कविता लेखनको छोटो समयमै नेपाली कविताको क्षेत्रमा आफूलाई सशक्त रूपमा परिचित गराउन सफल कवि प्रज्वल अधिकारी कविता वाचनका लागि युएई आउने हुनु भएको छ ।
युएईमा रहेको सगरमाथा साहित्य प्रतिष्ठानले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको “कविता समारोह युएई -२०२३” मा प्रमुख अतिथि कविको रुपमा अधिकारीलाई निमन्त्रणा गरिएको हो ।
कार्यक्रम आगामी जनवरी ८ तारिख (२४ पौष २०७९) आइतबार युएईको दुबई सहरमा हुँदैछ । दुबई स्थित नशा दोहोरी क्लबमा बिहान ११:३० बजेबाट कार्यक्रम सुरु हुनेछ ।
युएईमै रहेको सिर्जना वाचन डबली र अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) ले प्रतिष्ठानले आयोजना गर्न लागेको सो समारोहमा सह-आयोजकको रुपमा सहयोग गर्नेछन ।
कार्यक्रममा युएईमा रहेर साहित्य सिर्जनामा सक्रिय रहँदै आएका अन्य सर्जकहरुको पनि विशेष प्रस्तुति रहने जनाइएको छ ।
नेपालका विभिन्न स्थानमा भएका एकल र सामूहिक कविता वाचनमा आफ्नो बलियो उपस्थिति जनाउँदै आउनु भएका कवि अधिकारीको यो पहिलो विदेश भ्रमण हो । कविता लेखनको छोटो समयमा यति ठुलो सम्मान आफ्नो लागि गौरवको कुरा भएको र यसले आफूलाई थप जिम्मेवार बनाएको उहाँ बताउनु हुन्छ ।
युएईको नेपाली साहित्यिक गतिविधिलाई नजिकबाट नियाल्दै आएको र यहाँका सर्जकहरुसँग प्रत्यक्ष भेट्न पाउने कुराले थप उत्साहित बनाएको उहाँको भनाइ छ ।
लमजुङको दुराडाँडामा जन्मनु भएका कवि अधिकारी लामो समयदेखि काठमाडौँमा बस्दै आउनु भएको छ ।
सोही समारोहका बिच दुई साहित्यिक कृतिहरुको लोकार्पण गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । कवि तथा प्राज्ञ वसन्तराज अज्ञातको हाइकु सङ्ग्रह “साँझको जून” र कथाकार सुनिता कन्दङ्वा राईको कथा सङ्ग्रह “तिउरी” विमोचन गरिने आयोजक प्रतिष्ठानका महासचिव डि एल घिमिरेले जानकारी गराउनु भयो ।
“नेपाली भाषा साहित्यको संरक्षण, संवर्धन र विकासका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ २०६९ सालमा सगरमाथा साहित्य प्रतिष्ठान युएईमा स्थापना भएको थियो । स्याङ्जा स्थायी घर भई हाल दक्षिण कोरियमा रहँदै आउनु भएका कवि अजित उत्सवले प्रतिष्ठानको अध्यक्षको रुपमा पाँचौ कार्यकाल सम्हालिरहनु भएको छ ।
त्यसैगरी सिर्जन वाचन डबली पनि लामो समयदेखि युएईमा साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको अनौपचारिक साहित्यिक समूह हो । शाखाको रुपमा गत साल नोभेम्बरमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाज(ईन्स) गैर-साहित्यिक संस्था भए पनि यहाँको साहित्यिक गतिविधिमा सहकार्य गर्दै आएको छ । सेतोमाटो मिडिया प्रा. लि. कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।