म्यासेज आयो- ‘सर ।’
‘थप केही म्यासेज आउँछ कि !’ सोच्दै थिएँ ।
केही समयपछि फोन नै आयो । हेरेँ, सिक्किमकी गीताश्रीले गर्नुभएको रहेछ । आवाज राम्रो बुझिएन । ‘काम कहाँ गर्ने…।’ मात्र बुझियो । नेट स्लो भयो ।
२०८० भदौ २२ गते बिहीबार, साँझको सात बज्न लाग्दै थियो । घरअगाडि कुकुर जोडले भुकेको आवाज आयो । झ्यालका पल्ला खोलेँ । आकासमा बादल मडारिरहेको थियो । अन्धकारको साम्राज्य विस्तार हुँदै थियो ।
‘नरबहादुर सर त बित्नु भएछ ।’ फेरि म्यासेन्जरमा गीताश्रीले भन्नु भयो । मैले नरबहादुर सरका पछिल्लो समयका नजिकका हितैषी कवि ज्ञानेन्द्र खतिवडा र कालूसिंह रनपहेँली द्वयलाई सम्पर्क गरेँ । सम्पर्क हुन सकेन ।
‘नरबहादुर दाहाल सर भरखरै स्वर्गवास हुनुभएको खबर आयो ।’ फेरि मिरिकबाट वियोगीले म्यासेज गर्नु भयो । केही क्षणमा सुकराज दियालीले पनि खबर गर्नु भयो । एउटा हुरी मच्चिरह्यो मनमा । ती दिनको झल्को आँखामा नाचिरह्यो ।
****
सुकुनाको आकाश
मैले सम्झेँ सायद त्यही नै अन्तिम भेट रहेछ ।
आकाश आँखाले भ्याएसम्म अझ भनौँ अनन्तसम्म धमिलो देखिन्छ । सायद आज आकाश जहीँबाट हेर्दा पनि उस्तै देखिन्छ ।
२५ अगस्त २०२३ शुक्रबारको दिन सिमसिम पानी पर्दै थियो । बिहानको आठ बजेको थियो, ज्ञानेन्द्र सर र म अटो चढेर सालबारीबाट सुकुनातिर लाग्यौँ ।
दीपकजी, यता.. । ज्ञानेन्द्र सरले हातले इसारा गर्दै भन्नु भयो ।
हामीले बाटो काट्यौँ । घरहरूको बिचमा सानो गल्लीको बाटो थियो । ज्ञानेन्द्र अघिअघि, म पछिपछि ।
‘यही घर हो ।’ ज्ञानेन्द्र सरले इसारा गर्दै भित्र पस्नु भयो । मैले बाहिर नियालिरहेँ- घरपछाडि रङटङ खोलो आफ्नै लयमा बगिरहेको थियो । अलिकमाथि कहिल्यै नखिइने उत्सुकताका दृढ उचाइ समेटेका पहाडहरू देखिन्थे । आँगनभरिका गमलाका शोभाहरू थिए ।
‘ला, दीपकजी, सरलाई त अर्को छोराको घर लगेको रहेछ ।’ ज्ञानेन्द्र सरले भनेपछि निराश हुँदै फर्कियौँ ।
अझै पानी थामिएकै थिएन । ज्ञानेन्द्र सरको निवासमा हामी चिया पिइरहेका थियौँ । ‘नरबहादुर सरलाई भेट्न आउँदै छु भनेर चन्द्र भण्डारीले म्यासेज गर्नुभयो ।’ ज्ञानेन्द्र सरले भन्नु भयो । सल्लाह गर्यौं एक बजे जाने तय भयो । मैले गीताश्रीलाई सम्पर्क गरेँ । भर्खर सिक्किमबाट आइपुगेकी छु । केही काम छ, मिलाएर भरिसके म पनि जाने भन्नु भयो ।
सालबारीबाट हामी १२:३० मा अटो चढ्यौँ । हामी दार्जिलिङ मोड पुग्दा गीताश्री गाडी लिएर पर्खिरहनुभएको रहेछ । मेडिकल मोड पुग्दा नपुग्दा चन्द्र भण्डारी सर किरणचन्द्र चियाबगान, देवनीया पुगिसक्नु भएको खबर आयो । केही क्षणमा हामी पुग्यौँ ।
‘सर अब चाँडै निको भएर नेपाल जानुपर्छ । तपाईंले काम गर्न अझै बाँकी छ ।’ चन्द्र सरले खादा लगाइदिँदै भन्नुभयो । नरबहादुर सरले सकिनसकी टाउको झुकाएझैँ गर्नु भयो । बोल्न खोजेजस्तो गर्नुहुन्थ्यो । तर आवाज थिएन । सरले हामीलाई हेरिरहनु भयो । समयको आँखाले निरन्तर पहेँलिएको देख्यौँ पातहरूलाई । अझ भनौँ सरको अवस्था नाजुकै देखिन्थ्यो । उहाँको छोरा देशभक्तबाट सरको खानपान, अवस्थाका बारेमा सोधखोज गर्यौं ।
जिन्दगी त के छ र ? हामी एकापसमा आज बहकिँदा थाहा भयो । पग्लिँदा थाहा भयो । हामी विगतमा बगेछौँ । पश्चिमी क्षितिजमाथि बसेर घाम हामीलाई हतार गर्दै बिदा मागिरहेझैँ देखिन्थे । चराहरू पनि सायद आआफ्नै वासस्थान फर्किंदै थिए ।
आखिर जीवनको उद्देश्य सम्बन्धका सिँढीहरूको उचाइ थप्नु नै त रहेछ । पानीटङ्की पुगेपछि दोस्रो पटक मैले डायल गरेँ।
‘सर नमस्कार, म दीपक ।’
‘नमस्कार, अनि हो, ज्ञानेन्द्रजीको मा बेलुका ६ बजे आउँछु ल ।’ भन्नुहुन्थ्यो ।
म साँझ ६ बजेतिर गोम्देन टि बारमा जान्थेँ । एउटा पर्खिने ठाउँ थियो, काव्यालय साँझको ।
जहाँ स्रष्टाहरू नरबहादुर सर, ज्ञानेन्द्र खतिवडा, कालूसिंह रनपहेँली, शैलेन्द्र समदर्शी, निर्मल सिञ्चुरी, डि.एस. बमजन, पूर्ण मगर, जीतबहादुर सुनार, भविलाल लामिछाने, मोहन ठकुरी, हेमन्त काफ्ले, लीलबहादुर सुनार, मणिकुमार प्रधान, टङ्क शर्मालगायत उहाँहरूको दैनिकी नै थियो । म चाहिँ कहिले काहीँको पाहुना । महिनामा चार दिन त प्रायः म पनि हुन्थेँ । जहाँबाट २५ मई २०१३ मा ‘शब्द समय’ उठेको थियो । परिकल्पनाकार मध्ये नरबहादुर सर पनि एक हुनुहुन्थ्यो ।
****
२०७९ मङ्सिरको १० को साँझ थियो ।
सालबारीको नागबेली सडकमा गाडीहरू लामबद्ध हुन थालिसकेका थिए । बजार यौवन अवस्थामा प्रवेश गर्दै थियो । गोम्देन टि बारमा ज्ञानेन्द्र खतिवडा, कालूसिंह रनपहेँली, हेमन्त काफ्ले, शैलेन्द्र समदर्शी, निर्मल सिञ्चुरीलगायत साक्षी थियौँ ।
‘सुस्तरी बोल स्नेहको वाणी, पृथ्वीवारि अरूले सुन्छ
जिन्दगीलाई मायाले बाँध, संसार हाम्रो अलग्गै हुन्छ ।’
यी कविताका हरफ हातमाथि उठाउँदै देब्रे हातका चोरीऔँला र बुढीऔँला जोडेर गोलो आकृति बनाउँदै ज्ञानेन्द्र सर सुनाउँदै हुनुहुन्थ्यो- ‘यी कविताका हरफमा भएको ‘वाणी’ शब्दमा उहाँको समयको एउटा किनार छ ।’
हल्का आकासे रङको सर्ट, कालो सुइटर बाहिर हल्का निलो कोट । पातलो कपाल पूरैपछाडि फर्काएर कोरिएको । फराकिलो निधार । ठुलो अनुहार । कोल्टे पर्दै ज्ञानेन्द्र सरलाई हेरेर मुसुमुसु हाँस्दै सुनाउनु भएको थियो प्रेमको नुनिलो सुगन्ध- ‘पश्चिम बङ्गालअन्तर्गत खरसाङमा रहेको एक मात्र परिवारकी छोरीसँग प्रेम थियो । सायद जिन्दगीको सबैभन्दा सुन्दर हिस्सा थियो । लगभग छ वर्ष जति । समाजमा हल्ला पनि थियो । बिहे गरौँ भनेँ मैले । तर उनले ‘ल’ पढ्छु भनिन् । कर्म थलो नेपाल बनाइन् । मेरो अन्तै विवाह भयो । पछि उनी पनि नाम चलेकै लेखक भइन् नेपाली साहित्यमा । उनले लेखेका पुस्तक बजारमा देख्दा पढौँपढौँ लाग्थ्यो । अहिलेको जस्तो सम्पर्कको सजिलो माध्यम थिएन । सामाजिक सञ्जाल चलाउन थालेपछि पुराना साथीहरू कोको कहाँ कुन अवस्था रहेछन् भनेर पछि फेसबुकमा खोजेँ । उनलाई पनि भेटिन ।’ नरबहादुर सरले आफ्नो जीवनको एउटा किनाराको कथा भनिरहँदा र त्यसलाई एकाग्र भएर सुनिरहँदा समय बितेको थाहै भएन ।
साँच्चै नरबहादुर सर, न सपना पुरानो हुन्छ, न प्रेम । घामले मुसुक्क हाँसेर हेरेपछि मात्तिँदै वल्लो डाँडो र पल्लो खोल्सी चाहार्दै हिँडिरहेको कुमारी बतासजस्तो ।
****
कलिलो घाम
नरबहादुर सरको जीवनलापको शृङ्खला थियो- ‘मेरो बाल्यकाल सम्पूर्ण रूपमा दार्जिलिङ जिल्लाको कालेबुङमा बित्यो । त्यसबेला हाम्रो परिवार आज जस्तो ठुलो थिएन । आमाबाबासँग सानैमा बिछोडिनु परेकोले हजुरआमा र हजुरबाबाको संरक्षणमा हुर्किएँ । एउटी बैनी थिइन् । जसको लालनपालन काकाको घरमा भयो । एक्लो नाति भएकोले खुबै लाडप्यारसित मेरो पालन पोषण भयो । अभिभावकहरू अल्प शिक्षित हुनुहुन्थ्यो । उनीहरूलाई आफूले पढ्न नपाएको धोको थियो । यसैले ‘पढिगुनी के काम हलो जोत्यो खायो माम’ को जमाना भए पनि छोरा नातिको शिक्षाप्रति उनीहरू ज्यादै आग्रही हुनु भएकैले समयअनुसारको शिक्षा हासिल गरेँ ।’
त्यही साँझ हो भन्दै हुनुहुन्थ्यो- ‘एकताका सन् १९५५/६० तिर कालेबुङमा जति पनि साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू हुन्थे । सबै उहाँकै अगुवाइमा हुन्थे । उहाँले गर्दा नै नेपालका रेडियो कलाकार तारा देवी, नाति काजी, शिवशङ्कर, पुष्प नेपाली इत्यादि घुम्दै कालेबुङ आएका थिए । उनीहरूले एउटा कार्यक्रमको निम्ति अनुरोध गरे । मैले उनीहरूको कार्यक्रम कालेबुङमा आयोजन गरेँ । योबाहेक पारिजात र मञ्जुलको राल्फा, गणेश रसिक र हिरण्य भोजपुरेको लेकाली इत्यादि कार्यक्रमको अभिभारा पनि ममाथि नै पर्यो । त्यस कालमा नेपाली सङ्गीत कला निकेतन नामक संस्थाको म १२ वर्ष अध्यक्ष रहेँ । जसले कालेबुङमा प्रतिवर्ष सङ्गीत प्रतियोगिता आयोजन गर्थ्यो । योबाहेक अम्बर गुरुङ नाइटजस्ता कार्यक्रमहरू पनि हुन्थे । साहित्यिक कार्यक्रमहरूमा सिद्धिचरण, भवानी भिक्षु, केदारमान ‘व्यथित’ इत्यादिको सम्मान कार्यक्रमहरू आयोजन गरियो ।’
****
छुटेका सहयात्री
“उस बेला तपाईंका समकालीन र सहकर्मीहरू को को कसरी सम्झनु हुन्छ ?” मैले भनेँ ।
अनुभवका रेखा निधारभरि खुम्च्याउँदै उहाँले भन्नु भएको थियो- ‘त्यस बेलाका मेरा समकालीन सहकर्मीहरू मध्ये अर्जुनकुमार प्रधान एकजनालाई मात्र सम्झन्छु । अरू सबै बिर्सिएँ । उनी सहकर्मी मात्र नभएर संरक्षक पनि थिए । उनी कालेबुङका सम्पन्न परिवारका छोरा थिए । यसरी कार्यक्रम गर्नु पर्दा उनी सम्पूर्ण खर्च आफैँ गर्थे । यति मात्र होइन उनी निर्भिक पनि थिए । उनी आगो सहन्थे तर अन्याय सहँदैनथे । उनी अन्यायको विरोधमा जहिले पनि अग्रसर हुन्थे । यसैले हामीले गरेको प्रत्येक कार्यक्रम सफल हुन्थ्यो । कुनै पनि संस्था सङ्गठनहरूमा सहकर्मी सदस्यहरू थाेरै हुन्छन् तर एक दुई जना निःस्वार्थ सहकर्मीहरूको परिश्रम र त्यागले मात्रले संस्थाको कार्यक्रम सफल हुन्छ ।’
‘नेपालले तपाईंलाई छोडेको कि तपाईंले नेपाल छोड्नु भएको ?’ मैले सोधेको थिएँ ।
‘मैले नेपाल छोडेको होइन । मेरा हजुरबा र हजुरआमाले सन् १८७० तिर नेपाल छोडेका हुन् । त्यस बेला भोटाङ र अङ्ग्रेजबिचको सिन्चुला सन्धीले कालेबुङ भोटाङबाट भारतमा गाभिइसकेको थियो । यसरी नेपालबाट भारत आउने पुर्खाहरूको म तेस्रो पुस्ता हुँ । मेरो जन्म भारतको दार्जिलिङ जिल्लाअन्तर्गत कालेबुङमा भएको हो ।’ उहाँ गर्वसाथ भन्दै हुनुहुन्थ्यो- ‘यसैले राष्ट्रियताको नाताले म भारतीय हुँ । अहिले मेरो यहाँ छैटौँ पुस्ताले पदार्पण गरिसकेको छ ।’
नरबहादुर दाहाल कहिले तीर्थयात्रीको रूपमा र कहिले विभिन्न साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन नेपाल आउनु भयो । मैले साहित्यपोस्टको लागि कुराकानी गरेको थिएँ ।
उहाँ पहिलो पटक नेपाल प्रवेश गर्दा उहाँ २४ वर्षको हुनुहुँदो रहेछ । २०१८ सालमा जति बेला लीला लेखन ‘रूपरेखा’मा छापिएको थियो । त्यही बेला उहाँ मेची तर्दै हुनुहुन्थ्यो । उस बेला मेची र माई खोलामा पुल थिएन रे । अमलेखगन्ज पुगेर रसियन गाडीमा चढेर पहिलो पटक काठमाडौँ पुग्नु भएको थियो । साथमा थियो- ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ कार्यपत्र ।
****
काठमाडौँको यात्रा
जिन्दगीका हिसाबकिताबको होची अर्घेली जाँच्न खोजेको थिएँ । उहाँको जीवनका कठिनाइहरू बुझ्न मन थियो मलाई । त्यस बखत उहाँले भन्नु भएको थियो- ‘२०१८ सालमा लीलाध्वज थापाको ‘मन’ उपन्यासले मदन पुरस्कार पाएको थियो । सन् १९५७ मदन स्मारक गुठीको निमन्त्रणामा मदन पुरस्कार वितरण कार्यक्रममा काठमाडौँ गएँ । यो प्रसङ्ग काठमाडौँको ‘बगर’ पत्रिकाको सन १९९८ को अङ्कमा एउटा नियात्रा ‘फ्ल्यास ब्ल्याकमा काठमाडौँ यात्रा’ मा समेत प्रकाशित छ । फेरि नेपाली साहित्य संस्थानको उद्घाटन र नेपाल राष्ट्रव्यापी साहित्य सेमिनारमा केदारमान व्यथितको निमन्त्रणामा सन् १९६३ मा अगमसिंह गिरी, महानन्द पौडेल र म पर्यवेक्षक प्रतिनिधिको रूपमा गएका थियौँ ।
यस कार्यक्रममा मैले ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ शीर्षक कार्यपत्र प्रस्तुत गरेको थिएँ । यसै कार्यक्रममा राजा महेन्द्रले कवि अगमसिंह गिरीलाई स्वर्णपदक प्रदान गर्नु भएको थियो । यस कार्यक्रमको अध्यक्षता डा. ऋषिकेश शाहले गर्नु भएको थियो । अन्य कार्यपत्र पढ्नेहरूमा डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल इत्यादि पनि थिए । मेरो यो कार्यपत्र संस्थानको मुखपत्र ‘हिमानी’ मा प्रकाशित छ । यसपछि सन् १९६२, जुलाईमा ‘मुनामदन’ नाटक लिएर राजा महेन्द्रको जन्मोत्सवमा काठमाडौँ गएँ । सन् १९७१ राजा वीरेन्द्रको राज्याभिषेकमा नेपालबाहिरको सांस्कृतिक टोलीको नेतृत्व गरेबापत शुभ राज्याभिषेक पदकसमेत प्राप्त प्रदान गरिएको थिएँ । यति मात्र होइन महाकवि शताब्दी सम्मान (सन् २०१०) ग्रहण गर्न र अन्तर्राष्ट्रिय देरूनीख पुरस्कार (सन् २०१४) ग्रहण गर्न समेत काठमाडौँ गएको थिएँ ।’
****
रिल जीवन
‘जनकपुर चुरोट’ को इण्डियन एजेन्सी लिएर केही समय व्यापार पनि गरेँ । १८ वर्ष त नेपाली चलचित्रको बजार व्यवस्थापन गरेँ । उहाँले नेपाली चलचित्र वितरण गर्नु पर्दाको कथासमेत सुनाउनु भएको थियो- ‘त्यस बेला चलचित्र बनेकै थिएनन् । सूचना विभागको निर्देशक त्यति बेला नारायणप्रसाद बाँस्कोटा थिए । पहिलो पटक सूचना विभागले भर्खर हिरासिंहको निर्देशनमा ‘आमा’ बनाएको थियो । मैले यसलाई असम र पूर्वाञ्चल क्षेत्रका सिनेमाघरमा पुर्याएको थिएँ ।’
भारतमा त्यति बेला ‘आमा’बाट उहाँले सुरु गर्नु भएको चलचित्रको व्यापार साइनो, लाहुरे, कुसुमेरुमाल, ट्रकड्राइभर लगायतका ४८ वटा नेपाली चलचित्र सिक्किम, भोटाङ, दार्जिलिङ र भारतको उत्तर पूर्वाञ्चलका मेघालय, आसाम, नागालैण्ड, अरुणाचल, मणिपुर र मिजोराममा वितरण गर्नु भएको रहेछ ।
उहाँले भन्नु भएको थियो- ‘मलाई चलचित्र वितरणको सामान्य अनुभव थियो । त्यस बेला नेपाली चलचित्र निर्देशक निर्माताहरूमा तुलसी घिमिरे र शम्भु प्रधानजस्ता मेरा कालेबुङका शुभचिन्तक भाइहरूले धेरै सुविधा र सहुलियतसित उनीहरूले बनाएका नेपाली चलचित्र वितरणको अभिभारा लिन आग्रह गर्नु भयो । यसरी लगभग १८ वर्ष यस व्यवसायको निम्ति म गुवाहाटीमा बसेँ । त्यस बेला अहिले जस्तो टी.भी.मा नेपाली फिल्म हेर्न पाइँदैनथ्यो । केबल पनि थिएन । न त नेपाली फिल्मको सी.डी. नै पाइन्थ्यो । यसैले नेपाली फिल्म हेर्न सिनेमा हलमै जानुपर्थ्यो । तर केही समयपछि यी सबै पाइन थाले हलमा फिल्म चल्न छाड्यो अनि म फर्केर आएँ ।’
नरबहादुर सर, सादय दुःख भोगेपछि पो सजिला लाग्दा रहेछन् दुःखहरू ।
****
रियल जीवन
२०७७ साल फागुनको अन्तिम सातामा सम्पन्न अन्तर्राष्ट्रिय धरान कला साहित्य पर्यटन महोत्सव- २०७७ मा नरबहादुर सरको ‘वरपीपल’ कथाको निकै प्रसङ्ग उठेको थियो । मैले त्यसै साँझ उक्त कथालाई कसरी सम्झनु हुन्छ ? सोधेको थिएँ ।
उहाँले भन्नु भएको थियो- ‘वरपीपल मेरो सन् १९६० मा छापिएको कथा धरानका स्कुलहरूमा त्यस बेला पाठ्यपुस्तकमा राखिएको रहेछ । जसलाई आजका विद्वानहरू डा. टङ्कप्रसाद न्यौपाने, दधिराम सुवेदीलगायतले पढेर एस.एल.सी. पास गरेको कुरा उहाँहरूले उल्लेख गर्नु भएको हो । मेरा कुनै कृति साधारण पाठकहरूले पनि चाख लिएर पढेको थाह नलागेको जमानामा मेरो कथा ‘वरपीपल’ पाठ्यपुस्तकमा रहनु मेरो लागि खुसी तथा गर्वको विषय हो ।
मैले जीवनलाई धेरै नजिकबाट देखेँ । राजनैतिक, सामाजिक अनेक घटनाहरू मेरा जीवनमा घटे । अनेक प्रकारका मानिसहरूसित मेरो भेट भयो । उनीहरूबाट पनि उनीहरूका जीवनका रोचक घटना सुनेँ । यी सबै संरक्षणको निम्ति कथा मात्र एउटा माध्यम हुन सक्थ्यो । मैले मेरा कथाहरूमा पनि यिनै र यस्तै पात्रहरूलाई हालेको छु । मेरा कतिपय कथाहरूमा दार्जिलिङका मानिसहरूले बिर्सन लागेका कतिपय राजनैतिक घटनाहरू पनि छन् ।’
वैशाख १७ गते शनिवार साहित्य कला सङ्गमको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा दमकमा भवानी मिश्र साहित्य पुरस्कार- २०७८ ग्रहण गर्दा उहाँले स्रष्टा र राज्यको दायित्वमाथि धारण राख्नु भएको थियो- ‘स्रष्टाहरूकाे दायित्व राष्ट्र निर्माणमा योगदान पुर्याउने हुनु पर्छ । स्रष्टा भनेको बुद्धिजीवी वर्ग हुन् । उनीहरू सधैँ सचेत हुनु पर्दछ । उनीहरूको भावना उच्च र निर्मल हुनु पर्दछ । उनीहरू विवेक शून्य हुनु हुँदैन ।
उनीहरूको भावना दूषित भयो भने उनीहरूको सिर्जना क्षयोन्मुखी हुन्छ । उनीले आफ्ना सिर्जनाले समाज, जाति र देशको मार्गदर्शन गर्नु पर्छ । स्रष्टाहरूको प्रोत्साहनको निम्ति शोधालय, अभिलेखालयहरू राज्यले खोलेर अध्ययनको सुविधा उपलब्ध गराउनु पर्छ । स्रष्टाहरूलाई पुरस्कार तथा वरिष्ठ र ज्येष्ठ साहित्यकारहरूलाई पेन्सनको व्यवस्था गर्नु पर्छ । स्रष्टाहरूको पुस्तकहरू खरिद गर्ने र साहित्यिक संस्थाहरूलाई राज्यले अनुदानको व्यवस्था हुनु पर्छ ।’
****
अक्षरको यात्रा
सात दशकभन्दा लामो समयको नेपाली साहित्यको तथ्य, सूचना र दस्ताबेजहरूको अलिखित इतिहासका साक्षी नरबहादुर दाहाल, जसको जन्म पिता स्व. जीतबहादुर दाहाल र माता स्व. मनमाया दाहालका ज्येष्ठ पुत्र रत्नका रूपमा ५ सेप्टेम्बर १९३७ मा कालेबुङमा भएको थियो ।
छद्मनाम (वरदान) मा कलकत्ताबाट लैनसिंह बाङदेलको सम्पादनमा प्रकाशित ‘प्रभात’ (सन् १९५०) पत्रिकामा ‘स्मरण’ शीर्षकको गद्य कविता प्रकाशन गरेर साहित्यमा औपचारिक प्रवेश गरे पनि उहाँको लेखनको पहिलो रचना चाहिँ ‘अरुणोदय’ हो । उहाँका प्रकाशित कृतिहरू उन्माद (कविता, १९५८), वरपीपल (कथा, १९६०), मध्यरातको तारा (उपन्यास, १९६४), तिम्रो प्रीत नै मेरो गीत (कविता, १९७०), नरेन्द्रप्रसाद कुमाई (जीवनी, २०००), गङ्गाप्रसाद प्रधान (जीवनी, २०११) र गोर्खा महानायक डम्बरसिंह गुरुङ (जीवनी, २०१५) रहेका छन् । उहाँद्वारा सम्पादित कृति अमर कथा (कथा, १९६२), सिक्किम प्रसङ्ग (लेख, १९६८), सेलको माला (हास्य व्यङ्ग्य कविता, १९६६) र अजम्बरी गङ्गाप्रसाद प्रधान (लेख, २०१५) रहेका छन् भने पत्रपत्रिकामा अरूणोदय (१९४९), उदगम (१९५०), सधैँ गौरव राख्ने छौँ गोरखाको (१९६०), गोर्खा (१९६२), सङ्गम (१९६८), प्रतिनिधि (१९७५) लगायत रहेका छन् । जीवन उत्तरार्धको सङ्घारतिर सर्दै गर्दा उहाँको आइ लभ यू जिन्दगी (२०२२) प्रकाशित भएको थियो ।
****
तारा झरेको साँझ
‘मैले अब लेखनमा भन्दा पनि प्रकाशनमा ध्यान दिनु छ । किनभने मेरा धेरै कृतिहरू धेरै दिनदेखि पाण्डुलिपिको रूपमा थन्किरहेका छन् । मैले साहित्यमा लागेर साहित्यकारहरूको एउटा ठूलो परिवार पाएँ । केही गुमाए जस्तो लाग्दैन ।’ भन्नु हुने नरबहादुर सर साँच्चै, जीवन नगरी नहुने एउटा यात्रा रहेछ, कोही समय पूरा गरेर विश्राम लिन्छन् । कोहीबिचैमा थाकेर बस्छन् ।
जीवनमा दुई मृत्यु हुँदैन तर एकै मृत्यु पनि त्याग्न सकिन्न । कालेबुङबाट मिठा सपनाहरूको इन्द्रेणी बोकेर नेपाली साहित्य आकाशमा उदाएको एउटा तारा २०८० साल भदौ २२ गते शुक्रबार अर्थात् ८ सेप्टेम्बर २०२३ साँझ सुकुनाको पञ्चनदीमा झरेको कहाँ बिर्सन सकिन्छ र, जीवनभरि ।
सम्झना
कोही हुनेका लागि रहेछ
कि त
कोही पर्खिबस्ने हुनेका लागि रहेछ
सम्झना फर्किनेहरूको मात्र हुँदैन रहेछ
साथ छाडेर जानेहरूको पनि हुँदो रहेछ ।
शब्दाञ्जली नरबहादुर सर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।