
रूद्र बरालकाे जन्म बडसोला, शोणितपुर, असममा भएको थियो । उनका चरित्रहरूको खोजीमा अल्मलिँदा (कथासङ्ग्रह, सन् २०१४), तेस्रो आँखो (कवितासङ्ग्रह, सन् २०२०) र ब्रह्मपुत्रका लिगेसीहरू (निबन्धसङ्ग्रह, सन् २०२१) गरी तीन मौलिक कृतिहरू प्रकाशित छन् भने पाँचओटा पुस्तक असमिया तथा नेपालीमा अनुदित र सम्पादनका दसओटा पुस्तक रहेका छन् । बराल नेपाली साहित्य सभाको महासचिवसमेत हुनुहुन्छ ।
प्रस्तुत छ, रूद्र बरालसँग साहित्यपाेस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;
तपाईँको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?
सायद सन् १९८० मा “लामखुट्टे आउँछ” शीर्षक कविता मेरो मनमा परेअनुसार पहिलो लेखिएको रचना हो।
प्रकाशनको दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
सन् १९९४ को फेब्रुअरी १४-२८ को असमिया पत्रिका “प्रान्तिक” मा छद्म नाममा प्रकाशित “विज्ञानको युगको छात्र” शीर्षक चिठी मेरो पहिलो प्रकाशित रचना हो। सोही साल नेपाली पत्रिका “सामयिकी” मा “परिभाषा : अनुकूल र प्रतिकूलको” शीर्षक नेपाली कविता पनि प्रकाशित भएको थियो ।
कहाँ र कसरी बित्यो बाल्यकाल ? जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमश्रित बाल्यकाललाई हेर्दा कस्तो देख्नुहुन्छ ?
म गाउँमा जन्मिएँ, गाउँमै हुँर्किएँ र गाउँमै रहेँ। हामीले बीसौँ शताब्दीको सत्तरीको दशकको गाउँ देखौँ। त्यसबेला हाम्रा मानिसहरूको प्रमुख पेशा कृषि र गोपालन थियो। हाम्रो पनि त्यही थियो। घर चल्न डोहोडोहो थियो। घरमा धेरै गाई थिए। बिदाको दिन गाई चराउन जानु पर्थो, अरू दिन गाईलाई फरेस्टसम्म पुर्याउन र लिन जानु पर्थो, खेतमा खाजा लाने, घाँस काट्ने कामहरू नियमित थिए। त्यसैको बिच स्कुल जाने काम। हामीले त्यसताक कुन कामलाई प्राथमिकता दियौँ आज भन्न गारो पर्छ। त्यसबेला हामी नदीमा पौरन जान्थौँ । आँप-कटहर चोरेर खान्थौँ । ढुकुरका गुँड भत्काउँथौँ । भोगटेको बल खेल्थौँ। एकप्रकार रमाइलै थियो, कडा अनुशासनभित्र पनि स्वतन्त्रता चोर्न हामी खप्पिस थियौँ ।

रूद्र बराल
साहित्यमा प्रवेश गर्दाका सुरुका दिनहरूलाई कसरी सम्झनु हुन्छ ? प्रेरणा कसरी र कहाँबाट मिल्यो ?
कुन एक निर्दिष्ट तिथि वा मितिदेखि साहित्यप्रति आकर्षित भएँ त्यो भन्न निकै गारो पर्ला। एउटा कुरो भने मलाई याद छ- कक्षा दसमा पढ्दा विज्ञान शिक्षक अजय बडाले हामीलाई जीवनको लक्ष के हो भनेर सोध्नु भयो। साथीहरूले धेरै के के भने । सबैको आकर्षण ममा थियो। मैले “एक साहित्यकार बन्ने” भनेछु । सारा क्लास हाँस्यो, सर पनि हाँस्नु भो, म लाजले भुत्तुक्क भएँ। सायद त्यो बेलासम्म मेरो अन्तरमनमा साहित्यकार बन्ने चाहनाले गुँड लगाइसकेको थियो। पछि कलेज गएपछि केही किताबका कीराहरू भेटेँ अनि बङ्किम चन्द्र, टेगर, सुकान्त, ज्योतिप्रसाद आगरवाला, विष्णुप्रसाद राभा, अमूल्य बरुवा, धिरेन दत्त, प्रेमचन्द, किसान चन्दर, लुसुन, गोर्की, चेखव, जनरिड पढेँ, दोस्रो विश्व युद्ध र हिटलर पढेँ, एन फ्राङ्कको डायरी पढेँ, माक्स र एङ्गेल्स पनि पढ्ने मौका पाए। यो अध्ययनले मलाई लेखनप्रति आकर्षित गरायो। सुरु सुरुमा सभा- समिति, भानु जयन्ती, देवकोटा र कटुवाल जयन्ती आदिमा कथा, कविता पाठ गरियो। कलेज पढ्दा मलाई गङ्गा पराजुली र खेमराज सुतारले लेख्न निकै हौसला दिए। साथी थिरेन्द्र शर्माबाट त आज पनि हौसला पाइरहेको छु ।
साहित्य के हो जस्तो लाग्छ ?
साहित्यलाई परिभाषित गर्नु समयलाई परिभाषित गर्नु जत्तिकै कठिन हो। हड्सनले “भाषाको माध्यमद्वारा प्रस्तुत जीवनको अभिव्यक्ति नै साहित्य हो ।” भनेका छन् । म पनि साहित्यलाई जीवनका अनुभव र अनुभूतिको कलात्मक अभिव्यक्ति भन्ने ठान्छु।
असमेली नेपाली साहित्यमा बढी लेखिएको विधा कुन छ ?
अरू अरू भाषा र साहित्यको झैँ असमेली नेपाली साहित्यमा पनि बढी लेखिएको विधा कविता नै हो। साहित्यकारहरूको इतिहास पल्टाउन हो भने प्राय: जसो साहित्यकारकै साहित्य यात्रा कविताबाटै सुरु भएको पाइन्छ। एउटा समयमा त समग्र साहित्यलाई नै “काव्य” भनिन्थ्यो।

अन्तर्वार्ताकार : दीपक सुवेदी
किन बढी लेखिए जस्तो लाग्छ ?
सायद कविता लेख्न त्यति अध्ययनको खाँचो हुँदैन, थोरैमा लेख्न सकिन्छ र कविता बौद्धिकताभन्दा कल्पनाबाट सृजित हुन्छ भन्ने धारणाले होला।
अनि सबैभन्दा थोरै लेखिएको विधा चाहिँ ?
असममा कविता, कथा र निबन्धबाहेक अरू विधा सारै फस्टाउन सकेका छैनन्। नाटक, उपन्यास, बाल साहित्य, समालोचना फस्टाउन नसकेको कारण एउटै होइन। यी सबै विधामद्धे बाल साहित्य नै सबैभन्दा पछि छ। हुन त बाल साहित्यलाई एउटा छुट्टै विधा भन्नुभन्दा एउटा क्षेत्र भन्न मिल्ला। अहिलेको शिक्षा व्यवस्तामा आएको अङ्ग्रेजी हावा नै यसको मुख्य कारण हो। असममा साना नानीहरूले नेपाली पढ्ने मौका पाउँदैनन्। बाल साहित्य कसले पढ्ने र किन रचना गर्ने भन्ने धारणाले यो विधा पछि परेको हुनसक्छ।
असमेली नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ ?
असमेली नेपाली साहित्यमा धेरै कमीकमजोरीहरू छ्न् । तथापि असमको नेपाली साहित्य धेरै पछि छ भन्न पनि मिल्दैन। यहाँ हामीले अन्य भाषामा अध्ययन र अध्यापन गरेर नेपाली भाषा साहित्यको चर्चा गर्नुपर्छ। तर पनि १८९३ सनदेखिको यो यात्रामा बिरामचिह्न लागेको छैन। हरिप्रसादए गोर्खा राई, हरिभक्त कटुवाल, पुष्पलाल उपाध्याय, लीलबहादुर क्षेत्री जस्ता प्रसिद्ध साहित्यकार जन्माउने माटो यही हो। यहाँका लेखकहरूले विभिन्न भाषाका ग्रन्धहरू नेपालीमा अनुवाद गरेका छन् । भानुभक्तको रामायण, देवकोटाको मुनामदनलगायत नेपाली साहित्यका उत्कृष्ट कृतिहरू अन्य भाषामा अनुवाद गरेका छन् । कविता, गजल, मुक्तकको अहिले बाढी नै आएको छ र सर्वभारतीय स्तरमा कविहरू पुरस्कृत र भएका समादृत भएका छन् । धेरै लघुकथा लेखिएका छन्। विगत लकडाउन हाम्रो लागि आशीर्वाद भयो। धेरै नयाँ सर्जक निस्किए, धेरै नारी सर्जक हामीले पायौँ। तर पुस्तक प्रकाशन, बिक्री र वितरणको समस्या भने आज पनि छँदै छ।
असमेली नेपाली साहित्यका सम्भावना के के हुन् ?
सम्भावना धेरै छ्न्। अहिले युवा जमातका धेरै साहित्यकार निस्किएका छन् र साहित्य सिर्जनामा प्रतियोगितात्मक मानसिकता लिएर जोस र जाँगरका साथ उत्रिएका छ्न् ।
अनि चुनैतीहरूचाहिँ ?
हाम्रासामु मुख्यत तीन चुनौती छन् –
१. हाम्रो साहित्य छिमेकी असमिया र बङ्गला साहित्यको स्तरमा पुगेन भने पाठकले हाम्रा किताब पढ्दैनन्।
२. हाम्रो साहित्यलाई भारतेली नेपाली साहित्यको हाराहारीमा उभ्याउन सकेनौँ भने राष्ट्रिय तहमा हामी पछि पर्ने छौँ।
३. असमको नेपाली साहित्य पनि विश्वस्तरको नेपाली साहित्यकै अंश हो। यसर्थ हाम्रो यहाँको साहित्य पनि त्यहाँसम्म पुग्नुपर्यो।
मैले भनिसककेको छु – हामी धेरजसो साहित्यकारले नै नेपाली भाषाको पाठ्यक्रमिक शिक्षा नलिई नेपाली साहित्यको भवसागरमा हाम्फालेका हौँ। यो एउटा ठुलो समस्या हो। पुस्तक र पत्रपत्रिकाको अनुपलब्धता अर्को समस्या हो। एकलव्य भएर हामी साहित्य चर्चा गरिरहेका छौं।
यी चुनौतीहरूलाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ?
सामाजिक सञ्जालको व्यवहारपछि साहित्य स्थानीय भइरहेको छैन। सिर्जना सञ्जालमा हाल्नासाथ वैश्विक रूप लिन्छ। अर्कोतिर हामीले मुख्यत विश्वकै समकालीन साहित्य र गौणत समग्र साहित्य अध्ययनको मौका पायौँ। यो मौकाको फायदा उठाएर हाम्रो सिर्जनाको स्तर बढाउनु पर्छ। लेख्नुभन्दा पढ्नुमा ज्यादा ध्यान दिनु पर्छ। यो भयो निजी प्रयास। हाम्राबिचका प्रतिष्ठित साहित्यकारले नयाँ सर्जकलाई मार्गदर्शन गराउनु पर्छ। सामाजिक सञ्जाल यसको एक सठिक माध्यम हो र यो काम केही हदसम्म भएको पनि छ। संस्थागत रूपमा पनि लेखनमाथि, भाषिक शुद्धता र एकरूपतामाथि कार्यशालाहरू हुनुपर्छ। साहित्यिक पत्रपत्रिकाको प्रकाश र वितरण, साहित्य प्रतियोगिता सम्पन्न गर्ने काम हुनुपर्छ।
हजुर असम नेपाली साहित्य सभाको महासचिव पनि हुनुहुन्छ । सभाका भावी योजनाहरूचाहिँ के के छन् ?
असम नेपाली साहित्य सभा २७ वटा जिल्ला शाखा र २०० प्राथमिक शाखा भएको र प्राय: पचास वर्ष पुग्न आँटेको (४७ वर्ष) सङ्गठन हो । अनेसास एक साहित्यिक सङ्गठन हुँदाहुँदै पनि यसले जातीय सरोकारका धेरै कामहरू गर्नु पर्छ, गरिआएको छ। म यहाँ केवल साहित्यिक योजना एवम् गतिविधिहरूको मात्र उल्लेख गर्नेछु।
हामीले अनेसासका प्रत्येक शाखालाई सक्रिय पार्ने, साहित्यिक कार्यक्रम राख्ने र केन्द्रले प्रकाशित गरेका प्रत्येक पुस्तकको कम्तीमा पाँचप्रति बिक्रीको व्यवस्था गर्ने सोचेका छौँ। भ्राम्यमान किताब दोकानको पनि चर्चा चल्दै छ। सभाको मुखपत्र “सभा दर्पण” र बुलेटिन “सभा वार्ता” नियमित प्रकाश गरिने छ। गत सप्ताहदेखि हामीले “साहित्य दर्पण” शीर्षकमा एउटा फेसबुक पेज तथा युट्युव च्यानल खोलेका छौँ। केन्द्रीय सदस्य ज्योति हुमागाईँ तथा अनुपमा कट्टेलद्वारा प्रत्येक बिहिवार भारतीय समयअनुसार साँझ सातबजेदेखि यस पेजमा साहित्यिक कार्यक्रम सञ्चालित हुनेछ। चाँढै अनेसासको एक वेवसाइट खोलिँदैछ। विगत समयझैँ यसपालि पनि “अनलाइन” र “अफलाइन” राष्ट्रिय तथा राज्यस्तरका साहित्यिक प्रतियोगिताहरू सम्पन्न हुनेछ्न्। युवा र महिला सर्जकलाई प्रोत्साहन दिन यसपालि संविधानमा नयाँ धारा जोडिएको छ। प्रत्येक साल चारजना युवालाई सम्मानित गरिने छ। विगत समयमा हामीले अन्य धेरै पुस्तकका साथै “हरिभक्त कटुवाल रचनावली” र “चन्द्रकुमार शर्मा रचनावली” प्रकाशित गर्यौँ । हाल “लीलबहादुर क्षत्रीका उपन्यास समग्र” तथा “हरि गजुरेल रचनावली” को काम चल्दै छ। यस्ता अरू धेरै पुस्तक प्रकाशित हुने छ्न्। हामी पाठ्यपुस्तक प्रकाशनको पनि काम गर्छौँ। नयाँ लेखकहरूका लागि लेखन सम्बन्धित कार्यशालाहरू गरिने छ। हाम्रो महाधिवेशन प्रत्येक तीन सालमा हुनेगर्छ। अधिवेशनमा हामीले राष्ट्रिय र राज्यस्तरका सर्जकका लागि १५ वटा पुरस्कार दिने गरेका छौँ, अहिले युवा र महिलाका अरू दुइटा पुरस्कार थपिएका छ्न्। अरू केही दाताहरू पनि पुरस्कार दिन निस्कनु भएको छ। अधिवेशनसम्ममा पुरस्कार संङ्ख्या २५ पुग्ला। भाषिक एकरूपता ल्याउनलाई राष्ट्रिय सङ्गोष्ठीहरू सम्पन्न गर्ने तथा भारतेली नेपाली साहित्य संस्थाहरूबिच सहकार्यको वातावरण तैयार गर्ने र एक को-अर्डिनेसन समितिसम्म बनाउन सकिन्छ कि त्यसको जमर्को गर्ने।
समकालीन लेखनलाई कसरी हेर्नु भएको छ ?
समाजसँगै साहित्य पनि परिवर्तनशील हो। हिजो भानुभक्तले जुन विषय र ढाँचामा लेखे आजका साहित्यकारले त्यही धारा र पारामा लेख्तैनन्। समकालीन साहित्य सूक्ष्म भन्दा सूक्ष्म विषयसम्म पुगेको छ र समाजका हर पाटालाई सम्बोधित गर्ने प्रयासमा छ। धेरै नयाँ वाद, मान्यता र प्रणाली साहित्यमा भित्रिएका छ्न्। इकोलोजीका नयाँ कुराहरू मुखर भएर आएका छ्न्। किनारीकृत र नारीमुक्तिका आवाजहरू झनभन्दा झन चर्किन थालेका छन् । आजका साहित्यकार थोरैमा कसरी धेरै कुरा समेट्न सकिन्छ, कसरी नयाँ विषय, नयाँ शैली र नयाँ बिम्ब-प्रतीक भित्र्याउन सकिन्छ त्यसको कसरत गरिरहेका छन् । साहित्य अहिले जातीय घेरामा मात्र सीमित रहेको छैन र स्वत: वैश्विक भएको छ।
भारतेली नेपाली साहित्यलाई चाहिँ कसरी हेर्नु हुन्छ ?
भारतेली नेपाली साहित्यले पनि विकासको लामो फडको हानिसकेको छ। आज भारतेली नेपाली साहित्यमा साहित्यमा हरेक विधामा कलम चलिरहेको छ। यति हुँदाहुँदै पनि, नाटक, बाल साहित्य, विज्ञान साहित्यमा गर्नु पर्ने काम धेरै छन्। खुसीको कुरो आज धेरै नयाँ सर्जकले भारतेली नेपाली कवितालाई चुलीमा पुर्याए। धेरै कथाकार जन्मिए र कथामा नयाँ नयाँ प्रयोग ल्याए। उपन्यासले पनि आफ्नो सुनौलो अतीत फर्काएर ल्याउने हो कि भन्ने आशा गर्न सकिन्छ। विगत समयमा पश्चिम बङ्गालबाट प्रकाशित केही उपन्यासले राम्रो बजार पायो। आज भारतेली नेपाली साहित्यमा नयाँ नयाँ केन्द्र सृष्टि हुँदै छन् ।
आजका नयाँ सर्जकहरू उच्च शिक्षित तथा बहुभाषिक छ्न्। यसैले साहित्यको समकालीन गति-प्रवृति उनीहरूलाई थाहा छ र अदूर भविष्यमा भारतेली नेपालीको धेरै प्रगति हुने छ भन्ने आशा राख्न सकिन्छ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्छ जस्तो लाग्दछ ?
साहित्यलाई समाजको दर्पण मानिन्छ। साहित्यकारवर्ग समाजको शिक्षित र बुद्धिजीवी वर्ग हो। साहित्यकारले समाजका हरेक विसङ्गति साहित्यमा उतार्छ र समाजलाई उसको समकालीन अनुहार देखाउँछ। अब ऊ समाजलाई अनुहार देखाइदिएर आफू चाहिँ सुरक्षित ठाउँमा बसिरहनु मिल्दैन। साहित्यकार भनेको रोमका राजा निरो होइन, जो रोममा आगो लागेको बेला आफ्नो सारङ्गीमा धुन दिन व्यस्त थिए। मलाई लाग्छ – साहित्यकारको सामाजिक प्रतिबद्धता रहनु पर्छ र देश तथा जातिको सङ्कटको घडीमा सङ्ग्रामको मैदानमा आफू पनि सहभागी बन्नु पर्छ।
स्रष्टाहरूको प्रोत्साहनको लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?
शिक्षा, खेलकुद, संस्कृति विकासका लागि राज्यले जस्तो भूमिका खेल्छ साहित्यकारहरूको प्रोत्साहनका लागि पनि त्यस्तै भूमिका खेल्नु पर्छ। एउटा समय थियो प्रत्येक गाउँमा सार्वजनिक पुस्तकालय हुने गर्थे। जिल्लाहरूमा जिल्ला पुस्तकालय थिए। सरकारी सहयोग थियो, कर्मचारी थिए। आज यो संस्कृति हराइ सक्यो। यसलाई फेरि फर्काएर ल्याउनु पर्छ। यसोहुँदा प्रकाशित किताबले पनि बजार पाउँछ, अध्ययनको वातावरण पनि बनिन्छ। सबै भाषा र साहित्यको विकासका लागि भाषा-साहित्यको छुटै बोर्डको स्थापना हुनुपर्छ। पत्रकारहरूका झैँ साहित्यकारलाई पनि भ्रमणलगायत अन्य सुविधा, बीमा आदिको व्यवस्था हुनुपर्छ। राज्यले दिने साहित्यकार भत्ताको परिषर र परिमाण बढाउनु पर्छ।
साहित्यकारको प्रोत्साहनको लागि असमको राज्य सरकारले के कस्तो भूमिका खेल्दैछ ?
असम एक बहुभाषिक राज्य हुनाले यहाँ आआफ्ना जातिका धेरै साहित्यिक संस्था सङ्गठन छन्। विगत वर्षदेखि असम सरकारले विभिन्न भाषामा साहित्य चर्चा गर्ने र कम्तीमा दुइटा मौलिक वा अनूदित कृति प्रकाश गरेका युवाहरूलाई “असम भाषा गौरव” योजना अनुसार पचास हजार गरेर आर्थिक सहयोग गर्न थालेको छ। असम सरकारले यसपटक असमका २२ वटा साहित्य संस्थाको नाममा कोर्पस फन्डमा पैसा जमा गरिदिएको छ। अनेसासको खातामा एक करोड असी लाख फिक्सड डिपोजिट भएको छ।
अर्कोतिर असम उच्च शिक्षा विभागले हरेक साल अर्थ सहयोग गर्छ। यसपालि यो राशि अलिक कटौती गर्यो (कोर्पस फन्डले गर्दा) र दुई लाख रुपियाँ हामीले पायौँ । असम सरकारले हरेक साल विभिन्न भाषाका साहित्यकारलाई साहित्यिक पेन्सन दिने व्यसस्था छ।
असममा नेपाली साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?
असममा असमिया साहित्यको बजार धेरै राम्रो छ। यहाँका पुस्तक मेलामा करोडौं रुपियाँका पुस्तक बिक्री हुन्छन्। तर नेपाली साहित्यको बजार मन्दा छ। यहाँ पुस्तक छपाउनु भनेको सप्ताह पुराण लगाउनु जस्तो हो। फल अर्को जन्ममा पाइएला। तर यसपालिको अनेसासको अधिवेशनमा भने किताब बिक्रीले पूर्वको रेकर्ड तोड्यो। अहिले अनलाइन पुस्तक बिक्रीको पनि बिस्तारै बजार बढ्दै छ।
अहिलेसम्म नबिर्सिने क्षण कुन हुन र किन ?
जीवनमा नबिर्सिने क्षण सबैका धेरथोर हुन्छन् । मेरा पनि त्यस्ता केही छन्, कक्षा दुईमा पढ्दा स्कुलमै गैँडाले हानेको, सन २००२ मा डाकासँग लाप्पा खेलेको र गोलीबाट बँचेको आदि म बिर्सन सक्तिनँ। अर्को एउटा कुरो सम्झेर म अझ छक्क पर्छु। सन् १९८६ को सेप्तेम्बर महिना। म कलेज पढ्ने विद्यार्थी। एक विशेष कामले साइकेलमा म भङ्गामन्दिर भन्ने गाउँमा गएको थिएँ, एक शिक्षकको घरमा। त्यहाँ अरू केही साथीका साथै मित्र नरबहादुर कार्की र शिक्षक तेजकुमार छेत्रीसँग भेट भयो। काम सकिएर हामी निस्क्यौँ। ओल्लोघरको तघारोनेर दुइटी फ्रक लगाएका हाइस्कुल पढ्ने युवती उभिरहेका थिए। दिदी-बहिनी रहेछन् । उनीहरूले साथी नरबहादुरलाई घर पसेर जान आग्रह गरे। नरबहादुर उनीहरूका दाजुका मित रहेछन् । हामीलाई हतार थियो। पसिनौँ। बाटामा आउँदा मलाई नरबहादुर र तेजकुमारले “केटी कस्तो लाग्यो ? बाहुनकी छोरी हो बिहे गर” भनेर जिस्क्याए। “मैले बहिनी दिएर ज्वाइँ बनाउन खोज्नु भएको ?” भनेँ तर किन हो म त्यसबेला त्यति तरङ्गित, रोमाञ्चित भइनँ। आठ वर्षपछि मेरो तिनै ठुलीचाहिँ केटीसँग बिहे भयो। बिचको समय कसरी बित्यो बिर्सिएँ।
जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नु हुन्छ ?
जीवनलाई विभिन्न कोणबाट धेरैले परिभाषित गरेका छ्न्। जीवन भनेको सुख र दुखको सङ्गम क्षेत्र हो। सुख र दुख पनि सापेक्षिक कुरा हुन्। सकारात्मक सोचले जीवनलाई आनन्दमय पार्न सकिन्छ।
तपाईँलाई उत्कृष्ट लागेका विश्व स्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
हेर्नुहोस्, विश्व साहित्यको विशाल सागरमा म पौरिएको छु भन्न मिल्दैन। हामी त ससाना खोलानालामा डुबुल्की मार्ने मानिस हौँ। तर पनि मैले जीवनमा सोझै अथवा अनुवादको सहारामा पढेका केही कृतिहरूले गहिरो छाप छोडेका छ्न्। केही पुस्तकहरूको कुरो त पहिले नै भनिसकेको पनि छु। यी कृतिहरूमा ऐन फ्राङ्को डायरी, मेक्सिम गोर्कीको आमा, राहुन सांस्कृतायनको भोल्गा से गङ्गा, जवाहरलाल नेहरूको Letters from a Father to His Daughter, निकोलाइ अस्तोभोस्किको How the Steel Was Tempered, पुस्किन, नेरुदा, हिकमतका कविता, मोपासा, ओ हेनरी, लु सुन, किसान चन्दर , आर के नारायणका कथा आदिले मेरो जीवनमा ठुलो प्रभाव पारे।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापारीकरणको लागि कसले के के गर्नु पर्ला ?
नेपाली साहित्यलाई स्तरीकरण गर्न नेपाली लेखक, नेपाली साहित्यका अन्वेषक र प्राध्यापकहरूले प्रयास गर्नु पर्छ। भाषिक एकरूपता र हिज्जे र व्याकरणको मान्यताले पनि हामीमा विभाजन ल्याएको छ। आजसम्म कम्पुटरमा हाम्रो “स्पेल चेकर” विकसित भएन। एउटा विश्वकोश निस्किएन। यसको लागि राष्ट्रको पनि सहयोग चाहिन्छ। हुन त साहित्य सिर्जना संस्थागत भन्दा ज्यादा त व्यक्तिगत हो। साहित्यकारहरूले विश्व साहित्यको नाडी छामेर, वैश्विक उपभोक्ताको मागानुसारको खोराकी दिन सक्नु पर्छ। अर्को कुरो हाम्रा अमूल्य कृतिहरू अनुवादको माध्यमबाट विश्व बजारमा पुर्याउन सक्छौँ। आज अनलाइन किताब बिक्रीको जुन ज्वार आएको छ त्यसलाई हामीले उपयोगमा ल्याउनु र पुस्तकहरूको विज्ञापनको व्यवस्ता गर्नु जरुरी देख्छु।
विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबिचको सम्बन्धलाई कुन रूपमा हेरिरहनुभएको छ ?
कुनै पनि शासक सबै भन्दा धेर डराउँछ भने सर्जकदेखि र सबैभन्दा ज्यादा खुसी हुन्छ भने पनि सर्जकदेखि। इतिहास हेर्दा हामी देख्छौँ – राजा विक्रमादित्य, सम्राट अकवरका राज दरवारमा नवरत्न थिए। कालिदास पनि दरबारिया कवि नै थिए। असमका बराही राजा महामाणिक्य र कोच राजा नरनारायणले अनन्त कन्दली र महापुरुष शङ्कर देवलाई साथ र सहयोग दिएका थिए। अर्कोतिर सत्ताको चित्त नबुझ्दा वा स्वार्थको विपरीत जाँदा सर्जकहरूले जेल नेलको यातना भोग्नु परेको, पुस्तकमाथि प्रतिबन्धकता लगाइएका र साहित्यकारलाई देश निकासा गरेका वा मृत्युको सजाय दिएका अनेक उदाहरण इतिहासमा छन् । नेपाली साहित्यको “मकैको खेती” र सुक्तिसिन्धु पनि यस्तै उदाहरण हुन्। जबसम्म सत्ताको स्वार्थ र लेखकको कलमको तालमेल रहन्छ वा सर्जकको सिर्जनाले सत्तालाई खासै असर पार्दैन सत्ताले उसलाई पुरस्कृत गर्छ र सत्ताले खतरा अनुभव गर्यो भने सर्जकमाथि झम्टिन्छ। यो प्रक्रिया चलिनै रहन्छ।
नवोदित के सल्लाह वा सुझाव दिनु हुन्छ ?
हेर्नुहोस्, मेरो सुझावै दिने औकात त नहोला तर म चाहना राख्छु। नवोदित लेखकहरूले धेरै पढ्ने र थोरै लेख्ने, जे लेख्ने राम्रो लेख्ने प्रयास गर्ने, सङ्ख्यामा होइन गुणस्तरमा जोड दिने, नयाँ विषय सिक्न चाहना राख्ने र लेखनको निरन्तरता कायम राख्ने। सामाजिक सञ्जालको लाइक र कमेन्टलाई नै मेरो सिर्जनाको सही मूल्याङ्कन हो भन्ने ठानेर भुल नगर्ने।
जीवनका भावी लेखकीय योजना र इच्छाहरू के के छन् ?
म धेरै परसम्म सोचेर, योजना बनाएर लेख्ने लेखक होइन। मेरो पारा बाटाको छेउको लाइन होटेलको जस्तो छ। ट्रक रोकेर अर्डर दिए मात्र सब्जी काट्न थाल्ने। त्यसैबिच एउटा कविता सङग्रहको काम चल्दै छ। एउटा समालोचनात्मक निबन्ध लेख्ने विचारमा छु र फेरि कथातिर फर्किन्छु। यस्तै सोच छ, योजना नै हो भन्न नमिल्ला।
साहित्यमा लागेर के पाएँ र के गुमाए जस्तो लाग्छ ?
अहिले नै प्राप्ति र अप्राप्तिको हिसाब जोड्ने बेला आएको छैन जस्तो लाग्छ। तर पनि साहित्यमा लागेर मैले सोचेभन्दा धेर स्वीकृति पाएँ, माया गर्ने अग्रज पाएँ, अनुकरण गर्ने धेरै अनुज अनुयायी पाएँ, ज्ञान पाएँ, अनुभव बटुलेँ । घरको सहयोग पनि धेरै पाएँ अनि त्यो भन्दा धेर गाली खाएँ, पैसा गुमाए। कुल मिलाएर म सन्तुष्ट छु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

सङ्ख्यात्मक होइन, गुणात्मक कृतिको सिर्जना हुनुपर्छ – मोहन सुवेदी

साहित्य अमृत हो, केही थोपाले मात्र पनि ठूलो आत्मसन्तुष्टि प्रदान गर्छ – मञ्जुला तामाङ
