सन् २००५ मा अलइन्डिया रेडियो गुवाहाटीबाट रेडियो कलाकारका रूपमा स्वीकृतिप्राप्त स्रष्टा पनि हुन् रिजुदेवी । औँसीको चन्द्रमा (कथासङ्ग्रह, २००७), वरपीपल (संयुक्त कवितासङ्ग्रह, २००८), अनमोल हीरा (कथासङ्ग्रह, २०१७), गीतमञ्जरी (गीत, २०२०), सूर्यस्नान (असमीया कवितासङ्ग्रह, २०२०) रिजुका प्रकाशित पुस्तकहरू रहेका छन् ।
प्रस्तुत छ, ढेकियाजुली शाखा साहित्य सभा, भारतीय गोर्खा परिसङ्घ, गोर्खा सांस्कृतिक परिसङ्घलगायत संस्थामा आबद्ध रिजुदेवीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;
प्रकाशनका दृष्टिले पहिलो कुन रचना हो ?
प्रकाशनका दृष्टिले चाहिँ पहिलो रचना हो असमीया कथा “ममता” र यो सन् १९९९ मा शोणितपुर जिला साहित्य सभाको रङाचकुवा अधिवेशनको स्मृतिग्रन्थ “बरडिकराई” मा प्रकाशित भएको थियो । “देशवार्ता” नेपाली पत्रिकामा चाहिँ सन् २००० मा पहिलो ‘प्रत्याह्वान’ कविता प्रकाशन भएको थियो ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यावस्था ?
जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा म कस्तो देख्छु भन्दा यसको जवाफ साह्रै लामो हुन्छ । जीवन भनेको नै दुःखसुख, पीरमर्काको, हर्षानन्दको समाहार रहेछ । त्योभन्दा पनि अझ अर्थपूर्ण रूपमा भन्न जाँदा जीवन एउटा सङ्घर्ष नै रहेछ । न सोचेको हुन्छ न चाहेको पुग्दो रहेछ । फेरि पनि जीवनले हार्न कहिल्यै सिकाएन । अपितु जीवनबाट धेरै शिक्षा पाइयो लेखेर, ठोक्किएर र भोगेर ।
मेरो बाल्यकाल मावलमा बित्यो । सात वर्षकी छँदा आमा परलोक धाउनुभयो । बाबा रहेर पनि बाबाको ममताबाट वञ्चित भएँ । आमा छँदै बाबाले दोस्रो विवाह गर्नुभएको थियो । मेरी आमातिर म एउटै छोरी र सानी आमातिर मेरा चार जना भाइ छन् । मामा-सानिमा, हजुरआमा-बाले आमाबाबाको भरपुर मायाँ दिनुभयो र पनि मनबाट सधैँ एकलो अनुभव गरिरहने गर्थेँ । साथीसङ्गी पनि धेरै थिए र पनि एकान्त मन पर्थ्यो घरिघरि । त्यसर्थ आफूलाई बिस्तारै लेखन कार्य र सङ्गीतमा व्यस्त राख्न थालेँ । मेरो शिक्षादीक्षा, अरू थोक सबै मावलबाटै भयो । म असमिया साहित्यमा स्नातकोत्तर भएपछि मेरो विवाह ओमप्रकाश बस्नेतज्यूसँग सम्पन्न भयो । जीवनमा सरकारी जागिर खाने एउटा सपना थियो, त्यो पूर्ण भएन । उहाँले मलाई हर मोडमा साथ दिनुभएको छ । साँचो भन्नु हो भने श्रीमान्का रूपमा असल साथी पाएकी छु । बाल्यकालका भोगाइ, पीडाहरू सबै बिर्सिएकी छु ।
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
त्यो मेरो जीवनको अमूल्य घडी हो । त्यसले मलाई अझ प्रेरित गर्दछ । साहित्य अथवा अरू थोकै शुभकाम भए पनि सुरुका दिन साह्रै स्मरणीय हुन्छन् । मेरो कर्मथलो रङाचकुवा भेकलाई नमन गर्दछु ।
प्रेरणा कहाँबाट मिल्यो ?
मेरो एक जना मितेरी मावली हजुरबा विश्वम्भर सिंह हुनुहुन्छ । उहाँले मलाई लेखनेगाउनेतर्फ उत्साहित गर्नुहुन्थ्यो । असमीया साहित्य सभाका धेरै अनुष्ठानहरूमा मलाई लिएर जानुहुन्थ्यो । म गीत कविता गाउँथेँ । फेरि मावली घरमा मामा-सानिमाहरूको प्रेरणाले मलाई अघि बढने सुअवसर दियो । कथा लेख्न मलाई उत्साहित गर्ने मेरा परम आदरणीय दाजु हुनुहुन्छ नाट्यकार पूर्णकुमार शर्माज्यू । त्यसरी नै साहित्यप्रति रुचि बढ्दै गयो । अहिले पनि मेरो निवास साहित्य अकाडेमी प्रापक वरिष्ठ साहित्यकार तथा काव्यरथी छविलाल उपाध्यायज्युको अलिक सामुन्ने भएकाले गर्दा म बिच-बिच गइ नै रहन्छु । उहाँले सधैँ लेख्न-पढ्न प्रेरित गर्नुहुन्छ । अर्को कुरा मेरा श्रीमान् लगायत घरका परिवारवर्गले पनि झनै मलाई प्रेरणा-सघाउ पुऱ्याउनुहुन्छ ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ? किन ?
यसै त मेरा गीत, कविता, कथाको पुस्तकहरू प्रकाशमा आएका छन् । साथै निबन्धादि पनि लेख्दै छु । म अझ पनि सिक्दै छु । आफूलाई यो विधाकी स्रष्टा हुँ भन्न रुचाउँदिनँ । समाजका निम्ति केही गर्ने ध्येयले कलम चलाउँछु । मेरा बारेमा समाजले नै निर्णय गर्ने छ ।
कथालाई कसरी परिभाषित गर्नुहुन्छ ?
कथा पाठकमा प्रभाव जमाउन सक्ने रोचक, आख्यानात्मक र उद्देश्यात्मक साहित्य हो ।
कवितामा के हुँदा राम्रो हुन्छ ?
कवितामा सकारात्मक सोच अथवा भावको साथै पर्याप्त शब्दभण्डार, कल्पनाशक्ति अनि अलङ्कार, बिम्बादि हुन आवश्यक छ । मलाई लाग्दछ कविता समाजका विसङ्गति र कुसंस्कारमा संस्कार ल्याउने अमोघ अस्त्र हो ।
कथा सृजनामा के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
कथामा ठोस उद्देश्य र परिणामको साथ साथै कथावस्तु, पात्रपात्रा, भाषाशैली, परिवेश, कथोपकथन आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
तपाईँ त गीत पनि गाउनुहुन्छ । गायनयात्रा चाहिँ कसरी सुरु भएको थियो ?
म कक्षा सातमा छँदा मेरी असमिया साथी एउटीले स्कुलको वार्षिक अधिवेशनमा गीत गाएको देखेर म सङ्गीतप्रति आकर्षित भएँ । म पनि गाउन सक्छु भन्ने दृढताले गर्दा प्रथम ज्योति दिवसमा गीत गाएकी थिएँ । त्यो पनि कक्षा सातमा छँदा । त्यहाँ म प्रथम पुरस्कार पाउन सफल भएँ । त्यसपछि स्कुल, कलेज, अधिवेशन आदिमा गाएर पुरस्कृत हुन थालेपछि सन् २००५ मा गोवाहाटी अल इन्डिया रेडियोबाट रेडियो कलाकारको स्वीकृति पाएँ । कक्षा नौबाट एलबममा गाउने क्रम सुरु भएको हो र त्यो क्रम अझ पनि जारी छ । धेरै उतारचढावहरू आए । म आफ्नै गीतहरू गाउन धेरै मन पराउँछु । अर्को कुरा म असमिया, हिन्दी गीत पनि गाउँछु । म महापुरुष शङ्करदेव विरचित बरगीत पनि गाउँछु । मलाई बरगीत गाउन अमूल्य बराज्यूले सिकाउनुभएको हो ।
नेपाली गीत गाएरै बाँच्न सक्ने अवस्था छ असममा छ कि छैन अथवा गायनको अवस्था कस्तो छ ?
गीत गाएरै बाँच्न सक्ने स्थिति त एकदमै छैन असममा । असममा नेपाली धुन भएका स्टुडियोहरू छैनन् भन्दा अत्युक्ति नहोला । नेपाली वाद्य खोज्दै हामी दार्जीलिङ या त नेपाल धाउनुपर्छ । दार्जीलिङभन्दा पनि असल चाहिँ नेपालमा नै सङ्गीत पाइन्छ । फेरि हामी असममा बसोबास गर्ने हुनाले हामीले यहाँको गीतसङ्गीत, कलादृष्टिलाई सम्मान गर्नुपर्ने हुन्छ । असम विभिन्न जाति-जनजातिको मिलनभूमि हो । त्यसर्थ हामी यहाँको गीतसङ्गीत, भाषाबारे सम्पूर्ण अवगत छौँ । उहाँहरूले पनि हाम्रो गीतसङ्गीतलाई धेरै मायाँ गर्नुहुन्छ । हाम्रो संस्कृतिलाई आदर गर्नुहुन्छ । असममा अहिले धेरै मात्रामा गायक-कलाकारहरू उब्जिएका छन् । त्यस हिसावले हाम्रा वाद्ययन्त्रीको अभावले गर्दा गीत एउटा गाउनका निम्ति पनि अर्कै जातिभाइलाई चिल्लो लाउनुपर्छ । अर्को कुरा प्रोड्युसरको पनि धेरै खाँचो छ । त्यस अवस्थामा गीतसङ्गीतको व्यवसाय, भविष्य कस्तो हुन सक्ला र !
सृजना र गायनमा के अन्तर पाउनुभयो ?
सृजना त निमित्तले मात्र रुचाउँछन् । जसको त्यस विधामा रुचि छ त्यसैले मात्र पढ्ने गर्छन् तर गीतसङ्गीत अथवा गायनमा चाहिँ साना लालाबाला, बुढाखाडा, लुलालङ्गडा सबै रमाएको देखिन्छ । सृजनाको आदर बौद्धिक महलले मात्र गर्दछन् भने सङ्गीतको आदर चराचुरुङ्गीदेखि लिएर अरू सबैले गर्दछन् तर गहनशील लेख र मार्जित धुनको सङ्गीतलाई सबैले आदर गरेको देखिन्छ । सृजना र गायनमा मैले यही अन्तर पाएँ ।
गीतका सम्भावना र चुनौतीहरू के-के हुन् ?
परिमार्जित र अर्थपूर्ण गीतसङ्गीतको कहिल्यै मरण छैन । गीतसङ्गीत पनि साहित्य-लोककलाको महत्त्वपूर्ङ् अंग हो भनेर जाति-भाषा-सङ्गीतप्रेमीहरूले सोचिदिने हो भने गीतको पनि असममा केही मात्रामा सम्भावना देखिन्छ । असममा पनि यति बेला आफ्नो जातिभूमि, देश तथा यहाँको हावापानीलाई लिएर धैरे राम्रा-राम्रा गीतसङ्गीत सृष्टि भएका छन् । धेरैभन्दा धेरै गीतसङ्ग्रह लेखिएका छन् तर भएर मात्र भएन । कलालाई मायाँ गरिदिने धेरैभन्दा धेरै मन हुनुपऱ्यो । नत्र गीतका चुनौतीहरूबारे त रहल कुरा गरिसकेकी छु माथि ।
तपाईँको लेखन तथा गायनमा समाजका कुन वर्गका वा केकस्ता छन् भाव भएजस्तो लाग्छ ?
मेरा गीत तथा लेखनमा धेरै निम्न र मध्यमवर्गीय परिवारको हर्षानन्द, पीडा, प्रतिवाद, सकारात्मक भावको साथै देशप्रेम, मानवप्रेम, प्रकृतिप्रेम अनि सामाजिक विसङ्गति र भ्रष्टाचार आदिको विरोधाभास छ ।
असमेली नेपाली सहित्यमा गीतलेखन र प्रकाशनलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
असममा गीतको स्थिति कस्तो छ अघि भनिएको छ तर पनि भन्न चाहन्छु । असममा गीतकार, गायकहरूलाई कमती नै प्रोत्साहित गरेको देखिन्छ । गीतसङ्ग्रह एउटा प्रकाश गर्नका निम्ति प्रकाशक पाउन मुस्किल छ । गीतको समीक्षा कम्ती हुन्छ । गीतसङ्ग्रह कसैलाई दियो भने, यो के गर्नु र गीत नगाउनेले, यो अब बाथरुममै गाउनुपर्ला भनेर भनेको यिनै कानले पनि सुनिएको छ । जहाँसम्म मलाई लाग्छ गीत र कवितामा धेरै फरक हुँदैन । कवितामा भएजस्तो गीतमा पनि भाव, भाषा, रस, अलङ्कार सबै हुन्छ । त्यो भावलाई चाहिँ पाठकले ध्यान दिनुपर्ने हो । गीतले जागरूकता ल्याउन सक्छ, परिवर्तन ल्याउन सक्छ । यो कुरा बुझ्न अझ बाँकी छ ।
नेपाली गीतको गायन, लेखन र अध्ययनमा युवावर्गको वर्तमान अवस्थालार्इ कसरी हेर्नुहुन्छ ?
प्रोत्साहनको कमीले हो वा रुचि नहुनले हो गीत लेखन र अध्ययनमा युवावर्गलाई थोरै नै खिप्पिएको देखिन्छ तर गायनको मैदानमा चाहिँ धेरै नयाँ गायक कलाकारहरू उत्रिएको पाइन्छ तर अहिलेको समय परिस्थिलाई हेरेर युवावर्गले असमको पृष्ठभूमि अथवा आफ्नो जन्मभूमि, कर्म भूमिलाई लिएर, हाम्रा पुर्खाहरूको त्याग बलिदानलाई लिएर अनि समन्वय सद्भावनामूलक गीत लेख्नुपर्ने हो जस्तो लाग्छ ।
असमेली नेपाली साहित्यमा आशालाग्दा नारी स्रष्टाहरू कहाँबाट को-को हुनुहुन्छ ?
असमेली नेपाली साहित्यमा अहिले धेरै नारी स्रष्टाहरू झल्किएको देखिन्छ । जस्तै इन्दिरादेवी गौतम, पूजा उपाध्याय, अनुपमा कटेल, नैना अधिकारी, कविता पौडेल, नीलिमा आचार्य, दुलुमणि देवी…..आदि । इन्दिरा देवीले लघुकथा लेख्नुहुन्छ । साहित्यलेखनमा अहिले कविताले नै धेरैजसो उन्नति गरेको देखिन्छ । वर्तमानका धेरै नारी स्रष्टाले कवितासङ्ग्रह पनि प्रकाश गरि सक्नुभएको छ । मुक्तले पनि गति पाएको छ । सान्तना देवी, दमयन्ती देवी पनि साहित्य क्षेत्रमा अघि बढ्दै हुनुहुन्छ ।
असमेली नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के-के छन् ?
असमेली नेपाली साहित्यमा नयाँ-नयाँ कवि, मुक्तककार,गजलकार, लेखकहरू धेरै जन्मिएका छन् । त्यो एउटा सकारात्मक दिशा हो तर सृजना गरेअनुसार उत्साह, प्रेरणा चाहिँ कमती नै मिल्छ । यहाँ किताब किनेर पढ्ने दस्तुर एकदमै निम्न मानको छ । किताब प्रकाश गरेर उपहार दिनुपर्छ । प्रकाशक, समीक्षकको खाँचै छ ।
ती चुनौतीहरूलाई समाधान गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
चुनौतीहरूलाई समाधान गर्ने हुँदा ठुलाबडा, वरिष्ठको दर्जामा पर्ने साहित्यिकहरूले किताब किनेर पढेर, किताबका बारेमा समीक्षा गरेर प्रोत्साहित गरिदिनुपर्छ । किताब एउटा प्रकाश गर्न निकै खर्च हुन्छ तर पनि साहित्यमा रुचि राख्ने बेरोजगार साहित्य प्रेमीहरूले पुस्तक प्रकाश गर्न खोज्दछन् र गरि पनि रहेका छन् । उनीहरूको यो त्यागलाई हेरेर पनि नयाँ लेखहरूलको पुस्तक पढेर कता के कमी रहेको छ त्यो औँलाइदिनुभने नयाँ प्रजन्म लाभमा रहनेछन् ।
असमेली नेपाली साहित्य र गायनमा आफूलार्इ कुन स्थानमा वा कहाँ पाउनुहुन्छ र किन ?
साहित्य र गायन क्षेत्रमा अझसम्म आफ्नो स्थान मैले तय गरेकी छैन । साहित्य होस् अथवा गायन विधा, मैले सिक्नु र गर्नु पर्ने धेरै छ । साहित्य-सङ्गीत मेरा दुवै प्रिय हुन् । जीवन रहुन्जेलसम्म मेरो सामाजिक दायित्व हो भनेर सोचेर पहिलो दर्जा दिन्छु । मेरो योग्यता भए समयमा पाठक र श्रोताले नै मेरो स्थान तय गर्नुहुन्छ ।
स्रष्टाहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
केवल मनोरञ्जनका निम्ति मात्र साहित्य गर्ने हैन । स्रष्टाको कलममा सुपरिकल्पनाका साथै लक्ष्य र उद्देश्य हुनुपर्छ । जुनचाहिँ समाज र देशको हितकारी बन्छ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्दछ ?
यो एउटा सुन्दर प्रश्न हो । हाम्रो समाजमा यस्ता धेरै स्रष्टहरू छन्, जो वेरोजगार छन् । राम्रो कलम चलाउँछन् तर पुस्तक प्रकाश गर्न सक्षम हुँदैनन् । अर्को कुरा जसले निःस्वार्थभावले साहित्य सेवा गरिरहेको छ उसले जसरी भए पनि पुस्तक प्रकाश गरेर साहित्य भण्डारमा थप गरेकै हुन्छ । यस्ता स्रष्टाहरूलाई सरकारले अवश्य पनि सुदृष्टिले हेर्नैपर्छ । यहाँ राज्य सरकारले यस्ता वेरोजगार साहित्यिकहरूको मनोबल बढाउनका निम्ति केही अनुदान दिने योजना राखेका छन् र त्यही योजनाको तहतमा मेरा श्रीमान् ओम प्रकाश बस्नेतज्यू र मैले राज्य सरकारको “असम भाषा गौरव योजना” अन्तर्गत लेखक संवर्धना पुरस्कार विगत २०२१ सन्को १ फेब्रुअरीमा पाउन सक्षम भएका थियौँ । सरकारको यो सराहनीय पहललाई मुरी-मुरी धन्यवाद दिन चाहन्छु ।
असमेली नेपाली साहित्य र गीतसङ्गीतको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
निकै दयनीय स्थिति छ । सामाजिक सञ्जालमा साहित्य-सङ्गीत दुवै सुन्न र पढ्न पाइएकाले गर्दा बजारको स्तर घटेकै देखिन्छ । अर्कातिर कुनै रुपियाँ खर्च नगरी सोसियल मिडियामा टक्क पढ्न-सुन्न पाइएका लागि प्रतिभा विकासमा सहायक भएको छ ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
नबिर्सने क्षण धेरै छन् । म सात वर्षकी छँदा आमा बित्नुभएको हो । त्योभन्दा पहिला आमा कतै-कतै जानुपर्दा धेरैजसो मलाई सानिमाको साथमा छोडेर जानुहुन्थ्यो । म रोइकराइ गर्दा पनि जान पाउने थिइन् । छिटै छोडेर जानुहुने रहेछ र… भन्ने लाग्छ अझै पनि । पेटभरि खान नपाए पनि “आमा” भन्न चाहिँ पाइरहूँ जस्तो लाग्छ अझै । बिहेअघि धेरै साङ्गीतिक कार्यक्रम गरियो । जाडो-गर्मी, नजिक-टाढा, सुविधा-असुविधा भनेर कहिल्यै भनिएन । त्यो बेला कार्यक्रम सकेर खाएको चिसो भात, चिसो दाल, कोही ठाउँमा खाएको बासी भात, कोही ठाउँमा सय-दुई सय,कोही ठाउँमा रित्तो हात अझै याद आउँछ । यी कुरा सम्झेर मन रोमाञ्चित हुन्छ । कलेज पढ्दा तेजपुरमा कोठा भाडा गरेर बस्दाखेरि म र मेरी सानिमाकी छोरी बहिनी एक ठाउँ केही कामले जानुपर्ने भएको थ्यो र ब्यागमा रुपियाँ नहुँदा हामी दुई बहिनी खाली ब्याग बोकेर त्यति लामो टाउनको बाटो डङडङी हिँडेर पुगेको सम्झना आउँछ झलझली । दुवै भेट हुँदा अझै त्यो कुरा गरेर भुँडी समाती-समाती हाँस्छौं ।
२०१८ सन्मा बैङ्गलोर साहित्य अकाडेमीबाट कवितावाचन गर्न निम्ताएको क्षण मेरा निम्ति चिरस्मरणीय रहने छ । त्यही मौकामा वीणाश्री खरेल दिदी, असमबाट जयश्री बोडो, नीलिमा हक, मणिकुन्तला भट्टाचार्य, निरू पराजुली दिदी,.. आदि विशिष्ट लेखिकाहरूलाई नजिकबाट भेट्ने मौका पाएकी थिएँ । साउथका धेरै प्रतिष्ठित साहित्यकार, कविलेखकहरूका बिच आफ्नो उपस्थिति सोचेर गर्वित हुन्छु सधैँ । असम सरकारद्वारा २०२० सन्मा प्रदान गरिएको भाषा गौरव सम्मान एउटै मञ्चमा हामी दुवै पतिपत्नीले एकैसाथ थापेको मेरा लागि ऐतिहासिक पल हो ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
इन्द्रेनीको सातौँ रङ्गजस्तै हो जीवन । यहाँ हरेक रङ्गको गहिरो विशेषता छ । यस्तै रङ्गमा रङ्गिएर जीवनका हरेक पाटाबाट शिक्षा लिएर चल्नु नै जीवश्रेष्ठको नीति हो ।
जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?
वर्तमान हातमा असमीया निबन्धसङ्ग्रहको काम लिएकी छु । त्यो यही वर्षमा प्रकाशमा ल्याउन तरखर गर्दै छु र त्यो भएपछि २०२० कै कोरोनाकालीन समयमा एउटा नेपाली अपन्यास “उषा” असमीयामा अनुवाद गरिराखेको प्रकाशमा ल्याउने तरखर गर्नेछु । त्यो उपन्यास बनारस निवासी काशीबहादुर श्रेष्ठको हो । भविष्यमा कथा र निबन्ध नै मौलिक साहित्यको रूपमा लेख्नेछु ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
साहित्यमा लागेर केही गुमाएजस्तो लाग्दैन । अझ धेरै पाएजस्तो लाग्छ । धेरै सिक्ने, जान्ने मौका पाएकी छु । पाउने र गुमाउने हिसाब राख्यो भने मनमा कष्ट हुन्छ । मनलाई धेरै कष्ट दिन चाहँदिनँ । आफ्नो यो निरन्तरता कहिल्यै नटुटोस् यही कामना गर्दछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।