एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – रेणुका जिसि ।
प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले रेणुका जिसिसँग गरेको कुराकानी :
मधेश प्रदेशना नेपाली कविताको स्वर कत्तिको लय र तालमा छ ?
– मधेश प्रदेशको कविता भन्नाले हामीले झट्ट बुझिहाल्ने भनेको मधेशमा बसेर नेपाली भाषामा लेखिने कविता भन्ने रहेछ । तर मधेशमा मैथिली छ, बज्जिका छ, भोजपुरी पनि छ । यी भाषाहरूमा पनि कविता लेखिएका छन्, लेखिदैँ पनि छन् । मधेसका आफ्नै विशेषता छन् । मधेशका समस्याका आयाम छन् । मधेशका कविताले ती विशेषता र आयामहरूलाई समेटेको छ । तर मधेशका कविताप्रति काठमाडौंले कति सरोकार राख्छ त ? त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो । मधेश आफैंमा आफ्नो सुस्पष्ट अनुहार र अस्मिताका लागि संघर्षरत छ । यो संघर्ष यहाँका कवितामा पनि देखिन्छन् ।
कविताका प्रतियोगिताहरूमा भाग लिइरहँदा नेपालमा हुने गरेका प्रतियोगिता माथि तपाईंको अनुभव कस्तो रहेको छ ?
– मलाई धेरै प्रतियोगिताको अनुभव छैन । कहिलेकाहीँ कुनै नयाँ ठाउँमा पुग्ने अवसर पाइन्छ भनेर पनि भाग लिएकी छु । प्रतियोगिताहरूमा अरूका कविताहरू पनि सुन्न बुझ्न पाइन्छन् । आफूलाई पनि परख गर्न पाइन्छ । सँगसँगै वर्तमानमा कविता कुन दिशामा अघि बढिरहेछ भन्ने पनि यस्ता प्रतियोगितामा बुझ्न पाइने रहेछ । आफ्नो ठाउँमा कविता लगायतका अन्य साहित्यिक गतिविधिहरू न्यून हुने हुँदा खासै सहभागी हुन पाइँदैन । यस्तो अवस्थामा यी प्रतियोगिताहरू मेरा लागि सिकाइका स्थल पनि बनेका छन् ।
कविता के हो तपाईंको लागि ?
– कविता मेरा लागि निजी कुण्ठा ओकल्ने माध्यम होइन । बरु विसंगतिप्रति प्रश्न उठाउने बलियो र विश्वसनीय माध्यम हो ।
मधेश प्रदेशको प्रतिनिधि कविको रूपमा काठमाडौं आउँदै हुनुहुन्छ, कस्तो अनुभूति भइरहेछ ?
– म एउटीले मधेशको के नै प्रतिनिधित्व होला र ! तर, मधेशसित पृथक् अनुभूति, आक्रोश र प्रश्न छन्, म कवितामा सोही अनुभूति, आवेग र प्रश्न समेटेर काठमाडौं आउँदैछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१४ असार २०८३, आईतवार 









