
असमको धौला, तिनसुकियामा बुबा स्व.रामलाल उपाध्याय दाहाल र आमा स्व.दिव्यश्वरी उपाध्याय दाहालका अन्तरे पुत्ररत्नका रूपमा पुरुषोत्तम उपाध्याय दाहालको जन्म भएको थियो । दाहाल पेशाले पन्जाव नेशनल बैँक गुवाहाटी, आसामका वरिष्ठ प्रवन्धक हुन् । दाहालको पातको फिरफिरे (२०२२) समेत प्रकाशित छ । साहित्यपोष्टका लागि पुरूषोत्तम उपाध्याय दाहालसँग दीपक सुवेदीले गरेको कुराकानी
तपाईँको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?
म ब्रह्मपुत्र छेउको गोठमा बस्ने गर्थेँ । गोठ बुबाले मेरो जिम्मामा छोडी दिनु भएको थियो । गोठमा गोठालाहरू प्रेम लहरी मदन लहरी गाउने गर्थे । मैले पनि कक्षा नौमा हुँदा दुइटा प्रेमिल रचना लेखेर गोठालाहरूको वाहवाही लिन सकेँ । जुन कविता यस प्रकार थियोः
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा
************************************
१
तरुण भयो आमको बोट फूलै फुलो रुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा।
खेत जाँदा मेलापात फर्की हेर्ने बानी
उमेर भयो यौवन चढ्यो सोच साइँली नानी
किटान दिई भन्छू म त राख्न सक्छु सुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा ।
बर्खा लाग्यो झरी पर्यो जानु पर्ने खेतमा
रोपाइँ चल्छ दिनैभरि खेताला छन् साथमा
हिलैहिलो शरीरमा छैनन् कोई दुःखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा ।
भेट हुँदा कहिले काहीँ मुस्काइ दिने बानी
मक्ख परेँ साइँली म त, छैनौ अब सानी
घरजम गर्ने विचार आयो राख्न सक्छु सुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा ।
दशैँ आयो खाउँला पिउँला, लिङ्गे पिङमा जाउँला
तिमी आउनु माया बोकी दई चिउरा खाउँला
यस्तै नै हो जीवन हाम्रो बिताऊँ दुःख सुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा।
रित्तो सिउँदो रित्तो गाग्रो राम्रो हैन भन्छन्
म त प्रेममा परेँ सायद साथीहरू भन्छन्
यस्तै त यो जवानी यो आँखाको यो तुकमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा।।
तिम्रो गोठ हाम्रो गोठ कति छ र टाढा
तिम्रैतिर चर्न जान्छन् हाम्रा सबै पाडा
मौरी बस्यो अचानक त्यो सिमलको रुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा ।
तरुण भयो आमको वोट फूलै फुलो रुखमा
तरुनी भइन् दुलाल साइँली डन्डिफोर छ मुखमा ।
२.
दुलाल साइँली मेला गइन् याद छिनछिनमा
******************************
बर्खा लाग्यो खोला बड्यो असारैको दिनमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा
चाम्रे भातको खाजा अनि गुनरुकको अचार
मैले मनमा बसाइ सेकेँ के छ तिम्रो विचार
मन मिले सबै हुन्छ हिजो आज दिनमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा ।
रातो रिबन नीलो जामा किनी दिने मन छ
भन्नु पर्यो साइँली नानी यसले केही दिन्छ
ढिकी चल्छ चिउरा निम्ति मुङ्गिरको दिनमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा।
निकै दिन भो छैन खबर कता हौली अहिले
यस्तरी त गार्हो हुन्छ के गर्नु र लौ मइले
यस्तो चुरा लगाऊ साइँली घन्कियोस् रात दिनमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा।
लाली पाउडर किनी दिउँला बजारैमा जाउँला
तिमी आउनु सुटुक्क लौ ललिपप नै खाउँला
ढुङ्ग्रो बज्यो मोइ पार्दा वैशाखको दिनमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा।
अस्ति खबर पठाई रथेँ पायौ होला तिमीले
दुःख सुख बाँडी लिउँला “ल” भनन् अहिले
गुन्द्री बुन्छौ आँगनैमा माघको त्यो दिनमा
दुलाल साइँली मेला मेला गइन् याद छिनछिनमा।
चोखो मन यो खोजी हिँड्छ माया को त्यो भाखा
दिन रात खोजी हिँड्छ मेरा यी दुई आँखा
पाखुरा छन् दरो मेरो पार्ने छुइनँ ऋणमा
दुलाल साइँली मेला गइन् याद छिनछिनमा।
(यो के लहरी हो मलाई थाहा भएन। म गोठमा हुँदा कान्छा गोदार बाले यो लयको प्रेम लहरी आफैँ कथेर गाउनु हुन्थ्यो । यो “प्रेम लहरी” “मदन लहरी” हो केटा हो भन्नु हुन्थ्यो । पुस्तक पनि थियो सानो तर हामीलाई हेर्न दिनु हुन्थेन । लय सुन्दर हुन्थ्यो । त्यस्तै लयको दुई वटा कविता लेखेँ मैले पनि । विज्ञहरूबाट यसबारे केही जानकारीको आग्रह राखेँ । वहाँको लहरीमा हामीले केही शब्दहरू लक्षणरेखा नाघेको पनि अनुभव गर्थ्यौँ।)

पुरूषोत्तम उपाध्याय दाहाल
प्रकाशनका दृष्टिले चाहिँ ?
प्रकाशकको दृष्टिले पहिलो रचना “धुरु धुरु रुन्छ मेरो कविता” जुन २०२१ सेतोपाटी डट कममा प्रकाशित भएको थियो ।
जीवनको भोगाइ र बाल्यकाललाई हेर्दा कस्तो देख्नुहुन्छ ?
जीवनमा भोगेको कुराहरू अविरल छन् । अं ई.१९८९ मा गोठमा सारै ठूलो ब्रह्मपुत्रको बाढी आयो । म नौ कक्षामा थिएँ । सात दिन बाढीले गर्दा जङ्गलमा सातजना व्यक्तिले नौकामा कटाएको र पछि हामीलाई उद्धार गरेको सारै याद आउँछ । दुई जनाले ज्यानै गुमाए । गाई भैँसी मरेर स्वाहा भए । हैजाले गर्दा गोठ छोड्नु पर्यो सबैले । पशुले भोक लाग्दा छानाको खर र खम्बाको बन्धन खाएको देखेपछि मन सारै दुःखित भयो । गाई बाछाको बीचमा जाँदा नाङ्गो भएर जानु पर्ने । नत्र भोकले लुगा खान आउने अवस्था झल्झली याद आउँछ । पछि जागिरमा लागेपछि सर्पले पनि टोक्यो। दिन दह्रो भएकोले बाँचियो । पछि फेरि बैँक डकैतमा परेर पनि बाँचे ।
साहित्यमा प्रवेश गर्दाका सुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?
खै के भन्नु र ? अव्यक्त कथाहरू छन् । अक्टोबर २००० मा कोभिड भएर लगभग तीन महिना उपचारमा रहनु परेको थियो । बाँच्ने आशा थिएन मेरो । त्यो समयमा निकै कविता कोर्ने मौका मिल्यो । एउटा कविता “बुढी” लेखेर सेतोपाटी डटकममा प्रकाशित हुँदा लगभग १६००० सेयर र १२०० लाइक भएपछि मलाई निकै हौसला मिल्यो । निरन्तर लेख्न मन लाग्यो । मन पनि प्रसन्न हुने कविता /कथा लेख्दा । मेरो कथा र कविता प्रकाशित भएपछि लेख्ने इच्छा निकै जाग्यो । निकै कविता र कथा साहित्यपोस्ट र सेतोपाटी डट कममा प्रकाशित भयो । मलाई मौलाउन मौका मिल्यो। मलाई फोन गरेर कविताको आग्रह गर्न थाले । म आज पनि सिकारु नै ठान्छु आफूलाई ।

अन्तर्वार्ताकार : दीपक सुवेदी
प्रेरणा चाहिँ कहाँबाट मिल्यो ?
बुबाले सबाइको लयमा कविता कोर्नु हुन्थो । बुबा तीर्थ घुमेर आएपछि “मेरो तीर्थयात्रा” भन्ने छन्द कविता लेख्नु भयो । त्यो सुनेर सारै राम्रो लाग्यो । स्कूलमा हुँदा म कविता वाचनमा प्रथम हुने गर्थेँ । मेरो प्रेरणा बुबा र विद्यालय । कविता वाचनमा पुरस्कार पाउँदा लेख्ने प्रेरणा पनि जाग्यो । निकै दिनबाट साँचेर राखिएको इच्छा अचानक फर्कियो ।
आफू कुन विधाको स्रष्टा हुँ जस्तो लाग्छ ?
मेरो कविता घरगाउँ, गोठ-गोठालो, नदीनाला, मानिसको र समाजको वेदना, नारीको दुःखलगायत सामाजिक व्यवस्था । आफूले टेकेको माटो, देशको अनुहार, जातिको अस्तित्व, बिलाउँदै गएका पारिवारिक सम्पर्क, टुक्रिएको आत्मीयता, स्मृतिको छवि, बीभत्स दरिद्रता, धनले मात्तिएको समाज बेथिति आदिले सारै सताउँछ ।
कवितालाई परिभाषित गर्नुपरेमा के भन्नुहुन्छ ?
कवितालाई परिभाषित गर्नु पर्दा, म त मनको उद्गार लेख्ने एक अब्बल साधन भनेर ठान्छु । कविताको विशेषता के कस्तो हुन्छ त्यो पनि मलाई थाहा छैन । लेख्छु, सुनाउँछु, आनन्द लिन्छु, रमाउँछु अनि रसपान गर्छु । आनन्द आउँछ । जति र जे जान्दछु त्यही लेख्छु ।
केले कवितालाई राम्रो बनाउँछ ?
हामी असमिया माध्यमबाट पढेका हुनाले नेपाली कविता कोर्न नै गाह्रो । कविता वास्तवमा, सहज सरल भए राम्रो भई हाल्छ जस्तो लाग्छ । कविता राम्रो बनाउने त्यस्तो केही कलम या साधन खोजेर भेटिन्छजस्तो मालाई लाग्दैन । मनको भाव सलल बगे सारै आनन्द आउँछ ।
तपाईँको आफ्नै कविता लेखनकलाको बारेमा केही बताइदिनु न ।
ममा त्यस्तो कला छजस्तो लाग्दैन । मनमा आएको लहरलाई सकेसम्म राम्रो मालामा उनेको नै लेखन कला हुन्छ मेरो लागि । हिज्जे र व्याकरणपछि । पहिले रचना आनन्दले कोर्ने । चरा, नदी, खोलाको के भाषा हुन्छ र ? के व्याकरण हेर्छन् र उनीहरू ? जस्तो बोल्छ त्यही अनुपम ।
असमेली नेपाली साहित्यमा धेरै लेखिएको विधा कुन छ ?
असमेली नेपाली साहित्यमा धेरै लेखिएको त कविताजस्तै लाग्छ । कथा, उपन्यासको मात्रा त्यति धेरै छन् जस्तो मलाई लाग्दैन । निकै स्तरीय काव्यकारहरू हुनुहुन्छ ।
थोरै चाहिँ नि ?
खण्ड काव्य, उपन्यास, छन्द कविता र निबन्ध थोरै लेखिएको जस्तो मलाई लाग्छ ।
समग्रमा असमेली नेपाली साहित्य कस्तो छ ?
मेरो विचारमा असमेली नेपाली साहित्य स्रष्टाको आफ्नै कष्टमा अर्जित भएको छ । न कोही सिकाउने न कसैले गरीब साहित्यकारहरूलाई मद्दत गर्ने । तर स्तर सारै राम्रो छजस्तो लाग्छ । एकदिन यो राम्ररी फस्टाउने आशा छ।
असमेली नेपाली साहित्यमा सम्भावनाहरू के के हुन् ?
असमेली नेपाली साहित्य सम्भावना निकै छन् । नयाँ महिला सर्जक साथै अरू अरू सर्जक पनि अब्बल छन्, आगामी दिनहरूमा हामी असमेली नेपाली साहित्यमा निकै राम्रा राम्रा रचना देखिने सम्भावना छ । उपन्यास, कथा र कविता निकै आउने सम्भावना छ।
चुनौती चाहिँ के के छन् ?
चौतर्फी चुनौती छ। भाषा समस्या, प्रकाशन समस्यालगायत कसैले कार्यशाला आदि गरेरे देखाए भनि उत्साह बढ्ने छ । नत्र कोपिलामा नै रहने छ । जे गरे पनि आफ्नो प्रयासले गर्नु पर्नेजस्तो देख्छु । प्रकाशन गर्न निकै खर्च लागत हुने भएकोमा आर्थिक दृष्टिमा पछि रहेका काव्यकारहरू फस्टाउन पाएका छैनन् जस्तो लाग्छ।
यी चुनौतीलाई समाधान गर्न कसले के गर्नु पर्छजस्तो लाग्छ ?
यी चुनौतीलाई समाधान गर्न सबैले हातेमालो गरेर अघि बढ्नु जरुरी छ । आर्थिक सहायता, प्रकाशनको व्यवस्था गोष्ठी, आदान प्रदान आदि गर्न कोही आउनु पर्छ ।
असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि कहाँबाट कोको हुनुहुन्छ ?
असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि निकै हुनुहुन्छ । मलाई त स्व.हरिभक्त कटुवालको कविताले नै ज्यादा छुन्छ । प्रेरणा मिल्छ । अहिले मैले जानेका र पढेका कविताहरू मध्ये ड.देवेन सापकोटा, डम्बर दाहाल, नैना अधिकारी, अनुपमा कट्टेल, मनिषा दाहाल, रुद्र बराल, मिलन बोहोरा, पूजा आचार्य, युद्धबीर राणा, अर्जुन उप्रेती, कुञ्ज देवी उपाध्याय, हिरणमई आचार्य,कुले भाइ, प्रकाश कुइकेल, पूजा उपाध्याय, मिनादेवी फुयेल, जगन्नाथ उपाध्याय आदि । मोहन सुवेदी मेरा सारै प्रिय कवि । वहाँको रचना मलाई सार्है मन पर्छ ।
समकालीन असमेली कवितालाई कसरी हेर्नुभएको छ ?
समकालीन असमेली कवितालाई आकाशको उज्यालो नक्षत्र देख्छु । नेपाली साहित्यको ढुकुटीमा राम्रो योगदान हुने क्षमता छ । सबै कविहरू अब्बल हुनुहुन्छ।
कविहरूको दायित्व के कस्तो हुनु पर्दछजस्तो लाग्छ ?
कविहरूको दायित्य तमाम छ । समाजको स्पष्ट द्रष्टक भएर सबैतिर अङ्गालेर राम्रोलाई कदर र नराम्रोलाई विरोध गर्नु पर्छ । कविमा त्यो शक्ति निहित छ । निर्धक्क भई लेखेर समाजलाई प्रगति तर्फ लान कविको निकै योगदान हुनुपर्छ । एउटा शब्दले व्यक्ति परिवर्तन भएको उदाहरण निकै छन् । कविले समय परिस्थिति अनुसार उचाल्ने पछार्ने दुवै गर्छन् । अरूलाई त्यो गर्न सारै गाह्रो हुन्छजस्तो मलाई लाग्छ ।
कविहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्छ ?
कविहरूको प्रोत्साहनको लागि राज्यले साधन र उत्साह दिन अत्यन्त जरुरी छ । कवि साधारणत कसैबाट आशा गर्दैन तर राष्ट्रले सम्मान गरे प्रत्यक्ष या परोक्ष रूपमा फायदा जनताले नै पाउने छ । राष्ट्रले कविको भलो चिताए समाज सुन्दर बन्छ ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
अहिले इन्टरनेटको जमानामा पुस्तक पढ्नेभन्दा अनलाइन पढ्ने निकै भएका छन् । काव्य बेच्ने वस्तु त हैन तर राम्रो लागेर पठन गरे मन मस्तिष्कले राम्रो खोराक पाउँछ । लागतसम्म पाउने आशा कविके नगरे पनि पाए ऊ अवश्य आनन्दित हुन्छ । बजार मन्द छ । तर अन्तमा त साहित्यले नै राम्रो खोराक दिन्छ । भविष्यमा बजार उच्च हुने आभास पनि छ ।
तपाईँका अविस्मरणीय त्यस्ता कुनै क्षण छन् ?
ई स.१९९१ मा म जागिरको निम्ति एउटा अन्तर्वार्ता दिन कलकत्ता गएको थिएँ । म नेपाली भएको नाताले नेपाली रामायणको प्रकाशक र सम्पादनबारे प्रश्न गर्दा केही जवाफ दिन सकिनँ । स्व.कटुवाल बाहेक अरू कुनै काव्यकारको नाउँसम्म भन्न सकिनँ । नेपाली पढेकै थिएन कसरी जान्नु ? म चयन भइनँ । खुब रोएको थिएँ । पछि त्यही वर्ष, आमासँग नेपालमा आफन्त भेट्न जाँदा पैसा मागेर निकै पुस्तक किनेर ल्याएँ र अध्ययन गरेँ । त्यसपछि कुनै पनि अन्तर्वार्तामा नेपाली भाषाबारे निकै जवाफ दिन सक्ने भएँ । अन्तमा, एकदिन जागिरमा चयन पनि भएँ । जहाँ बसे पनि नेपाली भन्ना साथ नेपाली साहित्यबारे जानकारी नहुनु एउटा कलङ्क रहेछ भन्ने मनमा कुरा रही रह्यो । आफ्नो भाषा साहित्य जान्न सारै जरुरी रहेछ । सबैलाई आफ्नो भाषाज्ञान प्राप्त गर्न अनुरोध पनि गरेँ ।
जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नुहुन्छ ?
जीवनमा सारै नजिकबाट मृत्युलाई देखेको हुँदा, यो जीवन क्षणिक छ र हामीले असल कर्ममा आफूलाई निर्देश गर्नु पर्दो रहेछ भन्ने विश्वास जागेको छ । दुई दुई पटक मृत्युबाट नजिक पुगेर फर्केका हुनाले, यसको प्रयोग शुभकार्यमा नलगाए पछितो हुने रहेछ भन्ने बोध भएको छ । सकेसम्म अरूलाई मद्दत पुर्याउने कर्ममा लाग्नु पर्छ । कसैलाई केही दिएर या दान गरेर मानिस कहिल्यै गरीब हुँदो रहेनछ । सामाजिक कार्यजस्तै, बाटाका कुकुरहरूको उपचार, गरीब विद्यार्थीलाई र बिरामीलाई मद्दत गरे, जीवन निकै सफल हुन्छ । हाल दुइटा पुस्तक प्रकाशनको तयारीमा व्यस्त छु । एउटा “वर पिपल” रम्बास कविता जसमा ९१ जना भारत, नेपाल र बर्माका काव्यकारहरू सङ्गालेर कविता सङ्कलन प्रकाशित गर्ने जमर्को, दाजु खडानन्द दुलालसँग मिलेर गर्ने काम प्रायः सम्पन्न हुन गएको छ । अर्को पनि एउटा दीपक सुवेदीज्यूको प्रकाशन गर्ने जमर्को गरेको छु । बाँकी प्रभु कृपा ।
तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
मलाई उत्कृष्ट लागेको विश्वस्तरीय सर्जक मध्ये मुख्यतः मेक्सिम गोर्की, कवि लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटालगायत मेरा बाबुले लेखेको कविता सारै मन पर्छ । मेरी दिवङ्गत आमाले गाएको केही नेपाली स्तोत्रहरू पनि मलाई विश्वस्तरीय नै लाग्छन् । पद्मश्री लिलबहादुर क्षत्रीज्यू पनि मेरो प्रेरणा हुनुहुन्छ । ई स.२९८३ मा म गुवाहाटी कलेज पढ्न आउँदा वहाँको सानिन्ध्यले मालाई निकै प्रेरणा मिल्यो । मलाई सारै मायाँ गर्नु हुन्थ्यो । वहाँको सबै रचना पढेको छु।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले केके गर्नुपर्ला ?
ठुला ठुला नाम गरिएका साहित्यिकहरूले सबैलाई मायाँ गरेर लेख्न उत्साह नदिए अनि हाम्रो साहित्य एक अर्कालाई खुट्टा तानातानी गर्यो भने फस्टाउन पाउँदैन । गाउँको भित्री क्षेत्रमा रहेका सुषुप्त काव्यकारहरूलाई जगाउनु पर्छ । वहाँहरूको रचना सङ्कलन गरेर प्रकाशित गरे अमूल्य खजाना पाउने सम्भावना निकै देखिन्छ ।
विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबीचको सम्बन्धलाई कनु रूपमा हेरिरहनु भएको छ ?
शासक र सर्जकबीचको समबन्ध राम्रो नभए सबै लथालिङ्ग हुन्छ जस्तो लाग्छ मलाई । शासक मायालु साथै काव्यिक भए जनता सधैँ खुसी हुन्छन् । कुनै कुनै समयमा शासकले सर्जकलाई दमन गरेको उदाहरण देखिए पनि शासक हारेकै हुन्छ । काव्य अमर हुन्छ भन्ने मेरो विचार छ।
आफ्ना रचना वा कृतिलाई सम्झनु परेको खण्डमा कुन रचना वा कृतिलाई सम्झनुहुन्छ ?
मेरो कविता “बुढी” लगभग दस लाख पाठकले पढेर हजारौँ कमेन्ट गरेको रचनालाई सारै सम्झिन्छु । मलाई यो कविताले निकै प्रेरणा दियो मनपराइ दिने सबै पाठकहरूलाई हार्दिक आभार भन्न चाहन्छु । मालाई गोठको कविता साह्रै राम्रो लेख्नु हुन्छ भनी सधैँ प्रेरणा दिने वरिष्ठ कवि, लेखक मोहन सुवेदीज्यूले बारम्बार पुस्तक निकाल्न प्रोत्साहान दिनु भएकोमा, हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कहिलेकाहीँ फोन गरेर मेरो कविता सुन्ने आग्रह गर्नु हुन्छ । म सारै आनन्दित हुन्छु ।
जीवनका लेखकीय भावी योजना के के छन् ?
अहिले जागिरमा व्यस्त भए पनि भविष्यमा कथा, कविता उपन्यास लेखने जमर्को गर्दै छु । अरू निकै कविता पनि छन् । समय मिले प्रकाशित गर्ने इच्छा पनि छ अशीर्वाद दिनुहोला ।
साहित्यमा लागेर के पाएँ र के गुमाएँजस्तो लाग्छ ?
साहित्यमा लागेर मैले गुमाएको त केही छ जस्तो लाग्दैन । जीवन युद्ध गर्ने कला साहित्यबाट पो पाएँजस्तो लाग्छ । साहित्य नै रहेछ मनलाई राम्रो खोराक दिने । यो बुझ्नेलाई प्राणवायु रहेछ । साहित्यले मनमुटु पूर्ण हुने, अक्सीजन प्रदान गर्ने काम गर्दो रहेछ । सारै आनन्द आउने ।
नवोदित स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?
म सल्लाह दिने स्तरको सर्जक भएको छुजस्तो मलाई लाग्दैन र पनि आग्रह गर्न सक्छु । खुब लेख्नुहोस् । जे मनपर्छ त्यही लेख्नुहोस् । एकदिन अवश्य रचना खारिएर आउँछ । त्यसको लागि अध्ययन गर्न सारै जरुरी छ । वाचन राम्रो भए कविता जीवन्त हुन्छ । यसको आनन्द तमाम हुन्छ। पुस्तकभित्र रहेको कविता के गर्नु ? वाचन गरे जीवन्त हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साहित्य अमृत हो, केही थोपाले मात्र पनि ठूलो आत्मसन्तुष्टि प्रदान गर्छ – मञ्जुला तामाङ
