‘इन्द्रेनीका रङहरू’ कवि नारायण अधिकारीको हाइकु-संग्रहको नाम हो । यसो त हाइकुका लेखकलाई कवि नभनेर हाइकुकार वा ‘हाक’ भने पनि हुने हो । तर नाम वा विशेषण जे भए पनि यो ‘इन्द्रेनीका रङहरू’ नारायण अधिकारीको सिर्जनाहरूको माला हो । नामैको चर्चा गर्दा नामले फरक पार्ने भए आगोलाई पानी र पानीलाई आगो भनिदिए पनि त हुन्छ नि ? तर त्यसो भन्दैमा तिनका गुणमा पनि परिवर्तन आउने होइन क्यार !
हो, अब हाइकु कै चर्चा गरौं । अमेरिकी भूमिमा ‘सनेट’को सम्भावना ज्यादा हुनुपर्ने हो । यताका कविहरू उहिल्यै यो बाटोमा हिंडेका पनि हुन् । यो बाटो अब यताका कम हिंड्लान् । हामी पनि उताबाट यता आएर यताको बाटो हिंड्नुको सट्टा उतै जापानतिरको बाटोमा ज्यादा रुचि राखिरहेका छौं । त्यसो त जापानी हाइकुको बाटोमा हामीहरू हिंड्न थालेको पनि धेरै लामो इतिहास छैन ।
नेपाली साहित्यमा हाइकु वा तान्काको चर्चा गर्दा जापानी साहित्यको सम्झना हुन्छ । यस बाटोमा क्षेत्रप्रताप अधिकारी, अभि सुवेदीलगायतका अग्रजहरूले गोरेटो कोर्नुभएको छ । बाँकी अरू थोरै समकालीनहरू अब ‘हाइवे’ निर्माणका क्रममा पसिना बगाइरहनु भएको छ । यो हामी काव्य रसास्वादनमा बानी परेका स्वादे पाठकहरूका लागि खुशीकै खबर हो । नारायण अधिकारी उतै (नेपाल)बाट यता आएर हाम्रो स्वादका लागि प्रयास गर्दै हुनुहुन्छ ।
‘काव्य जगतमा हाइकु सर्वाधिक लघु कविता हो ।’ हाइकु विधाकै स्रष्टा तथा समालोचक मिश्र वैजयन्तीको स्वीकारोक्ति हो यो । यद्यपि ‘सर्वाधिक’ शब्दसँग दुई अर्थमा यो टिप्पणीकारको विमति छ । सर्वाधिक नै सही हो भने पनि ‘त्यो बेला वा यो बेला’ सम्मको भनिनु पर्ने हो । त्यसो त उता इलामे नेपाली कविहरू डम्बर पहाडीलगायतका कविहरू एक लाइन कविताका गोरेटोमा हिंडेको मिश्रज्यूको जानकारीमा नहोला भन्ने लाग्दैन । यथार्थ के हो भने यो ‘हाइकु’लघु कविता चैं हो नै तर सर्वाधिकको छिनोफानो गर्ने जिम्मा मिश्र वैजयन्तीसमेतका यसैका विज्ञहरूका लागि । यो प्रतिवादका लागि भने होइन, पाठकहरूको जानकारीका लागि ।
तर्क गर्ने ठाउँ छ- कला र विधिको प्रयोगमा ५-७-५ अक्षरको हाइकु हुने भएकाले एक लाइन कविताले १७ अक्षर नाघ्न पनि सक्ला ! त्यसैले हाइकु नै हो ‘काव्य जगतमा सर्वाधिक लघु कविता हो’भन्नका लागि बल त पुग्छ तर कमै सम्भावना । स्मरणीय के पनि छ भने जापानी साहित्यबाट सुरु ५-७-५ अक्षरको यो विधि नेपाली भाषामा जस्ताको त्यस्तै प्रयोग गर्न अक्षरहरूको बनोटले पनि व्यावहारिक वा वैज्ञानिक नहुने हाइकु साहित्यका अग्रज अध्येता अभि सुबेदीले बताएका छन् ।
एक लाइनका कविताको लघु वा दीर्घ आकार र बनौटका बारेमा यसका प्रयोगकर्ता वा सिद्धान्तकारहरूको थप परिभाषा सार्वजनिक जानकारीमा नआएको वा थाहा नभएको हुनसक्छ । डम्बर पहाडी र होम भट्टराई यसका प्रयोगकर्ताका रूपमा परिचित भएका थिए वि.सं. २०४०-२०४५ को आसपासमा । साढे तीन दशक यता यी स्रष्टा यही बाटोमा नै हिंडिरहेकै छन् वा बाटो बदले नबदलेको बेखबर छ यो टिप्पणीकार ।
लामो वा छोटो त विषयको गहनता वा सम्प्रेषित सन्देशमा पनि निर्भर हुनसक्छ । छोटो नै सही विषयको गहनता वा सम्प्रेषित सन्देशले तान्न नसके पाठकका लागि त्यो लामोभन्दा बोझिलो पनि हुनसक्छ । त्यसो त विषयको गहनता वा सन्देश सम्प्रेषण नै गर्ने हो भने किन खुरुखुरु समाचार वा लेख/निबन्ध नलेखेर ५-७-५ अक्षर कनी कनी गनेर बस्नु त भन्ने पनि लाग्नसक्छ । कुरो यो पनि सही हो तर विचार होस वा समाचार त्यसमा प्रयोग हुने कला (कलाका पक्षका बारेमा चर्चा चलाउनु यहाँ विज्ञ पाठकको अनादार होला) ले त्यसलाई काव्यको कोटीमा गणना गराउने न हो ।
कला विहीन समाचार,विचार वा नारा आदिलाई पनि काव्यको बजारमा कारोबार हुन थालेको पाठकहरूले सहनु परेको छ । लघु काव्यका स्रष्टा अधिकारीसँगको एउटा अनौपचारिक तर सान्दर्भिक चर्चाको प्रसङ्ग यस्तो छ- अधिकारीको मत यस्तो छ – ‘रामायण लगायतका सबै काव्यहरू समाचारकै स्रोत त हुन नि ।’
हो पक्कै । तर माथि भनेजस्तै समाचारको सम्प्रेषणमा जुन विधि वा कलाको प्रयोग हुन्छ त्यो भन्दा केही विशिष्ट वा जटिल विधि र कलाहरूको संयोजन र शिल्प कुनै पनि ‘काव्य’ को विशेषता हो । फरक यति मात्र हो,कलाले समाचार पनि ‘काव्य’ हुन्छ तर कला भएन भने ‘काव्य’ पनि समाचार हुँदैन नि त !
लघु ‘काव्य’को इतिहास भनौँ पृष्ठभूमि खोज्दै जाँदा जापान वा जापान बाहिरका अन्य स्रोतहरूका बारेमा पनि अभिलेखीकरण त भएका होलान् । हिन्दु संस्कृति वा पूर्वीय दर्शनका आधार, इतिहास र अभिलेखहरूको यस क्षेत्रले बजार व्यापार विस्तार गर्न सके,जानेन वा चाहेन नै पनि सही ! तर ‘रामायण’ यो सर्वाधिक भीमकाय काव्य कृतिहरूमध्ये एक हो नै । यो सर्वाधिक भीमकाय काव्यको लघु रूप पनि छ,त्यो हेरौं-
आदौ राम तपोवनादि गमनं
हत्वा मृगं काञ्चनम्
वैदेही हरणं जटायुमरणं
सुग्रीव संभाषणम्
वाली निर्दलनं समुद्र तरणं
लंकापुरी दाहनम्
पश्चात् रावण कुम्भकर्ण हननं
ऐतध्दि रामायणम् ।
सर्वविदितै के छ भने जुन कुरा जुन दिन जसको हातमा पर्छ वा जुन दिन जुन कुरा जसले जान्यो,त्यो कुरा त्यही दिन नयाँ हुन्छ उसका लागि । त्यही कुरा त्यही दिन आफ्नो लागि पहिलो पनि त हुन्छ । तर यो नै सबैका लागि र सधैँका लागि नयाँ र पहिलो हुन सक्दैन वा मान्न सकिन्न । सर्वाधिक वा पहिलो-आजभोलि यो चलन खुबै चलेको छ । तसर्थ भन्न बाँकी छ,संसारमा जे कुरा हुन्छ ती सबै नयाँ हुन्छन् र पहिलो पनि । इन्द्रेनीका रङहरू,( हाइकु-सङ्ग्रह,वि.सं.२०७०) कवि अधिकारीको पहिलो कृति हो ।
लेखकहरूले के सोचेर लेख्छन् ? कविहरू के देखेर भावना पोख्छन् ? यो पाठकका लागि अनुमान बाहिरकै कुरा हो । पढेर पाठकहरूले के बुझ्ने त ? हात्ती छामे जस्तो मात्र गर्न सक्छन् पाठक । जसले जताबाट छाम्छ,त्यस्तै देख्छ वा त्यस्तै बुझ्छ । काव्य पनि वस्तुगत हुने भए त समाचार/निबन्ध वा शब्दकोश पो हुने थिएनन् र ? त्यसैले काव्य कलाको लीला नै यही हो- पाठक आफ्नो स्वादअनुसार बुझ्न र ग्रहण गर्न स्वतन्त्र हुन्छ ।
यस सन्दर्भमा समीक्षक मिश्र वैजयन्तीको विश्लेषण सापटी लिन सकिन्छ- ‘हाइकुले कलाको माग गर्छ । यसले बहुआयामिक अर्थ बहन गर्ने कला संयोजनको अपेक्षा गर्दछ । यस अर्थमा शीर्षक नराखिएको हो । शीर्षकले कलाको सम्भावनालाई साँघुरो पार्छ ।
हाइकुले सम्भावनाको खोजी गर्छ । हाइकुको जीवन कलाको गहिराइमा पाइन्छ ।’ यो कलाको बृहत्तर सम्भावनाका लागि नारायण अधिकारीका हाइकुले विषय,दृष्टि र विश्लेषणमा सचेत अभिव्यक्ति ज्यादा प्रकट गरेका छन् । कलात्मक चेतना कवि मनको निर्दोष अभिव्यक्ति हो भने चेतनाले कलामा शिक्षा,सूचना वा अपेक्षा ज्यादा सम्प्रेषण गर्ने हुँदा पाठकलाई कवि भावनाको स्वाद स्वतन्त्र परख गर्नेभन्दा तिनका मिश्रण र गुणको पूर्व सङ्केत गर्दछ । यो सङ्केतले काव्य कलाको तत्त्वलाई कमजोर र विचारलाई हाबी गराउँछ ।
समसामयिक, व्यङ्ग्यात्मक, प्रकृतिवादी र शृङ्गारिक खण्डमा विभाजित भएता पनि व्यङ्ग्यात्मक बोधको मिश्रण सबै खण्डका हाइकुहरूको साझा गुण हो । हाइकुकार अधिकारीका खण्ड १ मा परेको समसामयिक हाइकुहरूको दुई हाइकुहरू हेरौं –
उजेली रात
काला यी मनहरू
अँध्यारो रोप्छन् । – पेज १७
रात सधैँ अँध्यारो नै हुन्छ । तर कविको मनले उजेली रात देख्दा अँध्यारो नमान्न पनि सक्छ । तर रातलाई उज्यालोको ‘बिम्ब’मान्न सकिन्न । रातमा जुन नै सही तर जुनेली उज्यालो भन्दा पनि जुनेली रात नै राम्रो बिम्ब हो । जुनेली रात भने पनि रात तर उज्यालो नै बुझाउने हो । त्यस्तै जुनेली उज्यालो भने पनि बुझिने त रात नै हो । उजेली रात भन्नुहोस् वा जुनेली रात नै भन्नुहोस्, त्यसमा कालो मनहरू पनि छन् । कालो पनि अँध्यारो नै हो, रात सरह नै हो र तसर्थ यो हाइकुको पहिलो लाइनलाई उजेली रातको सट्टा उज्यालोमा नै वा ‘सूर्योदयमा’राखेर हेरौं कस्तो देखिन्छ-
उज्यालोमा नै/सूर्योदयमा नै
काला यी मनहरू
अँध्यारो रोप्छन् ।
हाम्रो बानी यस्तोमा छ- ‘कालो मोसो’ भन्ने वा लेख्ने गर्छौं । तर मोसो पनि कालो हो । सामान्यतया कलात्मक अभिव्यक्ति लेखकको निजी धारणा,दृष्टिकोण हो । लेखक कै अनुभव र अनुभूति पनि हो । तर त्यसमा कला र बिम्ब संयोजनमा संगति मिल्नपर्छ । पहिलो सकारात्मक अर्थ बोध वा सन्देश र दोस्रो काव्य वा कटाक्षका सन्दर्भ पनि । तर यो पनि विज्ञान होइन । यो कुरा अरूलाई नलाग्न नमान्न छुट छ । हाइकुकार अधिकारीको सोही शृङ्खलाको अर्को हाइकु-
नदी बाहिर
मन भित्रको प्यास
भेटिन्न कत्ति । – पेज १७
अर्थ त यस्तो लगाउन पनि सकिन्छ कुनै बस्तु विषय प्राप्तिका लागि त्यसको बाहिरी आवरण हेरेर त्यसको गुण वा स्वाद ग्रहण गर्न सकिन्न । तिर्खा मेट्नु छ भने पानी छुनै पर्यो । पानी पिउनै पर्यो । पानी नै ग्रहण गर्न पर्छ । अपनाउनै पर्छ । त्यसभित्र आत्मसात् हुनैपर्छ । अरू-अरू धेरै प्रकारले बुझ्न र व्याख्या गर्न सकिन्छ तर यसैलाई यसरी व्यक्त गर्दा कस्तो देखिन्छ –
नदीमै पस/सागरमै डुब
मन भित्रको प्यास
मेटिन्न कत्ति ।
नदी बाहिर त मनको मात्र होइन तनकै प्यास पनि त मेटिन्न नि !
यो मान्छेको मनसँग सम्बन्धित लेखिएको हो । मानिसको मनको अतृप्ति, तृष्णा वा आकाङ्क्षा पूर्तिको लागि प्रकट गरिएको अभौतिक आवश्यकताप्रति लक्षित माग हो । भौतिक प्यासका लागि नदी मै पुगेपछि पानी पिउन त के समस्या थियो तर प्यास मनको हो । थियो त त्यस्तै मनको आकाङ्क्षाको गहिराइको सीमाको अनन्तलाई वर्णनका लागि नदी बाहिर उभिनु भन्दा भित्रै पसे पनि त्यसको प्यास प्राप्ति हुन्न अर्थात् तिर्खा मेटिन्न भन्ने कुराले जोडिदिन्छ । बल पुर्याउँछ । तर कविले स्वयंले यो नसोचेको भए कुनै कानुन लाग्ने,कुनै डिग्रीमा पास फेल वा जरिवाना हुने डर भने छैन । अरू पाठकले पनि फरक बुझे फरक पर्दैन क्यारे !
सारा वनमा डँडेलो सल्काउन एउटै झिल्का काफी हुन्छ । डँडेलो निभाउन खोज्दा पानीले नै आगोको काम पनि गर्छ । हामी भन्छौं कस्तो कडा फिलिङ्गो रहेछ । गाउँ-घरमा जस्तो चमक ठोसेर होस वा दर्शन ढुङ्गा ठोकेर झिल्को पार्ने अझै चलन छ । हो,यस्तै फिलिङ्गो ओकलेका छन्,अधिकारीले पनि यस यस सङ्ग्रहका रङहरूमा । यो फिलुङ्गाको रङहरूमा रस पनि छ आगो पनि छ । रस चुस्दै आगो ताप्दै यो गरे पनि हुन्छ । यो पनि यसका पारखीहरूका लागि रमाइलो अवसर हुनसक्छ ।
विषय विभाजनका १-४ खण्डभित्र ६ सय ५१(६ सय ५६ ?) वटा लघु काव्य अर्थात् हाइकुको यो भीमकाय सङ्कलनमा सम्बन्धित समूहका प्रचलित विषयहरूमा कवि अधिकारीको दृष्टिकोण प्रकट भएको छ । समालोचक अर्थात् अधिकारीकृत यस कृतिको भूमिका लेखक मिश्रका अनुसार उनै मिश्रको पूर्व प्रकाशित ६ सय १७ वटा हाइकु सङ्ग्रहलाई अधिकारीले उछिनेका छन् ।
यसो त यी दुवै सर्जकलाई पेट बोलीमा ‘लोकवेद’ उल्लेख गरेर वि.सं. २०७८ मा प्रकाशित सुरेशकुमार भट्टको ‘सोली डोली’ (अन्त्यानुप्रासयुक्त हाइकु) ले उछिनेको छ । भट्ट कृत सोली डोली ३५ सय अर्थात् ३ हजार ५ सय वटा हाइकुको संग्रह हो ।
इन्द्रेनीका रङहरू, सङ्ख्यात्मक उचाइका तुलनामा कवि अभिव्यक्ति सीमित विषयहरूको विविध बिम्बहरूको चक्रव्युहमा रुमलिएको छ । एक वा दुई नै मात्र सही लघु काव्यमा पूर्ण प्रकट हुन नसकेपछि कवि तत् तत् विषयहरूमा घुमिफिरी बहुविविध रूप र रङहरूमा प्रकट भएका छन् । यसले पाठकहरूलाई एकै विषयमाथि कविको बहु विश्लेषण र दृष्टिकोणको रसास्वादन भने दिलाउँछ ।
यस्तो लाग्छ,कवि अधिकारी लघु काव्यमाभन्दा पनि पूर्ण काव्यमा नै प्रखर रूपमा मुखर हुन सक्छन् । आशा गरौं, एक दशकपछिको कविको सिर्जना पक्कै पनि लघुकाव्य मात्र नहोला । यो सङ्ग्रह वि.सं. २०७० मा अनेसास अर्थात् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसीले प्रकाशित गरेको थियो । यो पाठकीय राय अनेसासकै ‘अन्तर्दृष्टि’ अङ्क ३९ को परिमार्जित र सम्पादित रूप हो ।
अर्को एउटा सत्य के हो भने लेखक कविले जानेको वा सकेको राम्रो लेख्ने हो । पाठकले भेटेको राम्रो पढ्ने वा बुझ्ने हो । समालोचक वा टिप्पणीकारहरूले भएका कमी कमजोरीहरू पर्गेल्ने हो । बस सबैका आ-आफ्ना नाम र आ-आफ्ना काम विशेषता । यती नै काफी यी इन्द्रेणीका रङहरू हुन् वा यी इन्द्रेणीका रङहरू होइनन् । इन्द्रेणी, इन्द्रेणीका रङ वा इन्द्रेणीका रङहरू जे भनौं वा बहुविविध रङले भरिपूर्ण छन् ती र पूर्णता उन्मुख देखिन्छन् ।
एउटा पाठकले एक पटकमा बुझ्न सक्ने वा देख्न र लेख्न सक्ने यो भन्दा बढी शुभकामना बाहेक केही होला र नारायण जी ?
एउटा कथा
सहमति शीर्षक
नेपालभित्र । – पेज ६०
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।