
‘खाइराइड’ नामधारी एउटा हास्यव्यंग्य निबन्धसंग्रह बजारमा आयो है भनेर हल्ला गर्ने प्रथम हल्लाखोर हुन् – नरनाथ लुइँटेल । उनको काम त्यही हो भनेर मैले त सुनेको नसुन्यै गर्याथें । फेरि लेखकको नाम पनि कहिल्यै नसुनेको – ‘राजेन्द्र कार्की’ रे !
म यो अक्षरको के जाति खेतीपाती मै लागेकै आधा शताब्दी नाघ्यो, राजधानीमै छु, भेटे जति पत्रपत्रिका पढ्छु । तर अहँ, कतै छापा अक्षरमा त्यस्तो नाम पढे झैं लागेन । अक्षरमा त नभेटिएको मान्छे कुनै मञ्चमा भेटिने त कुरै भएन । मैले त्यो किताब खोजिनँ र पढिनँ । फेरि अर्को खबर आयो त्यो किताबको त दोस्रो संस्करण निस्क्यो भन्ने ।
त्यसपछि अर्को पाठक प्रतिक्रियाले ध्यानाकर्षण गरायो – मैले नेपाली साहित्य र अन्य भाषाका सिनेमाका जानकार ठानेका र मानेका ई. प्रमोद अमात्यको वाक्यले । उनले ‘खाइराइड’लाई ‘पठनीय कृति’ भनेपछि अब नपढी भो त ?
मैले पढ्ने इच्छा मात्रै के जाहेर गरेको थिएँ, त्यो ‘खाइराइड’ भन्ने जन्तु त मेरो हुलाकी ढ्वाङ (मेलबोक्स) मै आइपुग्यो । अब झन् नपढी भो त ?
पढ्न थालें – छोटा छोटा ३१ वटा निबन्धको जम्माजम्मी १६९ पृष्ठको किताब रहेछ यो ।
पहिलो निबन्ध ‘कुकुरको भाग्य’ शीर्षकले नै तान्यो । यता अमेरिकामा र उता नेपालमा पनि कुकुरको साङ्लो तानेको मलाई त्यो निबन्ध मन नपर्ने त कुरै भएन । आफ्नै आँखाले देखेका र आफ्नै हातले तानेका ती भाग्यमानी ककुरहरूलाई सम्झे । जसको जीवनस्तर संसारका मान्छेहरूको भन्दा उच्च छ । जसको शरीर संसारका मानिसहरूको भन्दा स्वच्छ छ । अमेरिकी राष्ट्रपतिको ककुरलाई त ‘फस्ट डग अफ युनाइटेड स्टेट’ नै भनिन्छ र ऊ वाइट हाउसमै बस्छ । अरू कुकुरको सानमानको पहिचान गरेर त्यसको बखान गर्ने हो भने अर्को निबन्धसंग्रह नै तयार हुन्छ । त्यो एउटा निबन्धमा महाराज युधिष्ठिरसित जिउँदै स्वर्ग जाने नामै नभएको कुकर देखि जिउँदै चन्द्रलोक टेक्ने ‘लाईका’ नामधारी कुकुरको वर्णन छ । अमेरिकामा जस्तो कुकुर कुकुर्नीको सौन्दर्य प्रतियोगिता क्यानडामा पनि हुँदो हो नि ? सौन्दर्य प्रतियोगिता त मान्छेको पनि हुन्छ, तर अमेरिकामा त कुकर कुकुर्नीको कुरूप प्रतियोगिता पनि हुन्छ ।
अर्को निबन्ध छ – ‘जनावरलाई गाली किन ?’ स्याल, ब्वाँसो, सर्प, गोही, कोही छुटेका छैनन् । गधा, गोरु, भेडा, कुकुर, बाँदर, चिम्पान्जी, भालु कसैलाई हेप्न र अपमान गर्न नछोडेका रै’छौं हामी स्वघोषित मानवले ।
‘घाँडो बूढो’ देख्दा त म झसङ्गै भएँ । यस्तो कसेर व्यंग्य लेख्नेले अब मलाई बजाउने भए जस्तो लाग्दालाग्दै पढें । जीवन चक्रमा जन्म नमागेरै पाए झैं, जवानी र वृद्धावस्था पनि नमागेरै पाइन्छ । मृत्य त झन् कसले पो माग्ला र ? ‘इच्छामृत्यु’लाई अपवाद मानौं । आत्माहत्यालाई (स्वहत्या भन्नुपर्ला) बहादुरी, कमजोरी, क्षणिक आवेग, दुर्घटना, बाध्यता आदि जे भने पनि त्यो त कायरता नै हो । मूर्खता नै हो ।
एक दिन छँदैछ मर्नु
पहिल्यै किन बल गर्नु ?
बूढोलाई ‘घाँडो’ नभनेर ‘अनुभवको भाँडो’ भनौं भन्ने ‘राजेन्द्र विचार’ राम्रो छ । भाषा त झन् खासा छ ।
‘बिहे किन ?’, ‘कामी’, ‘धारा तथा शौचालय माहात्म्य’ पछि म अडिएँ – ‘सोल्टिनीमा’ । नेपाली भाषाको विशेषता मध्ये नाता पनि एक हो । नेपाली भाषामा जति स्पष्ट नाता अन्य कुनै भाषामा छैन (?) । आधुनिक भै टोपल्नेहरूले अंकल र आन्टी बनाएर जति बिगारे पनि फुपूलाई दिदी भन्नेहरूले पनि भिनाजुलाई कसो दाइ भन्या छैनन् र सालीको साइनो रसिलो भा’छ । सोल्टिनी त गाउँघर तिर चल्छ, शहर बजाराँ त के हो ? सोल्टिनी भनेको पो सुनिन्छ ।
यो संग्रहभित्र ‘पुराण’ शीर्षकका दुई वटा निबन्ध रै’छन्, १. चुनाउ पुराण २. लिङ्ग पुराण । हुन त रामकुमार पाँडेले उहिल्यै ठेलीका ठेली ‘पाँडे पुराण’ लगाएकै हुन् । तर अहिलेसम्म कुनै पण्डितले नलगाएको ‘भालु पुराण’ भने राजेन्द्रले पनि छुटाएछन् । भालुलाई पुराण सुनाउने भनेको चाहिं सुनिन्छ, तर त्यो भालु पुराण चैं कस्तो छ ? मैले त अहिलेसम्म सुन्न पाएको छैन ।
शीर्षक पाएको निबन्ध हो – ‘खाइराइड’ । यसको प्रथम बिरामी जङ्गबहादुर राणा थिए भनेर लेखकले रोग निरूपण गरेका छन् । यो रोग सदैसर्दै त्यसपछिका शासकहरूलाई आक्रान्त पारेको पनि उनको ल्याब रिपोर्टले देखाउँछ । गणतन्त्रमा त यो रोग झन् झन् संक्रामक बन्दै गएको पनि त्यही रिपोर्टमा उल्लेख छ । ‘थाइराइड’ सरुवा रोग होइन, तर यो नयाँ रोग ‘खाइराइड’ चाँहि सरुवा रोग भन्दा पनि घातक देखिन्छ ।
मान्छे रोगी थाइराइडले
देश रोगी खाइराइडले
यो हो निबन्धको निर्क्योल । गजब छैन त ?
अर्को निबन्ध छ- ‘देश डुब्यो’ । यो सबैको साझा चिन्ता र चासो हो । आज संसारका २ सय जति देश मध्ये १ सय ८० देशमा अनेक ढङ्गले विस्थापित नेपालीहरू जहाँ गयो त्यही स्थापित हुने खोज्ने मुख्य कारण नै यही हो ।
मलाई हात समातेरै तानेको अर्को निबन्ध हो – ‘लाहुरे’ । नेपाललाई लाहुरेहरूको देश भने हुन्छ । यो ‘लाहुरे’ शब्दको निर्माण भएको २ सय वर्ष भयो । यसको अर्थ झन् झन् विस्तारित हुँदैछ । तिनै नयाँ र पुराना लाहुरेहरूको नालीबेली समेटिएको छ यसमा ।
‘लाहुरे’ कै कुरा गर्ने हो भने प्रथम नेपाली लाहुरे त बुद्ध नै हुन् । त्यसपछि दोस्रो लाहुरे अरनिको हुन् । अनि मलाया, इन्डिया हुँदै तेस्रो स्थान प्रथम सगरमाथा आरोही तेञ्जङ नोर्गे शेर्पालाई दिनुपर्छ । ‘लाहुरे’ चर्चामा नेपालीले चटक्कै बिर्सेर पटक्कै नसम्झेका ‘उखु लाहुरे’ पनि छन् भन्छु म । तपाईं अलमलिनु भो, को हुन् ती उखु लाहुरे भनेर ।
फिजीमा इण्डियन जत्थामा मिसिएर उखु खेतीका लागि गोराहरूले थान गन्तीमा पुर्याइएका हजारौं नेपाली आज पनि कतै कुनै नेपाली भेटे “नेपालको एक मुठी माटो ल्याइदिनोस् है” भन्दैछन् । हो तिनै हुन् उखु लाहुरे !
अहिले त ‘बा लाहुरे’ र ‘आमा लाहुरे’ पनि थपिएका छन् । यिनीहरू को हुन् भनेर तपाईंले अनुमान लगाइसक्नु भयो । अमेरिका, क्यानडा, युरोप र अष्ट्रेलिया जस्ता विकसित देशका पी. आर. धारीका बा–आमालाई लाहुरेकै दर्जामा राख्दा हुन्छ । कोरिया जान पाऊँ भन्दै ज्यानै छाडेका कथा र ज्यानकै बाजी लगाएर, लाखौं रकम बुझाएर तल्लो बाटो आउने लाहुरेहरू ‘उल्टा लाहुरे’ हुन् । कमाउनु त कहाँ छ काँ ? पहिल्यै ऋण काढेर दलाललाई बुझाउनेलाई ‘प्रिपेड’ लाहुरे भने नि हुने हो, तर नेपाली मै भन्दिऊँ भनेर मैले ‘उल्टा लाहुरे’ भनेको हुँ ।
‘जिन्दगी: खाना र पाइखाना’ शीर्षक हेरेर छर्लङ्ग हुने निबन्ध हो । जिन्दगीको साह्रै महत्त्वपूर्ण र नियमित गन्तव्य नै त्यै ‘पाइखाना’ हो । पाइखानाको यात्रामा तलवितल पर्यो भने बाटो मोडिएर सिधैं अस्पतालको आकस्मिक कक्षमा पुगिन्छ ।
देवकोटाले ‘हाइहाइ अंग्रेजी’ लेखेको देखेर राजेन्द्रले ‘हाइहाइ अमेरिका’ लेखेछन् । संसारले हाइहाइ अमेरिका भन्दै आइरहेकोमा सन् २०२५ लाग्दा नलाग्दै ट्रम्प काकाले बाईबाई अमेरिका बनाउँदै छन् ।
प्रधानमन्त्रीलाई ‘वरदान मन्त्री’ भनेर नयाँ नाम दिइएको छ एउटा निबन्धले । र ‘वरदान’ पाउन पनि देउता खुशी भएर ‘तथास्तु’ भन्नुपर्यो नि ? अहिले त देउता रिसाएर ढुस्स परेका छन् उता, यता पुजारी प्रतीक्षा गर्दागर्दै फुस्स होलान् जस्तो छ ।
अन्तिम निबन्ध छ – ‘मृत्य विज्ञापन’ । यो निबन्धको टुङ्ग्याउनी एउटा लामै कविता नै मिसाएका छन् निबन्धकार / कविले ! कवि हुने रहर लागेर हो कि ? निबन्ध लेख्दा धित नमरेर हो ? यसरी कविता राख्न परेको । त्यसो त उनका धेरै जसो निबन्धमा कहीं लेखनाथको, कहीं भूपीको, कहीं भानुभक्तको, कहीं भैरव अर्याल र गोपाल योञ्जनका कविताको उद्धरण नगरेका होइनन् उनले । केही नपाए दशैंका आसिक र गायत्री मन्त्रकै वल लगाएका छन् । यसबाट के बुझिन्छ भने उनको ‘कविता प्रेम’ पनि चर्कै छ ।
नेपालको सुदूर पूर्वको गाउँमा जन्मेर संसारकै सुदूर पश्चिम क्यानडाको पनि सुदूर पश्चिममा बसोबास गर्ने राजेन्द्रलाई गाउँमा खोल्सामा आची गरेको देखी ताजहोटलमा (पाँच तारे) साक्षी बसेको सम्म अनुभव छ ।
‘खाइराइड’लाई हास्यव्यंग्य निबन्ध भनिए पनि हास्य कम र व्यंग्य प्रचुर छ । साहित्यका नवरस मध्ये उत्पन्न गर्न गाह्रो पनि त्यही ‘हास्यरस’ नै हो शायद । मान्छेलाई रुवाउन जति सजिलो छ हँसाउन त्यति नै गाह्रो छ ।
जन्मेको एक वर्ष पनि नपुग्दै दोस्रो संस्करण निस्कने अति भाग्यमानी नेपाली साहित्यिक कृतिहरू कति होलान् ? ती मध्ये ‘खाइराइड’ एक हो र यसका स्रष्टा राजेन्द्र कार्की बधाईका पात्र हुन् । उनले आफ्ना ३१ वटा निबन्धमा भन्नु भनेका छन् – देश दुखेको कुरा छैन कि त्यहाँ, माया पिरमको कुरा छैन कि, उता गाँउघरका कुरा छैनन् कि त्यहाँ, यता गोरा गोरीका कुरा छैनन् । सबै पढेर रमाउन त ‘खाइराइड’ नै पढनुपर्छ । यो त मेरो ‘खाइराइड’ पढेपछिको असर मात्रै हो ।
राजेन्द्र कार्की हास्यव्यंग्य सबल हस्ताक्षर हुन् भन्ने प्रमाण हो ‘खाइराइड’ । पहिलो कृतिमै हलचल मच्चाउन सफल राजेन्द्र कार्कीलाई हार्दिक बधाई एवं शुभकामना छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

