
‘बीसौँ शताब्दीकी मोनालिसा’ का लागि सन् १९९९ मा साहित्य अकादमी पुरस्कार र रत्नश्री सुवर्ण पदक (सन् १९८५, नेपाल), प्राप्त व्यक्ति हुन् विक्रमवीर थापा । उनी सन् १९७१ को बङ्ग्लादेशको युद्ध लडेका भूतपूर्व गोर्खे सिपाही समेत हुन् ।
थापाका विगतको परिवेशभित्र (सन् १९८३), टिस्टादेखि सतलजसम्म (सन् १९८६) र माटो बोल्दो हो (सन् २००७) गरी तीनवटा उपन्यास प्रकाशित छन् भने बीसौँ शताब्दीकी मोनालिसा (सन् १९९७) शीर्षकमा कथासङ्ग्रह प्रकाशित छ । थापाका हत्या रातो डायरीको (सन् १९९४) र मणिसिंह गुरुङको जीवनी लगायतका कृतिसमेत प्रकाशित छन् ।
प्रस्तुत छ, सन् १९६८ भारतीय सैनिक सेवामा प्रवेश गरेका थापा सन् १९८३ मा सेवाबाट स्वेच्छिक अवकाश लिएर शिलोङ, बारपत्थरमा अवकाश जीवन बिताइरहेका विक्रमवीर थापासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश –
विक्रमवीरको लेखन नारीवादी लेखन हो भन्छन् नि, यहाँलाई कस्तो लाग्छ ?
म नारीवादी लेखक होइन, स्वछन्दवादी लेखक हुँ । आमाले मलाई जन्म दिनुभयो । आमा नारी भएकाले नारीलाई सम्मान दिन भनेर लेखिएका एकाध लेखादि पढेर कसैले मलाई नारीवादी लेखक भन्छ भने, उसले मेरा लेखहरू राम्ररी पढेको छैन भन्नेमा म विश्वस्त छु ।

विक्रमवीर थापा
यौनलाई कसरी हेर्नुहुन्छ ?
यौनलाई आनन्द लिनेको रूपमा नभएर सृष्टि सञ्चालन गर्नुपर्ने रूपमा हेर्छु । आनन्दको रूपमा यौनलाई हेर्ने अधिकांश व्यक्ति बलात्कारी हुन्छन् ।
विक्रमवीर पछिल्लो समयमा यौनवादी भयो भन्छन् नि ?
गोर्खेहरू अधिकांशले पुस्तक किन्दैनन्, पढ्दैनन् । फेसबुकमा समय काट्न भनेर लेखिएका मेरा लेखादि पढेर एकाध गोर्खेहरूलाई त्यस्तो लागेको हो । म यौनवादी छु कि अरू के छु भन्ने थाहा तब पो राख्न सक्थे जब मेरो आत्मजीवनी “कारगिल युद्ध-१९९९” किनेर गहिरिएर पढ्छन् । गोर्खेहरू धेरैजसोले बोक्रा पढ्छन्, गुदी पढ्दैनन् ।
तपाईँको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?
लेखनको दृष्टिकोणले मेरो पहिलो रचना कथा हो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना ?
कथा “कम्युनिस्ट” हस्तलिखित पत्रिका “तरुण” मा छापिएको सन् १९६९, शिलोङ । यसपछि मुद्रितरूपमा कथा “उपहार” छापिएको पत्रिका “युवक” मा ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?
बाबा म ३/४ वर्षको हुँदा अनि ११ वर्षको हुँदा आमा बित्नुभएकाले बाल्यकाल यसरी बित्यो भनेर अनुभव त्यति छैन । युवाकाल र वृद्धकाल कसरी बित्यो भन्ने थाहा राख्नचाहे मेरो आत्मजीवनी “कारगिल युद्ध-१९९९” पढ्नुपर्छ कसैले पनि ।

अन्तर्वार्ताकार : दीपक सुवेदी
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
साहित्यमा सुरुमा प्रवेश गर्दा असहज भएन । प्रेरणा कतैबाट पाएको होइन । स्वतः लेख्न आएको ।
साहित्य के हो जस्तो लाग्छ ?
साहित्य विश्वलाई लेखेर राम्रो सन्देश दिई विश्वलाई सुन्दर बनाउने विधा हो । यो मेरो आफ्नो विचार ।
भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कुन हो जस्तो लाग्छ ?
बढी लेखिएको विधा कविता हो । बढी लेखिने कारण भाषाज्ञान नभए पनि छोटो वाक्यांशमा लेख्न सकिने भएर । कथा, उपन्यास लेख्दा लामा-लामा वाक्य लेख्नुपर्ने अनि भाषाज्ञान नभए शुद्ध लेख्न नसकिने डरले धेरैजसोले कविता लेख्नेगरेका ।
थोरै लेखिने विधाचाहिँ ?
कम्ती लेखिएको महाकाव्य कारण महाकाव्य पुरानो परिपाटीमा अनुशासनबद्ध भएर लेखिनुपर्ने भएकाले जस्तो लाग्छ ।
समीक्षा र समालोचनाले पुस्तकलाई के गर्छ ? किन पुस्तकको समीक्षा र समालोचना गरिन्छ ?
समालोचना वा समीक्षा गरिने कारण पुस्तकभित्र परेका गुणदोषलाई छुट्याएर सम्बन्धित लेखकलाई सचेतना दिनु हो जसले गर्दा अर्को पुस्तक लेख्दा सो लेखकले आफ्नो गल्ती नदोहोऱ्याऊन् तर अनुभवहीन समालोचक छन् भने उनले राम्रो पुस्तकको समालोचना गर्दा झन् अनुभवहीन समालोचना गरेर राम्रो पुस्तकबारे पाठकवर्गलाई उल्टा सोच्ने बनाइदिन्छन् । उदाहरण- सैनिकसम्बन्धी उपन्यास छ भने, समालोचकले सैनिक, सेनाबारे केही त ज्ञान राखेकै हुनुपर्छ नत्र उनले उक्त उपन्यासबारे सटिक समालोचना गर्न सक्तैनन् । यो कुरा मैले अनुभव पाएर लेखिदिएको ।
अहिले लेखक र पुस्तकलाई न्याय गर्न सकेका छन् समीक्षक र समालोचनकहरूले ?
सकेका छैनन् । हिजोआज समालोचनामा पनि मिलिभगत छ । धेरै यस्ता उत्कृष्ट पुस्तक छन्, जसको अझसम्म समालोचना भएको छैन । पाङ्गपुङ्गे पुस्तकको बरु समालोचना भएको पाएको छु ।
समीक्षक समालोचनकहरूले प्रशंसापरक समीक्षा र समालोचना मात्र लेख्नु रहर कि बाध्यता हो ?
बाध्यता होइन । मिलिभगत हो । ‘म लेख्छु, तिमीले समालोचना गरिदिनू’ भन्ने परिपाटी चलिरहेछ नेपाली साहित्यमा हिजोआज ।
यहाँको सन् १९९४ मा प्रकाशित अनुसन्धानात्मक कृति ‘हत्या रातो डायरीको’ मा के छ ?
यो डायरी नभेटिएकाले यसबारे केही भन्न सकिन्न । मैले यो पुस्तक लेखेका कारण नेपाली जनमानसलाई थाहा दिनु–हरिभक्त कटुवालको डायरी पनि थियो भन्न । नलेखिदिएको भए नेपाली जनमानसलाई कटुवालको डायरी थियो भन्नेबारे केही थाहा हुने थिएन । उनको जन्मदिन असमका धेरै ठाउँमा मनाइयो तर जहाँसम्म मलाई लाग्छ हरिभक्त कटुवालको ‘रातो डायरी’ बारे कतै चर्चा भएन ।
यसको निष्कर्ष के छ ?
भेटिएको भए निष्कर्ष निस्कने थियो ।
अनुसन्धानमूलक लेख र पुस्तकहरू कमै मात्रमा प्रकाशन हुन्छन् नि किन यस्तो भएको हो ?
हाम्रा मान्छेहरूले जाँगर र आँट नगरेर हो । चबाउन चाहन्नन् । सजिलै निल्ने वस्तु चाहने भएर हो ।
अनुसन्धानका क्षेत्रमा काम गरिरहँदा के कस्ता समस्या आउँदा रहेछन् ?
आतङ्कवादीहरूबाट गोली खाने समस्या आउने सम्भावना हुन सक्छ ।
अन्य लेखन र अनुसन्धानात्मक लेखनमा के-के अन्तरहरू हुन्छन् ?
खीर घुर्लुक्कै सजिलो किसिमले निलेजस्तो अनि भुटेको मकै असजिलो गरी चबाएजस्तो अन्तरहरू हुन्छन् ।
नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धान र लेखनमा यूवावर्गको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?
चिन्ताजनक स्थितिले हेर्छु । कारण, नेपालमा नै नेपाली भाषा, लेखाइ बिटुलिँदै छ । कतिपय बुद्धिजीवी लेखकहरू अनि विश्वविद्यालयमा पढाउने कतिपय प्राध्यापकहरूका भाषालेखन पढेर यस्तो लेखिदिएको । अहिलेका युवावर्गको कुरा नलेखे पनि भयो एकाधलाई छाडेर ।
पहिलोपटक नेपाल कहिले किन जानुभएको थियो ?
सन् १९९७ मा कथास,ग्रह “बीसौँ शताब्दीकी मोनालिसा” छपाउन भनेर बनारस गएपछि बनारसमा भएका बेला म समाचारपत्र पढ्ने गर्थेँ बिहारमा ट्रेनभित्र डकैटीहरूले हत्या लुटपाट गरिरहेका समाचार । यसैकारण शिलोङ फर्कँदा बिहारबाट ट्रेनमा गएँ डकैटीहरूको घटनामा पर्ने डरले । गाडीबाट गोरखपुर, भैरहवाहुँदै शिलोङ फर्कने मेरो मन भयो र नै म पहिलोपल्ट नेपाल पसेको थिएँ ।
नेपालतिरका लेखकसँग अहिले कतिको सम्पर्क छ ?
ज्यू, फेसबुकमा प्रतीक घिमिरेज्यूसँग छ । अरू पनि केही छन् । गोविन्दराज भट्टराईज्यू पनि मसँग फेसबुकमा जोडिनुभएको छ । फोनमा दुईपल्ट उहाँले सम्पर्क गाँस्नुभएको थियो । कमलमणि दीक्षितज्यूसँग त नजिकबाट सम्पर्क थियो ।
नेपालतिरका लेखकलाई अहिले सम्झँदा कसलाई कसरी सम्झनुहुन्छ ?
अहिले सम्झँदा पहिलेका अग्रज लेखकहरूजस्ता नेपाली भाषाको सन्दर्भमा आजका लेखकहरू सचेत नभएका पाएको छु । शब्दकोशमा नेपाली भाषा धनी हुन्छ भनेर जताततैको शब्दहरू कोचारेर नेपाली भाषाको मौलिकतालाई भताभुङ्ग पारिदिएका छन् । उदाहरण दिन सकिन्छ तर यो विषय लामो हुन्छ भनेर यही नै रोक्का लगाएँ ।
अकादमी प्राप्त यहाँको कथासङ्ग्रह ‘बीसौँ शताब्दीकी मोनालिसा’ मा केकस्ता कथा रहेका छन् ?
“बीसौँ शताब्दीकी मोनालिसा” कथासङ्ग्रहभित्र परेका कथाहरू विभिन्न विषयका छन् । यही कथासङ्ग्रहको शीर्षकमा भएको कथा भने नेपाल-भारतबीच भएको मैत्रीसम्बन्धलाई लिएर लेखिएको छ ।
यहाँ त गोर्खा राइफल्सको मान्छे साहित्यलेखनमा कसरी आउनुभयो ?
म गोर्खा पल्टनमा भर्ती हुनुभन्दा अगाडि स्कुले जीवनबाटै मलाई कथा लेख्ने रुचि भएको तथा लेखेको पनि भएर गोर्खा पल्टनमा भर्ती भएर जाँदा यो रुचिलाई पनि मैले आफूसँग लिएर गएको थिएँ र नै गोर्खापल्टनभित्र साहित्यिक परिवेश नभए तापनि त्यो परिवेशले मेरो रुचिलाई मार्न सकेन । रुचिकै कारण आएको हुँ ।
तपार्इँका लेखनमा गोर्खा राइफल्सको प्रभाव कुन कृतिमा के-कस्तो परेको छ ?
त्यस्तो विशेष परेन । कारण, भर्ती हुनुभन्दा अगाडिबाट नै मेरो रुचि साहित्यमा भएको हुनाले गोर्खा पल्टनको परिवेशले ममाथि आधिपत्य जमाउन सकेन । यसैकारण मेरा कृतिहरूमा फौजी परिवेशको प्रभाव त्यति परेको छैन ।
समग्रमा भारतीय नेपाली साहित्यको अवस्था कस्तो छ ?
नव लेखकलेखिकाहरू झरी च्याउझैँ उम्रिरहेका छन् तर नेपाली भाषालाई शुद्धरूपमा लेख्ने दिशामा भने ह्रास आएको छ । यही गतिलाई आजका लेखकलेखिकाहरूले पछ्याए कालान्तरमा नेपाली भाषालाई अरूका भाषाहरूले छोप्नेछन् । नवाङ्कुर लेखकलेखिकाको कुरा परै छाडौँ, असमका कतिपय अग्रज साहित्यकारहरूले लेखेका लेख पढ्दा नेपाली भाषा नपढेर असमिया भाषा पढेजस्तो लाग्छ । दार्जीलिङको पनि अहिले यही अवस्था हुँदै छ यसैकारण शुद्ध लेखाइको सन्दर्भमा चिन्ताजनक छ ।
भारतीय नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के हुन् ?
चुनौतीको कुरा गर्दा चुनौती अरूले दिएका छैनन् । चुनौती दिएको छ यहाँका आफ्नै नेपालीभाषीहरूको स्वभावले । यो स्वभावले गर्दा यहाँका अहिलेका युवापिँढीले नेपाली भाषाप्रति पढ्ने रुचि लिँदैनन् । चुनौती यही नै हो कि अहिलेका युवापिँढीलाई नेपाली भाषाप्रति कसरी रुचि बसाउने हो ।
ती चुनौतीहरूलाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ?
यी चुनौतीहरूको समाधानका लागि अभिभावकहरूलाई सचेत पार्ने अभियान चलाउनुपर्छ कारण अभिभावकले नै घरबाट नै छोराछोरीलाई नेपालीमा भाषाप्रति रुचि दिने हो ।
समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?
समकालीन साहित्यलाई नेपाली साहित्यको सन्दर्भमा हेरिने हो भने आजका नेपाली साहित्यलाई हाम्रा लेखकहरूले अरूका “वादहरू’ ले सजाइरहेका देख्छु । ती वादहरू अरूका हुन् । हाम्रा होइनन् यसैकारण हाम्रा साहित्यकारहरूले आफ्नो वाद विश्व साहित्यलाई दिन सक्नुपर्छ तब बाहिरका साहित्यकारहरूले भन्नेछन्– ‘नेपाली साहित्यमा आफ्नै मौलिकता छ ।’ अहिले यस विषयमा हाम्रा आजका कर्मठ साहित्यकारहरूले पाइला चालिरहेका छन् । यसैअन्तर्गत देश सुब्बाको “भयवाद” पर्छ । यो प्रशंसनीय सूचक हो ।
साहित्यकारहरूको दायित्व के-कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
समाज, जाति, देश तथा समग्र मानवलाई राम्रो, सुन्दर दिशा दिने हुनुपर्छ नत्र आतङ्कवाद जन्मिन्छ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के-कस्तो भूमिका खेल्नुपर्दछ ?
भारतमा धेरै राज्य छन् । ती राज्यहरूले आफ्नै तरिकाले भूमिका खेलेका होलान् । म बसेको राज्य मेघालयले त्यस्तो केही भूमिका खेलेजस्तो मलाई लाग्दैन ।
स्रष्टाहरूको प्रोत्साहनका लागि अहिले भारतमा राज्यले के कस्तो भूमिका खेल्दै छ । के गरे चाहिँ राम्रो हुने थियो जस्तो लाग्छ ?
भारत विभिन्न जातिसमुदायमिश्रित देश हो । यसैकारण राज्यहरूले जात नछुट्याएर सबै जातिका लेखकहरूलाई समान व्यावहारिक रूपमा हेरे राम्रो हुनेछ । भारत सरकारले चाहिँ साहित्य अकादेमी पुरस्कार दिने प्रथा राखेर कोसिस गरेको छ । सबै भाषी लेखकहरूलाई पुरस्कार दिएर बराबर अधिकार दिने गरे चाहिँ राम्रो हुने थियो ।
भारतीय नेपाली साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
दुःखद रूपमा हेर्छु । कारण पढिदिने पाठकहरू न्यून भएर समकालीन बजार व्यवस्था राम्रो छैन ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
नबिर्सने धेरै क्षणहरू छन् । एउटा क्षणको कुराचाहिँ, त्यो हो नेपालीभाषी हिन्दू समाजमा विवाहका बेला विवाहिता हुन गइरहेकी चेलीलाई “गोडधुवा” को बेला चलन छ धातुका भाँडाकुँडा दिने । यही क्रममा यस लेखकले तुलसी छेत्रीलाई उसको विवाहमा उसलाई उसको माइती घरको माटाको सानो डल्लो दिएको थियो । माटाको डल्लो दिएको घटना यसभन्दा अघि हिन्दू समाजमा घटेको थिएन । यसैलाई म आफ्नो जीवनको नबिर्सने घटना सम्झन्छु । यही घटनाको आधारमा मैले उपन्यास “माटो बोल्दो हो” लेखेँ ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
जीवनलाई परिभाषित गर्नुपरे जीवनलाई दुःखसुख, मुस्कान-क्रन्दनको घर सम्झन्छु ।
तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
मलाई मन परेका धेरै छन् । एउटै नाम लिनुपर्दा जगदीश घिमिरेको “अन्तर्मनको यात्रा” लाई लिन्छु ।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि क-कसले के-के गर्नुपर्ला ?
पढिदिने पाठक भए लेखकहरूले धेरै स्तरीय पुस्तक लेख्छन् अनि यी पुस्तकहरू अङ्ग्रेजीमा अनुवाद हुन सके स्वत़ः विश्वव्यापीकरण हुनेछ ।
वितगदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बीचको सम्बन्धलाई कुन रूपमा हेरिरहुनुभएको छ ?
यो हेर्ने दृष्टिकोण भिन्न-भिन्न हुन्छ कारण कुनै देशको शासक र अर्को देशको शासक र सर्जकको दृष्टिकोण भिन्न-भिन्न हुने भएर । कतै शासक र सर्जक मिलेका होलान् । कतै नहोलान् ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?
पहिला आफ्नो स्वास्थ्यप्रति ध्यान दिने । बेस्सरी धन कमाउने । धन नभए पुस्तक प्रकाशनमा ल्याउन सकिन्न । नभए लेखेको पाण्डुलिपि कुहेर जान्छ । हाम्रो समाजमा यस्तै भइरहेको छ धनको अभावमा पाण्डुलिपि प्रकाशहीन भएर रहेका छन् ।
जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ?
अब केही योजना छैन अस्वस्थ भएर ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
केही गुमाइनँ । पाएँ जस्तो लाग्छ कारण अत्यधिक अवसादले मलाई ग्रस्त पारेकाले मलाई यही साहित्यले जिउने बाटो दियो के-के लेखेर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सङ्ख्यात्मक होइन, गुणात्मक कृतिको सिर्जना हुनुपर्छ – मोहन सुवेदी
