पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न ३ वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. देशको पीडा विदेशको पीर – सुनीलकुमार झा
आईटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक हो, ‘देशको पीडा विदेशको पीर’ । पुस्तकमा एक असाधारण दृष्टिविहीन व्यक्तिले देखाएको बाटो हिंडेर सफलता हात पारेका झाको जीवनकथा प्रस्तुत गरिएको छ ।
झा अमेरिकाको मेरिल्यान्ड राज्यमा कार्यरत समर्पित आईटी एक्स्पर्ट हुन् । पुस्तकका सम्पादक दिनेश पौडेल लेख्छन्, ‘यो उनै कम्प्युटरविज्ञको सङ्घर्ष र सफलताको कथा हो । नेपालदेखि अमेरिकासम्मको पुल बाँधेका होइनन् सुनील झाले, तर यिनको मनको पुलले नेपाललाई अमेरिकासम्म कुशलतापूर्वक जोडेको छ ।’
‘यस पुस्तकमा मेरो जीवनदृष्टि, नैतिक धरातल, आस्था र प्रेमको मूल स्रोत मेरा प्रातःस्मरणीय काका कवि सदानन्द झा हुनुहुन्छ । यो पुस्तक उहाँको र मेरो साझा अभिव्यक्ति हो भन्दा फरक पर्दैन ।’, लेखकीयमा झा लेख्छन्, ‘यो कथा एक प्रकारले रामायण र महाभारतको प्रभावमा आएको कथाझैं बन्न पुगेको छ । आफ्नो जीवनमा कविजी काकाले ती कथा वर्णन गर्नुहुन्थ्यो, त्यस्तै प्रकारका घटनाहरू घटित भई यो कथा बन्न पुगेको हो । मलाई सानैदेखि उहाँका कुराहरू सुन्दाखेरि लाग्थ्यो, पक्का पनि उहाँका शब्द र कुराहरूमा जादु छ, दैवी शक्ति छ । तर जीवनमा यसको खास अर्थ छ भनेर थाहा थिएन ।’
लेखक सुनीलकुमार झा सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन् । उनी CCIE (Cisco Certified Internetwork Expert) प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली हुन् । यो विश्वका कठिनतम परीक्षाहरूमध्ये एक मानिन्छ । उनको अध्ययन र सङ्घर्षको जीवनयात्राले धेरैलाई प्रेरित गर्छ ।
लेखक झा डाटाबेस प्रणाली प्रशासन र प्रोग्रामिङका पनि विशेषज्ञ हुन् । उनी नयाँ अनुसन्धानका क्षेत्रमा समेत प्रयास गरिरहेका छन् । झा रामायण र महाभारतजस्ता ग्रन्थहरूबाट विशेष प्रेरणा लिएको बताउँछन् । उनी यी ग्रन्थहरूले नैतिक मूल्य स्थापित गर्न र जीवनमा आइपर्ने कठिनाइहरू सामना गर्न हरेकलाई मद्दत गर्ने विश्वास व्यक्त गर्छन् ।
===
२. तुइन जिन्दगी – डा. रेणुका सोलु
साहित्यकार डा. रेणुका सोलुको संस्मरणात्मक निबन्धहरूको सङ्ग्रह हो, ‘तुइन जिन्दगी’ । सोलीले आफ्ना संस्मरणहरूलाई माध्यम बनाएर सामाजिक, राजनीतिक तथा आर्थिक दुर्गमताका बीच गाँजिएको पुरातन चेतनाविरुद्ध आवाज उठाएकी छिन् । यो पुरातन चेतनाविरुद्ध सङ्घर्षरत आमनारीको कथा हो ।
‘नारीमाथि थोपरिएका अन्याय, अत्याचार, कुसंस्कार, दमनकारी धर्म साथै विभेदपूर्ण नीतिनियमहरूका विरुद्ध उठाइएको सानो लिखित दस्ताबेज होस् यो कृति भन्ने अपेक्षा पनि हो मेरो ।’, लेखकीयमा सोलु लेख्छिन्, ‘विश्वास छ – पितृसत्ता भनेको पुरुष व्यक्ति होइन भनेर विद्वान्–वर्गले पक्कै बुझ्नुहुनेछ र यो कृतिलाई पुरुषविरोधी भन्नुहुने छैन । यदि कसैले त्यसो भन्नुभएमा पनि पश्चातापको आगोमा पिल्सिएर उहाँहरूको त्यो भ्रम एकदिन आफैं खरानी बन्नेछ । अबको पुस्ताले उडाउनेछ त्यो खरानी ! म ढुक्क छु ।’
डा. सोलु समानता, सभ्यता र मानवीयताको पक्षधर लेखक हुन् । ‘बीपी कोइरालाका नारीपात्रमा नीतिचेतना’ विषयमा विद्यावारिधि गरेकी सोलु त्रिवि इन्जिनियरिङ अध्ययन संस्था, पुल्चोक क्याम्पसमा प्रशासन प्रमुख छिन् ।
पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । १ सय ६० पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।
===
३. आकाशे परी – सुरेन उप्रेती
साहित्यकार सुरेन उप्रेतीको बालकथासङ्ग्रह हो ‘आकाशे परी’ । यस सङ्ग्रहमा बालबालिकाले बुझ्ने सरल र सरस भाषामा लेखिएका ‘हाउगुजी’, ‘जरायोको सिङ’, ‘डाँडापारि’, ‘वैशाखी’, ‘आकाशे परी’, ‘झगडा’ र ‘लापरवाही’ गरी ७ कथाहरू रहेका छन् ।
त्यस्तै, ‘झिलिमिली तारा’ उप्रेतीको अर्को बालकविता कृति हो । यस कृतिमा ‘जून–तार बनेर’, ‘अक्षरहरू’, ‘मादलुले’, ‘गाई’, ‘झलमल तारा’, ‘भाले बास्यो’, ‘सानो मुने’, ‘आउ पुतली’, ‘कलम भन्छ’, ‘इन्द्रेणी’, ‘टेलिफोन’, ‘सानी चरी’, ‘रेडियो’, ‘हवाइजहाज’, ‘चरी’, ‘माहुरी’, ‘बादल’, ‘अप्पा आउँछ’, ‘धानका बाला’, ‘सेता दाना’ र ‘बचेरा’ शीर्षकका कविताहरू सङ्ग्रहित छन् ।
उप्रेतीको अर्को बालकथासङ्ग्रह हो ‘पछुतो’ । यस पुस्तकमा शीर्षकथा सहित ‘परिवर्तन’, ‘कमिलाको बुद्धिमानी’, ‘झिँगाहरू’, ‘अजम्मरी माया’, ‘प्रतिभाशाली छात्रा’, ‘घमण्डी सर्प’ र ‘देश चिनाउने हातहरू’ गरी आठ कथाहरू सङ्ग्रहित छन् ।
तीनै बालकथाका पुस्तकहरूलाई शब्दार्थ प्रकाशन गृहले प्रकाशित गरेको हो ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका लेखक उप्रेती बालसाहित्यका साथै कविता, आख्यान र गैरआख्यानका विधामा कलम चलाउँछन् । उनका कवितासङ्ग्रह ‘आजका स्वरहरू’, कथासङ्ग्रह ‘अनन्त यात्रा’, निबन्धसङ्ग्रह ‘वधशालाको डिस्को धून’ लगायत कृतिहरू प्रकाशित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।