परिवार, समाज र देश कोरा सिद्धान्तहरूले मात्रै कहाँ बन्दारहेछन् र ! यिनीहरूलाई बनाउन पौरख थाल्नुपर्ने रहेछ । उत्पादन थाल्नुपर्ने रहेछ, अनि निर्माण थाल्नुपर्ने रहेछ । आज यस्तो लागि रहेछ– ‘आहा ! साक्षर हरिद्वार, सुन्दर हरिद्वार ।’

समयले हामीलाई पर्खिएनछ, तर हामीले समयलाई पर्खिएको तीन महिना तीन दिन जस्तै भएर बितेछ । गौरादहबाट दुई बजे बस छुट्ने जानकारी अघिल्लै दिन सबै सहभागीले पाइसकेकाले १४ गते एक बजेदेखि नै डिपु चौकमा साथीहरू भेला हुनेक्रम जारी थियो ।

नेपालका विभिन्न स्थानबाट हरिद्वार कोही पुगिसकेका, कोही यात्राकै क्रममा रहेका खबरहरू आइरहेका थिए । हामी पनि २०१३ जुलाई १७ देखि २३ सम्म पतञ्जलि योगपीठ हरिद्वारमा योग दीक्षा समारोहमा सहभागी हुन गौरादहबाट निर्मल बाँस्तोला, डिल्लीराम पौडेल, सावित्रा चापागार्इं, देवी ढुङ्गाना, टङ्कमाया विष्ट, शान्तामाया बराल, गायत्री न्यौपाने, माया ढकाल, ललितबहादुर कार्की, शोभा न्यौपाने, विष्णुमाया रिजाल, हरिमाया लोहनी, निर्मला सुब्बा, तुलसीराम ढुङ्गाना, टिकामाया अधिकारी, फणिन्द्रराज दाहाल, दिब्या दाहाल, मञ्जु बस्नेत, रोहित बस्नेत, सावित्रा ढुङ्गाना, गणेश पाण्डे, टेकबहादुर कार्की, भगवती कार्की, दिलिप भण्डारी र म गरी जम्मा २६ जना जोगवनीतिर लाग्यौँ ।

बेलुका ६ः३० बजेको सिमाञ्चल एक्सप्रेसमा हाम्रा स्लिपर टिकट थिए । जोगवनी पुगेपछि मात्र थाहा भयो, ट्रेन केही ढिलो हुँदैछ । नभन्दै बेलुका ८ः३० बजे मात्र हामी चढेको ट्रेन घिस्रियो । राजेन्द्रनगर, पटना, दानापुर हुँदै गङ्गा नदी तरेर रघुनाथपुर, त्यसपछिको स्टेशन दिलदारनगरमा पुगेर लामै विश्राम ट्रेनले लिने भयो । हामीसँग भएका पानीका बोतल मात्र होइन, पेट पनि रित्ता भइसकेका थिए । बोतल लिएर गायत्री सर र म पानी भर्न उत्रियौँ । बाहिर पर परसम्म अँध्यारोको साम्राज्य विस्तारित थियो । जलसम्पदामा विश्वको दोस्रो धनी देश नभए पनि त्यहाँ लोडसेडिङ थिएन, थियो त चारैतिर उज्यालो ।

दिल्ली हिँडेका बिहारका देवकान्त झा, ललित मिश्र र मुकेश कुमार हामी बसेकै डिब्बामा थिए । उनीहरू नेपालको भौगोलिक र राजनीतिक विषयमा टाढा रहेनछन् । नेपाली भाषा र गीतका केही लाइन जानी नजानी गाएर हामीलाई सुनाउन खोज्थे । हामीलाई कताकता आनन्दको अनुभूति हुन्थ्यो । भिन्नै भाषा बोलिने स्थानमा गएर नेपाली भाषा बोल्न कोसिस गर्ने भेट्दा मात्रै पनि हामी त नेपाली भन्ने हुँदोरहेछ ।

दीपक सुवेदी

भुटेका मकै, भट्मास र साथमा साँधेको तोरीको गुन्द्रुक, मायाले केही खाउँ है ! भन्दै निकाल्दा अझ खादाको स्वाद र क्षणको सम्झनाले अहिले पनि मुख रसाएर आउँछ । हामीले देवकान्तलगायत अन्य साथीहरूलाई पनि खान अनुरोध गर्यौँ । तर उनीहरूले खान मानेनन् ।

देवकान्तले भने– ‘आप लोग गाँजा खाते हो ?’

मकै, भटमास र गुन्द्रुक खाएको देख्दा छक्कै परेछन् । हामीले खाएको गुन्द्रुक उनीहरूले गाँजा सम्झिएछन् । पछि यथार्थ थाहा पाएपछि मागी मागी खाए ।

ट्रेनले इलाहावाद, रामवां, करबिगवां, कानपुर हुँदै इटावा पुर्यायो । इटावा त्यति ठूलो सहर त होइन तर इतिहास लामो अनि व्यापारी महत्व बढी भएको यो चर्चित सहर रहेछ । इटावा कटेपछि हामी रेलको झ्यालबाट त्यहाँको प्राकृतिक वातावरण र भू–वनोट हेरेर मुग्ध भयौँ । त्यहाँको माटो अलिक खुकुलो र सिँचाइमा समस्या रहेको जस्तो देखियो ।

रेलमार्गका छेउछाउमा बाँझो जमिन प्रशस्त देखिन्थे । गजियावाद, साहिवावाद हुँदै आनन्दविहार प्लेटफर्म पुग्यौँ । त्यहाँ एक सय ९८ वटा बस काउन्टर रहेछन् ।१६ गते बिहान दुई बजे आनन्दविहार आइपुग्दा एक हजार तीन सय ८३ कि. मी. को भौगोलिक दूरी गरिएछ ।

हाम्रो गन्तव्य हरिद्वार भएकाले हामी गजरौला हुँदै त्यसतर्फ पुनः बस रिजर्व लिएर लाग्यौँ । गजरौला औद्योगिक नगर रहेछ । त्यहाँबाट हरिद्वार एक सय ५२ कि.मी. टाढा पर्दोरहेछ । हामी जाकिर हुसैनद्वार, जे. पी. नगर, नूरपूर, हरिद्वार बसपार्क हुँदै बेलुका तीन बजे मात्र पतञ्जलि योगपीठ फेज एकमा पुग्यौँ ।

आहा ! पहिलो हेराइ नै मेरो बसको पछाडि लेखिएको “साक्षर हरिद्वार, सुन्दर हरिद्वार”मा पर्यो । मलाई लाग्यो हरिद्वार हरित्द्वार पनि रहेछ ।

प्राकृतिको सुन्दरताभित्र सफा, सुन्दर लाग्ने हरिद्वार र त्यसभित्रको योगपीठ, आहा ! पहिलो हेराइ नै मेरो बसको पछाडि लेखिएको “साक्षर हरिद्वार, सुन्दर हरिद्वार”मा पर्यो । मलाई लाग्यो हरिद्वार हरित्द्वार पनि रहेछ ।

हामी पतञ्जली योगपीठमा योग दीक्षा समारोहमा सात दिन रह्यौँ । त्यसो त हामी मात्र होइन, सात हजार नेपालीले यो समारोहमा भाग लिएका थिए । ती सबैलाई भने जस्तो खाने, बस्ने र सुत्ने व्यवस्था थिए । सफा, हरियाली, फूल–बगैँचा । जडीबुटी खेती, हेरिरहुँ लाग्ने आधुनिक भवन डुलेर र गनेर साध्ये देखिँदैन थिए । योगा हल दुई बिगा पन्ध्र कठ्ठाको, त्यसमा चौबीसै घण्टा अनुकूल वातावरण । एउटा अद्भुत निर्माण देखेर दीलिप भण्डारी भन्दै हुनुहुन्थ्यो– “दीपक सर, के हो यस्तो ?”

हामी त धेरै पछि रहेछौँ । हामीले आफ्नै ठाँउ सम्झियौँ । हामीमा आफैँ एक्लै गरौँ, एकैपटकमा सकौँ भन्ने रहेछ । हामीसँग गुरूयोजना भन्ने कुराको ज्ञान नै रहेनछ । कुनै ठाँउको विकास र विस्तारमा गुरूयोजना चाहिने रहेछ । जुन पुस्तौँपुस्ता पनि निरन्तर निर्माणाधीन रहोस् । हामी त मञ्च, माला र माइकका लागि मात्र गर्दा रहेछौँ । हामीमा बौद्धिक क्रान्ति अपुरै रहेछ । नैतिक क्रान्ति अधुरै रहेछ । फर्किएर हेर्यौँ, नेताहरूको झोली भरिएछ, हामी जनताहरू पो रित्तिएछौँ । निर्माणलाई भ्रमहरूले होइन सत्यहरूले पो सिँगार्नु पर्ने रहेछ ।

हामीले गौरादहको आधारभूमि निर्माण गर्ने स्व. डि. नरबहादुर बस्नेतलाई सम्झ्यौँ । शिक्षाका पारिला किरणमाझ भोजराज दाहाललाई देख्याैँ । सामाजिक तथा राजनीतिक नेतृत्व र निर्माणमा दीपक कार्कीलाई भेट्यौँ । युवा हाँसे देश हाँस्ने रहेछ । युवा बरालिए देश बरालिने रहेछ । हाम्रामा पछिल्लो यूवा पुस्ता खै ! कता बरालियो । तर यहाँ त सेवा, सङ्घर्ष र निर्माणमा यूवा रहेछ ।

यहाँको निर्माण र व्यवस्थापन, सरसफाइ र सुन्दरता देख्दा झापा उद्योग वाणिज्य सङ्घ, गौरादहको नेतृत्व र लक्ष्य, त्यसमा दीलिप भण्डारीको अतिथि सदन निर्माणमा उत्साह, कर्मवीर, दानवीर धर्मवीर तथा दाताहरूको होस्टेमा हैँसेले सफल पार्ने योजना थियो ।

त्यो झ्यालको, त्यो ढोका, त्यो बगैँचा ….मलाई फोटो खिच्न दीलिप अनुरोध गरिरहनुहुन्थ्यो । म क्यामारामा कैद गर्दै जान्थेँ । साँच्चै दीलिपजी, मान्छेले आफ्नो मात्र होइन अरुको जिन्दगीको पनि लामो अनुभव गरेको हुँदो रहेछ । उसले विजय र वियोग, उत्थान र पतन, क्रान्ति र द्वन्द्व आदि प्रशस्त देखेको हुँदो रहेछ । उसले क्षणिकता बुझेको हुँदो रहेछ र सौन्दर्य पनि ।

तेस्रो साँझ सांस्कृतिक कार्यक्रम थियो । पहाडको पल्लो डाँडामा छ सानो मेरो गाँउ …. घर छ मेरो खरले छाएको … मेरो साथीसङ्गी के पो गर्दै होलान् …… गीत मुरलीधरले गाउँदा हामी हाम्रै देश, आफ्नै परिवेश अनि आफ्नै भाषा र भेषमा रहेको अनुभूति भयो । चर्चित दृश्यकाव्य रामायणका दोहाका गायक रविन्द्र जैनको प्रस्तुति अनि रविकान्त जैनले, हे …. तुलसी आँगनमा रोपौँला …… गीत गाइरहेका बेला हलको उत्साह देख्दा लाग्थ्यो– ‘सगरमाथा उचालिइरहेको छ’ ।

भोलिपल्ट पतञ्जलि आयुर्वेद लिमिटेड, गङ्गा दर्शनका साथै हरकी पौढी, शान्ति कुञ्ज, भारत माता मन्दिर, भूमा निकेतन, इन्डियन टेम्पल आदिको भ्रमण गर्यौं । हरिद्वारमा हरकी पौडी घाट, गङ्गाजीमा स्नान, कुशावत्र्त घाटमा तीर्थ श्राद्ध, अलिमाथि पर्वतमा बिल्वकेश्वर शिवको दर्शन, अग्लो नीला पर्वतमा भगवती नीलादेवीको दर्शन अनि केही पर दक्षिणमा कनखल तीर्थ, दक्षप्रजापतिको सुप्रसिद्ध यज्ञस्थल, जहाँ आफ्ना पतिदेव महादेवको बेवास्ताबाट रुष्ट, दाक्षायणी सतीदेवीले योग समाधिबाट आफ्नो देह बिसर्जन गरेकी थिइन् । हरिद्वारका यी प्रमुख तीर्थस्थल रहेछन् । सात दिनको योगपीठको बसाईपछि बिदा भएर लाग्यौँ हामी ।

ऋषिकेशको अलखनन्दा नदी अनि माथि रामझुला र लक्ष्मणझुला रहेछन् । २७ मार्च १९८५ मा रामझुलाको निर्माण प्रारम्भ गरी एक करोड दुई लाखको लागतमा एघार महिनामा निर्माण सम्पन्न भएको रहेछ । रामझुला जसको लम्बाई दुई सय २० मिटर र चौडाई छ फुट रहेछ । लक्ष्मण झुलाको लम्बाई दुई सय मिटर र चौडाई रामझुलाको जति नै रहेछ ।

मन्दिरको फेदमा सानो बजार, त्यहाँबाट लगभग तीन मिनेटको केवलकारको यात्राबाट मन्दिर परिसर पुगिने रहेछ । केवलकारको यात्रापछि मूल मन्दिरतर्फ लाग्यौँ ।

लक्ष्मणझुला तरेर पारि रामेश्वर मन्दिर, जुन किम्वदन्तीहरूलाई ज्यूँदो पारेर लाग्थ्यो हामीलाई स्वागत गरिरहेछ । युद्ध समापनपछि पाण्डवहरूले यहीँ विश्राम लिएर तपस्या गर्न हिमालयतर्फ प्रस्थान गरेको स्थान । गङ्गाको तिरैतिर अनि माथि राम मन्दिर, सन् १९३९ मा गीता पे्रसद्वारा निर्माण गरिएको रहेछ । नजिकै बाह्र सय कोठाको स्वर्गाश्रम, अर्कापट्टि परमार्थ निकेतन तथा नौ ग्रहको मन्दिर रहेछ । यसको भित्तामा कौतुहलता र गर्भानुभूति गराउने एक पेज (एफो साइज) मा अटाइएको समग्र भागवत गीता आदिऋषिकेशका दृश्य अझै ताजै छन् आँखाभरि ।

त्यहाँबाट हामी चण्डेश्वरी मन्दिरतर्फ लाग्यौँ । मन्दिरको फेदमा सानो बजार, त्यहाँबाट लगभग तीन मिनेटको केवलकारको यात्राबाट मन्दिर परिसर पुगिने रहेछ । केवलकारको यात्रापछि मूल मन्दिरतर्फ लाग्यौँ । बाटाका दुईतर्फ बाँदरका क्रियाकलाप हेर्दै अघि बढ्दै थियौँ । “आहा ! सानो बाँदर ।”, भन्दै सावित्रा म्याडमले बच्चा चलाई मात्र के दिनु भएको थियो माउँ कुर्तामा झुण्डिन आइपुगिहाल्यो । सबै साथीहरू हाँस्न थाल्नुभयो । सावित्रा म्याडम उफ्री उफ्री भन्दै हुनुहुन्थ्यो, ‘हेइ ! हेइ !! मैले होइन । बिचरा ! आफ्नो सन्तानप्रतिको माया ।”, बाँदरले म्याडमको झुटो आग्रह बुझ्यो बुझेन तर छोडिदियो । चण्डेश्वरी मन्दिरबाट हेर्दा वरिपरि जङ्गल, जङ्गलको बीचमा नागवेली गङ्गा र गङ्गाको तिरैतिर साक्षर हरिद्वार, सुन्दर हरिद्वार । अहा !

त्यसै दिन रातको सात बजे एउटा सुमो र अर्कोे सानो मिनी बस रिजर्ब गर्यौँ । मिनी बसको पछाडि लामो सिट जहाँ म, गायत्री न्यौपाने र रोहित बस्नेत थियौँ । मैले सम्झेँ, रातभरिको यात्रा अगाडि घुँडा ठोकिने, पछाडि अडेस लागौँ, सिटको अडेस कम्भरभन्दा माथि छैन । ओहो !

हामी हरिद्वार (वाल्मीकि आश्रम) लाई छोडेर आग्रातर्फ हुइँक्यौँ ।

रातको समय, बाटो नेपालको भन्दा कम थिएन । झ्यालबाट देखिने शान्त आकाश जसले बसाइको पीडालाई अल्मल्याउँथ्यो बेला बेला । हामीदेखि अगाडिको सिटमा दीलिप हुनुहुन्थ्यो । उहाँसँग भारतको नक्सा थियो । सिङ्गो भारतलाई नै ओल्टाइपल्टाइ गर्दै लक्सर, मजफरनगर, मिरठ, बुलन्दसहर, अलिगढ, साजावाद भन्दै हुनुहुन्थ्यो । यी सबै उत्तराखण्डमा पर्दा रहेछन् । हाम्रो यात्राको रसिलो यात्री गणेश पाण्डे, उहाँका भजन, गीत र ठट्यौली सम्झँदा हामीलाई गाडीले के हल्लायो, के उफारो होला र ! रातारात चार सय पैँतीस किलो मिटर कुदिसक्दा हामी आग्रा पुग्यौँ । ताजमहललाई देख्ता साहिर लुध्यानवीका शेर सम्झेँ :

“मेरी महवुव ! उन्हे भी तो मुहब्वत होगी
जिनकी सन्नाई ने वख्शी है इसे शक्ले–जमील
उनके प्यारो के मकाविर रहे बे–नामो–नमूद
आज तक उन पे जलाई न किसिने कँदील ।”

त्यसको निर्माण मुगल सम्राट शाहजहाँले मुमताजको सम्झनामा बनाउन लगाएका थिए । त्यसलाई मुगल वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ । त्यसमा वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण रहेको छ । सन् १९८३ मा ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बनेको थियो । यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरूमध्येको एक रहेको बताइन्छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न घोषित पनि गरिएको छ ।

इतिहासमा पढिएका प्रायः प्रेमिल कथामा आँसु रहे झैँ ताजमहलमा मात्र होइन नेपालको रानीमहलमा पनि प्रेमसँगै रोदन रहेको छ । मलाई ताजमहलले नेपालको रानीमहलको सम्झना गरायो । ताजमहल झैँ नेपालको पाल्पाको रानीघाटमा अवस्थित रानीमहल प्रेमको प्रतीकको एक सुन्दर वास्तुकला हो । रानीमहलको निर्माण जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा गराएका थिए ।

आफ्नी प्राण प्रिय रानीको विस. १९४९ सालमा भएकोले मृत्युले उनी स्तब्ध भएका थिए । कालीगण्डकीमा दाहसंस्कार गरेपछि सोही घाटलाई रानीघाट नामकरण गरी सोही ठाउँमा उनले रानी महल बनाउन लगाएका थिए । १९५० मा निर्माण प्रारम्भ गरी १९५४ मा रानी महलको निर्माण सम्पन्न भएको थियो ।

तानसेनबाट करिब १० किलोमीटर उत्तरमा पर्ने यो महलको उत्तर भएर नदी बग्ने भएकोले धार्मिक रूपमा पनि यस क्षेत्रलाई पवित्र मानिन्छ । महलको ठीक पारी कालीगण्डकी माथि झलुङ्गे पुल रहेको छ । पुलबाट रानी महल हेर्दा नदीमाथि नै महल टक्क अडेको जस्तो देखिन्छ । काली गण्डकी नदीको तीरमा रहेको भवनको जग नदीको धारमाथि देखिन्छ । नदीको डिलबाट नै जग उठाएर महल बनाइएको हुँदा सायद यस्तो कलात्मक दृश्य पुलबाट देख्न सम्भव भएको हो ।

ताजमहल र लालकिल्लालाई आँखामा राखेर यमुना नदीको किनारतर्फ लागिरहेका थियौँ । बाटाका दुबैतर्फ विशाल समथर भूभाग फैलिएको थियो । अनेक नामका सानातिना बजार, गाउँ र सहर आउँथे, जान्थे । बाजराका बडाबडा खेतहरू आउँथे । स्थानीय मानिसहरू बाजरालाई ‘बाजडी’ भन्दा रहेछन् । बाजराको बोट हाम्रातिरका मकै जत्रो र जुनेलोको बोट जस्तै हुँदो रहेछ । बाजराको रोटी खाइँदो रहेछ । हामीलाई सबैभन्दा अनौठो लाग्ने कुराचाहिँ हाम्रातिर संसार जलमग्न भएका बेला यता चाहिँ हाम्रो चैत, वैशाखका झैँ सुख्खा थियो । बेलुका दुई बजे हामी मथुरा प्रवेश गयौँ । कृष्णले गाई चराएको गोकुल, जसका सात गल्ली, कृष्णको लीलास्थल वृन्दावन र कंशको वधस्थल मथुरा जूनका साथमा घुम्यौँ ।

अगष्ट–१०, विहान ६ः३० बजे सिमाञ्चल एक्सप्रेसमा जोगवनीसम्मको लागि स्लिपर टिकट थियो । हामी गोकुलबाट हरियाणा हुँदै दिल्लीस्थित गान्धी समाधि स्थल, अक्षरधाम, दिल्ली गेटबाट आनन्दविहार प्लेटफर्म साँझमा आइपुग्यौँ । प्लेटफर्मकै गेष्टरुममा पाँच वटा कोठा लिएर झोला बिसायौँ ।

प्लेटफर्म झिलिमिली थियो । हामी डुल्न निस्क्याँै । सावित्रा म्याडमसहित केही साथीहरू फ्रुटी खान लाग्नु भयो ।

दाम ?

व्यापारीले भने– पन्ध्र ।

भारु दश दिएर एक रुपयाँ फिर्ता माग्ने साथीहरू । अर्कातिर व्यापारी पाँच रुपयाँ माग्ने । खाने साथीहरू हिन्दी नबोल्ने र नबुझ्ने पनि । बेच्ने नेपाली बोल्नै नजन्ने र नबुझ्ने । यताका साथीहरूले भारू दश दिएर नेपाली सोह्र सम्झनु भएछ । एक रुपयाँ माग्नु हुँदोरहेछ । व्यापारी पाँच रुपयाँ माग्दा रहेछन् । निक्कैबेर पैसा मागामाग चलेछ ।

हामीहरू गएर सम्झाउँदा पनि साथीहरूले छिटो कुरा नबुझ्दाको क्षण !

ट्रेनमा लुुकेर एक जनाले सराब खाइरहेको हाम्रो साथीले देख्नुभयो । के गर्ने, मन थाम्न सक्नु भएन ।

‘टी.टी.पकडेगा लाओ मै छिपादुङ्गा ।’

बिचरा, हो कि क्या हो ! यसले लुकाइ दिन्छ होला भन्ने ठानेर सरक्क दिए ।

केहीक्षणमा साथीले आफैँ सुइँकाइ सक्न मात्र के आँटेका थिए, आफैँ टीटीको फेला परे । केही गर्दा नछोड्ने भयो टीटीले । छुटकारा पाउन दुई सय भारु जरिवाना तिर्नु परेको थियो । जे होस्, यी घटनाले बेलुकाको बसाई रमाइलै भयो ।

राति एक बजेसम्म त जागा रहेको प्लेटफर्म मसँगै निदायो कि निदाएन ! तर म ब्यूँझदा तन्नेरी झैँ लाग्यो । बिहानको चार बजेको हुँदो हो, नित्यकर्म सक्दा नसक्दा ट्रेन आएको खबर पाँचै कोठामा फैलियो । हतार हतार व्यागहरू लिएर ट्रेनमा चढ्यौँ । फकर््र्यौँ उहीँ, क्लिष्ट दर्शन, अन्तहीन विद्रोह र उही एकोहोरो नारा मात्र उरालिइरहेको देश ।