नेपाली कला, साहित्य र संस्कृतिको उर्वर भूमि पश्चिम बङ्गालको पहाडकी रानी दार्जीलिङलाई कर्मथलो बनाएर साधना गरिरहेकी स्रष्टा हुन् मञ्जुला तामाङ । जसको जन्म सन् १९६५ को अक्टोबर २ तारिकको दिन माता दोजी इडेन तामाङ र पिता एम.बी. तामाङकी जेठी सुपुत्रीका रूपमा शिलाङमा जन्म भएको थियो । मञ्जुला ‘वैँशालु’ पत्रिकामा ‘मालाको मोबाइल’ कथा प्रकाशन गरेर साहित्यमा औपचारिक प्रवेश गरेकी हुन् । पहिलो कवितासंग्रहका रूपमा इजा अर्घ्य (२०२१) प्रकाशित गरिसकेकी स्रष्टा मञ्जुला तामाङको पुनः कुहिरोभित्र घूम जोरबङ्लो (शृङ्खला कवितासंग्रह) र केही अक्षर केही भाव तरङ्ग (मुक्तकसंग्रह) घूम, दार्जीलिङबाट इजा प्रकाशनले बजारमा ल्याएको छ ।

कुहिरोभित्र घूम जोरबङ्लो

यसमा घूम जोरबङ्लालाई केन्द्रमा राखेर फरकफरक शीर्षकमा लेखिएका ५५ वटा कविता रहेका छन् । घूम जोरबङ्लाको सेरोफेरोका सामाजिक, आर्थिक, राजनैतिक, भौगोलिक, ऐतिहासिक, साहित्यिक एवम् सांस्कृतिक धरातललाई टेकेर कविता लेखिएका छन् ।

भौगोलिक रूपमा टाइगर हिल, सिञ्चेल लेक धाम, जलापाहाड, घूम रेल स्टेसन, आलुबारी टी.एन. रोड, बतासे लुप, रांगेरुन, गोर्खा थुम, अनुकरणीय व्यक्तित्व अरुणा लामा, दिलमाया खाती, शनिकुमार मोक्तान, सुरेन पाखरिन, अशोक सुब्बा, विमला सुब्बा अनि पर्वतारोही द्वय पासाङ दावा लामा र कुशाङ दोर्जे शेर्पासमेत कविताका विषय भएर आएका छन् ।

अग्रज वा कूलपितृ साहित्यकारका रूपमा काजीमान कन्दङबा, गनुसिंह गुरुङ, राधिका राया, कृष्णकुमारी सुब्बा, खड्गसिंह काँडा, जी.छिरिङ लेप्चा, नारायण तामाङ, सरिता प्रधान, शान्तिदेवी राई, ए.जे.प्रधान, जगन्नाथ प्रधान, प्रदीप मुखिया, विष्णुप्रसाद शर्मा, उदय सुब्बा गोर्खा, मनबहादुर प्रधान, मेघबहादुर थापा, भद्र थापा सावी, लिना राई, लक्ष्मीदास बस्नेत, लिलबहादुर मुखिया, पासाङ लामा, के. राजसिंह, गोपी बस्नेत, पदम गजमेर, पापोहाङ लक्ष्मण लावती, ठी.बी. रायलगायतलाई समेत कवितामा मञ्जुलाले सम्झने काम गरेकी छन् ।

श्रृङ्खला कविताको लहरमा राजा पुनियानीको ‘अर्को लस्कर’, केवलचन्द्र लामाको ‘घर’, ध्रव चौहानको ‘पेटेन्ट आँशु’, पवन महिमाको ‘फिक्का रङ्गका रङ्गहरू’, भूपाल सुब्बाको ‘चिया जीवन’, सचेन राई दुमीको ‘प्रस्फुटनः श्रद्धाञ्जली मायाञ्जली’, शारदा स्टेफी सुब्बाको ‘यादको कारागारभित्र मेरी आमा’ र तारा लोहार लेप्चाको ‘बाबा’ श्रृङ्खला कविताको यो लस्करमा पछिल्तिर कवि मञ्जुला तामाङको कुहिरोभित्र घूम जोरबङ्लो उभिएको छ ।

कृति : कुहिरोभित्र घूम जोरबङ्लो

कवि : मञ्जुला तामाङ

विधा : कविता

मुल्य : २५०

पृष्ठ : २२२

– – – –

केही अक्षर केही भाव तरङ्ग

साहित्यका विविध विधाहरूमध्ये मुक्तक एक रसिलो र चोटिलो विधा हो । नेपाली साहित्यको समुन्नत विधा कविताको लघुतम रूप मुक्तक हो । फुटकर कविताभन्दा सानो तर विषय र प्रस्तुतिको आयामलाई हेर्दा भने ठुलो हुन्छ । कथ्यको आरम्भ, विकास, उत्कर्ष र अवतरणको जुन क्रमिक प्रस्तुति र मूल कथ्यलाई चामत्कारिकरूपमा व्यक्त गर्ने सामर्थ्य मुक्तकमा पाइन्छ ।

मञ्जुला तामाङको केही अक्षर केही भाव तरङ्ग (मुक्तकसंग्रह– २०२३) मा ९५ वटा मुक्तक रहेका छन् । मुक्तकमा सामाजिक, आर्थिक एवम् राजनैतिक क्षेत्रमा देखिएका विसङ्गति र विकृतिमाथि व्यङ्ग्य, प्रेमप्रणय, आशा भरोसा र चिन्ता नै विषय बनेर आएका छन् । विशेष व्यक्तिगत स्वार्थ र आधुनिक बँचाइको शैलीमा उच्चतम लालसालाई महत्व दिएर अगाडि बढ्दै गरेको गोर्खा जातिलाई मुक्तकको   विषय बनाएकी छन् ।

अर्काको आँगनमा आफ्नो कुल पुजेर हुन्न

आफ्नो त्यागेर अर्काको दस्तुर बुझेर हुन्न

सम्पूर्ण समृद्ध छौं भाषा, साहित्य, संस्कृतिमा

जात होइन बन्नु छ जाति आफैँमा जुझेर हुन्न ।

(चलन, पृ. १२२)

समसामयिक परिस्थिति ज्ञानको अवधारण हो । समसामयिक परिस्थितिमा कुनै पनि प्रकारको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक स्थितिको एउटा अवस्था मान्न सकिन्छ । यसैले गर्दा युगबोधको सम्बन्ध सिर्जना प्रक्रियामा सोझै जोडिएको पाइन्छ । साहित्यिक सिर्जनामा कलात्मक रूपमा युगबोध प्रष्टिएको हुन्छ । मञ्जुलाका मुक्तकमा पनि समयको युगबोध आएको पाइन्छ ।

भारतीय नेपाली साहित्यमा मुक्तककार नन्द हांगखिम, प्रेम विरोधी, कृष्ण प्रधान राज के. श्रेष्ठ, भुपेन्द्र अधिकारी, देशराज भट्टराई, साजन मुक्तान, नवराज भट्टराई र तेजमान बराइली, ध्रुव चौहान, वसन्त गुरुङ, सुकराज दियाली, गीताश्री निरौला, सुभद्रा बमजन, अनुप खतिवडा (शर्मा) जिज्ञासु, अमर वानियाँ लोहोरो, कालूसिंह रनपहेँली, गङ्गाराम फुयल मालदाई, चिन्तामणि शर्मा, तेजमान बराइली, दिलमान राई चोट, प्रकाश कुइँकेल, प्रितम आचार्य, रेवतीरमण सापकोटा, विकास दुलाल, वेददीप उपाध्याय, सचिन खवास प्रयास, सन्तोष सुवेदी, सरोज गौतम, सागर थापा, सुनिल भट्टराई, सुरज खनाल, सुरज धमला, सुस्मिता शर्मा, सृजना अधिकारी, हेमन्त भट्टराई, हिरा शर्मा कुहिरोभित्र  र हृतिक शर्मा, हृषिकेश भरद्वाजलगायतको लामै लामको पछिल्तिर ‘केही अक्षर केही भाव तरङ्ग’ लिएर मञ्जुला तामाङ उभिएकी छिन् ।

कृति : केही अक्षर केही भाव तरङ्ग

मुक्तककार : मञ्जुला तामाङ

विधा : मुक्तक

मुल्य : २००

पृष्ठ : १३५