पश्चिम बङ्गालस्थित जयगाउँमा सन् १९५४ मा जन्मिएका दिलमान राई ‘चोट’का कसैको प्रतीक्षामा (कविता, २००४), शीतविन्दु (गीतिकाव्य २००५), कालरेखा (तेलुगु अनुवाद, निबन्ध २०११), गजल अन्जली (गजल, २०१६) कृति प्रकाशित छन् । श्रष्टा पुरस्कार (पश्चिम सिक्किम साहित्य प्रतिष्ठान गेजिङ, सिक्किम, २००५) र बद्रीनारायण प्रधान अनुवाद पुरस्कार (नेपाली साहित्य समिति, डुवार्स, २०१५) प्राप्त राई सन् २०१४ देखि केन्द्रीय जल आयोगबाट अवकाश प्राप्त कार्मचारी हुन् ।

प्रस्तुत छ, हाल हैदराबाद निवासी दिलमान राई  ‘चोट’सँग साहित्यपाेस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंशः

लेखनको दृष्टिले तपाईंको पहिलो विधा कुन हो ?

मेरो लेखनको सुरुवात कविताबाटै भएको हो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो रचना कुन पत्रिकामा प्रकाशित भएको थियो ?

प्रथम रचना ‘प्यारोडी’ हो जुन हास्यव्यङ्ग्य पत्रिका प्रहास र पछि सालममा सन् १९८० मा प्रकाशित भएको थियो

जीवनको बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?  कहाँ र कसरी बित्यो बाल्यवस्था ?

सन् १९७० अर्थात १४, १५ बर्षको उमेरमा जन्मथलो जयगाँउ, हाटखोला लाइन छोडेर भुटान प्रस्थान गरेँ । पछि आधार केन्द्रीय जल आयोगमा अस्थायी सानो जागिर भयो । आफ्नो एकान्तप्रेमी स्वभावको प्रवृति हुनाले त्यहाँको प्राकृतिक सौन्दर्यले कलिलो मस्तिष्कमा कुण्ठित भावनाहरू प्रस्फुटित हुनु स्वभाविक थियो । कति कुरा मनमा लेखिए र मनैमा दफन पनि भए ।

दिलमान राई ‘चोट’

भुटानबाट सन् १९७७ सालमा साहित्यको उर्वर भूमि सिक्किमको राजधानी गान्तोकमा पदार्पण गरेँ । प्रथम मौलिक कथा “खुशीको आँसु” सामाजिक साहित्यिक सङ्कलन “क्षितिज”मा प्रकाशित भएको थियो । सम्पादक थिए पारसमणि खनाल । सिक्किमको सेतीपूलमा बसेर गीति काव्य ‘शीतबिन्दु”को पनि सृजना गरेँ ।

सन् १९८४ देखि २००५ सम्म आन्ध्र प्रदेश (हाल तेलंगाना) मा बसाई रह्यो । ‘कसैको प्रतीक्षामा’ कविता सङ्ग्रहको सृजना गरेँ । अनेपाली परिवेशको तितो भोगाइ यस किताबको धरातल हाे ।

सन् २००५ देखि २०१४ सम्म यवतमाल महाराष्ट्रमा व्यतित भयो । यसैबिच सन् २०११ मा ‘कालरेखा’ दिल्ली साहित्य अकादमीको अनुबन्धमा प्रकाशित भएको थियो । यसमा भारतीय नेपाली साहित्यका प्रख्यात समालोचक, कवि, साहित्य अकादमी दिल्ली नेपाली विभागका संयोजक अनि मेरा मार्गदर्शक आदरणीय डा. जीवन नामदुंग सरको ठूलो हात छ । उनको म आजीवन ऋणी रहने छु । सन् २०१२ देखि फेसबुकमा जडित छु । त्यहीँबाट गजल भन्ने चरोलाई समात्ने कोसिसमा छु।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?

अँ, सुरुवाती दिनहरू प्रतिकूल थिए । नेपाली पत्रिकाहरू पढ्न नपाइने । बरु हिन्दी उपन्यास पढिन्थ्यो । अक्कलझुक्कलमा भेटिएका पत्रिकाहरूमा कथा कविता पढ्दा आफ्नो कलिलो मस्तिष्कले म पनि लेखेर छपाउँथेँ । लेखक, कवि बन्छु भन्ने रहर हुन्थ्यो । चिट्ठी पत्रको जमाना । तर उत्तर आउन महिना दिन लाग्ने । मोबाइल क्रान्ति आएकै थिएन । सामाजिक सञ्जालको द्वार खुलेकै थिएन । आज मिडियाद्वारा मिनटमै नजिक हुन्छौँ । हर्ष या शोकमा सम्मिलित हुन्छौँ, तर यति नजिक भएर पनि आज हामी व्यवहारिकतामा टाढै छौँ।

प्रेरणा के कहाँबाट मिल्यो ?

मनमा कुण्ठित कोमल भावनालाई कागजमा उतार्दा केही सन्तुष्टि प्राप्त हुने अनुभूतिले नै  लेखनतिर प्रेरित गर्यो कि जस्तो लाग्छ ।

तपाईँ त पूर्वी डुवर्समा जन्मिनु भएको व्यक्ति, पहिले र अहिले डुवर्सको साहित्यलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

आफू कलिलै उमेरमा गाउँघरदेखि रोजगारीको सिलसिलामा बाहिरिनु परेको हुनाले सामाजिक गतिविधिसँग त्यति संलग्न हुने अवसर जुरेन । यद्यपि उतिखेरको युवावर्गमा पत्रिकाहरू छाप्ने जोशजाँगर आजको तुलनामा निकै थियो भन्न पर्छ । समय बद्लियो । कुन्ताको आलस्यपन त्यहीमाथि लकडाउन । रचना वाचन, सेमिनार, उद्घाटन, योगासन, रोग निवारण हरेक कुरो त वनलाइन सम्भव छ । त्यसैले मेरो जन्मथलो प्यारो डुवार्स भूमि झनै उर्वर छ । साहित्यको खेतीमा कर्मठहरू लागिपरेकै छन् ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

कथा, निबन्ध, कविता, गजल पनि लेख्नु हुन्छ । आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ र किन ?

कथा, कविता, निबन्ध लेखनमा सन २०१२ देखि बिराम लगाइयो । मोमिला जोशी मिसले सन् २०१२ देखि फेसबुकसँग परिचय गराउनु भएपछि गजल लेख्ने प्रयासमा छु । आजप्रयन्त लेख्दैछु । स्रष्टा भनिनुमा रूची राख्नुभन्दा चुपचाप कलम चलाइरहनुमा विश्वास गर्नु पर्ला ।

यहाँको शीतविन्दु गीतिकाव्यमा के छ ?

बिछोडको पीडा छ । बेकारीको व्यथा छ । लाचारीको कथा छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तिका मुनामदनबाट प्रेरित भएरै लेखिएको हाे शीतविन्दु । समग्रमा भन्नु पर्दा यो मेरै ती कष्टदायी दिनहरूका दस्ताबेज हो ।

कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

कविको कोमल भाव नै कल्पनाकी देवी कविता हुनु पर्छ । आन्तरिक अनुभूतिको उत्फुरण र बाह्य अनुभवको दर्शनद्वारा शब्दको सोपान हुँदै मन मष्तिष्कबाट कागजमा अवतरित हुने गर्छिन् ।

गजललाई कसरी परिभाषित गर्नुहुन्छ ?

कविता, गजल दुवै सरस्वतीकै पूरा प्रसाद हुन् । भिन्नता यति छ कि भावकाे माध्यम गजल लेखनमा केही सिद्धान्तको पालन गरिनुपर्ने हुन्छ । सामान्यतः एउटै बहर र एउटै मिटर मुताबिक लेखिने समूह नै गजल हो जस्तो लाग्छ । अरबी भाषा अनुसार गजलको अर्थ औरतसितको वार्तालाप पनि मानिन्छ । मलाई त लाग्छ, गजल त्यो सानो, सुन्दर, बुङ्गे चरी हो जो घरि घरि पुष्परस चुस्न, दुई मसिना रङ्गीन प्वाँख फरफर गर्दै मेरो मनको फूलबारीमा आउने गर्छ ।

गजललाई केले राम्रो बनाउँछ ?

हार्दिकता, मधुरता, कोमलता, सरलता, सरसता अनि सत्यताको सुन्दर अभिव्यक्तिले मन छुने हुन्छ सायद ।

गजल धेरै लेखिन्छ तर कमैमात्र पढिन्छ । बिक्री पनि कमै हुन्छ । किन यस्तो भनिएको हो  ?

यो असत्य हो भन्न मिल्दैन । मेरो नजरमा गजल धेरै यसकारण लेखिन्छ । अन्य विधा झैँ कताबाट थाल्नु अनि कसरी टुङ्ग्याउनु भन्ने झन्झट गजलमा हुँदैन । वश एउटा शेरलाई बहर वा मिटरमा काफिया र रदिफ फिट गरेर दिवाल बसायो, त्यसपछि मिसराको इँटा थपिदै जान्छ । रह्यो पढिने कुरा । पढछन् नि ! अवश्य पढ्छन् । वस्, किन्नमा अलिक कन्जुसी गर्छन् । ‘गजल अञ्जली’ २०१७ मा मात्र ५०० प्रति छापेको अझै कुनामा सडिरहेछ । पुनः छाप्ने हिम्मत हुँदैन त्यति हो ।

 कालरेखा तेलुगु भाषाबाट अनुवाद पनि गर्नुभएक छ । के छ यस पुस्तकमा ?

२३ वटा निबन्ध रचनाको सङ्ग्रह हो । यसमा वाल्मीकि रामायण, मेघ सन्देश, अरविन्द सावित्री र व्यास को हुन् ? तुलनात्मक साहित्य, प्राचीन ग्रीक, प्राचीन भारतीय नाटक तुलनात्मक परिशीलन, विक्रम उर्वशी, एक कवि दुई ऋषि, सूर्य सतक एक अध्ययन, विप्लव कविता साहित्य विमर्श, गजल एउटा चुम्बकीय विधा, गजल एउटा अग्नि, गजल एउटा संस्कृति, गजल सुन्दर छन्द, प्राचीन गजलमा जगत, कविता बोध, छन्द कविताको उमेर, वाचन कविता एउटा विश्व पर्यवेक्षण, तिरुपती बैङ्कट कविद्वय, गुरुराज अप्पाराव, पागुण्टी लक्ष्मीनरसिंह राव, धर्मवर रामकृण आचार्य, चिलकमुर्ति लक्ष्मीनरसिंह लगायतका परेका छन् ।

अनुवाद गर्न किन यही पुस्तक छनौट गर्नुभयो ? के ले यहाँलाई यही पुस्तक अनुवाद गर्न प्रेरणा मिल्य?

यहाँ पुनः आदरणीय सर डा. जीनव नामदुंगलाई सम्झन्छु । कालरेखाको श्रेय उहाँलाई नै जान्छ । कालरेखाको ‘मैले भन्नु पर्दा’का केही हरफहरू अक्षरशः उधृत गर्न चाहेँ । (कालरेखाको उल्था कार्यलाई पनि एउटा घटना वा संयोगकै रूपमा लिनु पर्ला । किनभने यो उल्थाको कार्यभार यो पङ्क्तिकारलाई नभएर विकल (पुत्र) लाई नामदुंग सरले उनी हैदराबाद पाल्नुहुँदा सुम्पेका हुन् । उनका गुरू श्री गुन्टुर शेषेन्द्र शर्मा तेलुगुका महाकवि (सन् १९२६-२००८) भाषाविद्, विद्वानका पुस्तक कालरेखा’ (साहित्य अकादमी पुरस्कार प्राप्त) कोभित्री पष्ठमा यस्तो लेख्नु भएको रहेछ । ‘प्रिय विकल ! यो तेलुगु पुस्तकलाई नेपाली भाषामा उल्था गरेर मलाई पठाउनु सुधार्ने र छाप्ने काम मेरो हुनेछ – सही, स्नेही डा. जीवन नामदुंग, होटेल कृष्णा, हैदराबाद -१९ फरवरी १००३ ।

उपरोक्त शब्दलाई मैले यसकारण उतार्नु पर्यो, किनकि आजको आधुनिक प्रतिस्पर्धाको दौडमा, व्यस्तताको भीडमा कसैलाई एकछिन सोच्ने र एक गाँस राम्ररी चबाएर निल्ने फुर्सद हुँदैन । साथै सबैमा साहित्य जस्तो विषय रूचिकर हुन्छ भन्नु मिल्दैन । फलस्वरूप मेरो सहरिया पुत्रमा पनि न साहित्यप्रति रूची थियो न सोच्ने समय नै । यो कुराले मलाई निकै दिन सतायो । अन्तमा एउटा निर्णयको किलो ठोकियो । कुनै पनि यात्रामा हिँड्नुभन्दा अघि लक्ष्य निर्धारण गर्न आवश्यक पर्छ ।

कुनै पनि कार्यको पछि एउटा न एउटा प्रेरणाले काम गरिरहेको हुन्छ । सफलता असफलताको सवाल गौण भए तापनि कामको थालनीलाई अति महत्त्वपूर्ण मान्नु पर्छ । अतः साहसको सामल, सङ्कल्पको सरजाम र मनोबलको गोल (लक्ष्य) लिएर लगनशीलताको पाइलो चालिरहे कमसे कम एक दुई आगन्तुक शब्दको सहर त अवश्य भेटिएला, एक दुई अपरिचित अनुहारसित परिचय त भइएला । यसै क्रममा अघिपछि केही नसोची यो जोखिमपूर्ण उल्थाको आहालमा झ्वाम्म फाल हान्छु । मेरो निम्ति नितान्त नया र धमिलो थियो यो विशाल तेलुगु साहित्य सरिता तर भन्छन् नि अनुभवले मानिसलाई सिपालु बनाउँछ । त्यसैले यो सानो कोसिसको ठूलो ऐनामा उभ्याएर अक्षराम्भ गर्छु । कठिन परिश्रमपछि पाण्डुलिपि तयार हुन्छ जुन आज पुस्तकको रूपमा पाठकसमक्ष प्रस्तुत छ ।

अनुवाद गर्दा के के कुरामा ध्यान दिनु पर्छ ?

सर्वप्रथम त दुवै भाषामा पूर्ण ज्ञान हुनु आवश्यक  छ । शब्द वा वाक्यांशलाई जबर्जस्ती नटुक्र्याई कतिपय ठेट भाषाको मौलिकतालाई सरल शब्दमा उतार्न सक्षम हुनुपर्छ ।

अन्य लेखन र अनुवाद लेखनमा के कस्तो अन्तर पाउन भयो ?

आकाश पातालको अन्तर छ । अनुवाद गर्नु नै जोखिम उठाउनु हो । यो एकप्रकारको चुनौती पनि हो । भावको सन्दर्भलाई समात्नु नसके अर्थ नै अनर्थ हुने सम्भावना बढी हुन्छ ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?

परिस्थितिअनुसार साहित्य सिर्जना गरी आफ्नो रचनाको माध्यमद्वारा समाजको अन्तर्चेतनालाई जागृत गर्दै त्यहाँ विद्यमान विसङ्गति, असमानता, कुसंस्कार इत्यादिको निरुपण गरी जनमानसमा सजग र चेतनाको प्रकाश छर्नु  साहित्यकारको मूल दायित्व हो जस्तो लाग्छ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?

वर्तमान परिप्रेक्ष्यलाई नियाल्दा भारतीय नेपाली साहित्यको पहुँच अन्य साहित्यभन्दा कम छैन, तर जुन राज्य सरकारको अधीनस्थ कान्छी आमाको व्यवहार सहँदै ढुङ्गाको कापमा फुल्न बाध्य छ, त्यहाँ प्रोत्साहनको के आशा राख्न सकिन्छ ? अँ, समय समयमा साहित्य अकादेमी दिल्लीको नेपाली विभागले नयाँ नयाँ योजनाहरू चलाइरहेको छ ।

जस्तै विविध साहित्य कार्यक्रम, साहित्य भ्रमण अनुदान, सर्वभाषा कवि गोष्ठी र सम्मेलन, साहित्य सेमिनार, लेखन कार्यशाला इत्यादि । हरेक साल उत्कृष्ट कृतिलाई साहित्य अकादमी पुरस्कार, अनुवाद पुरस्कार, युवा पुरस्कार, र बाल पुरस्कार दिँदै आएको छ ।

राज्य सरकारले नेपाली भाषाका वरिष्ठ साहित्यकारहरूलाई समय छँदै मूल्याङ्कन गरी सम्मान अनि नवोदित साहित्यकारहरूलाई उनका कृतिहरू छाप्ने योजनाहरू चलाए प्रोत्साहित हुने थिए ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?

यो बजार भन्ने शब्द रमिता हेर्ने ठाउँ पक्कै होइन । कि त किन्न जान्छौँ कि त बेच्न ।

आजको जीवनशैली यही बजारमा निर्भर गर्छ भन्दा अत्युक्ति नहोला । केही किन्नै जान्छौँ बजार । छनौटपछि मोलभाउ गर्छौँ अनि मूल्य चुकाउँछौँ । आज आँखा गाडेर, ठूलो आशा लिएर वैश्विक बजालाई हेरिरहेछन् निवेशकहरू । समकालीन साहित्यको सन्दर्भमा भन्ने हो भने बजार शून्य देखिन्छ । पुस्तक पसलमा झुण्डिएर बसेका पत्रिकाहरूले नैरास्यमा आत्महत्या गर्न विवश छन् । चर्चामा आएका एकाध पुस्तकबाहेक सबै एककुनामा चुपचाप छन् । पुस्तक मेला लाग्दैन । लागे पनि ग्राहक हुँदैन । यति हो पठनमा ह्रास आए पनि लेखन क्रममा निरन्तरता कायम छ यही हो सन्तुष्टिको विषय ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?

स्मृतिपटमा धेरै छन् निजी चित्रहरू तर यहाँ सार्वजनिक गरेर त्यसको महत्त्वलाई धुमिल पार्न चाहिनँ ।

जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नुहुन्छ ?

जीवन, ईश्वर प्रदत्त सुन्दर वरदान हो । जस्तै परिस्थितिमा पनि चुनौतीलाई स्वीकार गर्दै अघि बढ्ने नाम जीवन हो । जीवनमा निराश, हताश भएर लक्ष्यको प्राप्ति हुँदैन ।

सुन्दर फूल फुलेर एक दिन ओइली झर्नु पर्ने कालावधिको अकाट्य सत्य पनि हो जीवन ।

जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?  के सार्वजनिक गर्न मिल्छ ?

प्रकाशक पाए एउट कथासङ्ग्रह, एउटा निबन्धसङ्ग्रह, एउटा कवितासङ्ग्रह र एउटा गजलसङ्ग्रह छपाउने मात्र चाहाना छ ।

अहिले साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?

गुमाएको केही छैन । धेरै पाएको छु । नेपाली साहित्यको भण्डारमा चारवटा भए पनि कृति थप्नु सकेकोमा धन्य ठानेको छु ।