साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रशंसापरक समालोचनाको बाढी चलेको छ

कृतिकार रिसाउला कि, सम्बन्ध बिग्रेला कि भन्ने भयले पनि कृतिको प्रशङ्सा बढी हुन्छ। रहर र बाध्यताका अतिरिक्त समलोचकको अध्ययनको कमीले पनि कृतिको कमजोरी पक्ष नदेखिएको हुनसक्छ।

कालिम्पोङ निवासी बुबा स्व. रविचन्द्र पौड्याल र आमा जानुका पौड्यालका कान्छा पुत्रका रूपमा १५ नोभोम्बर, १९७१ मा समालाेचक नवीन पौड्यालको जन्म भएको थियो । पौड्यालका नेपाली कथा समीक्षा (२००५), आख्यान अनुशीलन (२०११), साहित्य अनुशीलन (२०१४), साहित्य सन्धान (२०१८) र कृति सन्धान (२०२०) लगायत कृतिहरू प्रकाशित छन् । पौड्यालले कविता विमर्श, कविता आलोकन, उत्तर दक्खिन पूर्व पश्छिम गरी तीनवटा कृति सम्पादनसमेत गरेका छन् ।

प्रस्तुत छ, अध्यापन, लेखन तथा अनुसन्धानमा संलग्न हाल कालिम्पोङ निवासी नवीन पौड्यालसँग साहित्यपोष्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

तपाईंको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?

म सानैदेखि के के लेख्दो रहेछु। मैले कक्षा ४ मा हुँदा एउटा तीन पदको ‘हे ईश्वर’ भन्ने कविता लेखेको थिएँ। जुन एक वर्षपछि स्कूलको वार्षिक पत्रिकामा प्रकाशित भएको हो।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ? प्रकाशनको हिसाबले पनि त्यही कक्षा ४ पढ्दा लेखेको कविता कालिम्पोङको एउटा ठुलो र प्रतिष्ठित विद्यालयको वार्षिक पत्रिका सुमाइट (१९८३) मा एउटा पद थपेर ‘हे ईश्वर’ भन्ने कविता प्रकाशित भएको थियो। त्यो मेरो कविता साथी भाइमा कुरा भयो, कतिले जिस्काए। त्यसरी छापिँदा के के न पाएँ भन्ने बोध हुन्थ्यो। तर त्यसरी शुरू हुँदा, लेखादि छाँपिदा भने आफुभित्र केही लेखन क्षमता छ भने बाहिर निस्कन टेवा पुग्ने हुन्छ। ठुलाबडाको प्रेरणा र प्रोत्साहनले कोपिला फक्रेर फूल बन्न मलजल पुग्ने हुन्छ। तर कोपिला नै निमोठिने फूल फुल्न सक्दैन। कतिजना कोपिलामा नै निमोठ्ने खालका पनि हुन्छन्। जिस्काउने, घोच्ने काम गर्ने पनि हुँदा रहेछन्।

जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यावस्था ?

नवीन पौड्याल (कालिम्पोङ)

मेरो बाल्यकाल एक प्रकारले रमाइलोसँग नै बितेको हो। घरमा दुःख र गरीबीमा बितेको भने होइन। हाम्रो बुबा नै शिक्षित अनि शिक्षक हुनुहुन्थ्यो। निकै पढन्ते, अध्ययनशील हुनुहुन्थ्यो। उहाँले सानामा कथा र कविता निकै सुनाउनुहुन्थ्यो। आफुले कविता नलेखे पनि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरेका कविताहरू मिठो लयमा गाएर सुनाउनु हुन्थ्यो। उहाँले भानुभक्तीय रामायणको छन्दको लयअनुसारले मिठो स्वरले सुनाउनु हुन्थ्यो। सानामा होमरको इलिय़डको कथा, नेपाली लोककथा, आदि सुनाउनु हुन्थ्यो। आफुले पढेका कुनै पनि कथा र उपन्यासको कथा सुनाउनु हुन्थ्यो। हाम्रा पाठहरू राम्रोसँग बुझाइदिनु हुन्थ्यो। दाजुहरूमा माहिला दाजु भने साहित्यमा अलिक रूचि लिनुहुन्थ्यो। उहाँले कहिलेकाँही छोटा छोटा कविता पनि लेख्नुहुन्थ्यो। काँइला दाजु पनि अलिलि कविता र कथा लेख्थे।

घरको परिवेश पक्का गाउँले। घरदेखि बजार निकै टाडा पर्थ्यो। एकदमै पातला गाउँ। एउटा घरदेखि पर पर मात्र अरूका घर हुन्थे। सानो छ वर्षको हुँदा हाम्रो घरमा आगो लागेको थियो। त्यो दिनको कता कता सम्झना छ। गाउँकै प्राइमेरी स्कुल पढेर पाँचौ श्रेणीदेखि बजारदेखि पनि माथिको स्कुल पढ्न जान्थेँ। घरबाट हिडेर ठिक डेढ़ घन्टा जति पर्थ्यो। कहीबेला घरबाटै खाजा बोकेको हुन्थेँ। बिहान साँढे सात बजेतिर घरबाट स्कुल गएर नौबजे पुगिन्थ्यो अनि दिनमा स्कुल सकेर घर फर्कदाँ साँढे चार हुन्थ्यो।

घरमा गाई पालेको हुन्थ्यो। घाँस काट्नु, दाउरा खोज्नु, सोत्तर सोहोरेर गोठमा बिछ्याउनु आदिकाम गरेको थिएँ। खेतमा काम गर्नु सामान्य थियो। यद्यपि मैले ठुल्ठुला काम भने गर्नुपर्दैन थियो। हिउँदको छुट्टीमा साथीहरूसित बाख्रा चराउनु बेंसीतिरका खेत र जङ्लतिर जान्थ्यौं। बालसुलभ फलफूल, घाँस चोर्नु आदि उपद्रो गर्थ्यौं। प्राय: जनवरी महिनामा मावली झापातिर जाने गर्थ्यौं। झापाको बाहुन्डाँगी, निन्दा टार, इटाभट्टा र भद्रपुर पनि निकै बस्ने गर्थ्यौं। बाहुण्डाँगीतिर जाँदा गोठालाहरूसित गाई भैसी हेर्न मेची किनारको खेती जानु, दिनभरि उपद्रो गर्नु, माछा मार्नु आदि जस्तो काम पनि गरियो। भद्रपुरका ठुलाबा स्व. श्यामकृष्ण उपाध्याय एक वरिष्ठ पत्रकार र साहित्यकार हुनुहुन्थ्यो। उहाँले घरबाट नै आलोक प्रेस र आलोक पत्रिका चलाउनु हुन्थ्यो। प्रेसमा कतिपय काम हेर्ने, सिक्ने गर्थें। प्रेसका कर्मचारीसित सिकेर मसिनका टाइपहरू खोज्दै त्यसलाई कालो मसीमा चोब्दै आफ्नो नाम लेख्थेँ। ठुलाबाका किताब निकै थिए। यसो पढ्ने चेष्टा गर्थें। उहाँले मनोहर कहानियाँ, धर्मयुग, सरिता आदि जस्ता पत्रिका पनि किनेर लानुहुन्थ्यो। त्यसबाट केही कथा लेखादि पढ्ने गर्दथें। मेरा एक दुई जना मामा पनि यस्ता कथा उपन्यास पढ्ने गर्नुहुन्थ्यो।

मेरी आमा पनि कविता कथा के के पढ्नु हुन्थ्यो। उहाँलाई आफुले विद्यार्थी जीवनमा पढेका कविता अझै मुखस्त छन्। उहाँले आठौं श्रेणीसम्म पढेको भए पनि कवितामा चाख थियो। लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा माधव घिमिरे, पारसणि प्रधान आदिका कविता कण्ठस्थ सुनाउऩु हुन्थ्यो अनि मैले लेखेका कविता पनि पढ्नु हुन्थ्यो। मेरा केही कविता विद्यालयको वार्षिक पत्रिका सुमाइटमा छापिन्थे।

साहित्यमा प्रवेश गर्दाको शुरुका दिनलाई कसरी सम्झनु हुन्छ ? प्रेरणा के कहाँबाट मिल्यो ?

दीपक सुवेदी

माथि उल्लेखित कुराहरू नै मेरो साहित्य लेखनको प्रारम्भिक प्रेरणाका कुरा थिए। समय समयमा कविता लेख्ने गर्थें। म दशौं श्रेणीमा पढ्दा एउटा उपन्यास लेख्न शुरू गरेको थिएँ। दस पन्ना जति लेखेर अधुरो छोडें। म उपन्यास र कथा निकै पढ्ने गरेको थिए। सातौं श्रेणीदेखि प्रकाश कोविद्, सुवास घिसिङ, असित राई, हिन्दीमा कर्नल रञ्जित, रानू, सरला रानू, वेदप्रकाश शर्मा, ओम प्रकाश शर्मा, सुरेन्द्र मोहन पाठक आदि पढ्ने गर्थें। कति उपन्यास पढें, साँधी छैन। बाख्रा चराउन जाँदासमेत उपन्यास लिएर जान्थें अनि मौकामा पढ्ने गर्थे। हाम्रा काकाबाजे महानन्द पौड्याल पनि सिक्किमबाट कालिम्पोङ आउऩुहुन्थ्यो। उहाँका गफमा साहित्यिक रस हुन्थ्यो। उहाँले मिठा मिठा संस्मरण सुनाउनु हुन्थ्यो। एघारौं श्रेणी पढदा मनो उपन्यासमाथि एउटा छोटो समीक्षा लेखेको थिएँ। बाह्रौं श्रेणी पढ्दा स्कुलको वार्षिक पत्रिकामा दोषी चश्मा कथासङ्ग्रहमाथि छोटो समीक्षा प्रकाशित भएको थियो। यसकारणमेरो जीवनमामलाई लेख्न हौस्याउने र प्रेरणाको पटभूमिमा मेरा बाबा स्व रविचन्द्र पौड्याल, आमा जानुका पौड्याल, काकाबाजे स्व. महानन्द पौड्याल, ठुलाबा स्व. श्यामकृष्ण उपाध्याय, दाजुहरू दिनेशचन्द्र पौड्याल, राजकुमार शर्मा, डा भरत कुमार पौड्याल, स्व. ज्ञानेश्वर शर्मा आदि पनि हुनुहुन्छ। मेरा गुरूहरू स्व. ए. बी. छेत्री, जेम्स कार्थक पनि मेरो साहित्य रूचिका निम्ति प्रेरणास्रोत हुनुहुन्थ्यो।

साहित्य के हो जस्तो लाग्छ ?

साहित्य धेरै कुरा हो। साहित्य अनुभूति र अनुभवको निचोड हो। साहित्य ज्ञान र विज्ञानको अजस्र स्रोत हो। लेखकका निम्ति साहित्य आफ्नो चिन्तनलाई जनसमक्ष प्रस्तुत गर्ने माध्यम हो। पाठकका निम्ति ज्ञान र मनोरञ्जन र आनन्दानुभूतिको स्रोत हो। साहित्य समाजको दर्पण मात्र नभइ दिग्दर्शक पनि हो। साहित्यले समाजलाई सही बाटो पनि देखाउन सक्ने हुन्छ। समाजको सकारात्मक परिवर्तनका निम्ति साहित्यको ठुलो भूमिका हुन्छ। साहित्य पढ्नेमा सामाजिक, सांस्कृतिक, राजनैतिक, तार्किक सचेतता हुन्छ। साहित्य मानव जीवनमा चाहिने, उपयोगी र सहायकसिद्ध हुन्छ। साहित्यले क्रान्ति ल्याउन सक्छ, शान्ति ल्याउन पनि सक्छ। आन्दोलनको उत्स विन्दु हो साहित्य। सत्तालाई दिशा निर्देश गर्न सक्ने नै साहित्य हो। कुनै देश र समाज कतिको विकसित छ भन्ने कुरा त्यो समाज र देशको साहित्यको विकासलाई हेरेर अनुमान गर्न सक्छौं।

भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कुन छ ?

भारतीय नेपाली साहित्यको अध्ययन गर्दा कविता नै बढी लेखिएका पाइन्छ। बीसौं शताब्दीको शुरूदेखि कविताका पुस्तकहरू प्रकाशित हुन थालेर बाक्लै गरी कविता बाहिर निस्केका छन्।

अरु विधाको तुलनामा यो किन बढी लेखिए जस्तो लाग्छ ?

कवितामा मानवीय संवेग, अनुभूति आदिलाई सबैभन्दा सशक्त अभिव्यक्ति दिन सकिन्छ। यसमा नै सबैभन्दा प्रतिविम्बित र प्रतिनिधित्व गर्न सक्छ। साहित्यकारले सबैभन्दा पहिले कविताबाट नै आफ्नो लेखन यात्रा शुरू गर्दछ। यसैकारण कविता अन्य विधाका तुलनामा बढी लेखिन्छ, पुस्तक प्रकाशित हुन्छ। यद्यपि जम्मै स्तरीय हुनछन् पनि भन्न मिल्दैन।

थोरै लेखिने विधा चाहिँ कुन छ ? अहिलेसम्म र किन कम्ति लेखिए जस्तो लाग्छ ?

भारतमा सबैभन्दा कम्ती लेखिने निबन्ध हो जस्तो लाग्छ। कविता कथा नाटक निबन्ध आदिका तुलनामा साहित्यिक निबन्धका कृति भने केही थोरै हुन्। बालसाहित्य केही कमी छ। अनुवाद कार्य राम्रै छ। कम्ती लेखिनुका कारण पठन र बजारको कमी भएर पनि हो। निबन्ध पढ्ने थोरै हुन्छन्। यद्यपि निबन्धमा धेरै कुरा पाइन्छन्। नाटक पनि अहिले कम हुँदै गएको पाइन्छ। अहिले हात हातमा मोबाइलमा उपलब्ध हुने विभिन्न किसिमको माध्यमबाट नै फिल्म, धारावाहिक र साना साना नाटक आदि हेर्न पाइछ। त्यसतो स्थितिमा साहित्यिक नाटक कसले पढ्ने र हेर्ने भन्ने कुरा उब्जन सक्छ। यद्यपि नाटकको आफ्नो महत्त्व र विशेषता छ।

समीक्षा र समालोचनामा सक्रिय देखिनुहुन्छ। के अन्तर छ यिनीहरूमा ?

मेरो विचारमा यी दुई एकै एकै लागे तापनि केही फरक हुन्। सम्यक्+इक्षण बाट समीक्षा र सम+आलोचना बाट समालोचना बनेको हुनाले दुवैले कृतिको गुण दोष दुवैको हेर्ने गर्दछन्। समालोचनाका पर्यायवाची शब्दका रूपमा आलोचना, समीक्षा, विवेचना, अवलोकन, विलोकन, प्रलोकन, पर्यावलोकन, सिंहावलोकन, विहङ्गावलोकन, अनुशीलन आदि प्रयोग हुने गरेको पाइन्छ। यद्यपि यी प्रत्येकको आफ्नो आफ्नो अर्थ, परिभाषा र तात्पर्य हुन्छ। कतिपय हल्का टिप्पणीसमेतलाई समालोचना भनेको पनि देखिन्छ। यद्यपि समीक्षा र समालोचना नजिकै रहेको पाइन्छ। खासगरी हामीले समालोचनाको नाममा पढ्ने गरेका पाठहरू अधिकांश समीक्षा हुने गर्छन्। समालोचना लेख्नु गहन अध्ययन, मनन, निरीक्षण जस्ता कुरा चाहिन्छन्। म पनि मेरा जम्मै लेख समालचना हुन् भनी दावी गर्दिनँ। कुनै हलुका टिप्पणी, पाठकीय प्रतिक्रिया, समीक्षा रहेका छन्। कुनै पुस्तक आदिका बारेमा लेखेका जुनसुकैलाई समालोचनाको दर्जा दिने भूल गर्नुहुँदैन।

समीक्षा र समालोचनाले पुस्तकलार्इ के गर्छ ? किन पुस्तकको समीक्षा र समालोचना गरिन्छ ?

दुवैले कृतिको सम्यक् अध्ययन गर्दछ। कृति वा पाठको बारेमा प्रकाश परिदिन्छ। पाठभित्रका अन्तर्निहीत विभिन्न उपपाठ, अर्थ, प्रसङ्ग फुकाएर पाठकले पाठको रसास्वादन गर्न सहयोग गर्छ। कतिपय कृतिहरू समीक्षित भएपछि मात्र लोकप्रिय भएको पनि छन्। धेरै जसो कृति सफल र लोकप्रिय हुन समालोचित हुन् आवश्यक हुन्छ। इन्द्रबहादुर राईका तेस्रो आयाम र लीलालेखनका सिद्धान्त पढेपछि यसमा आधारित पाठहरू बुझ्न धेरै सहयोग हुन्छ। सिर्जना क्रिया हो भने समालोचना प्रतिक्रिया हो। प्रत्येक सर्जकलाई आफ्नो कृति समीक्षाबाट आलोकित, प्रशंसित र पुरस्कृत भएको हेर्ने चाहना हुन्छ नै। समीक्षा कृतिको निम्ति ऐना हो, निर्देशिका हो।

अहिले लेखक र पुस्तकलार्इ न्याय गर्न सकेका छन् समीक्षक समालोचकहरूले ?

केही मात्रामा छन्, तर अधिकांश छैनन्। भारतको प्रसङ्गमा भन्नु पर्दा सिर्जनाको अनुपातमा समालोचना अत्यल्प लेखिएका छन्। दश प्रतिशत जति सिर्जनात्मक कृतिहरू पनि खास समालोचनाको आलोक पाएका छैनन्। धेरै कृतिले हलुका टिका वा टिप्पणी, निरूपण, पाठकीय प्रतिक्रिया आदि पनि पाएका हुँदैनन्। कतिपय वरिष्ठ साहित्यकार आलोचनाको आलोक नपाई रहेका वा कतिपय बितेका पनि छन्। हामीलाई अझै बढी समालोचकहरूको खाँचो छ।

अहिले कसरी लेखिदै छ समीक्षा र समालोचना ?

नेपाल र भारतमा नेपाली समालोचना लेखनमा फरक छ। नेपालमा धेरै समालोचक छन्, यता त्यति मात्रामा छैनन्। अहिले समालोचनाले उन्नतिको मार्गमा छ। समालोचनाका नयाँ नयाँ सिद्धान्त जन्मिरहेका छन्। तिनले पचाएर नेपालीमा लेख्नेहरू पनि धेरै छन्। नेपालतिर धेरै छन्। यहाँ नाम लिइरहने आवश्यकता छैन ता भारततिर पनि केही नयाँ साहित्यिक सिद्धान्तका धारमा समालोचना गरिरहेका छन्। यसतर्फ इन्द्रबहादुर राईले नेतृत्व गर्नुभएको हो। अहिले समीक्षा लेख्नेहरूको उपस्थिति देख्दा आशालाग्दो स्थिति नै छ भनी मान्न सकिन्छ। डा लक्खीदेवी सुन्दास, महानन्द पौड्याल, डा. कुमार प्रधान, राजनारायण प्रधान आदिले पनि भारतकै नेपाली समालोचना समालोचनालाई उचालेका हुन्।

समीक्षक समालोचनाहरूले प्रशंसापरक समीक्षा र समालोचना मात्र लेख्नु रहर कि बाध्यता हो ?

प्रशंसापरक समालोचनाको बाढी चलेको छ। कृतिकार रिसाउला कि, सम्बन्ध बिग्रेला कि भन्ने भयले पनि कृतिको प्रशङ्सा बढी हुन्छ। रहर र बाध्यताका अतिरिक्त समलोचकको अध्ययनको कमीले पनि कृतिको कमजोरी पक्ष नदेखिएको हुनसक्छ। अझै रामकृष्ण शर्मा, तारानाथ शर्माहरूको आवश्यकता परेको छ। इन्द्रबहादुर राईको जस्तो सम्यक् इक्षण गर्ने समालोचकहरूको उपस्थिति चाहिन्छ।

अनुसन्धानमा पनि सक्रिय देखिनु हुन्छ। अनुसन्धानमूलक लेख र पुस्तकहरू कमै मात्रामा प्रकाशन हुन्छन् नि किन यस्तो भएको हो ?

मेरो लेखहरू पूर्णरूपेण अनुसन्धानमूलक हुन्छन् भनी दाबी गर्दिनँ। अनुसन्धानोत्मुख भने हुन सक्छन्। यस्तो किसिमको समालोचना गर्नु कठिन कार्य हो। यसका निम्ति समर्पण, जिज्ञासु प्रवृत्ति, गहन अध्ययन, तथ्यान्वेषण, वस्तुनिष्ठता, तटस्थता हुनपर्दछ। यस्तो लेखे पाठकको कमी हुन्छ भन्ने मानसिकताले पनि काम गरेको हुन्छ। यस्ता पुस्तकादि गमभीर पाठकले मात्र किन्ने बिक्री

नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धान र लेखनमा युवावर्गको वर्तमान अवस्थालार्इ कसरी हेर्नु हुन्छ ? अवस्था कस्तो छ ?

नेपाली भाषा र साहित्यको क्षेत्रमा अध्ययन अनुसन्धान लेखनमा सक्रिय र आशालाग्दो अवस्ता छ। भारतमा चारवटा विश्वविद्यालयमा नेपाली भाषा साहित्यको उच्च अध्ययन हुने गर्छ। त्यहाँ त्यहाँ नेपाली विषयमा स्नातकोत्तर एम फिल र विद्यावारिधिसम्मको अध्ययन हुने गर्छ। यहाँ एम फिल र विद्यावारिधिका विद्यार्थीहरूमा पनि अध्ययन र अनुसन्धानको विस्तार भइरहेको पाइन्छ। नेपाली विषयका केही प्राध्यापकहरू पनि सक्रिय देखिन्छन्। मैले खोजी गरेअनुसार अहिसम्म भारतमा सयभन्दा बढी समालोचना (जम्मै समालोचनाको नभए पनि सालाखाला रूपमा) प्रकाशित भएका छन्। अहिलेसम्म पुस्तक प्रकाशित हुने र एउटासम्म पुस्तकलाई पुग्ने फूटकर रूपमा लेख्नेहरूक सङ्ख्या पनि धेरै छन्।   समय समयमासरकारी आयोजना राष्ट्रिय सङ्गोष्ठी आदिमा पनि गहकिला प्रपत्रहरू पनि प्रस्तुत हुन्छन् तिनको प्रकाशन पनि हुने गर्छ। साहित्य अकादमी, नयाँ दिल्लीको आयोजनामा धेरै किसिमका नेपाली कार्यक्रम हुने गर्छन्। यद्यपि गहन अध्ययन गरेर समीक्षा समालोचना लेख्नेहरू अलिक थोरै हुन् तर नयाँ नयाँ पुस्ता आइरहेका छन्। ।

भारतीय नेपाली साहित्यमा समीक्षा र समालोचनामा सक्रिय पछिल्लो चरणका समीक्षक र समालोचकप्रति कतिको आशा गर्नु हुन्छ ? को को छन् यस चरणामा ?

आशालाग्दो स्थिति नै छ। अध्येताहरूको संख्या बढ्दो नै छ। अहिले केही उल्लेखनीय समालोचकहरूमा नरबहादुर दाहाल, डा जस योञ्जन, डा मोहन पी दाहाल, डा घनश्याम नेपाल, ज्ञानबहादुर छेत्री, अर्जुन प्रधान, डा कृष्णराज घतानी, डा दिवाकर प्रधान, डा सञ्जय वान्तवा, डा. खेमराज नेपाल, पेम्पा तामाङ, डा. कविता लामा, डा पुष्पा शर्मा, जय क्याक्टस, सुधीर छेत्री, गङ्गाप्रसाद भट्टराई, डा रेमिका थापा, डा राजकुमार छेत्री, कबीर बस्नेत, योगेश खाती, निमा निची शेर्पा, डा. बासुदेव पुलामी, दीपक तिवारी, सुकराज दियाली, डा वीणा हाङखिम, डा दिल श्रेष्ठ, डा. राजकुमारी दाहाल, डा राधा शर्मा, सुजाता रानी राई, रूपेश शर्मा, डा ममता लामा, डा जीवन नामदुङ, डा गोमा शर्मा, बलराम पाण्डे, [e. देवचन्द सुब्बा आदि हुन्। यीबाहेक अरू पनि धेरै छन्। सिक्किम दार्जिलिङ कालिम्पोङ असमतिर नेपाली समालोचकहरूको वृद्धि भइरहेका पाउँछौं। असमतिर केही नयाँ हाँचका समीक्षक र समालोचकहरूको उदय भएको पाउँछौं।

भारतका विभिन्न राज्यबाट समग्र नेपाली साहित्यमा आशालाग्दा नाम लिनुपर्दा कहाँबाट कुन कुन विधामा कसकसको नाम लिन सकिन्छ ?

भारतका विभिन्न राज्यमा रहेका नेपाली साहित्यिक सर्जकहरू धेरै छन्। यद्यपि उत्तराखण्ड र अन्य पश्चिमाञ्चल प्रान्ततिर अलिक थोरै पाइन्छ। पश्चिम बङ्गालको दार्जिलिङ-कालिम्पोङ जिल्लामा भारतीय नेपाली साहित्यकेन्द्र रहेको छ भने सिक्किम र असममा पनि उत्तिकै सक्रियता पाइन्छ। यहाँ आफ्नो आफ्नो विधामा कलम चलाउनेहरू धेरैजना लेखकहरूको सङ्ख्या हुनाले नामोच्चारित गरेर साध्य छैन दुईचारको नाम लिए धेरै छुट्नु सक्छन्।

समग्रमा भारतीय नेपाली साहित्यको अवस्था कस्तो छ ?

समग्रमा भारतीय नेपासाहित्यको अवस्था उन्नतशील, सकारात्मक, आशालाग्दो, छ। दार्जिलिङ कालिम्पोभ, सिक्किम, असम आदितिर दिनदिनै नयाँ नयाँ लेखक सर्जकहरू देखा परिरहेका छन्। कविता र कथासङ्ग्रह धमाधम प्रकाशित भइरहेका छन्। नाटक, निबन्ध र उपन्यास थोरै मात्रामा प्रकाशित भएको पाइन्छ। नाटक लेख्ने र प्रदर्शनहरूको कमी भइरहेको छ। समालोचना गर्नेहरूको संख्या बढ्दै छ।

भारतीय नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के हुन् ?

भारतीय नेपाली साहित्यका धेरै चुनौतीहरू छन्। यसलाई अन्य विकसित भारतीय साहित्यको दाँजोमा समकक्षी बनाएर लानुछ। हाम्रो छिमेकी बङ्गला असमिय ओडिया, हिन्दी मैथिली साहित्यको समकक्षी र समस्तरीयता बनाउनु छ। यी साहित्य बिचमा बस्ता कहिलेकाँही हाम्रो मायालाग्दो अवस्था पनि लाग्छ तर पनि हामी सक्षम र बलवान छौं। सङ्ख्यामा कमी भए तापनि गुणात्मकताले अघि बढेका छौं। भारतमा हामी ज्ञानपीठ पुरस्कार पनि हासिल गर्नु बाँकी नै छ, अन्य ठुल्ठुला पुरस्कार र पद हासिल गर्नुपर्छ। हामी कुनै कुरामा कमी छैनौं भन्ने सन्देश दिनुछ। हाम्रा पदाधिकारीहरूको अझै पनि नेपाली साहित्य भन्नेबित्तिकै नेपालको भन्ने भ्रम र mindset लाई हटाउने उद्योग गर्नुपरेको छ। हाम्रो समाजमा पाठकको सङ्ख्या घट्दै छ, पुस्तकको बजार साह्रै घट्न थालेको छ। असमका किताब यता दार्जिलिङतिर आउँदैनन् अनि यताका उता जाँदैनन्। कोलकाता, दिल्ली देहरादुनतिरको गोर्खाहरूले नेपाली भाषा र साहित्य पढ्न पाउँदैनन्। एउटा सूचना के दिन चाहन्छु भने भारतको पश्चिमाञ्चलको उत्तराखण्ड मुक्त विश्वविद्यालयले पि नेपाली भाषा र साहित्यमा प्रमाणपत्र र डिप्लोमा कोर्स यसै वर्ष २०२१ देखि सञ्चालन भइरहेको छ। अझै जवाहरलाल नेहरू विश्वविद्यालय, विश्वभारती विश्वविद्यालय, कलकत्ता विश्वविद्यालय आदितिर पनि नेपाली विभाग खोलिनु पर्ने आवश्यकता छ। सरकारी सहुलियतहरू जति जम्मै सही उपभोग गर्न पाइयोस् भन्ने चुनौतीहरू सामु रहेका छन्।

ती चुनौतीहरूलाई समाधान गर्न कसले के गर्नु पर्छ जस्तो लाग्छ ?

यस्ता चुनौतीहरूलाई समाधान गर्न हामी मानसिक रूपले तयार हुनुपरेको छ। भारतका अन्य विकसित साहित्य अध्ययन गरेर लेख्दै जानु छ। त्यही स्तरअनुसारको अध्ययन र लेखन गर्नुपर्दछ।  भारतमा नेरपाली भाषा साहित्यका निम्ति सही सहुलियत आदि हासिल गर्न सही काम कुरा गर्नु पर्दछ। हामीले दिन रात गरेर काम गर्न परेको छ।

समकालीन लेखनलाई कसरी हेर्नु भएको हुन्छ ?

समकालीन लेखनले प्रगति गर्दैछ। नेपालबाट नेपाली साहित्यले ठुलो उन्नति गरेको छ। भारतमा पनि उन्नति गर्दैछ। यताका नेपाली साहित्यकारहरू पनि लेखनमा लागिपरेका छन्। सिर्जनाका नयाँ नयाँ फाँट विस्तार हुँदैछ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

देश र समाजमा साहित्यकारको दायित्व ठुलो छ। सत्यलाई सत्य भन्न सक्नुपर्दछ। साँचो साहित्यकारले   समाज र सत्तालाई सहीको सही र भूलको भूल देखाउन सक्ने हुनुपर्छ। भीडको पछि कुद्नु हुन्न। लेखनमा इमानदार हुनुपर्छ। अरूका कृति पनि पढ्नु पर्दछ। आफ्नो कृतिका कमी कमजोरी थाहा पाए पछि तर्काउनु पर्छ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले ठुलो भूमिका रहन्छ। लेखकका प्रकाशित पुस्तकहरूको केही प्रति किनिदिने इकाइको स्थापना हुनुपर्द्छ। भारतको प्रसङ्गमा नेपाली भाषाको साहित्यलाई पनि समान रूपले सम्मान गर्नुपर्दछ। नेपालको प्रसङ्गमा पनि नेपाली भाषा साहित्यको समुन्नतिका निम्ति रै काम गर्दै गरेको पाइन्छ भने अझै काम गर्न सकिन्छ। सरकारले नेपाली कृतिको अनुवाद, भाषा-साहित्यको अनुसन्धानमा केही लगानी गर्नुपर्दछ। सरकारले लेखक सर्जकहरूलाई समुचित सुरक्षा सम्मान गर्नुपर्दछ।

स्रष्टाहरूको प्रोत्साहनका लागि अहिले भारतमा राज्यले के कस्तो भूमिका खेल्दैछ ? के गरे चाहिँ राम्रो हुने थियो जस्तो लाग्छ ?

स्रष्टाहरूलाई सरकारले केही सहयोग त गरेको छ। साहित्य अकादमी, भारतीय भाषासंस्थान आदिजस्ता सरकारी निकायहरूले केही सहयोग र प्रोत्साहन दिने गर्दछन्। सांस्कृतिक भाषिक र साहित्यिक सन्दर्भ पुस्तकका रूपमा मैसूरस्थित भारतीय भाषा संस्थानले यसो एक डेड़ सय प्रति किनिदिन्थ्यो, त्यो पनि अचेल किन्न छोडेको छ। साहित्य अकादमीले बेला बेलामा साहित्यिक कार्यक्रम गर्छ तर अत्यन्त सीमित सहभागी हुन्छन्। राष्ट्रिय पुस्तक न्यासमा पनि नेपाली भाषा –साहित्यका पुस्तकको पनि समान रूपमा कामकुरो भैदिउन्। त्यस्ता सरकारी संस्थामा सही व्यक्ति संयोजक हुनुपर्दछ।

भारतीय नेपाली साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?

भारतीय नेपाली बजारको अवस्था दुःखलाग्दो छ। पुस्तक प्रकाशित गरिदिने प्रकाशक छैनन्। आफ्नै गोजीको रूपियाँ खर्च गरेर पुस्तक छाप्नु पर्छ। बिक्री एकदमै न्यून छ। कुनै राम्रो उपन्यास छापिए बिक्री होलान कि जस्तो लाग्छ। कविता र कथा सङग्रह थोरै मात्रामा पुसिङ सेल गरेर क्री हुन सक्ला। तर समालोचनाको पुस्तक भने ठ्याम्मै बिक्री हुन्न। समालोचकहरूको झन मायालाग्दो अवस्था छ।  अब त झन अनलाइन पढ्ने बानी बढेर गएको छ, छापिएका पुस्तक बिक्री हुने दिन बिस्तारै गए जस्तो लाग्छ। अबका पाठक घटेर जानु, मोबाइल र अन्य इन्टरनेटको प्रयोगले अन्य विषय बढी हेरिनु आदिले गर्दा किताब पढ्ने बानी हराउन थाल्यो। यद्यपि पुस्तकको कुनै विकल्प छैन।

अहिलेसम्मका नबिर्सने क्षण कुनै छन् ?

म छ वर्षको हुँदा आफ्नो घर जल्दै गरेको देखेको र घरका ठुलाहरू रूँदै गरेको देख्नु सबैभन्दा नमिठो सम्झना छ। आफु कक्षा ५ र ६ तिर कालिम्पोङको एस यु एम आइ स्कुल पढ्दा सरहरूकोबाट घरि घरि कुटाइ खाएको सम्झना आलो छ। यसैगरी २०१७ मा असमको भ्रमण परेको बेला त्यहाँ ठेउला (चिकन पक्स) बिमार लागेर साह्रो पारेको थियो। जीवनमा दुःख सुख सबै भोगियो। जीवनमा यस्ता धेरै संस्मरणका हुन्छन्। अरू पनि धेरै छन्, जो यहाँ भनेर साध्य छैन।

जीवनलाई परिभाषित गर्नु पर्‌यो भने के भन्नु हुन्छ ?

जीवन भनेको भोगाइ हो, अनुभूति र अनुभव हो। जीवन बाँच्दा यसका चारैतिर चुनौतीहरूले भरिएको हुन्छ। जिज्ञासाको निराकरण र समस्याको समाधान गर्दै जानु नै जीवन हो। जानेर जानिनसक्नु, बुझेर बुझिनसक्नु, भनेर भनिनसक्नु

तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?

मैले स्कुल पढ्दादेखि नै केही विश्वस्तरीय सर्जकका पुस्तक पढेको छु। मुन्सी प्रेमचन्द, रवीन्द्रनाथ ठाकुर, शरदचन्द्रका केही कथा र उपन्यास, पर्ल बकको गुड अर्थ उपन्यास आदि पढ्न पाएको थिएँ। पछिबाट अनुदित पनि भएर आएका विश्व साहित्यका सर्जकहरूको पढ्न पाएको छु। हाम्रा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे, इन्द्रबहादुर राई आदि पनि विश्वस्तरीय सर्जक हुन्। विश्वस्तरीय कृति पढ्दै जाँदा कहिले त यतिको त नेपालीमा पनि छन् भने जस्तो पनि लाग्छ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि नेपाली साहित्यकारको आआफनो भिका छ। लेख्ने लेखनुपर्छ.अनुवादकहरूले राम्रो अनुवाद गर्नु पर्दछ। हाम्रा कृतिहरूलाई अँग्रेजी, फ्रेञ्च, जर्मन, चिनयाँ जापानी, अरबी आदि भाषामा अनुवाद र समीक्षण गरिनु पर्दछ। हाम्रा नेपाली साहित्यकारहरू अब त विश्वव्यापी बनेका छन्, ती ती साहित्यकारले त्यहाँको स्थानीय भाषामा नेपाली कृतिहरूको अनुवाद र समीक्षण गर्न सके हाम्रो भाषा विश्वव्यापी बन्न सक्छ। अन्तराष्ट्रिय स्तरमा सङ्गोष्ठी, साहित्यिक उत्सव, पुस्तक मेला आदि आयोजना गर्ने काम गर्नुपर्दछ। अब त अनेसास, विश्व नेपाली महासङ्घ जस्ता अन्तराष्ट्रिय स्तरको नेपाली साहित्यिक संस्था छन्, तिनले यस्ता काम आयोजना गर्न सक्दछन्।

विदेखि र्तमानसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा हेरिरहुनुभएको छ ?

सर्जकले शासकले सही बाटो देखाउन सक्नु पर्दछ। शासकका हरेक कुरालाई प्रशंसा मात्र नगरेर भूलको अवगत पनि गराउन सक्नु पर्दछ। खासमा लेखक सर्जकसित शासन सत्ता डराउने हुनुपर्दछ। सर्जक र शासक भनेको ऐना र मुहारझैं, क्यामेरा र दृश्य झैं, औषधी र मधौरूझैं रहनुपर्दछ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनु हुन्छ ?

अध्ययन मनन चिन्तन गरेर लेख्नु उचित हुन्छ। विश्वसाहित्यसित आफुलाई लाँदै गर्नुपर्छ। अरूका साहित्य पनि पढ्दै गर्नुपर्छ। लेखन अभ्यास, चिन्तन हुनुपर्दछ। मेरो बारेमा कसैले लेखिदिएन भनेर निराशा हुनुहुन्न। काम गर्दैगएपछि आफैं मूल्याङ्कित हुने हो। मानसम्मान- पुरस्कारका लागि पनि लेख्नु हुन्न।

जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ?  

खासै ठुलो योजना र इच्छा छैन। लेख्दै गएर जे जे हासिल हुन्छन्। समालोचनाका अझै गहन, अध्ययन मननपूर्ण पुस्तक निकाल्न सकुँ। केही साहित्य सेवा गर्न सकुँ। एउटा गजलसङ्ग्रह, एउटा कथासङ्ग्रह र एउटासम्म उपन्यास लेखेर प्रकाशित गर्न मन लागेको छ। हेर्दै जाउँ कतिसम्म सकिन्छ।

अहिले साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?

गुमाउनु त मैले खासै केही गुमाएको होइन। जीवनमा पाउऩु र गुमाउऩुको साँधी हुन्न। गुमाउनु भन्दा पाएको छु। साहित्य पढेर धेरै कुरा पाएको छु। साहित्यकारहरूसित संगत गर्न पाएको छु। साहित्य पढेर नोकरी पाएको छु। साहित्य पढेर गुमाउऩुभन्दा पाउनु बढी हुन्छ। नेपाल, असम, सिक्किम आदितिरका दुई चार साहित्यकारसित चिनजान भएको छ। साहित्य पढेर पाएको ज्ञान र आनन्द नै सबैभन्दा ठुलो प्राप्ति हो ।

प्रतिक्रिया
Loading...