एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –विपी अस्तु ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले विपी अस्तु सँग गरेको कुराकानी :

 

नेपाली कविताको समकालीन पुस्ताको अब्बल कवि भनेर नेपाली काव्यले पत्याएको एक कविको नजरमा नेपाली कविताको वर्तमान स्थिति कस्तो छ ?

– सर्वप्रथम त मलाई अब्बल कवि भनेर पत्याएको भनिदिनुभयो । यसैमा आश्चर्यचकित भएँ । म भर्खर अभिव्यक्तिको लय समात्न खोजिरहेको छु । कविताको रूपमा अभिव्यक्त हुँदा म सन्तुष्ट भएको महसुस गर्छु, त्यत्ति हो । अब्बल कुन मानकमा भन्नुभयो भन्ने कुरा फेरि यहाँको हिस्साको कुरा भयो ।

अनि नेपाली कविताको वर्तमान स्थितिको मूल्याङ्कनका लागि मेरो क्षमताले भ्याउनेमा पनि मलाई शङ्का छ । यद्यपि मैले बुझेको कुरा भन्नुपर्दा नेपाली कविताले अहिले आफ्नो आयतनलाई विस्तार गरिरहेको छ । विषय विविधता र शिल्पमा नवीन स्वाद दिने प्रयत्नमा छ । नेपाली कविता स्वत्वको खोजी, नलेखिएको इतिहास देखि बादल र हिउँको सम्म चिन्ता र चिन्तन गर्न थालेको छ । उपदेश र नाराभन्दा बढी भुइँमान्छेका अनुभूतिहरूले कविता सिञ्चित भइरहेको छ । आफ्नै बिम्ब र दर्शनको पुट दिने पर्यन्त कविहरूले गरिराखेका छन् ।

एउटा कविलाई कवि भनेर अनुमोदन के ले गर्दोरहेछ ?

– कविताले पाठक र श्रोताहरूसम्म पुग्न नयाँ बाटोहरू पाएको छ । पाठक र श्रोताहरूको विस्तार पाएको छ । कविता पढ्न नसक्ने र कविता हो भन्ने थाहा नपाउनेहरू पनि कविता सुनिरहेका छन् । यी नेपाली कविताको लागि उज्यालै पक्ष हुन् ।

अब खराब र अँध्यारा कुराहरु त हुने नै हुन् । ती बिस्तारै मधुरिंदै जाने नै हुन् । स्वस्थ समीक्षा र समालोचनाले यिनलाई काँटछाँट गरुन् । त्यसैले तिनको चिन्ता गरिन अहिले चाहिँ ।

पाठक र श्रोता नै हुन् मुख्य अनुमोदनकर्ता । कविको कविताको तरङ्गले कविताका पाठकहरूलाई तरङ्गित गर्न सक्यो भने नै उ कविको रूपमा अनुमोदन हुने हो जस्तो लाग्छ । पुरस्कारले, कुनै प्रतिष्ठान वा संस्थाले र प्रमाणपत्रले अनुमोदन गरेको भ्रममा चाहिँ पारिदिन सक्छ ।

पुस्तक निकाल्नु, पत्रिकामा आउनु, मञ्चमा उक्लनुले कविलाई कसरी सघाउन सक्छन् ?

– यी सबै पाठक श्रोतासम्म पुग्ने बाटोहरू हुन्, माध्यमहरू हुन् । यिनले तपाईं कविताको संसारमा कविता सृजना गर्ने पर्यन्तमा हुनुहुन्छ भन्ने जनाउ दिने हुन् । त्यसपछिको जिम्मा फेरि उही पाठक र श्रोताहरूको हो । अर्कोतिर, समाजलाई माध्यमले जे देखाउँछ समाजले त्यसैलाई सर्वथा सत्य र तथ्य मानिदिन सक्छ ।  यी माध्यमहरूबाट बचित भएर देवकोटाले भनेझैं कति वाग्नर, सेक्सपियर र कालीदासहरू अझै गुमनाम नहोलान् पनि त भन्न सकिन्न ।

के नेपाली कविताको व्यवसायीकरण जरूरी छ ?

– व्यवसायीकरणको कुरा पैसासँग जोडिएरै भन्नुभएको होला । त्यस हिसाबले कविता एक हदसम्म व्यावसायिक भैसकेकै छ । किताबमा बिक्छ, मञ्चमा बिक्छ, अडियोमा बिक्छ । अनेक रूपमा पैसामै बिकिरहेको छ । यो एक बौद्धिक उत्पादन हो । यसले पनि यसले पाउनुपर्ने मूल्य भने पाउने हक राख्छ अन्य उत्पादनजस्तै । यद्यपि कविता सधैं पैसामै बिक्छ भन्ने कुरा चाहिँ म मान्दिन । यो त्यतिमा मात्रै सीमित छैन ।

त्यसैले मूल्यको निर्धारण कविले गर्न पाउनुपर्छ । उसले कुनै मूल्य लिन चाहन्छ या आफूलाई अभिव्यक्त गरेको र भन्नुपर्ने नयाँ कुरा भनेकोमै उ सन्तुष्ट हुन चाहन्छ उसको छनौटको कुरा हो । तर, कविले पैसामै पनि कविताको मूल्य लिन चाहन्छ भने उसलाई हतोत्साहित गर्ने, हेय गर्ने वा उसले चाहेको मूल्यको अवमूल्यन चाहिँ गर्न पाइँदैन । जुन समाजमा कविले कविता सृजना गरेरै आफ्नो जीवन सहज रूपले निर्वाह गर्न सक्छ त्यो एक सुन्दर समाज हो ।

एपेक नेपालले तपाईंको प्रदेशबाट प्रतिनिधि कविको रूपमा यहाँलाई बोलाएको छ, कस्तो महसुस गरिरहनुभएको छ ?

– म एपेकप्रति आभारी महसुस गरिरहेको छु । यो एक जिम्मेवारीपूर्ण अवसर पनि हो । सोचिरहेको छु, मैले कोही अर्को सुन्नैपर्ने कविको अवसर खोसेको महसुस नगराउन सकूँ ।