कुण्ठा, असन्तुष्टि, निराशा, हीनता, लघुतामाथि लेखक विजयी भएकी छन् । आफू जस्तो छ त्यसलाई स्वीकार्नु नै जीवनको सार्थकता हो । त्यही नै ज्ञान प्राप्तिको क्षण हो ।  

—–                        

कहिलेकाहीँ म यस्तो पुस्तक पढ्दै हुन्छु, जसबखत आफैँ कठिन अनुभव गर्न लाग्छु—किन यस्तो भयो ? के मैले चाहेको यही थियो ? त्यो दुरूह स्थिति तत्कालको लागि अभिशाप लाग्छ तर केहीपछि थाहा हुन्छ त्यो त वरदान पो रहेछ ।

हो जटिल जीवनले मात्र जटिल अनुभूति गर्ने रहेछ । सहजता, स्वाभाविकता कहिल्यै मूल्यवान् नहुँदो रहेछ जति अस्वाभाविकता र असहजता हुने गर्छ । स्रष्टा र उसका कृतिमा पनि ठीक यही कुरा लागू हुँदो रहेछ ।  प्रायः असहजता, स्वाभाविकताले नै महान् स्रष्टा जन्माउँदो रहेछ । जसको जीवन भोगाइ अन्यदेखि पृथक हुन्छ हो त्यतिखेर उसको कृति पनि पृथकतायुक्त हुन्छ भन्ने बोध मलाई बेलाबेलै भइरहन्छ । एउटा स्रष्टाले जस्तो अवस्था भोग्दैछ, त्यसको प्रभाव सिर्जनामा पर्ने हुँदा उसको कृति प्रायः उसकै जीवनको निकट हुँदो रहेछ । सिर्जना भन्नु त आखिर उसकै जीवन पो रहेछ । उसकै जीवनको प्रतिविम्ब रहेछ ।

जुन कुरा यतिखेर म अनुभूत गर्दैछु । विगत चालीस वर्षदेखि अमेरिकामा अवस्थित स्रष्टा भारती गौतम— ‘आकाशमाथिको शहर’ (कविता सङ्ग्रह २०६३), ‘स्मृतिमा भीमू’ (संस्मरण २०६७) ‘अमेरिकामा आमा’ (संस्मरण २०७०) जस्ता कृतिकी स्रष्टा । जसलाई पढेर म अहिले—अघिको भन्दा भिन्न अनुभव गर्दैछु, एउटा बोधको अवस्थामा पुगेकी छु । अस्तित्व चेतले मानिसलाई कसरी थिल्थिल्याउँदो रहेछ । अर्थशास्त्रमा एम.ए. सँगै—एक समय गोर्खापत्र संस्थानमा कार्यरत भारती दिदीको जीवन परिभाषा आफूले सोचेदेखि कस्तो बेगल ? त्यही नसोचिएको जीवन भनौँ या आकस्मिक तरिकाले बदलिएको जीवनको अनुभूति नै ‘अमेरिकामा आमा’ बनेको छ  ।

आकस्मिकताले मानिसलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ थाहै नहुने । हामी जति नै योजनाबद्ध भए पनि हाम्रो जीवन कति अनियोजित ! कति आकस्मिक  ! आयोजना एउटा हुन्छ परिस्थिति अर्कै बनिदिन्छ । जब थोरै पनि आफूले सोचे जस्तो हुँदैन त्यतिखेर ऊ कति अनाथ हुन्छ, असहाय महसूस गर्न थाल्छ ।

जीवनको एक कालखण्ड जीवनी नै भनौैँ ‘अमेरिकामा आमा’ एक संस्मरणात्मक कृतिलाई—कुन विधामा राखेर हेर्ने पाठक समालोचकका आ–आफ्नै मत रहेका छन् । एउटा आख्यान निर्माणको लागि आवश्यक तत्व र प्रस्तुति ढाँचालाई लिएर कतिले यसलाई उपन्यास ठहर्याएका छ्न । एउटा जीवनले भोग्नु पर्ने सुख, दुःख, हर्ष, विस्मात, संयोग, वियोग सबै कुरा हुँदा अनि आख्यानले जस्तै उत्सुक बनाइरहने शिल्पकलालाई ध्यान दिँदा—संस्मरणात्मक उपन्यास भने पनि केही फरक त पर्दैन नै । तर उपन्यास भन्ने वित्तिकै त्यसमा केही काल्पनिकता निश्चय हुन्छ । स्रष्टा इमानदार भएर, आफूलाई अभिव्यक्त गरेको—सिर्जनालाई जब आख्यान भनिन्छ । त्यतिखेर लेखकको जीवनप्रति पाठकको विश्वास घट्न थाल्छ अर्थात् उसको यथार्थ जीवनमा प्रश्न उठ्न थाल्छ । त्यसो त कुनै पनि सिर्जनाको विधागत नाममा अलमलिरहनु उति आवश्यक पर्दैन निश्चय । विधागत विमर्शमा भुल्नु उस्तो जरुरत पर्दैन शायद । आखिर जस्तो नाम दिए पनि त्यो एउटा कला हो । कृतिको लोकप्रियता विधाले कायम राख्ने होइन, सिर्जना आफैँमा सुन्दर छ भने उसै पाठक प्रिय हुनेछ । त्यसो हुँदा ‘अमेरिकामा आमा’लाई  उपन्यास भन्न म चाहँदिनँ ।

समय फड्किएर धेरै पर पुगिसकेको छ । चार दशक अघिको जीवन अब सुदूर अतीत भइसकेको छ । ‘अमेरिकामा आमा’को अनुभूतिलाई समयले निकै पुरानो बनाइसकेको छ । विद्यमान समयमा डायास्पोरिक जीवन प्रतिदिन तीव्रतर गतिमा बढ्दो छ तर लेखक भारतीले बाँचे जस्तो डायास्पोरिक जीवन अब कसैले बाँचेको हुने छैन । अनि यस्तो अनौठो अनुभूतिको सङ्ग्रह गरिएको प्रस्तुत कृति जस्तै कृति पनि अब रचिने छैन । त्यसो हुँदा यस कृतिको महत्व विशेष रहेको छ ।

अमेरिकामा आमा

अध्ययनका लागि आफ्ना श्रीमान् (शिव गौतम) अमेरिका गएको एक वर्षपछि स्रष्टा भारती  चार वर्षको छोरो र दश महिनाकी छोरी काखी च्यापी उतै प्रवासिन्छिन् । समृद्ध मुलुकसँगै उनका अज्ञात तर सुन्दर सपनाले पनि समृद्धिको मार्ग खोज्न थाल्छन् । तर परिस्थिति चाहे जस्तो हुँदैन । आफ्नो अस्तित्वलाई विस्तारित गर्छु, शिक्षाको उचाइ बढाउँछु, एउटा सम्मानित पेशामा आबद्ध हुन्हु यस्तै त्यस्तै त्यो वाञ्छित भविष्य विपरीत—उनी घर परिवारमा सीमित हुन पुग्छिन् । त्यतिखेर आमा र श्रीमतीदेखि उनको—अर्को व्यक्तिगत परिचय सम्पूर्णतः हराउँछ । गृहणीदेखि अरू थोक बन्न आफूलाई समय दिन नसकेकी उनी—जतिखेर आफ्नो सपनाको स्वर सुनेर पनि नसुनेको अभिनय गर्न विवश हुन्छिन् ।

त्यो नौलो निर्जन जगत्मा गौतमको भाषा हराउँछ, शिक्षा हराउँछ । सबैसबै चीज हराउँछ । भर्खर जन्मिएको अबोध शिशुको स्थितिमा उनी पुग्छिन् । गृहस्थीदेखि बाहिरको अर्को परिचय हराए पश्चात्— अधैर्य, अशान्ति र शून्यता बोधले विचलित मन आफैँभित्र द्वन्द्व उब्जाउन शुरु गर्छ । आफ्नो नाम लिएर बोलाउने, आफ्नो  नामलाई चिन्ने त्यहाँ कोही हुँदैन । तब त उनलाई ‘भारती’ भन्ने शब्द नै विरानो, अपरिचित लाग्न थाल्छ ।

त्यस निरीह स्थितिमा आफैँसँग पराजित भएको उनको अपनत्व भनौँ या निजत्व विलीन भईजान्छ । लड्दा लड्दै कुण्ठित आकाङ्क्षा क्लान्त हुन्छ । तब त अघिको विचलित, तृषित मन शान्त हुन थाल्छ । वीतराग अवस्थामा पुग्छ । केही पाउनु, केही गुमाउनुसँग वास्ता राख्न छोडिदिन्छ । हार र जितको आसक्तिदेखि टाढिन्छ । यस्तो निस्पृह स्थितिको बोधसँगै भारती आफूभित्रको आफूलाई खोज्न थाल्छिन् । अन्तर्बोधको अनुभवसँगै अमेरिकामा विलुप्त भएको अस्तित्व पुनः कायम हुन्छ अझ विशाल अझ सशक्त भएर । यस्तो सुखद चरणमा आइपुग्न उनलाई झण्डै तीन दशक लाग्छ ।

शून्यमा हराएर शुरु भएको उनको यही अस्तित्व चेतले नै ‘अमेरिकामा आमा’ सिर्जिएको छ । प्रस्तुत कृतिले उनीभित्रका सारा कुण्ठा, आसक्ति र असन्तुष्टिलाई पखालिदिएको छ  । पूर्वदीप्ति शैलीमा लेखिएको संस्मरण आरम्भ हुन्छ रित्तो काखबाट । दुई सन्तान साथ लिएर अमेरिका गएदेखि—उहीँ जन्मिएको कान्छो छोरो कलेज पढ्न शुरु गरेसम्मको समयावधि लामो छ । छोराछोरी हुर्किएर आ–आफ्नो उद्देश्यमा घर छोड्दा आमाको मन खुशी र दुःखी एक्कैचोटि हुँदासम्मको अवस्था छ यसमा । उनीहरूकै लागि आफू बाँच्न बिर्सिएकी—पुस्तकभित्रकी आमा अहिले उदास छिन् काख रित्तिएर । अनि म पनि उदास छु । आखिर यो सब दौडधुप केका लागि ? यस प्रश्नले मेरो आफ्नै भविष्यसँग उत्तर खोजेको आभास हुन्छ । गौतम त्यस क्षण आफू (आमा) हुनुको परिभाषा नै हराएको फेरि अर्को अनुभूति गर्न पुग्छिन् ।

आजभन्दा झण्डै चालीस वर्ष अघिको—नेपाल र अमेरिका स्मरण गरिएको सिर्जना वास्तविक हुँदाहुँदै पनि कति–कतिखेर रोमाञ्चकारी लाग्छ, के यस्तो पनि होला भनूँ हुन्छ । गौतमका जीवनमा कति अविश्वास लाग्ने अनुभूतिहरू छन् । कति अप्रत्याशित कुराहरू छन् । नेपाली डायास्पोरिक साहित्यको दृष्टान्त दिँदा सम्भवतः ‘अमेरिकामा आमा’ जस्तो कृति भोलिका दिनमा निश्चय लेखिने छैन, किनकि कोही व्यक्तिले अब उनको जस्तो अनुभव गर्ने छैन, यस कृतिमा अर्कै युगको कुरा छ । त्यो समय अहिले जस्तो—यतिका धेरै नेपालीहरू  विदेश जाने परम्परा बसेको थिएन । परिस्थिति सहज स्वाभाविक थिएन । प्रवास जानेहरू एकाधमा भेटिन्थे । भेटिएका सबैले संस्मरण कहाँ लेखेका हुन्थे र ? अनि अर्को कुरा यसरी हीनता बोध र अकिञ्चन भावका अनुभूति कम्ती स्रष्टाले मात्रै अभिव्यक्त गर्न सक्छन् । थोरै सर्जकमा बिरलै त्यो आँट हुने गर्छ । त्यस्तै जो कोहीमा त्यो कला हुँदैन । प्रायशः मानव मनको अभिमानले, अहंले निरीहता अभिव्यक्त गर्न कदाचित नदिने गर्छ । त्यसो हुँदा प्रायः सर्जकले आफैँलाई ढाँटिरहेका हुन्छन् ।

प्रखर हार्दिकता भनौँ या त भावात्मक प्रस्तुतिमा स्रष्टाको भोगाइ—पाठकलाई आफ्नै भएको भ्रान्ति लाग्छ । भारती दिदी जन्मिएको अतीत, पारिवारिक पृष्ठभूमिसँगै उनको परदेश बसाइका चुनौती र अप्ठ्याराहरू  पाठकलाई स्वयं आफ्नै हुन् महसूस हुन्छ । अमेरिका प्रस्थानको आरम्भदेखि नै उनका अज्ञात कठिनाइहरू सिर्जिन थाल्छन् । चिन्ताको,  व्याकुलताको, अनिश्चितताको कहीँ अन्त्य छैन ।  दुर्लभ अनुभूति र अनौठो उत्साह, भय, त्रास, अन्योल त छँदैछ ।

विदेश गमनको आरम्भबाटै यसरी शुरु हुन्छन् उद्वेगहरू  । मन सन्तापित छ । त्यस दिन बैंकक विमानस्थालको मानव सागरमा अचानक—लेखकको चार वर्षे छोरो हराउँछ, काखमा सानी छोरी छे । त्यस बखतको विपद् कति आतेस लाग्दो छ । अब यात्रा त्यहीँ रोकिने हो कि ! छोरो पाइने हो कि होइन ।  उता उडानको समय बित्नै लागेको छ । पुस्तक पढ्दा पद्दै म अधैर्य हुन्छु । पठन रोकेर वन्दना गर्छु हरे प्रभु ! उनलाई विपत् मुक्त गरिदेऊ । परिताप उत्कर्षमा पुग्छ । सानु बालक यदि भेटिएन भने अब के हुन्छ ? कस्तो सङ्गीन अवस्थिति ।

अन्ततः बाथरुममा रोइरहेको छोरो भेटिन्छ । चलचित्र हेर्दाको जस्तो प्रभावक छ स्थिति । उत्कर्षमा पुग्छ दृश्य ।

कठिन परीक्षा यही क्षणबाट शुरु हुन्छ स्रष्टाको जीवनमा । अमेरिका जान लागेको आत्मगौरव बेलाबेलै शिथिल हुन्छ, गल्छ, थाक्छ । अमेरिका उत्रेपछि डालास  एयरपोर्टमा कागजपत्र नमिलेर त्यहीँबाट फर्काइदिने हो कि ? कत्रो अभित्रास ! बाहिर आफूलाई पर्खिएका श्रीमान्सँग भेटै नहुने हो कि ? यस्तै अन्योलमा आफूले कल्पना गरेको भूमिमा उनी अवतरित हुन्छिन् । केही दिन अघि छोडेको नेपाल सपना हो कि, अमेरिका पुगेको अनुभव सपना हो ? छ्ट्याउन नसक्ने गरी उनलाई आत्मविस्मृतिले यसरी छोप्छ ।

उमेरले वयस्क भए पनि गौतम अब सम्पूर्ण रूपले निर्बोध बालक भएकी छन् । नेपालबाट गएकी एउटी पठित युवतीलाई अमेरिकी परिवेशले हेर्दाहेर्दै निरक्षर बनाइदिन्छ, “झण्डै तीनदशकसम्म फटाएका अनुभवका भोटा, औँलामा गनिने गरी कमाएको उच्च शिक्षाको प्रमाणपत्रको मुकुन्डो सबै कोकसँग मिसिएको बरफरको चोइटाजस्तै यथार्थले पग्लिएँ । आधुनिकतासँगको चिनारीका मेरा अभिमान समेत त्यसै गरी पग्लियो, वास्तविकताको रापले (१०४)।”

सपना भनौँ त जाग्रत अवस्था छ अनि विपना भनौँ त पत्यार नलाग्ने स्रष्टा अनुभूतिहरू प्रशस्त छन् कृतिमा । तन्द्रा तथा जागरण ठम्याउन असमर्थ हुने गरी—स्रष्टाको जीवन यस किसिमले शुरुवात भएको छ । उनमा एक किसिमको भ्रम पैदा हुन्छ— आफूले भोगेको विद्यमान दैनिकीप्रति । अमेरिका पुगेको तेस्रो दिन आफन्तको घर जाँदा—श्रीमान्ले गाडी हाँकेको उनलाई विश्वास लाग्दैन । व्यक्तिगत सवारी साधन हुनु स्वाभाविक तथा सहज–प्राप्य कुरा हो भन्नेमा उनलाई सन्देह छ । श्रीमान्को त्यो उपलब्धि उनलाई अविश्वासिलो लाग्छ । अनि त ज्योतिषले पनि देख्न नसकेको भविष्यवाणी साकार भएको उनी महसूस गर्छिन् । जे चितायो त्यही पाइने अमेरिका उनलाई मनचिन्ते ठाउँ लाग्न थाल्छ बिस्तारै । त्यहाँको जीवन सिक्न उनी पुनः बालक हुन्छिन् । अघिका उनका सिकाइहरू कहीँ प्रयोगमा नआउने गरी थोत्रिएका छन् । सम्पूर्ण कुरा उनले फेदैबाट सिक्नु छ । बोली फुट्न बाँकी नै छ उनको ।

निमेष निमेषमा आश्चर्य लाग्ने कुराहरू घटिरहन्छन् । त्यस दिन श्रीमान्का साथी डायन र मेरीको प्रेमपूर्ण मनोविनोदमा गौतमलाई शरम लाग्छ, ईष्या पनि लाग्छ । आफू पनि श्रीमान्लाई त्यसरी नै प्रेम गरूँ, निर्धक्कले चुमूँ, अङ्गालोमा राखूँ हुन्छ । तर सङ्कोची मनले त्यसो गर्न दिँदैन ।

अमेरिका स्रष्टा गौतमले सोचेजस्तो किञ्चित हुँदैन । अनिश्चितता, उदासीनता, अबोधता, निरीहताले उनलाई सकसपूर्ण बनाउँछ । त्यतिखेर मनले हमेसा सम्झिरहेको नेपाल कति प्रिय छ ।

हिजोसम्म साहसिक लाग्ने उनी अब कायर भएकी छन् । ‘आफ्नो अपार्टमेन्टमा कोही आइहाल्छ कि !’ यस्तो त्रासले उनी दुर्बल हुन्छिन् । कोही आयो भने के भनेर बोल्ने ? कति–कति बेला भाषा नबुझेर ‘एस’ भन्नु पर्नेमा ‘नो’ र ‘नो’ भन्नु पर्नेमा ‘एस’ भनेको उनी अहिले पनि सम्झिन्छिन् । सम्पन्न मुलुकमा विपन्नता अनि असहाय अनुभव कति निरीह  कुरा छ । उनलाई आफ्नै उमेर बाधक हुन थाल्छ । बरु चार वर्षको छोरो जस्तै सानु हुने असम्भव इच्छा—उनी गर्न थाल्छिन् । जीविका सुगम बनाउने प्रविधि तथा मेसिनरी सामान प्रयोग गर्न नजान्दा उनलाई वितृष्णा हुन्छ, त्यतिखेर नेपालको प्राकृतिक जीवन पद्धति फेरि उनलाई प्रिय लाग्छ ।

अमेरिकी भाषा संस्कृतिको ज्ञान नहुँदा लेखक भारती एउटा बन्दी जीवनको अनुभव गर्न पुग्छिन् । कति निर्धो छ त्यो अनुभव, कति अनाथ छ । अब त बोल्न पनि बिर्सिएँ उनी भन्छिन्, बोल्ने कोसँग ? त्यहाँको हरेक कुराले आफ्नो उच्च शिक्षालाई व्यङ्ग्य गरेको उनलाई लाग्छ । लघुताभासले, हीनताले आफ्ना जिज्ञासा श्रीमान्सँग राख्न पनि उनी असमर्थ हुन्छिन् ।

विभाजित छ मन, अमेरिकामा अडिँदैन, नेपाल पुगिरहन्छ । आफ्नै छोराछोरी र आफूबीचको भाषा संस्कृतिमा मसिनो रेखा कोरिन थालेका छन् । आमाले छोराबाट अमेरिका सिक्न लाग्छिन् । अमेरिकाको विशालतामा एउटा नेपाली परिवार अर्कै ग्रहको एलिएन जस्तो हुन्छ । अभिभावकीय दायित्वले—छोरोछोरीलाई सम्हाल्न पनि गौतम असमर्थ हुन्छिन् । उनीहरूका जिज्ञासालाई शान्त पार्न असक्षम आमा हुनुको पीडा झन् डर लाग्दो हुन्छ । बाबु दिनभरि बाहिर हुन्छन् आमाबाट उनीहरू केही सिक्न सक्दैनन्, पाउँदैनन् । त्यतिखेर लेखकलाई आफ्नै मातृत्वले उपहास गरेको आभास हुन्छ । घरभित्र निसासिएका छोराछोरी आमासँगभन्दा बाहिर बढी रमाउन थाल्छन् ।

त्यो समाजसँग केही सिकोस्, समायोजित हुन सकोस्, भाषा जान्ने होस् भनेर छोरालाई आफ्नै उमेरका साथीसँग चर्च पठाउनु पर्दाको विरोधाभासी विवशतालाई म यहाँ कसरी प्रस्तुत गरूँ ? आमाको त्यो निरीहता, न्यूनताभासलाई व्यक्त गर्नु कति जटिल विषय छ । बस् म त्यो बोध मात्रै गर्न सक्छु । तथापि भाषामा व्यक्त गर्न असमर्थ छु । छोरोले बाइबल पुस्तक पढेको, प्रार्थना गरेको देख्दा बाबु आमा खुशी हुन सक्दैनन् । थाहै नपाई क्रिश्चियनको प्रभावले छोराको हिन्दूत्व धमिलिन थाल्छ, मेटिन थाल्छ । उसमा आफैँबाट बेग्लिने संस्कृतिको बीजारोपण हुन लाग्दैछ भन्ने थाहा पाएर छोरालाई चर्च पठाउन निषेध गर्छन् । त्यो अन्जान बालक साथीबाट छुटेर बन्द कोठामा बस्दाको मनोभावलाई अथ्र्याउने त्यस्तो ओजनदार शब्द शायद बनिएकै छैन ।

पश्चिमी संस्कृतिसँग अपरिचित लेखकलाई त्यहाँको स्वच्छन्द प्रेम, रुमानी सद्भाव बडो अप्ठ्यारो लाग्छ । त्यस दिन सपरिवार साथीको आवासमा गएका छन् । केटी साथीले खुशी व्यक्त गर्दै आफ्ना श्रीमान्लाई अङ्गालो हालेको भारतीलाई मन पर्दैन । उनी सोझै हेर्न समेत सक्दिनन्, उनका आँखा भुइँमा झर्छन् । अनि त उनमा ईष्र्या जस्तो केही भाव उत्पन्न हुन्छ ।

‘अमेरिकामा आमा’ले जस्तो अनुभूति व्यक्त गरेको छ, त्यस मर्मलाई शब्दमा अभिव्यञ्जित गर्न कठिन छ । आफूले पढ्दा मात्रै त्यस अभिप्रायमा पुगिन्छ । छोरा छोरी स्कूल जान थालेका छन् । तर आफू र साथीहरूबीचको अन्तरले उनीहरू दुखी हुन्छन् । खुशी हुन सक्दैनन् । सांस्कृतिक विषमताले उनीहरू न त नेपाली जस्तो हुन सकेका छन् न त साथीहरू जस्तै । स्कूलबाट फर्किएको त्यस दिन बेलुका छोराले सोध्छ, “ममी, तपाईँ र बुवा मेरो कस्तो बुवा आमा हो ? श्यामुयलको बुवा जस्तो रियल कि जनी र सेरोको जस्तो स्टेप ?”

छोराछोरी त्यहीँको सङ्गतमा नेपाल कम  अमेरिका बढी हुन थालेका छन् । बाल अतीत सुन्दर र समृद्ध बनाउन तथा उनीहरूको प्रसन्नताका निम्ति त्यस्तै छोराछोरीका साथीहरूको जस्तै खुशी भिœयाउन थ्याङ्क्स गिभिङ्, क्रिसमस जस्ता पर्व मनाएका अनुभव कति मार्मिक छन् ।

निमेष निमेषमा आइरहने चुनौती सानो छैन । सम्झनामा नेपाल आइरहन्छ—बा, आमा बहिनी सबैसबै आइरहन्छन् । उनीहरूलाई लागेको छ छोरी अमेरिकामा रमाएकी छ । तर त्यसो हुँदैन । लेखकको संस्मरणले धेरै अर्थ बोकेको छ । उनले त्यहाँको सामाजिक, आर्थिक, सांस्कृति, अझ धेरै राजनैतिक घटना र गविविधिलाई आफ्नो दैनिकीमा मिसाएकी छन् । प्रकृति प्रेमी उनको प्राकृति सुन्दरताको वर्णन कति मनमोहक छ ।

अमेरिकामा स्थापित हुन गरेका सङ्घर्षसँगै—आफ्नो परिचय संकटले बढेको परिताप शीतल गर्न, लेखक हर प्रयास गर्छिन् तर ताप झन् बढिदिन्छ ।  नागरिकप्रति त्यहाँको सरकार कति जिम्मेवार छ । दुःखमा, सुखमा, हर्ष र अभावमा चलेको अमेरिकी नेपाली परिवार त्यस दिन अत्यन्तै प्रसन्न हुन्छ । श्रीमान्ले विधावारिधिको सम्मान पाएको दिन अर्थात् दीक्षान्त समारोहको उत्सवमा फेरि भारती दिदीको मन हर्षसँगै केही ईष्र्या गर्छ । समान योग्यता लिएर अमेरिका पसेका श्रीमान् झन् उचाइ उक्लिँदै रहेका बेला—आफू खुम्चिँदै गएकोमा उनी अलिकति दुःखी हुन्छिन् । उनका संस्मरणमा यस्ता धेरै विरोधाभासी भावहरू छन् ।

समुन्नत भविष्यको आशामा धपेडी गरेको त्यो परिवार कहीं स्थिर हुन सक्दैन । एउटा फिरन्ते जाति जस्तो बास सारिरहन्छ । अनुकूलता प्रतिकूलताको गतिमा उनीहरू यायावरीय हुन्छन् । परिस्थितिको चक्रवातमा बाबु आमाभन्दा ती छोराछोरी बढी प्रभावित हुन्छन् । पढ्दै गरेको स्कूल छुट्छ, साथी छुट्छन्, परिचित परिवेश टाढिन्छ । तिनका जराले भुइँ टेक्न नपाउँदै फेरि उखेलिएर अन्तै सारिन्छन् । नियतिको यस्तो क्रम चलिरहन्छ, उनीहरूले पूर्णताको आभास गर्न सकेकै हुँदैनन्, “न त उनीहरूले स्कूलमा मात्र सिकेको अमेरिका पूर्ण थियो न त उनीहरूले बाबु र आमाबाट घरमा सिकेको नेपाल नै पूर्ण थियो । उनीहरू दुवै मुलुकको अलिअलि मात्र हुन सके (३१२) ।”

अलिकति नेपाली,  अलिकति अंग्रेजी, अलिकति हिन्दू, अलिकति क्रिस्चियन, अलिकति नेपाल अलिकति अमेरिकाको आंशिक वातावरणमा उनीहरूले जस्तो सिक्छन् त्यो अधूरै भेटिन्छ । उनीहरूका कति उत्सुकता आमाले प्रस्ट्याउनै सकेकी हुँदिनन् । कति शरमले, कति अज्ञानताले, कति उनको आंशिक ज्ञानले, कति छोराछोरीका आंशिक बुझाइले—जवाफ बोधको स्थितिमै पुग्दैन । सानी छोरी सोध्छे, ‘ममी हाम्रो चर्चको नाम के हो ?’

लेखक भारतीका संस्मरणमा यता हामीलाई अनौठा लाग्ने प्रशस्त कुरा छन् । पाँच वर्ष माथिका छोरा छोरी भएका परिवारले दुई बेड रुमको अपार्टमेन्ट नपाउने, त्यस्तै आत्मविश्वास वृद्धि गर्न शिशु उमेरदेखि नै बेग्लै कोठामा एक्लै सुताइदिने जस्ता सन्दर्भ हामीलाई कति भ्रान्तिपूर्ण लाग्छन् । महीना दिन नपुगेको कान्छो छोरालाई डाक्टरले ‘उसको भिन्दै कोठा छ छैन’ भनी सोद्धा गौतम अवाक् हुन्छिन् । उनलाई आफ्ना छोराछोरी पश्चिमी संस्कृतिदेखि टाढा भई नेपाली मानसिकताका होऊन् भन्ने लाग्छ तर नेपाल नभोगेका, पश्चिमी परिवेशमा हुर्किएका बालबालिका अमेरिकादेखि कसरी बेग्लै हुन सक्छन् र ? असीम स्वतन्त्रता र खुला संस्कृतिको प्रभाव परेका, उमेर बढ्दै गएका छोराछोरीको ‘भोलि’ सम्झिएर लेखक झस्किन्छिन् । ब्राजिल मुलकी अमेरिकी आमा रोजलिनले, “छोरीको महिनाबारी भएपछि उसले थाहा नपाउने गरी परिवार नियोजनका चक्की दूधमा हालिदिन्छु” भनेको सुनेर उनी विस्मित हुन्छिन् ।

‘अमेरिकामा आमा’ पढेपछि डायास्पोरिक जीवनको मर्म बोल्ने यति सूक्ष्म, यति व्यापक, यति गम्भीर नेपाली भाषी कृति बिरलै अर्को होला जस्तो हुन्छ । बाबु, आमा र छोराछोरीबीचको आस्था, विश्वास र मान्यता यति विपरीत हुन्छ कि बाबु आमालाई त्यो राम्रो लाग्दैन । तर विवश छन् । नेपाली हुनबाट छोराछोरी टाढिएको खुशी लाग्दैन । फेरि संस्कृति र मान्यताको आडमा उनीहरूलाई स्वच्छन्द हुनबाट वञ्चित गर्न खोजेकोमा, अमेरिकी बाबुआमा जस्तो हुन नसकेकोमा उता पीडा बोध हुन्छ । आफ्नी आमा छिमेकीको आमा जस्तो हुन नसकेकोमा छोराछोरीहरू केही कमीको महसूग गर्छन् । अमेरिकी आमा छोरीको ब्वाइफ्रेन्ड भएकोमा हर्ष मान्छिन् सँगै यता नेपाली आमा खुशी हुन सक्दिनन् । आफ्ना साथी सरह आफू हुन नपाएकोमा छोराछोरी केही बन्धित भाव अनुभव गर्छन्  । हो त्यतिखर नेपाली आमा हुनुले लेखकलाई केही पश्चत्ताप जस्तो पनि हुन्छ ।

बेलाबेलै लेखक परिवार अनिश्चितताको भुमरीमा परिरहन्छ । अमेरिकामा स्थापित हुन सकिन्छ सकिँदैन या त नेपाल फिर्ती हुनु पर्ने हो अन्योल थपघट भइरहन्छ । श्रीमान्को भिसा सकिँदैछ युनिभर्सिटीमा जागिरको म्याद छोटिँदैछ । यस्तो अवस्थामा योग्यता भन्दा कम्तीको असिस्टेन्ट प्रोफेसरमा लेखक श्रीमान् नियुक्त हुन्छन् । जीवनमा यस्ता वारपार गर्ने फड्केहरू धराप थापे जस्ता लाग्छन् । केही भरोसा, केही भरोसा विहीन स्थितिमा उनीहरू भविष्य देख्दै हुन्छन् । यस स्थितिमा लेखकले आफ्नो परिवारलाई एउटा सर्कस टोलीको उपमा दिएकी छन् ।

जब आफूलाई दर्द असह्य हुन्छ त्यतिखेर लेखकले अत्यन्तै सम्झिने नाम हुन् बाबु, आमा र बहिनी । आफूबाट चोइटिएर अब कहिल्यै नआउने बाटो गएकी बहिनी आरतीलाई अझ बढी सम्झिएर उनी खिन्न हुन्छिन् । त्यस समयमा अमेरिकी नेपाली परिवार तथा आफन्त भेटिनु दुर्लभ संयोग हुने गथ्र्यो भारती भन्छिन्, कोही नेपाली भेटिँदा नेपालमै पुगेको भान हुन्थ्यो ।

लेखकको भाषा मितव्ययिता—थोरै शब्दमा धेरै अर्थ सम्प्रेषण गर्ने प्रस्तुति शिल्प बडो प्रिय लाग्छ । नेपाल छोडेको एक दशक पश्चात् उनको परिवार अनेक चुनौती सामना गरेर देश फर्किन सक्ने भएको छ । प्रवासमा बसेर गरिएको अमेरिकी अनुभव र नेपालको सम्झनामा सिर्जिएको ‘अमेरिकामा आमा’ भित्रका प्रायः घटनाहरू आकस्मिक संयोग भएर आएका छन् । पुस्तकले आख्यान पढ्नु जतिकै कुतुहलता पैदा गर्न सकेको छ । त्यस्तै आख्यानको जस्तै क्रमिकता छ । घटना र विषयवस्तु छ ।

भारतीलाई अमेरिका अब आफ्नै लाग्न थालेको छ । अभ्यस्त छिन् त्यहाँको जीवनसँग । बाले पठाएको चिठीबाट आफू जन्मिएको धनकुटाबारे उनी थाहा पाइरहन्छिन् । सानु भाइ अमेरिका आउँदैछ रे, दाजु विराटनगरमा शिक्षण गर्नु हुन्छ रे । घर एकदमै शून्य भएको छ आमा भन्नु हुन्छ । नेपालमा अब फोनबाटै बोल्न मिल्ने सुविधा आउन थालेको छ ।

भर्खर नेपालबाट फर्किएको एक महीना पुग्न बाँकी नै छ शोक खबर आउँछ आमा बित्नु भयो रे ! कति अपत्यारिलो दुःखद घटना । छोरीसँग भेट गर्नकै लागि आमाको मृत्युले यतिन्जेल पर्खिएको जस्तो लाग्ने । त्यसको तीन वर्षमा फेरि अर्को अशुभ समाचार आउँछ बाको चोला उठ्यो रे ! बाले दुर्गा दिदीसँग पठाएको चिठी हात परिसकेको थिएन । शोक, बियोग र उदासीनताले सन्तप्त भाव छ्या कति विरक्त लाग्दो ! यता बहिनीसँगको विछोडले आधा मुटु टुक्रिएको घाउ कहिल्यै निको नहोला जस्तो छ । लेखकलाई नेपाल सम्झिँदा मात्रै पनि दुख्न थालेको छ । विरानो मुलुक त्यहाँ अब को छ र जस्तो भावले सबै रित्तोरित्तो लाग्छ । नमीठो शून्यता सुसाउँछ ।

यस्तै रिक्तता भनौँ कि तिक्तताले स्रष्टा भारतीलाई पिरिरहन्छ । सम्पूर्ण रूपले घर परिवारमा समर्पित उनले आफूलाई गुमाउँदै गएको पाउँछिन् । तर पनि आफूभित्रको इच्छा अझै त मरिसकेको छैन नै । बिस्तारै अमेरिकी भाषा संस्कृतिको ज्ञानले उनी बौरिन थाल्छिन् । छोराछोरी पनि केही ठूला हुन्छन् । तब त पीएचडी गर्ने उनको रहर अलि बढी ब्यूँझिन थाल्छ । उनी अध्ययन शुरु गर्छिन् । तथापि उनको लक्ष्य फेरि विखण्डित हुन्छ । उचाइलाई अझ माथि उठाउँदै—श्रीमान्ले प्राप्त गरेको अवसरमा, उपलब्धिमा उनीहरू बसाइँ सर्न बाध्य हुन्छन् । एउटा शहरबाट अर्को शहरमा त्यसरी बसाइँ सर्दा उनको इच्छाले कहीँ मर्यादा पाउँदैन । दुई पटकसम्मको उनको प्रयास व्यर्थ हुन्छ ।

अनियोजित तवरले जीवनमा ठूला ठूला परीक्षा लिँदै आएको नियति । जसले लेखकको जीवनमा केही सपाट गति लिन थालेको छ । अनि स्रष्टासँगै पाठक पनि केही शान्त हुन थाल्छन् । दुई छोराछोरी कलेज पढ्ने भइसक्छन् । टेनेसीमा एउटा सुन्दर घर किन्छन् । श्रीमान् फ्लोरिडा विश्वविद्यालय हुँदै विश्वकै सम्मानित हार्वार्ड युनिभर्सिटीका प्राध्यापक हुन्छन्  । घरपायक मिलाउन फेरि अर्को बसाइँ सर्छन् । अर्को व्यवस्था गर्छन् ।

अर्काकी आमालाई जति नै आफ्नी आमा बनाउन खोजे पनि साँच्ची नै उनी आफ्नी हुँदिनन् । डायास्पोरिक जीवनको यो कहिल्यै नछुट्ने अनुभव त्यस दिन लेखकले पनि गरेकी छिन् । स्कूलबाट फर्किएको छोरो रुन्चे स्वरमा भन्छ, ‘आमा ! हामी फर्किएर आफ्नै घर जाऊँ ।’ यस सन्दर्भले मलाई सबैभन्दा ज्यादा दुःखी बनायो । त्यहीँ जन्मिएको उसलाई लागेको थियो अमेरिका नै आफ्नो घर हो । उसका साथीले ‘यो तिम्रो देश होइन । तिमी जाऊ जहाँ तिम्रो देश छ’ यसो भन्दाको त्यो बालपीडा कति दर्दपूर्ण छ । जुन ठाउँलाई उसले आफ्नो देख्दै आयो त्यो उसको होइन भनेपछि उसको देश खै कहाँ छ ? न त उसले नेपाल चिनेको छ न त आफू बसेको देश आफ्नो भन्न सकेको छ । डायास्पोरिक जीवनको ठूलो मर्म यही हो ऊ कहीँको पनि हुन नसक्नु ।

अब कान्छो छोरो पनि कलेज जाने भएको छ । प्लेनमा दुई घण्टा लाग्ने दूरीमा छोरी छिन् । आफूदेखि टाढा कलेजमा छोरी पठाउँदा नेपाली आमाको मनले असुरक्षा बोध गर्छ । नैतिकता जस्तो केही कुराले अधैर्य बनाउँछ ।

अन्ततः मातृत्वमा बुद्धत्व शीर्षक आलेखले एउटा विरोधाभास शान्ति उत्पन्न गरी—कृतिको सम्पूर्ण सारलाई टुङ्ग्याएको छ । लेखक जीवनका सङ्घर्षहरू प्रायः मत्थर भएका छन् । छोराछोरी भविष्य निर्माणमा बाहिरै छन् । बाहिरै रमाएका छन् । अन्त्यमा जीवनभरको धावा त त्यही एक्लो हुनको लागि जस्तो पनि हुन्छ । जीवन त आखिर आफूले जस्तो भोगिन्छ त्यही रहेछ । समय असमयमा उत्पन्न हुने पीडा, कष्ट, अवसाद, असन्तुष्टि, केही कुण्ठा, बेला बेला आउने खुशी, प्राप्ति अप्राप्ति, अनिश्चितता र अन्योलको समष्टि रूप जस्तो बन्छ त्यही नै एउटा सिङ्गो जीवन रहेछ ।

अन्त्यमा कुण्ठा, असन्तुष्टि, निराशा, हीनता, लघुतामाथि लेखक विजयी भएकी छन् । आफू जस्तो छ त्यसलाई स्वीकार्नु नै जीवनको सार्थकता हो । त्यही नै ज्ञान प्राप्तिको क्षण हो । जीवनभर आफूलाई समय दिन नसकेको आमा मन—तिनै छोराछोरी र श्रीमान्मा समर्पित हुँदा जस्तो अनुभूति भयो, त्यो अप्राप्य भएको सत्यता बोधसँगै उनी बुद्धत्वको चरणमा पुगेकी छन् । बुद्धले आफूलाई बोध गर्न समर्थ हुँदा बुद्धत्व प्राप्त गरेका थिए । त्यस्तै लेखकले मातृ बोधसँगै  मातृत्व प्राप्त गरेकी छन् । आत्मसम्मान खोज्दाखोज्दै कहीँ नभेटिएपछि—आफैँसँग ठोकिँदा उनलाई दुर्लभ ज्ञान प्राप्त भएको छ ।

बुद्धले जस्तै घर त्यागेर ज्ञान प्राप्त गर्नु मात्रै बुद्धत्व होइन । आफूसँगै आफ्नो परिस्थितिलाई बोध गर्नु, त्यसलाई सहज स्वीकार्नु र त्यसमा आत्मसन्तुष्टि लिनु नै बुद्धत्वको क्षण हो ।  हिजोको कुण्ठा, अतृप्ति जस्तो थियो त्यहीबीच आज लेखक पूर्ण तृप्त छिन् र त जगत्कै आमाको प्रतिनिधि स्वर बोधक ‘अमेरिकामा आमा’ सिर्जना भएको छ ।

बाह्य जगत् अझ अरूलाई देखाउने जगत्, त्यो भौतिक जगत् सम्पूर्ण सत्य हुन सक्दैन । त्यो क्षणभरको सत्यतामा देखाउनु पर्ने नै के छ र ? जब आफूले आफूलाई देख्न सकिन्छ हो त्यतिखेर अरूले के भन्ला ? उसको दृष्टिमा म कस्तो देखिँदैछु ? मैले के गर्दैछु, मैले के गर्नु पर्छ, समाजको अघि म कुन तरिकाले प्रस्तुत हुनुपर्छ, समाजले कस्तो मूल्याङ्कन गर्दैछ जस्ता यावत प्रश्न व्यर्थ हुन थाल्छन् । केही पाए जस्तो हुनु, केही गुमाए जस्तो हुनु एउटा भ्रान्ति हो । वास्तवमा उसले न त केही पाएको थियो न त केही गुमाएको नै थियो । पाउनु र गुमाउनुको अर्थ उसभित्रको एउटा विचार रहेछ, ‘वास्तवमा म न त हारएँछु न त भेटिएँछु नै (४९४) ।’

आफूले इच्छ्याएको र भोगेको परिस्थिति मेल नखाँदा कुण्ठित जस्तै भएकी लेखक उत्तराद्र्धमा भन्छिन्, ‘मलाई आमा र पत्नी मात्र भएर जिन्दगी बिताएकोमा अहिले कुनै पश्चात्ताप छैन ।’ आफ्नो त्याग र समर्पणको मूल्य उनी आज आएर बुझ्दैछिन् । म केही होइन भन्दाभन्दै लेखक भारती यहाँ विशेष भएकी छन् । आत्मबोधको यस अवस्थामा पुग्नु अत्यन्तै दुर्लभ कुरा हो । आज उनी जस्तो छिन् त्यो शून्यबाट उठाइएको अस्तित्व नेपाली साहित्यमा भुल्नै नसकिने एउटा परिचय बनेको छ ।

शुरूदेखि अन्त्यसम्मका यस्तै  कठिन भोगाइ तथा इमानदारी लेखन— जसमा हीनता, लघुता र अप्ठ्यारा घडीलाई थोरै पनि नढाँटी  व्यक्त गरिएको ‘अमेरिकामा आमा’ले एउटा भिन्न परिचय कायम गर्न सकेको छ । कृतिभित्रका ती प्रत्येक रचना आफैँमा स्वतन्त्र छन्, पूर्ण अस्त्विका छन् फेरि आपसमा क्रमागत छन्,  सम्बन्धित पनि छन् । विम्ब र प्रतीकमा अभिव्यञ्जित, थोरै शब्दमा भावलाई प्रस्ट्याउने शिल्प—कृतिको भुल्नै नसकिने विशेषता बनेको छ । त्यस्तै स्रष्टा गौतमको प्रतीकात्मक भाषा प्रस्तुति लोभ्याउने किसिमको छ जस्तो—भर्खर टेकेको आधुनिकताको सङ्घारमा विगत लजायो । एरेक, क्रिस्टोफर, निकोल, मिसेस कुरुसो मेरी छोरीको जिब्रोमा बसेर घर आउन थाले । गौरव ओडेर मनभित्र अमेरिका छिर्न सकेन आदि ।

दुरूह भोगाइले निर्मित ‘अमेरिकामा आमा’ धेरै किसिमले विशेष बनेको छ । तर पुस्तक आकार ठूलो हुँदा पाठकले धैर्य गुमाउन पनि सक्छ । त्यसो त उत्सुक बनाइरहने, अन्त्यमा नपुगुन्जेलसम्म डोर्याइरहने शक्ति छ पुस्तकमा । यही लेखन शक्तिले दुई वर्षअघि भारती दिदीको ‘विगत र बाडुली’ संस्मरणात्मक कृति सम्मानित भएको थियो—उत्तम शान्ति पुरस्कारले । फेरि पनि यस्तै सुन्दर कृतिहरू आइरहून् दिदीलाई असीम शुभकामना सहित अहिलेलाई यति नै ।