‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । शैलेन्द्र अधिकारीकाे ‘ब्रह्मास्त्र’देखि चन्द्रप्रकाश बानियाँकाे  ‘चौबीसी राज्य पर्वत’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

===

१. वृद्ध मनोविज्ञान र साहित्य— बद्रीप्रसाद ढकाल

लेखन, अध्ययन र प्राध्यापन कर्मको उत्थान तथा अभिवृद्धिमा सक्रिय रहेका लेखक बद्रीप्रसाद ढकालकृत पुस्तक हो— “वृद्ध मनोविज्ञान र साहित्य” । पुस्तकमा पाका उमेरका वा वृद्ध मानिसको जीवनका अनुभव र अनुभूतिसँगै उनीहरूको मनोविज्ञान, मनोविश्लेषण तथा साहित्यमा तिनको प्रयोगको विषय समेटिएका छन् ।

“उमेरिँदै वा वयको उकालो चढ्दै जाँदा मन, वचन र कर्ममध्ये वचन र कर्मको माध्यमबाट अनुभूत हुने जीवनका नौ रसको मात्रा घट्दै गए पनि मनको सक्रियतामा कमी आउँदैन बरु बढेर जान सक्छ । जीवनका विभिन्न परिवेश र परिस्थितिका माध्यमहरूको आपसी सक्रियतामा आउने असन्तुलनले बुढ्यौली उमेरमा मानिसको बोली र काम पनि अव्यहारिक या असन्तुलित देखिन थाल्छन् । यो अवस्था बुढाबुढी आफूलाई र उनका नजिक रहेका अरूका लागि पनि पीडादायी हुन सक्छ । यस्तो अवस्थामा अनुभूत भएका अनुभूतिलाई मनोविज्ञान पद्धतिबाट हेर्नु र विश्लेषण गर्नु नै वृद्ध मनोविज्ञानको पृष्ठभूमि हो भन्न सकिन्छ ।”भूमिकामा कृष्णमुरारी गौतम लेख्छन्, “नेपाली साहित्यको फाँटमा बुढ्यौली साहित्यले आफ्नो छुट्टै अस्तित्व र पहिचान लिएर आइसकेको अवस्थामा वृद्ध मनोविज्ञानको सैद्धान्तिक आधार बन्नु अझै सुखद कुरा हो । बुढ्यौली साहित्यको सिद्धान्त पछि यो वृद्ध मनोविज्ञान र साहित्य पुस्तक प्रकाशनमा आएको छ, जुन काम लेखक, अनुसन्धता, समालोचक बद्रिप्रसाद ढकालले फत्ते गरेर यो कोशेढुङ्गा स्थापना गर्नुभएको छ ।…”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय २३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय २० रुपियाँ रहेको छ ।

 

२. चौबीसी राज्य पर्वत— चन्द्रप्रकाश बानियाँ (शिलान्यास, विस्तार, विभाजन र विस्थापन)

मदन पुरस्कार विजेता ‘महारानी’का लेखक, चन्द्रप्रकाश बानियाँको नवीनतम कृति हो— “चौबीसी राज्य पर्वत” । पुस्तकलाई पहिलो खण्ड (खस साम्राज्यको पतन र बाइसी चौबीसी राज्यहरूको जन्म), दोस्रो खण्ड (पर्वत राज्य स्थापना, उत्थान र पतन), तेस्रो खण्ड (पर्वत राज्यको सामाजिक, आर्थिक र प्रशासनिक प्रबन्ध), चौथो खण्ड (पर्वत राज्यकालको केही महत्वपूर्ण ऐतिहासिक ठाउँहरू), पाँचौँ खण्ड (राज्यविलोपनपछि पर्वतक्षेत्रको राजनीतिक अवस्था) र सन्दर्भ सामग्री भनी विभाजन गरिएको छ ।

पहिलो खण्डमा लेखिएको छ, “बाइसी चौबीसी राज्यहरू वर्तमान नेपालको त्रिशुलीपश्चिम र महाकालीपूर्वको भूमिमा स्थापित भएका थिए । नेपाल एकीकरणको सुरुवात नुवाकोटबाट भएको थियो । गोर्खाले सर्वप्रथम जितेको बालकोट त्यसपछि नुवाकोट हो । त्यसपछि मनवानपुर, अनि मात्र काठमाडौँ उपत्यका लिइएको थियो । पूर्वतमा दार्जिलिङ सिक्किमसम्म सीमा पुगेपछि बल्ल बाइसी चौबीसी राज्यहरू विजय गरिएका हन् । राजा रणबहादुर शाहको शासनकालमा राजेन्द्रलक्ष्मी र बहादुर शाहको नायवीकालमा बाइसी चौबीसी राज्यहरू डोलाइएका हुन् । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको श्रेय दिइन्छ । उनले चौबीसी राज्यहरू लिने कोसिस नगरेका भने होइनन् तर सफल भएका थिएनन् । उनको शेषपछि मात्र गोर्खाले बाइसी चौबीसी राज्यहरू लिएको हो ।”

पुस्तकालाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।

 

३. मामुली मान्छे— बलराम तिमल्सिना

दश वर्षीय जनयुद्धका एक सशक्त राजनीतिक योद्धा र प्रगतिवादी कवि बलराम तिमल्सिनाकृत कविता सङ्ग्रह हो_”मामुली मान्छे”। पुस्तकमा ‘मामुली मान्छे’, ‘सीता विकको आँसु’, ‘एक अञ्जुली घाम’ लगायत ६० थान राजनीतिक कविताहरू सङ्ग्रहित छन् ।

“पहिलो, यसमा एकातिर नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका विकृति विसङ्गति तथा कुरूप पक्षलाई यथार्थपरक ढङ्गले सजीव रूपमा उजागर गरिएको छ भने अर्कोतिर त्यसका विरुद्ध सशक्त रूपले प्रस्तुुत हुँदै क्रान्तिको दिशामा अगाडि बढ्न आवश्यक निर्दशन समेत दिइएको छ । यो दुनियाँ बुझ्ने मात्र हाइन । मुख्यतः बदल्नु मार्क्सवादी सौन्दर्यशास्त्रीय मान्यतामा आधारित छ ।” भूमिकामा चैतन्य लेख्छन्, “दोस्रो, यो कृति क्रन्तिकारी आशावादले अनुप्राणित रहेको छ र यसमा जन तथा वर्गीय मुक्तिका उदात्त आदर्श तथा सपनाहरूलाई सजाइएको छ । तेस्रो, प्रस्तुत कृति प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाका विरुद्ध मात्र होइन, मुख्यतः तिनको संरक्षण गर्दै आएको वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी संशोधनवादका विरुद्ध परिलक्षित रहेको छ । चौथो, यो कृति क्रान्ति, क्रान्तिकारी सिद्धान्त, कम्युनिष्ट आन्दोलन र देश तथा जनताको मुक्तिप्रति प्रतिबद्ध रहेको छ ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । २ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

४. मनप्रसाद सुब्बाका प्रतिनिधि कविता— मनप्रसाद सुब्बा

आधुनिक भारतीय नेपाली कवि मनप्रसाद सुब्बाका ९ थान प्रकाशित कवितासङ्ग्रह— ‘१. बिब्लयाँटो युगभित्र कार्टून मान्छेहरू, २. बुख्याचाहरूको देशमा, ३. ऊष्मा, ४. आदिम बस्ती, ५. ऋतु क्यान्भासमा रेखाहरू, ६. अक्षर अर्केष्ट्र, ७. किनाराका आवजहरू, ८. भुइँफुट्टा शब्दहरू तथा ९. नेत्तिफुङको बास्ना’हरूको सङ्ग्रह हो— “मनप्रसाद सुब्बाका प्रतिनिधि कविता” ।

“एउटा कुरामा भने म प्रस्ट छु । मनप्रसाद सुब्बा कुनै मोडमा पुगेर यात्रा बिसाउने यात्री होइनन् ।” महेश पौड्याल लेख्छन्, “कुनै एक निचोडमा पुगेर खोज टुङ्गिएको घोषणा गर्ने साधक पनि होइनन् । उनी हरेक सङ्ग्रहमा आफूलाई नयाँ संस्करणमा प्रस्तुत गरिरहने, सतत परिवर्तनशील कवि हुन्, र आफ्नो सामुन्ने रहेको युगको चेतनाभन्दा एक दशकजति अगाडिको सोच्ने कवि हुन् । त्यसैले, भोलि पनि उनले कविता लेख्न नै छन्, र नयाँ केही अविष्कार नेपाली कवितालाई दिने नै छन् । त्यसैले, यो कृति मनप्रसाद सुब्बा नाम गरेका काव्यसरिताको बिसौनीचाहिँ कदापि पनि होइन । भोलि आउने यस्तै सङ्ग्रह पनि बिसौनीचाहिँ हुने छैन र नरहोस् पनि भन्ने मेरो कामना छ ।”

पुस्तकलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो । ३ सय २६ पृष्ठमा फैलिएका पुस्तकको मूल्य नेपालमा ७ सय ५ रुपियाँ र भारतमा ४ सय ४० भा- रुपियाँ रहेको छ ।

 

५. ब्रह्मास्त्र— शैलेन्द्र अधिकारी

‘निर्वेद’ उपन्यासका लेखक, साहित्यकार शैलेन्द्र अधिकारीकृत कथा सङ्ग्रह हो— “ब्रह्मास्त्र” । यसमा ‘मिथिङ्गल’, ‘बयलपुर’लगायत १० थान कथाहरू सङ्ग्रहित छन् ।

“शैलेन्द्र अधिकारीले मलाई आफ्नो पहिलो उपन्यास ‘निर्वेद’ उपहार दिँदै ‘पढेर प्रतिक्रिया दिनुहोला !’ वा यस्तै यस्तै केही भनेका थिए ।” कभर पृष्ठमा कुमार नगरकोटी लेख्छन्, “म कुनै प्रतिक्रियावादी होइन । प्रतिक्रिया दान गर्दै हिँड्न त सवालै भएन । तर मैले तत्क्षण भनेको थिएँ, ‘मिस्टर अधिकारी ! आख्यान लेखनमा धेरै प्रयोग गर्न पाइने स्थान भनेकै कथा हो ।’ प्रिय पाठकवृन्द ! अब तपाईं शैलेन्द्र अधिकारीले रचेको ‘ब्रह्मास्त्र’ को संंसारमा बिना पासपोर्ट, बिना भिसा, बिना ड्राइभिङ लाइसेन्स मस्तसँग मस्तमौला भई विचरण गर्नुहोस् ।”

“चराचरात्मक जगतको आद्यान्त कारण ब्रह्मका व्यक्त-अव्यक्त अनेक रूप छन् । सृष्टिकार्यको अनवरत शृङ्खलामा समस्त प्राणीमध्ये अत्यन्त तेजस्वी र मेधावी जीवका रूपमा मानवको सिर्जना भएपछि ब्रह्मले बाँकी कामको जिम्मा मानवलाई दिएका छन् । त्यसकारण ब्रह्मास्त्र नै मानव हो ।” कभर पृष्ठमा रूपक अलङ्कार लेख्छन्, “सृष्टि लयको नियामक ब्रह्मास्त्रको भूमिकामा मान विराजमान छ तर त्यही मान आजको प्रपञ्चमय समाजमा आइपुग्दा तेज र प्रभावरहित अवस्थामा स्खलित भएको कथा ब्रह्मास्त्रमा पढ्न पाइन्छ । स्वयम् ब्रह्मास्त्रका रूपमा अवतरित मानव उल्टै सामाजिक, नैतिक, मानसिक तथा वैचारिक ब्रह्मास्त्रले बनाएका घाउ निधारमा लिएर हिँडिरहेका भेटिन्छन्- यी कथाहरूमा । ब्रह्मास्त्र अधुनिक अश्वत्थामाहरूको विस्मयकारी सम्मलेन हो ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । २ सय ४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।