वभौमिकता खोस्ने र राजनीति, अर्थनीति र प्राकृतिक स्रोत कब्जामा लिने रणनीति हो । … यसले नरम स्वभाव प्रदर्शन गर्दै लचिलो तरिकाले विश्वलाई आफ्नो अधीनमा लिन्छ (पृ-४५०) ।”

‘युद्ध सौन्दर्य चिन्तन’मा युद्धसँग जोडिएको—युद्ध साहित्य तथा विश्वयुद्ध साहित्य र पर्यावरणका विषय पनि रहेका छन् । युद्धसाहित्य र त्यसको इतिहास पनि केही छ । युद्धको प्रत्यक्ष असर मानवमा जुन रीतले परेको छ, त्यति नै असर प्रकृतिमा परेको पाइन्छ ।

भारतलगायत अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले नेपालमा अप्रत्यक्ष युद्ध कुशलता प्रयोग गरिरहेका छन् भने अन्तर्राष्ट्रले नेपाललाई अस्थिर बनाउँदै यही भूमिमा टेकेर भारत र चीनलाई प्रहार गर्ने रणनीतिको अभ्यास गरिरहेका छन् ।
महाशक्ति राष्ट्रहरूले निमुखा मुलुकमाथि किन शत्रुता गर्नु ? समान प्रतिस्पर्धीसँग पो द्वेष हुन्छ ? हामी कोहीसँग यस्तो प्रश्न हुन सक्छ । त्यसो हुँदा यो पनि बुझ्न आवश्यक छ “धनी राष्ट्रहरू आर्थिक रूपले गरिब राष्ट्रहरूमाथि उठेको देख्न चाहँदैनन् । कारण सोझो अर्थमा गरिब राष्ट्रहरू आर्थिक रूपले सबल भए भने उसका उत्पादित वस्तुहरूले व्यापार र बजार पाउँदैनन् (पृ-५५३) ।”

विज्ञान र प्रविधि विकासले मानव जातिको यात्रालाई पृथ्वीबाट अन्य ग्रह, नक्षत्रतर्फ उन्मुख गरायो । यसरी युद्धले नवोदित युगको जन्म गराउँदै आएको छ । अन्वेषकको अभिप्राय युद्धमा यही परिवर्तन र सकारात्मकताको खोज हो । युद्ध चेतनाको वैज्ञानिक अध्ययन, अनुसन्धानमा पुस्तक सार्थक भएको छ ।

अन्तरिक्ष कब्जा गर्ने प्रतिस्पर्धामा उच्च सूचना प्रविधीय यन्त्रसहितको भू-उपग्रह र अन्तर्राष्ट्रिय स्टेसनको जडानबाट पृथ्वीलाई नै निगरानी गर्ने युगको आविष्कार भयो । यदि युद्ध चेतना सक्रिय हुन्थेन भने प्रविधिले यस्तो अकल्पनीय फड्को मार्ने थिएन शायद ।

युद्ध भावनाले मानिसलाई ‘कसरी आफू श्रेष्ठ भइन्छ’ त्यसको विकल्पमा सिर्जनात्मक बनाएको छ । आजको साइबर आक्रमणले विशाल तरङ्ग फैलाएको छ, “… ज्ञान र सूचनाको साइबर दुनियाँमा युद्धका चरित्रहरू पनि प्रवेश हुन थाले । यसबाट दुश्मन एवं विपक्षमाथि साइबर आक्रमण हुन थाल्यो । … दुश्मनका ठूला-ठूला योजनाका कार्यतालिकाहरू ध्वस्त गरिदिने, गोपनीयताको सुराकी गर्ने, सूचनाहरूको चोरी गर्ने हुन थाले । त्यसले युद्धलाई सूचना र प्रविधि युद्ध र साइबर युद्धसम्म पुर्यायो (पृ-५२३) ।”

अत्यन्तै संवेदनशील वर्तमान जगत् तरङ्गमा अडिएको छ । साइबर युग जस्तै यो डायास्पोरिक युगको पनि समय हो । आरम्भमा डायास्पोरिक समाजको सिर्जना युद्धले नै गरेको थियो । युद्धले नै निर्माण गरेको थियो डायास्पोरिक सभ्यता ।
पुस्तक पढिसक्दा मेरो मनमा एउटा अवधारणा निर्माण हुन्छ—युद्धले नै नौलो नौलो प्रविधि जन्मायो । प्रविधिले युद्धलाई अझ सशक्त बनायो । त्यस्तै सम्भावित युद्धकै तयारीमा अत्याधुनिक प्रविधिको व्यय हुँदै आएको छ । प्रकारान्तरले प्रविधिको अन्तिम निष्कर्ष युद्ध घटाउनु नै हो भनूँ लाग्छ—अहिलेसम्मको इतिहास हेर्दा ।

शोधको निष्कर्षमा—युद्धको कहिल्यै अन्त्य छैन । त्यस्तै एकपछि अर्को युगको पनि अन्त्य छैन । विज्ञानको पनि किञ्चित टुङ्गो छैन । यो चलिरहन्छ । निर्माणपछिको विनाश अनि पुनः निर्माणको सिलसिलामा आज हामी यहाँ आइपुगेका छौँ । भोलिको पुस्ता कहाँ पुग्छ ? कस्तो भोग्दै हुन्छ निश्चित छैन ।

नेपाली वाङ्मयमा युद्ध साहित्य तथा युद्ध विषयक कृति उति रचिएका छैनन्, जति रचिनु पर्ने थियो । जति उपलब्ध छन् ती युद्ध विनाशलाई केन्द्रमा राखिएका छन् । युद्धबाट भोग्नु परेका आघातहरू छन् । क्षतविक्षत जीवनहरू छन् । त्यसको ठीक विपरीत राईले युद्धको सकारात्कतालाई लिएका छन् । युद्धले परोक्ष ढङ्गबाट जीवन जगतलाई कसरी र कस्तो लाभ दियो र दिइरहेको छ भनेर अध्ययन गर्ने पद्धति—निर्माण गर्ने ध्येयले युद्ध सौन्दर्य चिन्तन अवधारणा तयार भएको छ ।

एउटा भिन्न चेतना, भिन्न प्रयोगको अनुसन्धानात्मक ‘युद्ध सौन्दर्य चिन्तन’ले ज्ञानको नयाँ प्रवेशद्वार खुलाएको छ । यस्ता नवीन अनुसन्धानात्मक पुस्तक नपढी हाम्रा पूर्वाग्रही धारणा फेरिने छैनन् । विश्वलाई हर्ने दृष्टि सच्चिने छैन । तब युग सापेक्ष हुन पनि सक्दैनौँ ।

अन्वेषक राईबाट अत्यन्तै प्रशंसनीय, नौलो कार्य सम्पादन भएको छ । उनले जुन अभिप्रायले अनुसन्धानात्मक कार्य गरेका छन्, त्यसमा उनी शत प्रतिशत पूर्ण भएका छन् । आफूले भन्न खोजेको दर्शनलाई उनले पुष्टि गरेका छन् । ‘युद्ध सौन्दर्य चिन्तन’ आगामी दिनमा—आफैँमा एउटा उत्तम शोध सामग्री बन्नेछ । आउँदा दिनहरूमा यस्तै नवीन कर्मका साथ लेखक पाठकमाझ प्रिय भइरहून् यही कामना छ ।

आखिरीको भनाइ : पुस्तकमा कति कुराहरू आवृति पनि भएका छन् । विषय सन्दर्भलाई पुष्टि गर्न पनि कति कुराहरू दोहोर्याउनु परेका छन् । त्यति ठूलो आकारको ग्रन्थमा केही थोक दोहोरिनुलाई दुर्बल पक्षका दृष्टिले हेरिहाल्नु पर्दैन ।