नेपाली साहित्यमा प्रदीप गुरुङ एक परिचित नाम हो । प्रदीप गुरुङको जन्म २१ अक्टोबर, १९५४ मा मिरिकमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका उनी १९८० देखि जुद्धवीर हाइ स्कुलमा शिक्षण कार्यको थालनी गरेका हुन् । सन् १९९७ देखि भने उनी यसै विद्यालयका प्रधानाध्यापक रही सेवानिवृत्त भएका हुन् ।

प्रदीप गुरुङ

प्रदीप गुरुङ

उनी कथाकार, उपन्यासकार र कवि हुन् । हालसम्म उनका ७ वटा पुस्तक प्रकाशित भएका छन् । उनका प्रकाशित पुस्तकहरूमा ‘असुरक्षित’ (कथासङ्ग्रह, १९८०), यस्तै अनि यस्तै (कथासङ्ग्रह, २००१), बिरिमफूल (कथासङ्ग्रह, २००६), पोस्टर र लात (सूत्र उपन्यास, (२०१०), प्रेमिल (कवितासङ्ग्रह, २०१५), बैरीमाया (कथासङ्ग्रह, २०१६), एक सब्तु सपना (कथासङ्ग्रह, २०२३) । यस सूचीबाट हेर्दा उनी मुख्य रूपमा कथाकार हुन् । उनका प्रकाशित पाँचवटा कथासङ्ग्रहका आधारमा उनको कथाकारिताबारे समुचित मूल्याङ्कन र समीक्षण हुनुपर्ने आवश्यकता देखिन्छ । उनी नेपाली कथासाहित्यमा एउटा छुट्टै स्थान ओगट्न सफल बनेका छन् ।

उनका कथाकारितामाथि केही समीक्षकहरूले आंशिक रूपमा भए पनि अध्ययन मूल्याङ्कन गरेका छन् । यसमा कविता लामा, सपन प्रधान आदि  पर्नुहुन्छ । उनी हतारमा सङ्ख्या बढाउन भन्दा धेरै समय लाएर गुणात्मक कथा लेख्छन् । यसर्थ, उनी धेरै समयमा थोरै कथासङ्ग्रह प्रकाशित गर्ने कथाकार हुन् । पहिलोदेखि दोस्रो कथासङ्ग्रह निकाल्न एक्काइस वर्ष लागेको थियो । त्यसपछि क्रमशः दोस्रोदेखि तेस्रो पाँच वर्ष, तेस्रोदेखि चौथो दश वर्ष र चौथोदेखि पाँचौ ८ वर्षको अन्तरालमा कथासङ्ग्रह प्रकाशित भएका छन् ।

उनको पहिलो सङ्ग्रहमा १० वटा, दोस्रोमा १९ वटा, तेस्रोमा १४ वटा, चौथोमा २२ वटा र पाँचौंमा १२ वटा गरी जम्मा ७७ वटा कथा सङ्कलित भएका छन् ।

कविता लामाले उनका कथाहरूमा निन्मवर्गीय मानिसहरूका पीडा आदिको अङ्कन, नारीहरूको कारुणिक अवस्था, समसामयिकता, सामाजिक यथार्थवाद, मधेसखण्डका आदिवासीका जनजीवनको अङ्कन, मनोवैज्ञानिक यथार्थवाद, व्यङ्ग्य चेतना, प्रगतिशील विचारधारा, प्रयोगवाद, नवोन्मेषमुखी चेतना, इतिहास चेतना, आत्मकथनात्मक शैली, भाषिक मिठासपन आदि जस्ता प्रवृत्ति र विशेषताहरूको अङ्कन गरेकी छन् ।

समीक्षक सपन प्रधानले केही कथाका आधारमा गुरुङलाई एक मनोविश्लेषणात्मक प्रवृत्तिका कथाका रुपनमा दराएका छन् । उनका अनुसार बिरिमफूल कथासङ्ग्रहभित्रका ‘मुखमाया’, ‘बिरिमफूल’, ‘शहर पसेकी कान्छी’ गरी कथाहरूमा असामान्य मनोविज्ञानका विभिन्न पक्ष केलाउँदै यौनमनोविश्लेषण पाइन्छन् भन्ने कुरा प्रस्तुत गरेका छन् ।

उनी आफैँ भने ‘आफ्ना कथाहरूमा जगत् र जीवनमा जे भइरहेछ र त्यो भइरहेको भित्रको हाहाकार र पीडाको अभिव्यक्ति, घटनाको सानो सूत्र समाउन पाए लेख्दै जाँदा कथा बनिन्छ, संसार रमाइलो मात्र बनिंदैन, विसङ्गति र दिशाहीनताको भ्रमले जन्माएको कुण्ठा पनि कथा बनिन्छ’ भन्ने विचार व्यक्त गरेका छन् ।

० ० ० ०

एक सब्तु सपना

यसै वर्ष प्रदीप गुरुङको पाँचौं कथासङ्ग्रह ‘एक सब्तु सपना’ को विधिवत् लोकार्पण भयो । यसमा जम्मा १२ वटा कथा सङ्गृहीत छन्  । किराँती समाजमा प्रचलित बाँसको चोयाबाट निर्मित पेरुङ्गो जस्तो जाँड राख्ने एक प्रकारको साधन हो सब्तु । यसैबाट “एक सब्तु सपना” कथा निर्मित भएको छ । कविवर राजेन्द्र भण्डारीको भूमिका पनि आफैँमा सिर्जनात्मक समीक्षा गरिएको पाइन्छ । यसमा प्रदीप गुरुङको स्वभाव, आनीबानीदेखि लिएर उनका कथागत प्रवृत्तिबारे पनि साङ्केतिक रूपमा प्रकाश पारिएको छ । प्रदीप गुरुङ एक कुशल भायोलिन वादकसमेत रहेको कुरा उल्लेख गरिएको छ ।

एक सब्तु सपना

एक सब्तु सपना

यस कथासङ्ग्रहमा  हाम्रै वरिपरिका कुराहरूलाई कलात्मक तवरले कथा बुनिएको छ । यसले पनि पाठकलाई सन्तुष्टि प्रदान गर्दछ । अतः ‘एक सब्तु सपना’ पठनीय सङ्ग्रहनीय र  रुचिकर छ । यसमा रहेका कथाहरू लामा लामा आयामका छन् । यसमा सूक्ष्म विश्लेषण गरिएका हुँदा कथाविस्तार भएका छन् । शीर्षकीय कथा ‘एक सब्तु सपना’मा यसै पुस्तकको आकारअनुसारको उन्नाइस पृष्ठ रहेका छन् भने मौन क्यान्भास भने पाँच पृष्ठको रहेको छ ।

प्रदीप गुरुङले गाउँघर चियाकमान आदिका भित्री भागतिर घटिरहेका घटना टिप्न सक्छन् । कालिम्पोङ, दार्जिलिङ, डुवर्स, गोरुबथान तिरका नेपाली, बङ्गाली, आदिवासी समाजमा घटिरहने साना ठुला घटनाहरूलाई कथावस्तु बनाएर सिर्जना गर्दछन् । उनका निम्ति कथाका कच्चा पदार्थ हाम्रै वरिपरि छन्, जुन लेखिएका छैनन्, जुन ख्याल गरिएका हुँदैनन् । यसकारण कि पहाड मधेश र औल खण्डतिर रही त्यहाँका प्रकृति, समाज, भूगोल, परिवेशमा घुलमिल गरेका कथाकार हुन् ।

गुरुङले  १२ वटा कथालाई एउटै समाज, एउटै परिवेशभित्रबाट भिन्नाभिन्नै १२ किसिमको विषयवस्तु चयन गरेका छन् । यद्यपि यहाँ समाजका दृष्ट–अदृष्ट, जानेका–नजानेका, सुनेका–नसुनेका कैंयौं विषयवस्तुलाई टिप्न सफल बनेका छन् । समाजको शल्यचिकित्सा गरेका छन् । यसमा रहेका कथाहरू हुन्- एक सब्तु सपना, अन्त्याङ्कन, कोर्ने सङ्केत, खोलामा बास, पानफुल, फोहोर सहर, मुत हरफ, मृत्यु निनाद, मौन क्यान्भास, लभ यु दार्जिलिङ, हली मसिन, अन्तिम गीत ।

‘एक सब्तु सपना’मा कोरोनाको समयमा गाउँबाट रोजगारीको खोजीमा चेन्नै गएर सानोतिनो काम गरेको र त्यहीँ अलपत्र परी मरेको मार्मिक प्रसङ्ग । राईकी छोरी भए पनि चेन्नैमा नै मृतशरीर जलाइएको प्रसङ्ग छ । उसको घरमा शोकको लहर, उसको आत्मशान्तिका निम्ति राई माङ्पाको रीति अनुसार चिन्ता बस्नु, उनीहरूका घरछेउको गोठनेर बस्ने लठेप्रा र लठेप्री मिलेर बस्नु र लठेप्रीको पनि मृत्यु हुनु आदि यसका मूल पक्ष हुन् ।  यस कथालाई  सांस्कृतिक अध्ययनका आधारमा पनि समीक्षा गर्न सकिन्छ ।  यसमा विशेष गरी राई जातिको मृत्युसंस्कारसित सम्बन्धित कृत्य पाइन्छ । यसमा  रिनाको मृत्युसंस्कार गर्न माङ्पाले चिन्ता बसेको र त्यसका तयारीका सरसामानहरू देखेको छ । जाँडरक्सी पनि हाम्रो संस्कृतिको अङ्ग बनेको छ । यसले हाम्रा चाड–पर्व, सुख–दुःखमा साथ दिएको छ ।

अर्को कथा ‘कोर्ने सङ्केत’मा पनि कोरोनाबाट उब्जेका मानसिक, आर्थिक, नैतिक, सामाजिक अवस्थाको वास्तविकता पाइन्छ । मान्छे आफू मात्र बाँच्नका निम्ति कति प्रयासरत छ बन्ने कुरा देखाइएको छ ।

देशको आरक्षण कानुन देशका निम्ति अति घातकसिद्ध छ, यसले कहिलेकाहीँ योग्यलाई अयोग्य र अयोग्यलाई योग्य तुल्याउँछ भन्ने कुराको सङ्केत ‘अन्तिम गीत’मा गरिएको छ । रामप्रसाद एउटा राम्रो गायक र सुशिक्षित सुयोग्य भएर पनि अनारक्षित भएका कारणले सरकारी जागिर पाउँदैन भने टाँसी र सुमिरा जस्ता सामान्य शैक्षिक योग्यता भएकाहरू उच्च सरकारी अधिकारी बनेर समाजमा देखा पर्छन् । रामप्रसादहरू सुयोग्य भएर पनि कामदाम नपाएर नैराश्य भएर मदपान गरी जीवन बरबाद पार्छन् भने टासीहरू भने त्यस्तालाई रक्सी खुवाएर बेसरी मताएर मित्रता निभाउँछन् । यहाँ जाँड रक्सी खानु जातको कुरा नभएर सामान्य सामाजिक पद्धति र सरकारी नीति निर्धारणभित्र पर्दछन् ।

अर्को कथा ‘खोलामा बास’मा लेटाङ्गेहरू गोरूबथानको उर्लँदो चेल नदीको भँगालामा फसेर रातभरि बस्नुपर्ने अवस्थाको मार्मिक चित्रण पाइन्छ । जीवनप्रतिको मोह अमेट हुन्छ । भारी बोकेर भेलमा पसेर जीवन गुमाउन कोही चाहँदैनन् । दुःख पाउने मानिसहरू जहाँ गए पनि दुःख पाइरहेका हुन्छन् । जीवनका कतिपय निर्णायक मोड उपमोड हुन्छन्, तिनको निर्णय गर्नु कठिन अवस्था हुन्छ । लेटाङेग र उसकी स्वास्नी एकार्काका प्रेममा परी भागेर नेपालको पहाडबाट मधेस आउनु, त्यहाँबाट पनि काजी भेना आएको ठाउँ गोरूबथान आउने अनि भेनाको आडमा एउटा सानो छाप्रो हालेर बस्नु, घाँस दाउरा गरी जीवन यापन गर्नु, चेलको भेलमा परेर रातभर त्यहीँ बास बस्नु यसका मूल विषयवस्तु हुन् ।

‘अन्त्याङ्कन’ कथाका माध्यमबाट सरकारी कर्मचारीचन्त्रको कुरूपता, भ्रष्टाचारी प्रवृत्ति, ठगी कामचोर, अन्याय आदिको वास्तविकता देखेको छ । तल्लो तहका कर्मचारीको मार्मिक अवस्थालाई कथामा देखेको छ । कथामा तेस्रो तहको अस्थायी कर्मचारीले भोग्नुपरेको आर्थिक कार्यगत शोषणलाई देखाएको छ । उसको पनि आफ्नो घर परिवार संसार छ तर कार्यालयको नचाहिँदो काम लाद्ने प्रवृत्ति, बडाबाबु भन्नेहरूको व्यक्तिगत काम दलाउने गरेको वास्तविकता पाइन्छ ।

कथा ‘मौन क्यान्भास’ भने बाग्राकोटका लेखक बद्रीनारायण प्रधानको निधनबाट जनभावनामा उब्जेको तरङ्ग, शोक भावना, उनको निधन हुँदा अन्तिम संस्कारका निम्ति विभिन्न साहित्यिक सामाजिक व्यक्तिहरू त्यहाँ आएको आदि प्रसङ्ग पाइन्छ । यसलाई अकथा मान्न सकिन्छ । यसलाई अकथा मान्न सकिन्छ । यसमा केही वास्तविक व्यक्तिहरूका भावनालाई अघि सारिएको छ ।

‘मुतहरफ’ कथामा दार्जिलिङ पहाडको सामाजिक, राजनैतिक, आर्थिक अवस्थाको वास्तविकता पाइन्छ । एकापट्टि हाम्रामा मदपानको व्यसन, अराजकता, शिक्षाप्रति अनाकर्षण पाइन्छ भने अर्कापट्टि यहाँ अन्य जातिको प्रभुत्व बढ्दो छ । हाम्रो कमजोरीका कारण हाम्रो आफ्नो भूभाग ठानिएको दार्जिलिङ पहाडमा अन्य जातिको आर्थिक सामाजिक राजनैतिक क्षेत्रमा बिस्तारै व्यापक रूपमा  प्रभुत्व बढ्दो छ । कथाको मूल पात्र बी बी भुजेल सरभित्र यो जातीय चेतना प्रखर छ तर उ आफैँ सधैँ रक्सी नखाई नहुने मत्थु भएर हिँड्छ हिँड्छ । उसको छोरालाई पनि शिक्षा र संस्कार नदिएर मदपान र अन्य लागु पदार्थको कुलतमा फसेर बिग्रेको छ । उ आफैँ पनि राजनैतिक दलको कोटाका कारण गलत मान्छेले शिक्षकको काम पाएको छ र त्यस्ताले दिने शिक्षाले कसरी पहाडको शैक्षिक उन्नति हुन्छ? यसमा समाजको विकृतिको यसरी दर्पण देखाएको छ ।

‘लभ यु दार्जिलिङ’ कथामा सुन्दर दार्जिलिङ शहरभित्रको फोहोर मैला, कुप्रबन्ध, युवा वर्गमा आएको पलायन, समाजोविमुख प्रवृत्ति, युवावर्गमा लागु पदार्थ सेवनको कुलत, युवाहरूमा गोर्खालीपनको अभाव, पर्यटन र यसबाट उब्जेका कुप्रभाव आदिलाई देखाइएको छ । ‘पानफुल’ कथामा कसरी शान्तिराज भन्ने सामान्य ट्युसन गरेर परिवार पाल्ने एउटा पात्रले भएभरका सम्पत्ति गरगहना बेचेर भए पनि आफ्नी श्रीमतीलाई एउटा सानो नोकरीमा झुण्डाउने इच्छाले एउटा सत्ताधारी दलको दलाललाई रकम बुझाउँछ तर त्यो दलालले रकम काम नगरी जम्मै पचाइदिने चोरी काम गर्छ ।

यस घातले शान्तिराजको मन गलेर मृत्यु समेत हुन्छ । यसमा पानफूलका नाममा हाम्रा समाज र देशमा घुस्याहा प्रवृत्तिको बढ्दो प्रभावलाई झल्काइएको छ । यस कथामा पनि सरकारी आरक्षण भन्ने भूल नीतिका कारण शान्तिराज शर्मा सुयोग्य व्यक्तिहरूले अवसर पाउँदैनन् । हाम्रो स्थानीय स्वायत्त प्रशासनभित्र पनि स्थानीय योग्य व्यक्तिलाई नोकरी दिन सक्दैन ।
कथा ‘फोहोर सहर’मा शहरमा नवनिर्मित शौचालय उद्घाटनका नाममा जुलुस हिँडेको छ । शहरमा कुकुर मरेर दुर्गन्ध सिनो गनाएको छ तर त्यसलाई हटाएर लाने कसैले कुरा गर्दैन । पछिबाट कुप्रे र लङ्गडे भिखारीहरूले हाम्रो कुकुर भन्ने चिनेर लान्छन् र सगदगति गरिदिन्छन् । यसमा शहरको विकृतिको अङ्कन गरिएको छ  । कथामा श्याम व्यङ्ग्य पाइन्छ । मान्छेमा आएका स्वार्थीपन, पैसा रक्सी र मासुको भोजन भनेपछि जनता कुदिहाल्ने प्रवृत्तिलाई देखाइएको छ ।

‘मृत्यु निनाद’ कथामा एकजना गोर्खाका भूतपूर्व अधिकारीमा नारीजातिलाई घृणा गर्ने, द्वेष राख्ने वा डराउने रोग (MISOGYNY) ग्रन्थि हुनाले उसले नारीजातिलाई एकदमै घृणा गर्दछ । यसको मूल कारण आफू बाल्यकालमा छँदा आफ्नी आमाले बाबुलाई हत्या गरेको देखेको हुन्छ । उसले सेनामा छँदा कश्मीरमा युद्धका नाममा नारीहरूलाई छानी मार्दछ । अन्तमा बुढो भएपछि सानी बालिका देखेपछि त्यो रोग केही साम्य हुन्छ । तर अपराध बोधले ऊ मृत्युको मुख पुग्दछ । यसमा पराभौतिक प्रसङ्ग ल्याएको छ । आफू मरेपछि आफ्नो दाह संस्कार गरेको र मरेपछि पनि त्यही बालिका देखेको अनि अर्को जुनी त्यही बालिकासँग जम्ल्याहा भएर जन्म पाऊँ भन्ने प्रार्थना गरेको छ ।

‘हलि मसिन’ कथामा गाउँमा नाम्ग्याल बतिमले हलो जोत्ने मसिन ल्याउँदा गाउँको गोरु पालेर खेत जोत्ने मने मगरमा विरक्ति छाउँछ । यस्तो मसिन गाउँमा आउँदा उसको हलगोरुका निम्ति सौता हुलेझैँ लाग्छ । मसिनको हलोले मनेको रोजीरोटी खोसिएको, आफ्नो कुनै औचित्य र महत्त्व नरहेको, गाउँमा उसको बदख्वाइँ गरेको सुन्छ । बिस्तारै बिस्तारै उसभित्र निराशाले चरम सीमा नाघेपछि लाचार भएर आफ्ना प्यारा दुई गोरुहरूलाई गोसवालालाई बेचिदिन्छ ।

० ० ० ०         

पात्र-पात्राहरूको प्रयोग

कथाकार प्रदीप गुरुङले कथाका पात्र पात्रा चयनामा धेरै सचेतता, साङ्केतिक र प्रतिनिधिमूलक किसिमबाट गरेका छन् । छुना, माइला म्हेम्हे, लछेप्रो-लछेप्री, माङ्पा, आसेङ, रिना, पारूहाङ, छोरा बुहारी, पुसाइ, सेरे, इस्लामपुरे मिस्त्री, टार्जन मामा, प्रदीप गुरुङ, राजेन्द्र भण्डारी, भोलानाथ शर्मा, टिटि सर, लेटाङ्गे कान्छा कान्छी, काजी भेना, शान्तिराज, श्रीमती शान्तिराज, सरकारको दलाल, सफाइकर्मी, वयस्क, सम्भ्रान्त महिला, भट्टु केटाहरू, लङ्गडो भिखारी, कुप्रो भिखारी, बी बी भुजेल,  बद्री सर, दार्जिलिङ, मने मगर, मगर्नी, नाम्ग्याल बतिम, रामप्रसाद, टासी, समिरा आदि जस्ता पात्र पात्राहरू मुख्य रूपमा देखा परेका छन् ।

यी सबै आफ्नो वर्ग, समाज र समूहको प्रतिनिधित्व गर्ने खालका हुन् । यी पात्र पात्राहरू हाम्रै समाजका वरिपरिका जीवन्त पात्र हुन् । ‘आइ लभ दार्जिलिङ’ कथामा त मूल पात्रलाई नै दार्जिलिङ बनाइएको छ । यहाँका कथाका पात्रहरू वैयक्तिक भन्दा सामूहिक प्रतिनिधिमूलक किसिमका छन् । यसमा कतै परोक्ष, कतै प्रत्यक्ष कतै साङ्केतिक चरित्र चित्रण पद्धति अपनाइएको छ । यसका पात्रहरू हाम्रै वरिपरिका हुन् भन्ने लाग्छ ।

० ० ० ०

प्रयुक्त भाषाशैली

प्रदीप गुरुङ भाषाशैली सचेत कथाकार हुन् । उनले प्रयोग गरिएको शैली पाठकका निम्ति आकर्षक छ । एउटा सानो कथारेखालाई मिहिन रूपमा खिपेर, त्यसमाथि विभिन्न सन्दर्भका मसला थपेर पाठकलाई पस्केका छन् । कथामा कतै संवाद, कतै धामीले बकेको संवाद, कतै विस्तृत कतै साङ्केतिक रूपमा देखाइएको छ । यसमा लेखकीय भाषा र पात्रगत दुवै किसिमका भाषिक प्रयोग पाइन्छन् । गाउँ बस्तीमा चलेका कथावस्तुजस्तै शब्दहरू पनि टिपेका छन् । समाज–भाषा–विज्ञानसित सम्बन्धित भाषिक स्वरूप पाइन्छ ।

हिर्दोक, सब्तु, कङकलाविधि, म्हेम्हे, पानीगुण्डा, बुढाखाडा, डौंठे औंला, कपुरथान, जिउजनङ्गे, सिटापुल्ठो, सिमेन्टी मसला, बासिरी (?), बित्तोल, छिप्पट जाँड़, एडहकको नोकरी, जेबीको ज्याकेट, मुग्धमार, तइन, बाबुनी, दिव्याङ्ग, कोर्ने, इस्लामपुरे मिस्त्री, एकान्तिक, लोकल खट्टु, कोरेन्टिन, लेप्चाबोर्ड, रामधुलाइ, लङ्दुर, लुइतामे, पानफुल, ट्याकट्याके मोबाइल, फुँकेर, आदिजस्ता ठेट तथा स्थानीय प्रचलित शब्दको प्रयोग गरेका छन् । यहाँ प्रयुक्त कतिपय शब्द स्थानीय जनबोलीमा प्रचलित छन् ।

यहाँ कतिपय शब्द यहीँको सामाजिक, राजनैतिक प्रसङ्गका कारण अन्य क्षेत्रका नेपाली भाषीले समेत नबुझ्ने हुन्छन् ।  जस्तै लेप्चा बोर्ड भनेको पश्चिम बङ्गाल सरकारले पहाडका विभिन्न जात जति गोष्ठीको विकासका निम्ति गठन गरेको विकास बोर्डहरू । दिव्याङ्ग भनेको प्रधानमन्त्री नरेन्द्र मोदीले अपाङ्गहरूका निम्ति प्रयोग गरेको शब्द, बाबुनी भनेको दार्जिलिङ सिक्किममा प्रचलित अफिसमा काम गर्ने महिला कर्मचारीहरूलाई भनिने आदरवाची शब्द, इस्लामपुरे मिस्त्री भनेको दार्जिलिङ पहाड सिक्किमतिर भवन निर्माण गर्ने काठ वा सिमेन्टको काम गर्ने मधेसतिरबाट आएका मिस्त्रीहरू । भानु र पाला भनेको कालेबुङका ललित गोलेको समूहले मञ्चन गरेको भानु र पाला नामक नाट्य शृङ्खला, माइनोरिटी भनेको दार्जिलिङ पहाडमा गोर्खालीबाहेक अन्य मधेशतिर बाट आएका जनगोष्ठीहरू बुझिन्छ ।

प्रदीप गुरुङ दार्जिलिङ पहाड र गोरूबथान दुवै ठाउँका स्थानीय शब्द, बोल्ने शैली, लय सुन्दै आएका हुन् । यसै गरी उनले युवावर्ग र वृद्धावस्था सबैका कुरा सुनेका हुन्छन् । यसै गरी उनले गोर्खाली, आदिवासी र बङ्गाली जनगोष्ठीका बोली सुनेका छन् । कथामा यी सबै खाले भाषालाई उतारेका छन् । यसमा व्यक्तिबोली र उपभाषिकाको प्रयोग गरेका छन् ।

० ० ० ०

प्रमुख प्रवृत्तिहरूको रेखाङ्कन

‘एक सब्तु सपना’ आफ्नै विशिष्टता, मौलिकता, चिन्तन, पर्यवेक्षण, शिल्प लिएर देखा परेको छ ।  यसमा समाजका विभिन्न  पक्षलाई सूक्ष्म रूपमा उतारिएको हुन्छ । यस कथासङ्ग्रहका आधारमा प्रदीप गुरुङका कथागत प्रवृत्तिहरूलाई निम्न चार प्रवृत्तिहरूमा वर्गीकरण गर्न सकिन्छ-१. यथार्थवादी प्रवृत्ति,२. समाजका विद्रूप अवस्थाको वर्णन ३. प्रयोगशीलता, ४. वैचारिक मन्थन  ।

यथार्थवादी प्रवृत्ति

प्रदीप गुरुङ यथार्थवादी कथाकार हुन् । यस सङ्ग्रहका १२ वटा कथामा नै अहिलेके समयमा समाज, देश र विश्व के के भइरहेका छन्, जनमानसमा कुन कुरा तरङ्गित भएका छन्, मानिसको जीवनमा के कस्तो बितिरहेको छ, यी जम्मै कुराको झलक पाइन्छ । हाम्रो समाजका भित्री यथार्थहरू के कस्तो छ सबैलाई अङ्कन गर्न खोजिएको छ । सामाजिक, आर्थिक, राजनैतिक, नैतिक अवस्थाको राम्रोसँग लेखाजोखा गरिएको छ ।

देशमा राष्ट्रिय नागरिकता ऐन, माइनोरिटी, भानु र पाला नाटक, कुनिनी स्कुल र यसको विशाल चारमुखे घड़ी, कोरोना र यसबाट उब्जेका मानसिक तरङ्ग र संत्रास, घुस दिएर नोकरी पाउने चलन र सत्ताधारी दलका नाममा दलालले ठगेको, भित्रभित्रै सत्ताधारी दलको चम्चागिरी गेर नोकरी पाउने चलन, अनैतिक व्यक्तिहरू शिक्षक हुने चलन, बदरीनारायण प्रधानको निधनमा उब्जेका तरङ्ग र उनको नामोल्लेख, सिताम काफ्ले र मोहन पी दाहालको नामोल्लख, कालेबुङलाई बेग्लै जिल्ला बनाउँदाको अन्यहरूको बढ्दो अफिसरगिरी, पहाडको भू–जनसङ्ख्यामा अन्य बाहिरियाहरूको बिस्तारै अतिक्रमण बढ्दै गरेको वास्तविकता, गोर्खा वीरता, दार्जिलिङको चौरस्ता र यसका वरिपरिका दृश्य, तेन्जिङ शेर्पाको नामोल्लेख, टोय ट्रेन, साउथफिल्ड कलेज, दार्जिलिङका युवावर्गमा बढ्दो लागु पदार्थ सेवनको चलन, राजनारायण प्रधान र उनकी काली केटीको चौरस्ता भ्रमण र उनीहरूको गफ, हलोको बद्लीमा कृतिम जमिन जोत्ने मसिन, आफ्नो घरको गोरु गोसवालालाई बेच्नुपर्ने बाध्यता, सरकारी आरक्षण कानुनले ल्याएको विकृति आदि जस्ता साना ठुला स्थान, व्यक्ति, प्रसङ्ग, परिदृश्य, घटना आदिलाई यथार्थका रूपमा लिन सकिन्छ ।

दार्जिलिङ पहाड भनेको गोर्खालीहरूको वर्चस्व भएको ठाउँ हो तर यहाँ विभिन्न कारणले यो वर्चस्व बिस्तारै खुस्किँदो अवस्था छ । यहाँको राजनीति बढी स्वार्थकेन्द्रित, धनकेन्द्रित, नेताकेन्द्रित, सत्ताकेन्द्रित बन्दै गएको छ । कथाकारले यस कुरालाई यहाँ रहेका केही कथामा अघि सारेका छन् । समाजमा बुद्धिजीवीको महत्त्व कम हुँदै जानु नै यहाँको राजनैतिक कमजोरी बन्दै जानु हो ।

सङ्ग्रहका केही कथामा मनोवैज्ञानिक यथार्थवादका आधारमा पनि व्याख्या गर्न सकिन्छ । उदाहरणका लागि ‘एक स्बतु सपना’ र ‘मुतहरफ’ कथालाई लिन सकिन्छ ।

‘एक सब्तु सपना’का लठेप्रा र लठेप्रीका प्रेम पनि बडो रोचक छ । प्रेम, यौन र बैँस सबैका लागि समान हुन्छ । यहाँ लठेप्राले लठेप्रीका बिच पनि गहिरो प्रेम हुन्छ । लठेप्री मर्दा लठेप्रोलाई परेको दुःख  र पीडालाई भिन्नै प्रकारले प्रकट गर्दछ । लठेप्रीलाई छिपाएको चिहानमाथि लठेप्रोले आफूले बजाउँदै आएको मुरलीसमेत चिरेर त्यसलाई जोडी जस्तो बनाएर आलोमाटोमा गाडेको र आफू त्यही आलो माटोमाथि आफैँ घोप्टो परेर मर्दछ ।

त्यस्तै ‘मुत हरफ’मा मातेर राती पिसाब गर्दा सडकमा आफ्नी केटी साथी वा मन पराएकी युवतीको नामको पहिलो अक्षरको आकृति बनाउनु पनि मानिसको अन्त चेतनाको प्राप्ति र क्षतिपूर्तिको चेतना हो ।  कोही बेला अश्लील बोलेर पनि बोल्नेको कुण्ठा बाहिर निस्कने जस्तै पिसाबमा केटी साथीको नाम आकृति बनाउनु हो ।

 

विद्रूपावस्थाबाट नै देशकाल परिवेश चित्रण

प्रदीप गुरुङले दार्जिलिङे समाजको विद्रुप अवस्थाको चित्रण र सङ्केत गरेका छन् । उनका कथामा दार्जिलिङको बिग्रँदो राजनीति, नेताहरूको स्वार्थी मानसिकताको प्रतिफल जनतामा परेको नैराश्य, सामाजिक, सांस्कृतिक उत्तरदायित्वबाट विमुख रहेको अवस्था, युवा वर्गमा देखा परेको अराजकता, अनुशासनहीनता, कुलत आदि कुरालाई प्रायः जसो कथामा देखेको पाइन्छ ।

‘मूत हरफ’मा ओरालो सडकमा राती ओरालो सडकमा पिसाब गरेर त्यसको पानी निकै तलसम्म बगेको दृश्यले यहाँको सामाजिक अवस्थालाई दर्शाएको छ । यसमा शहरको सडकमा मुतको धर्कोमा आफ्नो केटीसाथीको नामको आकृति बनाउने चरम विकृतिको चित्रण पाइन्छ । मान्छेमा अब नागरिक चेतना बिस्तारै खस्कँदै गरेको अवस्थाको सङ्केत पाइन्छ । कुकुरको सिनोले परिवेश नै दूषित बनाएको छ । नयाँ शौचालय उद्घाटनका नाममा पार्टीका मान्छेहरूलाई भोजको आयोजना गर्नु, सानो स्वार्थका लागि मान्छे जुलुसतिर जानु आदि विद्रूप अवस्था देखाइएको छ । यसमा हाम्रो मानसिक दूषितता नै परिवेशको मूल दायी  रहेको हुन्छ ।

अहिलेको समयमा दार्जिलिङमा नोकरी नेताको झोलेहरूले पाउने, शिक्षक जस्तो आदर्शको काम पनि जो पाए त्यहीलाई योग्यताको भन्दा पार्टी र नेताको सिफारिसमा पाउने कुप्रथाको उल्लेख पाइन्छ । मान्छेको मानसिकतामा नै विद्रुपताले गर्दा समाजमा यो कुरा निकै स्पष्टसँग देखा पर्छ । समाजमा मदपानको बढ्दो चलन, स्वार्थी मनोभाव, नैतिकताको कमी आदिका कारणले समाजमा विकृति पक्ष प्रबल हुँदै गएको पाइन्छ । अन्तिम गीत कथामा पनि रामप्रसाद शर्मा सबैभन्दा मत्थु बनेको  छ । उसकै केटी साथीलाई टासी भन्ने साथीले पछिबाट बिहा गरिदिएको कथा छ । यसमा रामप्रसाद जस्ता पढाइमा श्रेष्ठले नोकरी नपाएर फिटीफिटी भई नैराश्यले मातेर हिँड्छ तर उसका टासी, समीरा आदि जस्ता कमसल किसिमका साथीहरू भने सरकारी आरक्षणका कारण ठुल्ठुला पदमा पुगेको अवस्थालाई दर्साइएको छ ।

 

प्रयोगशीलता

यसमा रहेका कथाहरूमा प्रयोगशीलता पाइन्छ । काल्पनिक र वास्तविक कथावस्तु, काल्पनिक पात्र र वास्तविक पात्र, काल्पनिक  र वास्तविक परिवेश आदिलाई मिश्रण गरेर प्रयोग गरिएको छ । पाठकलाई काल्पनिक घटनावली बनाउँदै फेरि वास्तविकता दर्शाइएको हुन्छ ।

कथाभित्र कथा, कथाभित्र कथन, अकथा, कथाभित्र वास्तविकता उनका प्रयोगशीलताका दिशा हुन् । समाजका विकृत पक्षलाई विभिन्न कोणबाट देखाइएको छ ।  ओ दार्जिलिङ कथामा त दार्जिलिङलाई नै एक पात्रका रूपमा प्रयोग गरिएको छ । हाम्रो समाजको मानसिकतालाई विभिन्न प्रयोग र कोणबाट कथामा उतारिएको छ । यसमा मृत्यु चेतनालाई समेत कथाको विषयवस्तु बनाइएको छ । केही कथाभित्र भानु र पाला नाटकभित्रको पाला, गोविन्दबहादुर गोठालेको मालिकको कुकुरको आदिको उल्लेख पाइन्छ ।

‘कोर्ने सङ्केत’ कथामा लेखक आफैँले कथा लेख्दै छु भनेर सङ्केत पनि गरेका छन् । पाठकलाई कथा पढ्दै छु कि वरिपरिको वास्तविकता पढ्दै छु, कतै कथा पढ्दै छु कि संस्मरणात्मक निबन्ध पढ्दै छु, कतै कुनै पात्र वास्तविक हुन् कि काल्पनिक हुन् भन्ने कुरामा भ्रममा पर्दछन् ।

 

वैचारिक मन्थन

‘एक सब्तु सपना’ भित्र रहेका केही कथाहरूमा वैचारिक मन्थन गरिएको पाइन्छ । यसमा हाम्रो समाजको वास्तविकताको दर्पण प्रस्तुत गरिएको छ । दार्जिलिङ पहाड र गोर्खाली समाजको विभिन्न पक्षमा चिरफार गरिएको छ । यहाँ  शैक्षिक सामाजिक आर्थिक सुधारको आवश्यकता छ । यहाँ रहेका प्राय सबै कथामा एउटा पात्र छ जसले समाजको पर्यवेक्षण गरेको छ । समाजमा भैरहेका कुराबारे असन्तुष्टि प्रकट गर्दछ । कथाहरूमा विद्रुपता, कुरूपता, तीतो सत्यता देखाएर यस्ता विकृतिको सुधारको कामना र चाहना राखेका हुन् । समाजमा कुरूप पक्षका वास्तविकता देखिरहेका, सुनिइरहेका हुन्छन्, तिनको निर्मूलनको आवश्यकता परेको छ । कलमकारहरूले त्यस्ता विकृतिहरूलाई पन्छाउन कलम चलाउने गर्छन् ।

प्रदीप गुरुङका कथामा पनि मानिसभित्रको स्वार्थता, कुरूपता, फोहोरीपन, अनैतिकता, आडम्बरी प्रवृत्तिलाई छेउबाट देखेको हुन्छ । हाम्रो समाजका निम्ति सबैभन्दा घातक पक्ष रक्सी सेवन हो । यसले हाम्रा घेरैका घरबार बिग्रेको छ, समाजमा असन्तुलन ल्याएको, व्यक्तिको प्रगतिमा बाधक बनेको छ, समाजमा अराजकता र अनैतिकता फैलिएको छ ।

अर्को पक्ष के भने हाम्रामा काम गर्ने जाँगर, सिप लगनशीलता आदि कुरमा न्यूनता छ । यसो हुँदा बाहिरबाट मान्छेहरूको आगमन बढिरहेको छ । ‘कोर्ने सङ्केत’ कथाको इस्लामपूरे मिस्त्रीले यता काम गरेर धन कमाउँछ तर यताकाहरू यस्तो काम गर्न सक्दैनन् । मूत हरफ कथाको स्कुल मास्टर बी बी भुजेलले सडकमा पिसाब गर्नेहरूसित रिसाउँदैन बरु आफैँ कोही बेला त्यस्तै गरिदिन्छ । पिसापको धारोले आफ्नो केटीसाथीको वर्णमालाको पहिलो नामको आकृति बनाउने गरेको समाजको अनैतिकताको पराकाष्ठा रूप हो । अहिलेको नयाँ पुस्ताको झन् कुरूप र विरूप अवस्था छ । अहिलेका धेरैका छोरा-छोरीमा धर्म, संस्कार, संस्कृति, नैतिकता सबै कुरामा क्षयक्षति भएको अवस्था देखाएका छन् ।

‘कोर्ने सङ्केत’ कथामा पनि वैचारिक मन्थन गरिएको छ । समाजमा भएका नराम्रा पक्षबारे पात्रहरूले मत प्रकट गर्छन् । कथामा दार्जिलिङको भविष्यबारे पनि परोक्ष रूपमा इङ्गित भएको छ । दार्जिलिङ हाम्रो हो भन्ने ठानिन्छ, हाम्रा जनजातीय मिश्रित संस्कृतिहरू गोलबद्ध भएर एउटा गोर्खाली संस्कृति बनिएको छ, जहाँको जनजीवन नै हाम्रो जनजीवन हो भन्ने ठानिन्छ । दार्जिलिङलाई हाम्रो भन्ने चेतनामा आधारित यस कथामा अब दार्जिलिङमा हाम्रो पकड र वर्चस्व बिस्तारै खुकुलो हुँदै गएको कुरालाई सङ्केत गरिएको छ ।

० ० ० ०

निष्कर्ष

नेपाली कथासाहित्यमा प्रदीप गुरुङलाई एक प्रयोगवादी, युग सचेत, समाज सचेत कथाकार हुन् । ‘एक सब्तु सपना’मा पनि उनी  परिपक्व र विशिष्ट कथाकार सिद्ध भएका छन् । कथाहरूले दार्जिलिङलाई बोकेका छन्, यहाँका भित्री वास्तविक कुरा छर्लङ्ग देखाइदिएका छन् । कथाकारका निम्ति कथाका कच्चा पदार्थ हाम्रै गाउँ-ठाउँका वरिपरि छन् । तिनलाई कसरी राम्रा गरी सजाएर प्रस्तुत गर्नु उनको कथाकारितागत विशेषता हो ।

० ० ० ०

 सहयोग लिइएका ग्रन्थ सूची

१.      कविता लामा, अनुशीलन, दार्जिलिङ, माया प्रकाशन, २०१० ।

२.      सपन प्रधान, कृति-कीर्ति, दार्जिलिङ, श्याम प्रकाशन, २०११ ।

३.      राजकुमार छेत्री, अक्षरहरूमा संवाद (अन्तर्वार्ता सङ्कलन), दार्जिलिङ, मनमाया प्रकाशन, २०१८ ।