१. विषय प्रवेश

नेपाली साहित्य परिषद्, मणिपुरको निमन्त्रणामा १५ सेप्टेम्बर २०१८ शनिबारका दिन आभूषणहरूको भूमिमा पहिलोपटक टेक्दा लागेको थियो– ‘अतीतले नपछ्याउँदो हो त जीवन कति सुनसान र उजाड हुन्थ्यो होला ! त्यसैले त अतीत, अनुभव र स्मृतिको ऐना पनि रहेछ । जब ती अनुभव र स्मृतिहरू वर्तमान समयको छेउमा आएर उभिन्छन् तब मात्र प्यारा लाग्दा रहेछन् । हाम्रो जीवनको कमाइ भनेको पनि यिनै सुनौला अनुभव र अनुभूति नै रहेछन् ।  समयचाहिँ एकैनास हुँदो रहेछ तर हाम्रा अनुभव र अनुभूतिचाहिँ व्यक्तिपिच्छे फरक फरक हुँदा रहेछन् ।’ तिनै अनुभव र अनुभूतिको अभिलेख खोज्दा मैले यही पाएको थिएँ मणिपुरको उस बेला ।

नेपाली साहित्यमा कविताको आधारभूमि र उठान तुलाचन आले मगर । तत्कालीन समयमा ४३ गोर्खा पल्टनमा लेन्स नायकको ओहदामा रहेका तुलाचन आलेको मणिपुरको लडाइँको सवाई (सवाई काव्य, १८९३) बाट प्रारम्भ भएको नेपाली साहित्यमा आत्माराम मगरको आसामको भैँचालो सवाई (१९०५) हुँदै पदमबहादुर राईको कस्तुरी (कविता, १९०५) र बाँच र बाँच्न देऊ (कविता, १९७०), कृष्णप्रसाद काफ्लेको मनका खुड्का (छन्दोबद्ध काव्य, १९९१), श्राद्धमञ्जरी (धार्मिक, १९९२) र मानवता (काव्य, २०१४), आशारानी राईको यम द्वितीया मानवता (कथासङ्ग्रह, १९९९), चन्द्रेश्वर दुबेका मेची बग्दै थियो (खण्डकाव्य, १९६०), भावी पत्नी (कविता, १९६०), सम्झना डोको (कविता, १९७०), भानुभक्त र घाँसी (खण्डकाव्य, १९७५), लाहुरे (कविता, १९७८), देशको माटो (उपन्यास, १९७८), जिन्दगीको बाटो (उपन्यास, १९८१), नेपाली साहित्य एक सर्वेक्षण (उपन्यास, १९८१), उर्वसी – महाभारतको पृष्ठभूमिमा (१९८२), एस्किलस, शेली र देवकोटा (१९८२), संयुक्त वक्तव्य (कविता, १९८६), नेपथ्य प्रिया (१९९०), देवकोटै देवकोटा (१९९१) र कालिदास र देवकोटा, चिल्ड्रेन्स वर्डबुक (१९८५), सीताराम लम्सालको लोकशिक्षा मञ्जरी (छन्दबद्ध काव्य, १९७६), आलोक गौतमको मान्छेभित्रको मान्छे बोल्छ (कविता), कमला थापा ‘प्रकाश’ को आह चाह र त्याग (नाटक, २०१५), होमप्रसाद सिवाकोटीको ज्ञानरत्न सङ्ग्रह (संस्कृत श्लोकसहित, २०१०), अनिरुद्र गौतमका चश्माभित्रका घायल आँखा (कविता, १९८३) र अज्ञात शब्दका पछिपछि (कथा, १९८६), मुक्ति गौतमका मणिपुरमा नेपाली जनजीवन (१९९९), हिन्दु अध्यात्म चिन्तन (२०११) र विचार प्रवाह (२०१६), कीर्तिमणि खतिवडाको म (कविता, २००३), महेश पौड्यालका अनामिक यात्री (कथा, २०१०) सपनाको फूल (कथा, २०१२), हुलाकी (कथा, २०१३), तादी किनारको गीत (उपन्यास, २०१५), देवीप्रसाद सुँयल थापा ‘मामा’ का आमा (कथा, २०११), बाबा (२०१२), सासु (२०१३) र माइती (२०१४), राहुल राई बोगीकोका एक जोडी परेवा (कथा, २०११), एकमुट्ठी कविताहरू (कविता, २०१२), मेरा अनुभूतिहरू (कथा, २०१४) र कालो अक्षर (कविता, २०१६), मितोप (कथा, २०२०), घनश्याम कोइरालाका मिसकल (कविता, २०१२) र सृष्टिका दुई धार (निबन्ध, २०१४), दीपक पन्थका मन्थन (धार्मिक प्रश्नोत्तर, २०१२) र पूर्णिमाको जून (गजल, २०१३), सुस्मिता पोख्रेलको सीमानामा (कविता, २०१२), हरिमोहन पोख्रेलको बगुल्लाको महासभा (कथा, २०१३), डा.गोमादेवी शर्मा अधिकारीका नेपाली भाषा र संस्कृति (२०१३), मणिपुरमा नेपाली साहित्य – एक अध्ययन (२०१६) र भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास (२०१७), सृष्टि पौड्यालको गुनासो (कविता, २०१४), खत्री कुमारको प्रकृति र मान्छे (कविता, २०१४), भवानी अधिकारीका मनका आवेग (निबन्ध, २०१५) र आँखीझ्यालभित्र मणिपुर (निबन्ध, २०१७), सीतादेवी क्षेत्रीका एउटा धरामा (कविता, २०१७) र मूल परेको छोरो (कथा, २०१८), सुरज चापागाईँको क्यानभासको क्षितिज (कविता, २०१७), वसन्ती पौडेलका बिहानीको प्रतीक्षा (कविता, २०१७), सलबलाएका अक्षरहरूसँग (यात्रा, २०१८), थोपाथोपा जिन्दगी (गजल, २०२०) आदि प्रकाशित रहेका छन् । पछिल्लो कृतिको रूपमा सीतादेवी क्षेत्रीको कथासङ्ग्रह चर्किएको मन (कथा, २०२०) प्रकाशनको सङ्घारमा रहेको छ ।

दीपक सुवेदी

२. नेपाली कथा

कथाले मानव सभ्यताको इतिहासलाई अमर बनाउँछ । इतिहास इतिहासमा मात्र सीमित भयो भने त्यो हराउँदै जान्छ । यसो नहुन समय र स्रष्टाले यसलाई तानिरहनुपर्छ । पुस्ता हस्तान्तरणसँगै नयाँ पुस्ता लागिरहनु पनि पर्छ ।

नेपाली साहित्यको आख्यान विधाहरूमध्ये कथाको पहिचान प्रचीनकालदेखि नै विशिष्ट रहँदै आएको छ । नेपाली कथाको क्षेत्रमा नारी लेखन र प्रकाशनको आरम्भ नेपालमा शारदा पत्रिकामा प्रकाशित तुषारमल्लिकाको ‘स्त्रीरत्न’ (१९९२) र भारतीय भूमिमा गोर्खासंसार पत्रिकामा प्रकाशित दिव्यकुमारी देवी कोइरालाको ‘चर्खा’ (१९८३) कथाबाट भएको हो ।

मणिपुरको नेपाली कथा साहित्यको क्षेत्रमा अनिरुद्र गौतमको अज्ञात शब्दका पछिपछि (कथा, १९८६), आशारानी राईको यम द्वितीया मानवता (कथा सङ्ग्रह, १९९९), महेश पौड्यालका अनामिक यात्री (कथा, २०१०) सपनाको फूल (कथा, २०१२), हुलाकी (कथा, २०१३), देवीप्रसाद सुँयल थापा ‘मामा’ का आमा (कथा, २०११), बाबा (२०१२), सासु (२०१३) र माइती (२०१४), राहुल राई बोगीको एक जोडी परेवा (कथा, २०११), मेरा अनुभूतिहरू (कथा, २०१४) र मितोप (कथा, २०२०) कथासङ्ग्रह प्रकाशित भएका देखिन्छन् । प्रकाशित यी सङ्ग्रहहरूले मणिपुरमा नेपाली कथाको अवस्थाको परिचय दिएका छन् ।

मणिपुरमा नेपाली कथाको क्षेत्रमा आशारानी राई पछि कृतिगत योगदान दिने नारी कथाकार सीतादेवी क्षेत्री नै हुन् । कथाको क्षेत्रमा एउटा राम्रो भविष्य बोकेर मूल परेको छोरो (कथा, २०१८) प्रकाशन गरिसकेकी कथाकार सीतादेवी क्षेत्री पुनः चर्किएको मन (कथा, २०२०) लिएर आएकी छन् ।

शिक्षकको सर्टिफिकेट लिएर साहित्यमा उठेकी कथाकार सीतादेवी क्षेत्रीको सर्वप्रथम प्रकाशित कथा भीष्म प्रतिज्ञा हो । जुन कथा ५ फेब्रुवरी २०१७ को देशवार्ता (असम) पत्रिकामा प्रकाशित भएको थियो । औपचारिक कथा प्रकाशित समय हेर्दा उनको कथायात्रामा तीन वर्षको अवधि देखिन्छ । मणिपुरको पछिल्लो समकालीन नेपाली कथालेखनको क्षेत्रमा देखापरेकी क्षेत्रीका प्रायः सबैजसो कथाको भावभूमि विशेष गरी नेपाली समाज र सामाजिकता रहेको पाइन्छ ।

२.१ चर्किएको मन

मन शरीरको भित्रको त्यो अदृश्य भाग हो, जसबाट विचारको उत्पत्ति हुन्छ । सिग्मङ्ड फ्रायडका अनुसार मनका चेतन, अचेतन, अर्धचेतन वा पूर्वचेतन गरी तीन भागहरू हुन्छन् । समयको नियति र जीवनको भोगाइका अदृश्य भाव वा विचार मनमा रहिरह्यो भने सायद मन चर्किन तयार हुँदो रहेछ । यिनै नियति र भोगाइलाई प्रस्तुत गर्ने माध्यम नै कथा बनाएकी छन् कथाकार सीतादेवी क्षेत्रीले ।

भन्न त ‘चर्किएको मनमा के रहन्छ र !’ भनिन्छ । तर साँच्चै, जब मन चर्किन्छ तब बिस्तारै समाजको जलन र पीडाका रूप (यो कस्तो फेसन, माइत र घर, कर्मको फल, हेलाको फेला, मनको डर, चर्किएका मन, रक्सी र जिन्दगी, निर्णय, सन्तानको मोह, उसको प्रतीक्षा, महाजन, देखेका सपना अनि लकडाउन र सानी) तेह्रवटा कथामा रहेका छन् । यी कथामार्फत कथाकारले मानवीय जीवन भोगाइमा समाजमा भएका दमन, अन्याय, अत्याचार, संस्कार, उत्पीडन र वर्ग सङ्घर्षलाई प्रस्तुत गरेकी छन् ।  सीतादेवी क्षेत्रीका कथाहरूमा वर्तमान समाजमा रहेको भेदभाव, विकृति, विसङ्गति र बालमनोदशाको सशक्त ढङ्गबाट उठान गरिएको छ ।

२.१.१ कथावस्तु

यो कस्तो फेसनमा एउटा सुन्दर आवादी गाउँको कथा छ । सम्पन्न परिवारका रामु र पुष्पाले सन्तानका लागि तीर्थव्रत र धामीझाँक्री गरेपछि बल्लबल्ल छोरो जन्मिएको छ । उसलाई योग्य मानिस बनाउन सहर पढ्न पठाउँदा उनीहरूले देखेको सपना र गरेको सङ्घर्षको कथा रहेको छ । यस कथामा यूवापुस्तामा रहेको आधुनिकताप्रतिको मोहको प्रस्तुति छ ।

माइत र घर दुईभाइकी एकमात्र चेलीको कथा रहेको छ । छोरी जन्मँदा लक्ष्मी आइन् भनेर जति नै खुसीयाली मनाए पनि पछि आफ्नो इच्छा नहुँदानहुँदै विवाह गर्नुपर्ने छोरीको जीवन प्रसङ्ग उल्लेख छ । कथा बोल्ने हैन यसले मन पोल्छ । हुन पनि मन पोल्न, मुटु दुख्न र आँसु झर्न दुर्घटना आफैँमाथि हुनुपर्छ भन्ने होइन रहेछ । बाहिरी सुन्दरतालाई समाजले कति प्राथमिकता दिन्छ भन्ने यस कथामा देखाइएको छ ।

कर्मको फलमा एच.एस.एल.सी. परीक्षाफल प्रकाशित हुँदा खुलदुली मच्चिरहेको छ । परीक्षाफल प्रकाशित भएपछि चल्ने सरकारी र प्राइभेट विद्यालयको चर्चा परिचर्चा कथामा प्रस्तुत गरिएको छ । सर्व शिक्षा अभियान लागु भएदेखि सरकारी विद्यालयका विद्यार्थीमा पढाइमा रुचि कम भएको छ । जसको दोष शिक्षकले बेहोर्नु परिरहेको छ । मिहिनेत गरेकै कारण प्राइभेट विद्यालयका विद्यार्थी टपर हुने गरेको प्रसङ्गसमेत यस कथामा उल्लेख छ । आफ्नो दायित्व, कर्तव्य र अधिकारसहितको पालना गरी पूर्ण रूपमा लगाव दिएर कर्म गर्नुपर्छ । कर्ममा हराउनुपर्छ । कर्ममै रमाउनुपर्छ । त्यसको फल के आउला भनेर चिन्तित बन्नु हुँदैन भन्ने सन्देश कथाले दिएको छ ।

हेलाको फेलामा सानो अनि सुखी परिवारमा एक छोरा र एक छोरी रहेका छन् । परिवारको छोरोलाई आई.ए.एस. अफसर बनाउने ठूलो सपना थियो तर उसले पढ्ने बेलामा समयको ख्याल गर्दैन र बुद्धि पनि लगाउँदैन । बहिनी सरकारी डाक्टर र सँगैको साथी भीम छेत्री जसलाई उसले हेला मात्र गर्थ्यो ऊ शिक्षा निर्देशक बन्छ । समयमा मिहिनेत नगर्दा अनि बुद्धि नपुऱ्याउँदा उसले भोग्नु परेको परिणाम र आत्माग्लिनीको उल्लेख यस कथामा गरिएको छ । समाजमा केही ढिट मानिसहरूको जमात छ जसले आफ्नो दिमागी घेराभन्दा बाहिर गएमा आफ्नो शक्तिको प्रदर्शन गर्छन् । यही प्रदर्शन कथामा रहेको पाइन्छ ।

मनको डर सन्तोषी र रोमनको परिवारको डरको कथा हो । सन्तान नहुँदाको पीडाको कथा हो । सन्तोषी र रोमनले अरूकै सन्तानलाई गोद लिने निर्णय गरे । ‘आफ्नै छोराछोरी त आफ्ना हुँदैनन् । पालेकाले के गर्ला !’ भनेर समाजले कुरा काटेको र गरेको व्यङ्ग्यहरूका कारण उत्पन्न डर प्रस्तुत गरिएको छ । समाजप्रतिको जिम्मेवारीलाई सन्तोषी र रोमनले निर्वाह गरेका छन् । सन्तोषी र रोमनको परिवारले सन्तानको लागि कौब्रु (महादेव), खरसाङ र सिलगुडीसम्म पुगेर गरेको तपस्या र त्यागलाई यस कथामा देखाइएको छ ।

चर्किएको मन जयदीप र जयाको नौ कक्षादेखिको जीवनकथा हो । कुनै समय उनीहरू एकअर्काबिना जीवन नै अधुरो होला भन्ने सोच्थे । एक समय एकाएक ‘बिनालुगाको एउटा फोटो खिचेर पठाऊ न ।’ जयदीपको आग्रहलाई जयाले स्वीकार गरेका कारण, जयाले आफ्नो इज्जत बचाउने नाममा एकपछि अर्को गर्दै जयदीपको परिबन्धमा रुमलिँदाको परिणाम देखाइएको छ । कसैको काम, रूप र रङ्गलाई आफ्नो दिमागी दायरामा निश्चित गर्नु दुखद कुरा हो । यही कुरा प्रस्तुत कथामा रहेको छ ।

रक्सी र जिन्दगी महाजनको पसलको सहायकको रूपमा काम गर्ने माइलाको कथा हो । साँझ पसलबाट घर फर्किँदा भट्टीमा पसेर तातो भएर मात्र घर आउँछ । माइलाको कारणले घरमा सधैँ कलह मच्चिन्छ । विवाह गरिदिँदा पो सुध्रन्छ कि भनेर उसको बिहे गरिदिन्छन् । नभन्दै सुध्रन्छ । ‘आफ्नो बानीको छोडे, अर्काको बानीको सिके’ भने झैँ माइलाले फेरि पिउन थाल्छ । पिएरै कारण माइलाले संसार छोड्छ । रक्सीको पीडा अनि प्रभाव परिवार र जीवनमा कस्तो हुन्छ भन्ने देखाइएको छ ।

निर्णय मणिपुरको काङ्ग्पोक्पी जिल्लाको खोपी भन्ने ठाउँमा रहेको एउटा परिवारको कथा हो । हाम्रा आफन्त छन् कि छैनन् ? विक्रमलाई आज यस संसारमा एक्लो भएको अनुभवले मन खल्लो पारिरहेछ । विवाह गरेको तीन वर्षसम्ममा पनि राधिकाबाट कुनै सन्तान नभएपछि एउटी नारीले सुन्नुपरेका लाञ्छना र भोग्नुपरेका समस्या कथामा प्रस्तुत गरिएको छ । विक्रमकी आमा राधिकाको अतीत र विक्रमको वर्तमानको कथा हो निर्णय ।

सन्तानको मोह चारैतिर डाँडाले घेरिएको सानो गाउँ खारखोला । जहाँ एउटा परिवारको आर्थिक अवस्था कमजोर छ । छोराछोरी सानै भए पनि आमाको दुःख सन्तानहरूले राम्ररी बुझेका छन् । बिनासन्तान कोही खुसी हुँदैन रहेछन् । कथामा सन्तान नहुँदाको पीडाबोध वीणा र विशालमा छ । जीवनयापनका लागि बैङ्गलोरसम्म पुगेका गरेको सङ्घर्ष, वीणा र विशालमा रहेको सन्तानको मोह र प्रेमको कथा यसमा रहेको छ । यस कथाले प्रयासको लडाइँ लड्न सिकाएको छ र जीवनमा भोगिने मानसिक पीडा अनि सामाजिक दुर्व्यवहारलाई मिहिन ढङ्गबाट उतारेको छ ।

उसको प्रतीक्षा कान्छी छोरी हुनाले सबैको प्यारी थिई कविता । अलिक छुच्चो व्यवहार भएकाले स्कुलमा सबै डराउने गर्थे । कसैले जिस्क्यिाउन पनि सक्दैन थिए  । कक्षा बाह्रमा पढ्दै गर्दा मोबाइलकै भरमा कविताको फौजी करनसँग चिनजान हुन्छ । माया प्रीति बढ्छ । करनले कविताको मनमा टेकेपछि यौवनले रूपमा रङ्ग पोतिदिन्छ । मनमा अनेक उमङ्ग आउँछन् । करनको सामीप्य मन पर्न थाल्छ अनि भविष्यका सपनाहरू पलाउन थाल्छन् । एकदिन करनका साथ भागेर कविता दिल्ली पुग्छे । फौजीको जागिर करनको पन्ध्र वर्ष पूरा भएकाले सबै कागजात बनाएर तीन महिना पहिल्यै घर जान्छ तर कवितालाई थाहा हुँदैन । करनको अर्को पनि परिवार हुन्छ । कवितालाई यतिका वर्ष पत्तो हुँदैन । अल्लारे उमेरमा मोवाइलको प्रभाव र कविताको जीवनसङ्घर्ष यस कथामा देखाइएको छ ।

महाजन कथामा १९३८ तिरको काङ्ग्पोक्पी र तफौ क्षेत्रमा जङ्गल फँडानी, गाई र भैँसी पाल्ने अनुमति, मानव बसोबास र शिक्षाको आरम्भको ऐतिहासिक रूपरेखा डम्बरबहादुर महाजनको पारिवारिक चरित्रसहित प्रस्तुत गरिको छ ।

देखेका सपना ज्योतिष विज्ञानका अनुसार नक्षत्र जुराएर नाम चन्द्रप्रकाश राखिएपनि जेठो छोरा हुनाले आमाबुवाले ठूले भनि बोलाउने गर्नुहुन्थ्यो । चन्द्रप्रकाशमाथि बाबुले देखेका सपना २३ वर्षपछि पूरा भएको यस कथामा प्रस्तुत गरिएको छ । सपना देखेर मात्र हुँदैन, त्यसलाई पूरा गर्न कर्म पनि त्यही अनुरूप गर्नुपर्छ भन्ने यस कथामा देखाउन खोजिएको छ ।

सानिमा र लकडाउन चीनको वुहान सहरबाट विश्वभरि नै फैलिएको कोविड १९ को कथा रहेको छ । कथा पढ्दा क्रोध, सन्ताप र सहानुभूति एकैसाथ आइपुग्छन् । भाइरस फैलिन नदिन माननीय प्रधानमन्त्रीले पब्लिक कर्फ्यु भारतभरी गरिएको लकडाउन घोषणापछिको मणिपुर, काङ्ग्लातोङबीको जनजीवन र यसको प्रभाव कथामा प्रस्तुत गरिएको छ ।

यी सबै कथाहरूमा क्षेत्रीले आफ्ना ती अविस्मरणीय यौवनकाल खोज्दै विस्मृतिको गर्भमा कहीँ हराउँदै, कहीँ डुबुल्की मार्दै कथा सिर्जना गरेकी छन् । क्षेत्रीका धेरैजसो कथाहरूमा निर्बल र असहाय, गरिब र निमुखाहरूप्रति प्रेमभाव, सहयोग र सहानुभूति, ठूलाबडाले गर्ने गरेको अत्याचार, दमननीतिप्रति कोमलकान्त शैलीमा विरोधभाव दर्साइएको पाइन्छ ।

२.१.२ शीर्षक

‘हरेक नयाँ दिनहरू जिन्दगीका खाली पानाहरू हुन् जहाँ सफलताका तमाम रहस्यहरू सुन्दर कथाका रूपमा अवगुम्फित हुन्छन् ।’ डुग्लास पागेलको यस भनाइलाई चरितार्थ गर्न खोजिएका कथासङ्ग्रहको शीर्षक चयन यसै सङ्ग्रहभित्र समाविष्ट कथाको आधारमा गरिएको छ । विषयवस्तु र भावका आधारमा अधिकांश शीर्षकीकरण गरिएका छन् भने दुईवटा कथाहरूको शीर्षकीकरण पात्रका आधारमा गरिएको छ ।

कथाका शीर्षक छोटो आयामका छन् । अझ कथाहरू शीर्षकबाटै कथ्यको अनुमान गर्न सकिने खालका छन् । जे भए पनि कथाको शीर्षकीकरण असहज र अस्वाभाविक नभएर सहज र स्वाभाविक रहेको देखिन्छ । सीतादेवी क्षेत्रीका कथाका शीर्षकीकरण कथ्यअनुरूप सामञ्जस्यमूलक रहेका छन् । कथाहरूको अध्ययन गर्दा कथाहरू अलि लामो आयाममा विस्तार भएको पाइँदैन प्रायः कथाहरू सरदर मझौला आयाममै संरचित छन् ।

२.१.३ कथ्य योजना

कार्लोस जाफुनले ‘कथा भनेको आफैँलाई लेखिने एउटा चिठी हो, जसमा आत्माको उत्खनन गरिन्छ ।’ भनेजस्तै कथामा कथाकार क्षेत्रीले स्वयम् जीवनका मिहिन पक्षहरूको आख्यानीकृत अनुसन्धान गरेकी छिन् । अझ कथाकार सीतादेवी क्षेत्रीका कथाहरूले ग्रामीण सामाजिकतालाई नै बढी कथ्य आधार बनाएको भेटिन्छन् । उनका प्रायः कथामा निम्नवर्गीय र मध्यमवर्गीय ग्रामीण जनजीवनको चित्राङ्कन अधिक पाइने हुनाले उच्चवर्गीय अथवा सम्भ्रान्त वर्गको प्रसङ्ग तथा चित्रण न्यून मात्रमा पाइन्छ । क्षेत्रीका कथाका पात्रहरू समाजमा सामाजिक, आर्थिक एवम् राजनीतिक रूपबाट हेपिएका, शोषित र पीडित समेत बनेका छन् । ती पात्र वा चरित्रहरू कतिपय अत्यन्त निर्धन, अशिक्षित र असङ्गठित तर धर्मपरायण पनि छन् ।

अतः सरल र परिश्रमी ग्रामीण जनजीवनका कथाहरूमा तीव्र सामाजिकता रहेको पाइन्छ । इष्ट देवता कौब्रु (महादेव), मादलको घिन्ताङ घिन्ताङ, तीर्थव्रत, धामीझाँक्री, पँधेरो, जङ्गल, आवादी गाउँ, गङ्गा नदी, मन्त्रीपोखरीको प्रसङ्गसहित असम/गुवाहाटी, काङ्पोक्पी, बैङ्गलोर, सरकारी मास्टरको पोस्ट, मोट्बुङ, कामाख्या मन्दिर आसपासको सङ्घर्षपूर्ण जनजीवनको यथार्थ पक्षहरूलाई टपक्क टिपेर आफ्ना कथाहरूमा सजाएकी छन् ।

क्षेत्रीमा सूक्ष्म तन्तुका झिनामसिना विषयवस्तुहरूलाई लिएर पनि कथा बुन्न सक्ने तथा स्थूल र सुडोल विषयप्रधान कथाहरू पनि बुन्न सक्ने क्षमता रहेको पाइन्छ । उनका अधिकांश कथामा कृत्रिमतारहित विचारको प्रस्तुति पाइन्छ । कथाहरूले आदर्श प्रेम, नैतिक दायित्व र मानव मूल्यबोध गराउन अग्रसर बनेका छन् । क्षेत्रीका प्रायः कथा सामान्य जनजीवनको चित्रण, माया पिरती, वात्सल्यप्रेमप्रतिको सरलता, सामाजिक रूढीवाद र संस्कारगत सङ्कीर्णताको युगीन सन्दर्भ दाम्पत्य जीवनको बाहुल्य, निम्नवर्गीय ग्रामीण सामाजिकताको चित्रण, तीव्र सम्वेदनशीलता, मानवीय सन्देश अर्थात् मानवताकै स्वर प्रतिध्वनित रहेको पाइन्छ । क्षेत्रीको पछिल्लो चरणको कथालेखनमा ग्रामीण जनजीवन र निम्न मध्यम वर्गीय जीवनको यथार्थचित्रण, स्वच्छन्दतावादी र सामाजिक यथार्थवादी स्वर, प्रेम वात्सल्य भावको युगीन सन्दर्भ, मानवतावादी दृष्टिकोण मुख्यरूपमा रहेको भेटिन्छ ।

कथा भावना पोख्ने सहज र सर्वमान्य रूप पनि हो । कथा पढ्न जति सहज हुन्छ त्यसको बनावट र शिल्प निर्माण त्यति नै कठिन हुन्छ । कथाको मुख्य भाग भनेको पात्रहरूले बोल्ने वाक्यमा नै हुन्छ । पात्रहरूबीचको संवाद भनेकै लेखकको भावनालाई राम्रोसँग देखाउने स्थान हो । लेखकले दिने सन्देश यिनै पात्रहरूबाट झल्किन्छ । कुनै पनि लेखकलाई अमर बनाउन पात्रका संवादले प्रमुख भूमिका निर्वाह गर्दछ भन्ने कुरामा सीतादेवी क्षेत्री सचेत रहेको पाइन्छ ।

२.१.४ पात्रयोजना र प्रस्तुति

कथाका घटनाहरूलाई अगाडि बढाउने वा गति प्रदान गर्ने काम पात्र वा चरित्रहरूले गर्छन् । बिनापात्र कथाको निर्माण हुँदैन । कथामा व्यक्तिगत र सामाजिक स्वतन्त्रताबीच जहिल्यै पनि सङ्घर्ष हुन्छ । सङ्घर्ष भनेको पात्रको र परिवेशको व्यवस्थापन पनि हो । यसको व्यवस्थापनका लागि कथाकारले व्यक्तिगत कुरा छोडेर पात्रसम्म पुग्नुपर्छ । कथाकार सीतादेवी क्षेत्रीका कथाहरू झिनो विषयवस्तुबाटै डोहोरिएका छन् ।

कथाकारले पात्रलाई दिनुपर्ने भूमिका र चेतनामा कमी भयो भने कथाकार असफल त हुन्छ नै कथा पनि कथा बन्न सक्दैन । तेह्रवटा कथाहरूले संरचित ‘चर्किएको मन’ सङ्ग्रहका पात्र र चरित्रबाट नेपाली समाज बुझ्न सकिन्छ । नारी मनोविज्ञान बुझ्न सकिन्छ र बालमनोविज्ञान बुझ्न सकिन्छ । नारी मनोविज्ञान भन्नेबित्तिकै पुरुषको कुरा कथामा छैन भन्ने चाहिँ होइन ।

कथामा सबैभन्दा बढी मिहिनेत गर्नुपर्छ पात्र हुर्काउन तर कथाका लागि टिपिएका सीतादेवी क्षेत्रीका पात्रहरू ग्रामीण यथार्थ परिवेशमा विन्यास भएका अधिकांश हेपिएका, पिल्सिएका, अन्याय र शोषणको चक्रव्यूहमा परी असहाय र अशक्त बनेका भेटिन्छन् । ग्राम्य परिवेशको गुम्फित वातावरणमा परिश्रमी र अबोध पात्रगत चरित्रहरूको अधिक उपस्थिति रहेको भेटिन्छ । क्षेत्रीले ग्राम्य परिवेशानुकूलकै पात्रगत चरित्रको रहन सहन, आचार विचार, भेषभूषा आदिको पनि परिचय र प्रस्तुति दिएकी छन् ।

२.१.५ शिल्पयोजना

कथाचेत भएकी सीतादेवी क्षेत्रीले साहित्यलाई व्यक्तिगत कल्पनाको उपज मात्रै मानेकी छैनन् अनि साहित्य समाजको अभिव्यक्ति हो भन्ने कुरामा पनि ढुक्क छिन् । साहित्य रचनाको प्रमुख आधार परिवार हो र परिवार, समाजमा भएका सामान्य घटनाहरू कथाका विषयवस्तु हुन् । विषयवस्तुलाई रोचक बनाउने शिल्प कथाकारमा हुनु जरुरी हुन्छ । कथा पढ्दै जाँदा यस्तो लाग्छ– ‘कथा बाँच्न कथाकार नयाँ नयाँ स्वरूपमा जानैपर्छ ।’

कथाकार सीतादेवी क्षेत्रीको कथागत विविध विशेषताहरूमध्ये भाषा प्रयोग पनि एक प्रमुख पक्ष हो । पात्रहरूले सरल र सहज भाषाशैलीको प्रयोग गरेका छन् । क्षेत्रीको कथाको भाषा प्रयोगमा अप्ठ्यारो र दुरूहता पटक्कै छैन । रातभरि रुङ्ग्यो बुढी ज्युँदै (कर्मको फल), नपत्याउने खोलाले कहिले काहीँ बगाउँछ (हेलाको फेला), आफ्नै छोराछोरी त आफ्ना हुँदैनन्, पालेकाले के गर्छन् (मनको डर) आदि जस्ता उखानको प्रयोगका साथसाथै लोकप्रचलित कथ्य शब्दहरूको समेत मनग्गे प्रयोग भएको पाइन्छ ।

कथाकार बन्नु भनेको आफूलाई विभिन्न पात्रहरूसँगै खेलाउनु हो । उनीहरूलाई सुन्नु र बुझ्नु पनि हो । कथामा प्रायः सबैजसो पात्रहरूले संवाद गरेका छन्, संवादप्रधान कथाहरू पनि छन् । पात्रले बोलेका संवादद्वारा नै पात्रको चरित्र, घटना र वस्तुस्थितिको जानकारी पाइन्छ । पात्रको चरित्र चित्रण र परिवेश चित्रणमा कथाकार क्षेत्रीले प्रत्यक्ष र परोक्ष दुवै प्रकारका शैलीको प्रयोग गरेकी छन् । प्रायः कथाको परिवेशमा ग्राम्य जनजीवनको चित्रण वर्णनमा पाइन्छ ।

क्षेत्रीका यो कस्तो फेसन, मनको डर, चर्किएको मन, रक्सी र जिन्दगी, निर्णय, उसको प्रतीक्षा, महाजन शीर्षक कथाहरू तृतीय पुरुष कथात्मक दृष्टिबिन्दुमा लेखिएका कथाहरू हुन् भने माइत र घर, कर्मको फल, हेलाको फेला, सन्तानको मोह, देखेका सपना, सानीमा र लकडाउन शीर्षक कथाहरू प्रथम पुरुष कथात्मक दृष्टिबिन्दुमा लेखिएका कथाहरू हुन् । अधिकांश कथाहरू सामाजिक यथार्थपरक हुँदाहुँदै पनि स्वच्छन्दतावादी प्रभावबाट उन्मुक्त हुन भने सकेका छैनन् । कथामा यथार्थपरक दृष्टिकोण रहेकै भए पनि घटित घटना तथा पात्रहरूको चरित्र विन्यासमा कहीँ न कहीँ रोमान्सेली प्रभाव परेकै भेटिन्छ ।

आधुनिक कथालेखन प्रचलनमा देखिएका विभिन्न प्रविधि र प्रयोगहरू पूर्वदीप्ति शैली, चेतनाप्रवाह शैली, प्रतीक प्रयोग आदि इतर कथाहरू रहेको देखिन्छन् । लोकजीवनको रूढीगत धारणा, आदर्श प्रेम, मानवतावादी विचारका अतिरिक्त रोमान्टिक रङ्ग र पर्यावरण चेतना आदि जस्ता प्रवृत्तिगत विशेषताहरू कथाहरूले प्रदर्शित गर्न खोजेका छन् । रैखिक ढाँचामा लेखिएका भए तापनि कथानक चयनमा क्षेत्रीले पर्याप्त सचेतता दर्साएकाले क्षेत्रीका कथामा विषयगत विविधता र मौलिकता परिलक्षित छ । कथाकारले आफ्ना कथालाई सचेत रूपमा भावुकताको भासमा पर्नबाट बचाउन खोजेकी मात्र छैनन्, सकेसम्म अति आदर्शवादी बन्नबाट आफू पनि जोगिन खोजेकी छन् ।

३. क्षेत्रीको कथागत प्रवृत्ति

१. नेपाली ग्रामीण जीवनमा व्याप्त विषमता, शोषण, उत्पीडन तथा विभेदकारी सामाजिक संरचनाको आलोचना र विरोध,

२. नेपाली समाजमा विद्यमान विसङ्गति, सामाजिक रूढी र अन्धविश्वास, सरकारी निकाय एवम् प्रशासन संयन्त्रद्वारा हुने थिचोमिचोको तीव्र आलोचना,

३. महिलामाथि हुने विभेद, घरेलु हिंसा, असमान, वैवाहिक सम्बन्ध एवम् नारी अस्मिताको रक्षा र उन्मुक्तिको अभिव्यञ्जनामा रुचि देखाउनु,

४. गरिबी, बेरोजगारी, विषमता तथा पुरातन संस्कृतिको आलोचना तथा उन्नत संस्कृति र उदात्त मानवीय मूल्य स्थापनाको आग्रह,

५.  निम्न र निम्न मध्यम वर्गीय नेपाली जीवनका पात्रको चयन,

६.  रैखिक कथानक ढाँचा एवम् रेखीय संरचना,

७. अधिकांशतः बाह्य सर्वज्ञाता दृष्टिबिन्दुको साथै अंशतः आन्तरिक केन्द्रीय र परिधीय अनि बाह्य सीमित दृष्टिबिन्दुको प्रयोग,

८  वर्णनात्मक एवम् समाख्यानात्मक विधि तथा न्यून रूपमा संवादात्मक विधिको प्रयोग,

९.  बाह्य वस्तुगत परिवेशको चयन तथा वर्णनमा रुचि,

१०. गाउँ तथा सहरको कुनै स्थान विशेषलाई कार्यपीठिका बनाउनु,

११. विम्ब, प्रतीक, अलङ्कारको प्रयोगमा सामान्य रुचि आदि ।

४. मूल्याङ्कन

मणिपुरको नेपाली साहित्यमा सीतादेवी क्षेत्री कवि र कथाकार रूपमा सुपरिचित छिन् । नेपाली कथासाहित्यमा सीतादेवी क्षेत्रीले ५ फेब्रुवरी २०१७ को देशवार्ता (असम) पत्रिकामा भीष्म प्रतिज्ञा कथा प्रकाशित गरेर औपचारिक प्रवेश गरेको देखिन्छ । लगभग तीन वर्ष अवधिमा मूल परेको छोरो (कथा, २०१८) र चर्किएको मन (कथा, २०२०) गरी दुईवटा कथासङ्ग्रह प्रकाशितका छन् । कथाले मूलतः समकालीन नेपाली समाजको मनस्थितिको अत्यन्त मार्मिक ढङ्गमा चित्रण गरेका छन् ।

सामाजिक यथार्थता र अस्तित्ववादी चिन्तन उनका कथ्यगत वा विषयगत मूल प्रवृत्ति हुन् भने यथार्थवादी कथानक ढाँचा, वर्गीय र वैयक्तिक विशेषतायुक्त चरित्रविधान, स्वाभाविक परिवेश, कारुणिक भावको आधिक्य, मध्यम प्रयुक्तिको भाषाशैली आदि उनका अभिव्यक्ति पक्षसँग सम्बन्धित वा शैली शिल्पगत प्रमुख प्रवृत्ति रहेका छन् ।

कथामा समाज र व्यक्तिकेन्द्रित चरित्रहरू रहेका पाइन्छन् । त्यसकारण कथाकारको रुचि क्षेत्र सहर र गाउँ केन्द्रित एवम् यी दुवैको मिश्रत रूप पनि रहेको पाइन्छ । कथाको वस्तुचयन र प्रयोग तथा वस्तुविधानगत ढाँचा एवम् शिल्प संरचना र विशेषताहरूको संयोजन गरिएका प्रायः नन्टाइमलाइनका औसत स्तरका सामाजिक कथाहरू रहेका छन् । सबै कथाहरूमा मानव जीवनका समस्याहरू छन् । त्यसकारण यो सङ्ग्रह समस्यामूलक कथाहरूको सङ्ग्रह बन्न गएको पाइन्छ । समग्रमा सीतादेवी क्षेत्रीले ‘चर्किएको मन’ कथा सङ्ग्रहका कथामा उठाएका विषयवस्तु नेपाली सामाजिक भोगाइकै प्रतिबिम्ब हुन् ।

सामाजिक यथार्थ, वस्तुपरक र गाउँले परिवेशको चित्रण गरेर लेख्न खोजिएका कथामा लेखक बहकियो भने त्यो कथा नभएर अरू कुनै विधाको रचना बन्न पुग्छ भन्ने कुरामा सचेत रहेकी क्षेत्रीका सामाजिक यथार्थवादी, स्वच्छनदतावादी तथा आञ्चलिक संस्पर्शका विचारप्रधान ‘चर्किएको मन’ भित्रका कथाहरूले उनलाई ग्रामीण जनजीवनका कथाकारका रूपमा उभ्याएको छ ।

अन्त्यमा, स्रष्टा सामाजिक विकृतिको अन्धकार हटाउन उज्यालाको खोजी गर्ने अन्वेषक हुन् । पुस्तकले संसारलाई शासन गरेको देख्ने भोल्टेयर, पुस्तक बराबरको अर्को बफादार मित्र नदेख्ने अर्नेस्ट हेमिङ वे र पुस्तकबिना बाँच्न नसक्ने थोमस जेफर्सनजस्तै कथाकार सीतादेवी क्षेत्रीको कथायात्रा अझ सिर्जनशील बनोस् शुभकामना ।

सन्दर्भसूचि

कोइराला, डा.कुमारप्रसाद, (वि.सं. २०६८), आख्यान विमर्श, काठमाडौँ- ओरिएन्टल पब्लिकेसन।

गुरागाईँ, लक्ष्मी (सं.), (२०६५ जेठ), मधुपर्क कथा विशेषाङ्क, काठमाडौँ- गोरखापत्र संस्थान ।

बराल, डा.कृष्णहरि, (२०६९), कथा सिद्धान्त, काठमाडौँ- एकता बुक्स ।

बराल, कृष्णहरि र नेत्र एटम, (२०६४), नेपाली आख्यान र नाटक, काठमाडौँ – अक्सफोर्ड इन्टरनेशनल पब्लिकेसन ।

सुवेदी, दीपक, (२०७६), नेपाली डायस्पोरा र अन्य सिर्जना, काठमाडौँ- मञ्जरी प्रकाशन ।

……………,(२०७६) सजिलो नेपाली वर्णविन्यास, काठमाडौँ – मञ्जरी प्रकाशन ।

श्रेष्ठ, अविनाश, (वि.सं. २०६४), आधुनिक भारतीय नेपाली कथा, काठमाडौँ- साझा प्रकाशन ।

श्रेष्ठ, दयाराम, (वि.सं. २०५७), नेपाली कथा भाग ४, काठमाडौँ- साझा प्रकाशन ।

………………, (वि.सं. २०५९), नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, (छैँ.सं.), ललितपुर- साझा प्रकाशन ।

शर्मा, मित्रदेव, (सन् २०१८), उत्तर पूर्वाञ्चलका नेपाली साहित्यस्रष्टा र सृष्टिको जन्मानुक्रमिक सूचि, तेजपुर- डा.रिजुस्मिता शर्मा ।

शर्मा, डा. गोमा देवी, (सन् २०१८), भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास, मणिपुर- गोर्खा ज्योति प्रकाशन ।