अतितले नपछ्याउँदो हो त जीवन कति सुनसान र उजाड हुन्थ्यो होला ! त्यसैले त अतित, अनुभव र स्मृतिको ऐना पनि रहेछ । जब ती अनुभव र स्मृतिहरू वर्तमान समयको छेउमा आएर उभिन्छन् तब मात्र प्यारा लाग्दारहेछन् । हाम्रो जीवनको कमाइ भनेको पनि यिनै सुनौला अनुभव र अनुभूति नै रहेछन् ।  समयचाहिँ एकैनास हुँदोरहेछ, तर हाम्रा अनुभव र अनुभूति चाहिँ व्यक्तिपिछे फरक फरक हुँदारहेछन् ।

‘भारतको आभूषण’ अनि ‘पूर्वको स्विट्जरलैण्ड’ मानिने मणिपुर वाह्य वा आन्तरिक पर्यटकको गन्तव्य पनि हो । हामी गुवाहाटी एयरपोर्टबाट दिनको करिब एक बजेतिर मणिपुर राज्यको राजधानी इम्फालस्थित एयरपोर्ट पुग्दा तीन सय किलोमिटरको हवाई यात्रा पूरा भइसकेको थियो ।

दीपक सुवेदी

‘अहिलेको समयमा बस यात्राबाट मणिपुर आउँदा प्रायः कष्टकर, अनिश्चित र जोखिमपूर्ण नै हुन्छ । कठिन भूगोलका कारण यस्तो भएको होइन, राजनीतिक कारण छ ।’ सीता दिदीले भनेपछि हाम्रो यात्रा जलपाईगुडीबाट गुवाहाटीसम्म टे«न र त्यहाँबाट प्लेनको यात्रा तय गरिएको थियो ।

साँच्चै, जीवन भोगाइको अमूल्य साधन रहेछ । जीवनमा भोगेका केही घटना अविस्मरणीय र अमूल्य पनि हुँदारहेछन् । १४ सेप्टेम्बर २०१८ न्यू जलपाईगुडी जक्सनबाट कञ्चनजङ्घा एक्सप्रेसको ५४ को ५, १९, २६, २७, २८, २५ र एस एलको ३६ नं. हाम्रा स्लिपर थिए ।

लम्मेतान रेल जलपाईगुडीबाट छुट्दा बेलुकाको ९ः१० बजेको थियो । मेरो दिमागमा स्मृतिहरू ओहोरदोहोर गरिरहेका थिए । रेल जतिबेला जोल्ठिङमा पथ्र्यो त्यतिबेला स्मृतिको लय गिजोलिन्थ्यो । जब विपरित दिशाबाट आएको रेलको सिठ्ठी मेरो कानमा पथ्र्यो, तब स्मृतिबाट म बौरिएजस्तो भएँ ।

बाहिरबाट एकनासले हावा आइरहेको थियो । रातमा खाली पट्री, ट्रेन बेस्मारी हुइँकिएको कर्कस आवाज हाम्रा कानमा ठोक्किरहेको थियो । र, ठीक त्यसैगरी मेरो मन पनि दौडिरहेको छ– कल्पना, भावना अनि आभासहरूमा ।

‘ए दीपकजी, हाइकुका बारेमा बताउनु त ।’ स्लिपरमा लुगा ओछ्याउँदै शरदजीले भन्नुभयो । मेरो र शरदको स्लिपर अपरका थिए । विज्ञानका धेरै चेला र समालोचकीय चेत भएको अध्ययनशील शरदजी । तर लेखनमा चाहिँ खै किन हो, अध्ययन र अध्यापनमा जस्तो जाँगर छैन उहाँको ।

‘मणिपुरको यात्राका क्रममा ट्रेनमा गरिएको छलफलले नै मलाई हाइकु लेख्न प्रेरित गरेको हो ।’ हिजोआज पनि शरदजी भन्ने गर्नुहुन्छ ।

‘दीपकजी, तपाईंलाई कस्तो लाग्छ, मलाई चाहिँ धेरैले हाइकु बुझेर लेखे जस्तो लागेन है ।’ यसबाट पनि प्रष्ट हुन्छ, शरदजी दक्ष समालोचक हो । सुकराजसँगको भेटमा त शरदजीलाई हिजोआज पनि हामी हाइकु कवि नै भनेर बोलाउने गर्छौं ।

रात छिप्पिँदै छ । मेरा आँखामा निद्रा आइरहेको थियो तर मनले भने रोकिरहेको थियो । आँखा त बन्द थिए तर मन भने खुल्लै थियो ।

चार सय सात किलो मिटरको दूरी पार गरेर १५ तारिक विहान आठ बजे हामी गुहाटी प्लेटफम उत्रिएका थियौँ । हाम्रो यहाँबाट इन्डिगोमार्फत् दिनको १२ बजेको उडान थियो । हामीसँग केही घण्टा बाँकी रहेकोले नेपाली मन्दिरतिर लाग्यौँ ।

भारतको पूर्वोत्तर राज्य हुँदै नेपाल फर्कने र नेपालबाट विभिन्न सिलसिलामा यतातिर आउने नेपालीले सधैँ सम्झने स्थल हो नेपाली मन्दिर । अझ भनौँ यात्राको थकान मेटाउने स्थल गुवाहाटी (पल्टनबजार) स्थित नेपाली मन्दिर हो । यसको धर्मशालामा यात्रारत नेपालीको बाक्लै भीड लाग्ने गर्छ ।

सन् १९४८ सालदेखि यस मन्दिरमा अहिलेसम्म पनि दशैँमा भव्य रूपमा पूजापाठ गर्ने चलन रहिआए पाइन्छ ।

धेरैपटक यहाँ बास बसेको छु । सहज नै थियो विगत । तर यसपाला फर्कंदा यस मन्दिरले नमीठो छाप दिलायो । हामीले कोठा छोड्ने बेलामा कर्मचारीले बढी शूल्क लिन खोजे । ‘हामी कार्यक्रमको लागि आएका सञ्चारकर्मी÷लेखक हौँ । हामीसँग त तपाईं यसो गर्नुहुन्छ भने अरुसँग तपाईं के गर्नुहुन्छ ?’ हामीले भन्यौँ । तर उनले केही गर्दा मानेन् ।

मैले पत्रकार परिचयपत्र देखाएँ । पत्याएनन् । सिलिगुडीबाट खेम सापकोटाको सम्पादनमा प्रकाशित पत्रिका मध्यमार्ग । भारतीय पूर्वोत्तर राज्यमा यस पत्रिका पाठक निक्कै छन् । अझ नेपालीहरूको मन जित्न सफल छ । ‘म मध्यमार्गको सम्पादक÷प्रकाशक हुँ । यसको सञ्चालक कोही बोलाउनु त ।’ खेमजीले परिचयपत्र देखाउँदै भनेपछि भने ती हच्किए । हामीले शुरुको सर्तअनुसार शूल्क बुझाएर हिँड्यौँ ।

धर्ती उही छ । आकाश उही छ । माटो पनि उस्तै छ । आँखाले देखुन्जेल हरिया डाँडा, उत्तर र पूर्वमा फराकिला फाँट अनि खेत । खेत सकिएपछि आँखैअगाडि लमतन्न परेर सुतिरहेको सुन्दर मणिपुर । न मोटर गाडीको चर्को स्वर, न होहल्ला नै । नागाल्याण्डको आकाशदेखि नै अघाउन्जेल हेर्न पाइँदोरहेछ । प्रकृतिको अनुपम सङ्गम अनि सुन्दर शान्त करेला आकृतिमा मणिपुर ।

गहनाहरूको देश मानिने मणिपुरको शाब्दिक अर्थ ‘आभूषणहरूको भूमि’ हुँदोरहेछ । यसको राजधानी इम्फाल । पूर्वमा यसको सीमा म्यानमार, पश्चिममा असम, उत्तरमा नागालैण्ड र दक्षिणमा मिजोरम पर्दारहेछन् । यसको क्षेत्रफल २२,३४७ वर्ग कि. मी. रहेछ ।

यहाँका मूल निवासी मेइती जनजातिका मानिस रहेछन् । जो यहाँका घाटी क्षेत्रमा रहँदारहेछन् । यिनको भाषा मेइतिलोन, जसलाई मणिपुरी भाषा पनि भनिदोरहेछ । यो भाषाले १९९२ मा भारतको संविधानको आठौँ अनुसूचीमा परेर राष्ट्रिय भाषाको मान्यता पाएको रहेछ । यहाँका पर्वतीय क्षेत्रहरूमा नागा अनि कुकी जनजातिका मानिस रहँदारहेछन् । मणिपुरीलाई एउटा संवेदनशील सीमावर्ती राज्यसमेत मानिदोरहेछ ।

खुल्ला आकासमुनि पहेँला रङका लहरा र विचित्रका पहरा आउन छाडेकै थिएनन् । मणिपुरको शिरमा जहाजको परिपरि पोखिएको कुहिरोले मुटु हल्लायो एकपटक । धर्तीको उचाइ चुमेर रमाउन निस्केको म बबुरोलाई बेलाबेला निमोठी रहन्थ्यो ओसिलो कुहिरोको दृश्यले ।

३८ हजार फिटको उचाईबाट हेर्दा तराईको समथर भूभागमा बग्ने नदी नालाहरू केही तेल सकिन लागेको दीयोझैँ मधुरो गतिमा  थिए । केही गर्मीयाममा पानीबिना चीर निद्रामा सुतेका जस्ता देखिन्थे । तर पनि आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगर देख्दा वर्षायाममा ब्युँतिने नदीको निद्रा भङ्गलाई सहजै अनुमान लगाउन सकिन्थ्यो ।

मलाई यस्तो लाग्यो, मणिपुर असङ्ख्य समसामयिकका भीरमुन्तिर चेपिएको रहेछ । म अनेक पीरले चेप्टिएको छु । मणिपुर अविरल प्रवाहित छ अजश्र धाराहरूसँग । लामो थकाइ पन्छाउँदै इन्डिगोजस्तै प्रवाहित हुन चाहन्छु म पनि । हरिया पहाडको सम्झना साँचेर मणिपुर भेट्न कुदिरहेछ ऊ । म पनि इम्फालको आकासबाट प्रकृतिका हरिया सियाँलहरू हेर्दै रमाएको थिएँ ।

साँच्चै, प्राकृतिक संसाधनहरूको प्रचुर भण्डार रहेछ । नजिकै छ मणिपुरको माटो । मौकामा भूगोल नियाल्ने रहरले झरिरहेछौँ यसको आकासबाट हामी इन्डिगोमार्फत् ।

नेपाली साहित्य परिषद्, मणिपुरको आयोजनामा १६ सेप्टेम्बर २०१८ आइतबारका दिने सीतादेवी क्षेत्रीको मूल परेको छोरो कथा सङ्ग्रहको लोकार्पण कार्यक्रममा सहभागी हुन हामी सातजना गएका थियौँ । जसमा मिरिकका पत्रकार एवं प्रकाशक दधिराम घिमिरे, सिलगढीका सम्पादक एवं निबन्धकार गणेश प्रधान र पत्रकार एवं समालोचक खेम सापकोटा, कालेबुङका समालोचक शरद क्षेत्री साथमा दार्जिलिङका स्रष्टा सुकराज र बबिता दियाली अनि म (झापा) नेपालबाट विशेष आमन्त्रित विशेष अतिथिका रूपमा । १५ तारिक शनिबारका दिन अरुणाञ्चल प्रदेशको नागाल्याण्डको आकाशमार्ग हुँदै इम्फालमा उत्रिएका थियौँ । यसपाला मैले टेक्ने पाटो नै फरक थियो र दूरी धेरै टाढा थियो । अझ भनूँ, मेरो लागि मणिपुरको यो यात्रा पहिलो थियो ।

गुवाहाटी एयरपोर्टबाट तीन सय किलोमिटरको दूरीमा पर्दोरहेछ इम्फाल । ३८ हजार फिटको उच्चाइबाट ४० मिनेटको उडान थियो । इम्फालमा पाइला टेक्नेबित्तिकै मैले तुलाचन आले मगरलाई सम्झिएँ । यो तुलाचनले पनि सिन्चन गरेको भूमि हो ।

सीता दिदी र राहुल हामीलाई लिन एयरपोट बाहिर बसिरहनुभएको रहेछ । खेमजी र म राहुलजीको भेनमा चढ्यौँ बाँकी साथीहरू सीता दिदीसँग । इम्फाल भारतको मणिपुर राज्यको एक शहर रहेछ । राज्यको राजधानी । भारत र बर्माको सिमाना नजिक पर्ने यो शहर भारतको प्रख्यात पर्यटकीय तथा व्यापारीक केन्द्र पनि । चटक्क सिउँदो काडेर कपाल कोरेकी नेपाली युवतीझैँ सफा र फराकिला सडक । एयरपोटबाट बाहिरिँदा घाम हाम्रै शिरमाथि थिए ।

‘अब सार, पहिला खाना नै खाउँ होला, यहाँको विशेष मणिपुरी खाना । राहुल भाइ खाना कहाँ खाने ?’ सीता दिदीले राहुलजीलाई सोध्नुभयो ।

‘पोलोग्रामस्थित मणिपुरे होटल नै जाऊँ है म्याडम ?’ राहुलजीको छनौट अनुसार हामी चढेका कारहरू बसपार्कस्थित पोलोग्रामतिर हुइँकिए । यसरी हुइँकिए कि हामीभन्दा पनि यी सवारी साधन भोकाएका छन् ।

केराका पात वरिपरि तारेका केही बदाम, उसिनेको एक टुक्रा लौका, साग, अचार, नुन, मणिपुरे खोसार्नी, दाल र भात  ।

‘ए भाइ, खै त त्यो खोर्सानी फेरि पाऊँ त ।’ खानासँगै राखिदिएको खोसार्नी खाइसकेर माग्ने को रहेछ ? त्यसमा पनि मनिपुरे खोसार्नी ! मैले हेरेँ ।

पर कुनाबाट दधिराम सर पो हात उचालेर देखाउँदै भन्दै हुनुहुन्थ्यो । हैट ! झर्झराउँदो अनुहारमा कालो चस्मा, कालै कोट, पेन्ट र जुत्ता अनि सेतो सर्टमा रातो टाईमा ठाँटिनुभएको दधिराम सरको खोसार्नी खुवाइ अचम्मकै रहेछ । ओहो ! पोलोग्रामको मणिपुरे होटलमा मणिपुरी खानाको स्वाद अहिले पनि सम्झँदा धर्ती नै रसाएर आएझैँ लाग्छ ।

खाना खाएर हामी घुम्ने भयौँ । शहरमा श्री गोविन्ददेवजी मन्दिर, शहीद मीनार, युद्ध स्मारक, मणिपुर जू, लोकताक झील आदि पर्यटकीय क्षेत्रहरू रहेछन् । काङ्ग्लातोम्बी ग्राम पञ्चायत प्रधानपञ्च मीना बिस्ट र उहाँको श्रीमान् राजेन बिष्टले हामीलाई झीलमा लिएर जानुभयो ।

फराकिलो ठाउँ । चारैतिर हरियालीका बीच आफूलाई लुकाएर राखेको लोकताक अत्यन्तै मोहक र सुरम्य थियो । हामी तालको किनारमा उभिए पनि मेरा आँखाचाहिँ तालमा तैरिरहेका र मुटु भने तालभित्रै डुबुल्की मार्दै थियो । म भावना र तर्कहरूका द्वन्द्वबीच हराइरहेको थिएँ ।

दिन उज्यालो हुनुमा, उज्यालो सुन्दर हुनुमा र सुन्दरताको महत्व अनेक फूलमा देख्नु अचम्मै हो । लोकताक झीललाई अनेक फूल चढायौँ हामीले मनका, तस्बिरका अनि कल्पनाका । बदलामा झीलले खुला पिट्ठ्युँ दियो । जहाँबाट देखिन्थे अनमोल दृश्यहरू । अझ भनूँ, सायद यहाँ आउने प्रेमीप्रेमिकाहरूलाई बैँसालु उमेरको अर्थ बुझाइदिने लोकताक नै थियो ।

लोकताकको सान्निध्यमा झन् रमणीय थियो मणिपुर । मणिपुर आफ्नो नीलो जलमा पहाडी छायाको जीवन गीत घोलिरहेथ्यो । पहाडी चीसो स्पर्शले जागृत मेरो अन्तरमनको आकासमा पनि झीलका बहुरङ्गी ध्वजापताका फरफराए । अहिलेसम्म पनि फरफराइ रहेकाछन् ।

लोकताक झीलबाट फर्किएर हामी बजारबोट पुग्दा अध्याँरो नै भैसकेको थियो । बत्तीको उज्यालोमा मैले हेरेँ, चोक झिलिमिली तर सानो देखिन्थ्यो । इम्फालबाट यहाँसम्म आइपुग्दा हामीले २५ किलोमिटरको दूरी पारगरिसकेका रहेछौँ । यहाँबाट दियाली दम्पति, खेम र शरदजी राहुलसँग जानुभयो । बाँकी दधिराम सर, गणेश सर र म सीता दिदीसँग लाग्यौँ काङ्ग्लातोम्बी मन्दिर । सीता दिदीको घर पुग्दा घर त के, गाउँको वातावरण नै सुनसान अनि चकमन्न थियो ।

मूल परेको छोरो (कथा सङ्ग्रह) जसले गर्दा हामी मणिपुरसम्म आइपुग्यौँ । भोलिको विमोचन कार्यक्रम पुस्तक हेरेकै थिएन । सीता दिदी घरभित्र छामछाम छुमछुम गर्न थाल्नुभयो । साथीहरू आरम गर्नतिर लाग्नुभयो । मैले भने मूल परेको छोरो मागेँ । म भनेँ भोलिको लागि केही तयारीतिर लागेँ । केहीक्षणमा दिदीले चिया बिस्कुट ल्याउनुभयो । चियासँगै यात्रा र भोलिको कार्यक्रमका बारेमा सन्लापहरू भए । फेरि दिदी आफ्नै कामधन्दामा व्यस्त रहनुभयो ।

‘सार, थकान भयो होला, अब खाना खाऔँ ।’ सीता दिदीले भन्नुभयो ।

चिया बिस्कुटले केही त राहत मिलेको थियो । नत्र त थकान र भोकले हामी व्याकुल थियौँ । दिदीको खाना खाने उर्दीसँगै हामी पनि तयारी भयौँ ।

‘खै, त्यो एउटा खोसार्नी ।’ दधिराम सर फेरि हात लम्काउँदै भन्दै हुनुहुन्थ्यो । अहो ! सीता दिदीचाहिँ हातले छुँदा पिरो हुन्छ भनेर खोसार्नी चम्चाले दिँदैहुनुहुन्थ्यो । दधिराम सरको खुवाई चाहिँ ? हैट ! मैले यसरी खोसार्नी, त्यसमा पनि मणिपुरे खोसार्नी खाने व्यक्ति देखेकै थिइनँ । देखेको थिएँ त आजै विहानदेखि नै दधिराम सर मात्र । दधिराम सरले बूढी र चोरी औँलाले पहेँलो खोसार्नी च्याप्प च्यापेर दाँतले के कर्याक्क मात्र पार्नुभएको थियो । मेरा आँखाबाट पो तरर आँशु झरे ।

रात छिपिँदै थियो । बाहिर बस् चकमन्नता । सुनसान । अँध्यारो । टाढा कुकुरहरू भुकिरहेछन् । कहिलेकाहीँ रात कुकुरझैँ भुक्छ । कहिलेकाहीँ कुकुर रातझैँ भुक्छन् । मलाई लाग्यो– शून्यताले निमोठिरहेछ काङ्ग्लातोम्बी मन्दिरलाई । मलाई लागेन यस्तो हिजोको साँझ र अस्तिको साँझ पनि ।

विहान पाँच बजेको हुँदो हो । मैले झ्यालबाट बाहिर च्याएँ । झ्याल सुमसुम्याउँदै पसिरहेको चिसो बतास मसँगै कोठामा बयली खेलिरह्यो । मिरमिरे विहानीमा आफ्नो अद्भूत प्रकाशसँगै सूर्यका किरणहरू चारैदिशामा फैलिरहेका थिए । मैले झ्यालबाट आफूलाई हटाएँ ।

आँगनमा निस्किएँ । सीता दिदीका काव्यात्मक बिम्बहरू थोरै फूलबारी अनि अतिकति करेसाबारीमा लहलहाइरहेका थिए । पात र फूलहरूमा रङ्गीबिरङ्गी पुतलीहरू फरफराइरहेका थिए । आगाडि बाटोको एक किनारबाट दूधका भाँडा बोकेर साइकलका पाइडिल थिचिरहेका एकहुल पुरुष देखिए । लाग्छ, झिसमिसे विहानीमा आइपरेको आपतबाट अझै ब्युँतिन सकिरहेका छैनन् । तिनीहरूको मुहार धमिलो जलजस्तै देखेँ । खुइलिएको रङजस्तै देखेँ । गरिबीले गालेको मनजस्तै देखेँ ।

सायद, मानव सभ्यताको उठानमा जन्मनासाथ कोही धनी र गरीब थिएन । शासक र शासित थिएन । शोषक र शोषित थिएन । राम्रो र नराम्रो थिएन । असल र खराब थिएन । जब मानव मानवबीच श्रम विभाजित भयो, त्यसपछि मानवजीवनको परिभाषा, जीवन बाँच्ने कला र जीवनको उद्देश्य पनि विभाजित भयो । अनेक सकसका विरुद्घ सङ्घर्ष गरी स्वतन्त्र र समानतामूलक जीवन जिउनु नै जीवनको सार्थक परिभाषा बन्यो ।

कालो बादलमा चाँदीको घेराजस्तै पारीपटी डाँडामा मानिसका परिश्रम र पसिना पोखिएको खेतीबाली भने हेरिरहुँ जस्तो । सीता दिदीको घर मन्दिर, मन्दिर पहरोको आडमा । अलि मास्तिर शान्तिपुर । भित्तामा कठोर पहरो छ त्यसलाई बाटो देखाइरहेको । मेरो मनको भित्तो छ कमलो पीरहरूले कोपरेको । मणिपुर धमिलिएको छ । त्यसको धमिलो हेरेर रमाउँदै म सङ्लिरहेको थिएँ ।

विहानको १०: ३० बजेको हुँदो हो, हामी खाना खाएर कार्यक्रम स्थलतिर लाग्यौँ । काङ्ग्लातोम्बी सार्वजनिक भवन परिसरमा हामी पुग्दा आयोजकलाई भ्याइनभ्याई थियो । निम्तालु आइरहेका थिए । ‘भित्रै जाऊँ सार ।’ कीर्तिमणि खतिवडा सरले भन्नुभयो । हामी कार्यक्रम स्थलतिर लाग्यौँ । भित्र डबलीको एक छेउमा माएक, लहरमा भित्तामा टाँसेर राखिएका सोफा । डबलीअगाडि लहरै फूल । कार्यक्रम प्रारम्भ भयो ।

कार्यक्रममा नेपाली साहित्य परिषद् मणिपुरका अध्यक्ष लोकबहादुर बस्नेत सभाध्यक्ष, १६– सेक्माई केन्द्रका विधायक हैखाम डिङगो सिंह प्रमुख अतिथि, विशिष्ट अतिथिहरूमा एम.डी.सी. सदस्य मिलन प्रधान र विष्णुलाल हाई स्कूलका प्रधानाध्यापक खड्प्रसाद प्रसाईं लगायत हामी पनि थियौँ ।

मूल परेको छोरो कथा सङ्ग्रह विमोचन भयो । कार्यक्रममा पत्रकार दधिराम घिमिरेले आफ्नै क्षेत्रमा लेखकलाई बिट बनाउनुभयो । स्रष्टा सुकराज दियालीको भने लेखकको व्यक्तित्वमाथिको मन्तव्य रहेको थियो । मूल परेको छोरोमा उत्तरसंस्कृति र परम्पराबीचको द्वन्द्व (नेपाली डायस्पोरा र अन्य सिर्जना, २०७६ः पृ. २४२) अनि बढी आदर्शवादीको पृष्ठभूमि भएका सीतादेवी क्षेत्रीका कथाहरूमा सामाजिक यथार्थताभित्र क्रान्तिचेतको अङ्कुरण छ । समाज रूपान्तरणमा एकैपटक क्रान्तिकारी सोच र चिन्तन प्रयोग नभई सामाजिक यथार्थवादी चिन्तनसँगै यसको सुरुवात भएको पाइन्छ । यस मूल परेको छोरोमार्फत् सीतादेवीको सामाजिक यथार्थता, आदर्शवादी सोच, वर्गीय चिन्तन वा वर्गसङ्घर्ष तथा निम्नवर्गीय जनताले भोगेका दुःख, पीडागत अवस्थालाई उठाउनुभएको छ ।

साँच्चै लुसियन गोल्डम्यान, संसारका कुनै पनि जाति, वर्ग वा कुनै पनि सामाजिक तहको आफ्नै सोचविचार गर्ने ढङ्ग हुन्छ । यस किसिमले त्यस वर्गको मानसिक संरचना निर्माण भएको हुन्छ । यसर्थ त्यस समूहबाट आएका कुनै पनि कलाकार, दार्शनिक, विचारक तथा लेखकले आफू आएको सामाजिक समूहको मानसिक संरचनालाई आफ्नो लेखन वा कलामार्फत् व्यक्त गर्ने गर्दछन् । कथा सङ्ग्रहमाथि मेरो भने यस्तै यस्तै दृष्टिकोण रह्यो ।

कार्यक्रमस्थल बाहिर भवानी अधिकारी, सीतादेवी क्षेत्री, बसन्ती पौडेल, डा. टङ्कनाथ खतिवडा, भोलानाथ शर्मा, कीर्तिमणि खतिवडा, चुडामणि खरेल र म लगायत अन्यसहित केही तस्बिर खिचेका थियौँ । अहिले पनि ताजै छ, नेपाली साहित्य परिषद्को यो र बजार बोर्डमा गरिएको सिरोई सिर्जनाको त्यो सम्मान । कार्यक्रम सकेर हामी राहुलजीको घर काङ्ग्लातोम्बी तिसपरी वर्ड जाने भयौँ । यहाँबाट तिसपरी वर्ड पाँच किलोमिटरको दूरीमा पर्दोरहेछ ।

गीत गाउँदै जीवनको लय खोजिरहेको एउटा गायक । लोभलाग्दो एउटा नायक । आशालाग्दो एउटा स्रष्टा पनि । सिर्जनशील निर्देशक अनि विश्वासिलो र भरपार्दो व्यापारी र एउटा चालक पनि राहुलजी । १७ सेप्टेम्बर २०१८ मा हामी राहुलजीको घर पुग्दा दिनको चार बजेको थियो । मैले घर वरिपरि आँखा लगाएँ ।

बूढो पीपलको रुखमा पनि जवानी चढिसकेछ । बरको बोटमा पनि । पिपललाई हेर्दै सायद बरले घुटुक्क थुक निल्दै थियो । आँगनको पल्लो छेउमा घण्टीफूल पखेटा फिजाउँदै खेल्दै रमाउँदै थिए । चराचुरुङ्गीले पनि चिरबिर चिरबिर गर्दै झाडीमा लुकामारी खेल्दै सङ्गीतमय ध्वनि प्रवाहित गरेझैँ लाग्थ्यो । साँच्चै, फूलले कहाँ सुवास छर्दा सबैलाई निम्तो पठाउँदारहेछन् र आफू नजिक आउन । हावाले कहाँ सन्देश पठाउँदोरहेछ र आफ्नो सिरेटोको मजा लिन ।

फराकिलो आँगन । आँगनको बीचमा टी टेबल, वरिपरि कुर्सी । ‘आबो लु हाउ साथी हो, बसौँ ।’ राहुलजीले आदेश दिनुभयो । हामी बस्यौँ । हेर्दाहेर्दै सत्कारका चिजले टेबल भरियो ।

‘मेरो चस्माको ग्लास झरेको छ राहुलजी, कहाँ बनाउने ?’ मैले सोधेँ ।

‘आबो आमा बजार घुम्नु नि पर्छ, तीँ बनाउँन हुन्न ?’ राहुलजीले भन्नुभयो । आमा बजार सुन्दै कस्तो होला ? १८ सेप्टेम्बर हामी आमा बजारतिर लाग्यौँ ।

राजधानी इम्फाल मात्रै होइन, सिङ्गो मणिपुरको बजारतन्त्र ‘मातृसत्ता’ मा चलेको रहेछ  । यहाँ पुरुषलाई व्यापार गर्न निषेध नै त रहेनछ  । तर, व्यापारमा हाम्रा बजारहरूमा जस्तो पुरुषहरू त्यति देखिएनन् । सरकारले इम्फालमा महिलालाई व्यापारमा प्रोत्साहन गर्न अलगै भवन नै निर्माण गरिदिएको रहेछ । जसलाई स्थानीयहरू ‘इमा केथेल’ अर्थात् आमा बजार भन्दारहेछन् । इम्फालबाहेक सेनापति, उखरुल, चान्देल, तमेंलोड, चुरा चाँदपुरलगायत ग्रामीण बजारमा पनि आमाहरू नै व्यापार गर्दा रहेछन् ।

१६ औँ शताब्दीतामा चीन र बर्मा बीचको युद्धमा मणिपुरी पुरुष होमिएपछि महिलाले बालबच्चा हुर्काउन व्यापार गर्न थालेका रहेछन् । ‘पुरुष त बजारमा किनमेलका लागि मात्रै आउँछन् ।’ राहुलजी भन्दै हुनुहुन्थ्यो, ‘पूरै बजार आमाहरूले कब्जा गरेर राखेका छन्, यस बजारमा शासन भनौँ कि हुकुम, आमाहरूकै चल्छ ।’ पाँचसय वर्षदेखि मणिपुरी आमाहरूले बजार गर्दैआएका रहेछन् ।

सीता दिदी भन्दै हुनुहुन्थ्यो– ‘करिब २८ लाख हाराहारी जनसङ्ख्या रहेको मणिपुरमा रैथाने मणिपुरी (मैत्यै) समुदायको बाहुल्य रहेको तथ्याङ्क छ । यहाँ करिब ८७.०७ प्रतिशत बढी मैत्यै रहेका छन्  । ८.५० प्रतिशत इशाई र ४.४२ प्रतिशत रैथाने मुस्लिम समुदायका महिलाले बजार ओगटेका छन्  ।’ मैले विचार गरेँ, बजारमा नेपाली अनुहारका महिलाचाहिँ त्यति देख्न सकिँदोरहेनछ ।

‘सार, यो साल म्याडमलाई उपहार ।’ सीता दिदीले आमा बजारमा किनेर एउटा सल दिँदै भन्नुभयो । त्यहाँको मनमोहक दृश्यले मलाई मन्त्रमुग्ध बनाइरहेको थियो । सबै आफ्नै तरिकाले सुन्दर आमाबजारलाई पृष्ठभूमि बनाउँदै तस्बिर खिच्न र खिचाउनमा मस्त थियौँ । बजारमा भनेँ ह्वारह्वारी आगो सल्केलाझैँ गर्मी थियो ।

मानिसहरू गर्मीले सुकेको बिरुवाझैँ ओइलाइरहेका देखिन्छन् । सानोमा पढेको ‘तिर्खाएको काग’ कथामा कागले पानीको छटपटीपछि खाएको पानीको महसुस भइरहेको थियो । पान र गुट्खाहरू चपाएर थुकिरहेका केही महिलाहरू खाली खुट्टै हिँडिरहेका देख्दा मलाई लाग्यो– ‘मणिपुरको सामाजिक जीवनस्तर र चेतनास्तर पनि हाम्रो जस्तै अभाव र गरिबीमा नै रहेछ ।’ यति हुँदाहुँदै पनि इम्फालको लिमी उपत्यका एकपटक सबैले पुग्नुपर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृति पनि कति फुर्सदमा बनाएको ठाउँजस्तो लाग्छ ।

राजनीतिक स्थिरताले देशलाई आर्थिक र पूर्वाधार विकासमा सघाउँदो रहेछ । ऐतिहासिक पानामा नयाँ विकासका धर्साहरू कोर्दै परिवर्तित हाम्रो देश भने पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा आएर पनि राष्ट्र विकासमा ध्यान गएको, व्यवहारमा भने देख्न पाइएन । वास्तवमा राजनीति कुनै खेल होइन रहेछ, यो त व्यापार पो रहेछ । तर इम्फाल आसपासको विकासमा पर्यटन र व्यापारको ठूलो हात रहेछ ।

मेरो मनमा अनेकौँ रङ्गीन प्रश्न थिए इम्फाल उत्रदैँ गर्दा । यहाँको भाषा, साहित्य अनि परम्परा र संस्कृति बुझ्ने हुटहुटी थियो ममा । यहाँको साहित्यको इतिहास कस्तो होला ? कहाँबाट शुरु भएको होला ? अहिले कति स्रष्टा र कृति भए होलान् ? आदि प्रश्नहरू मेरो मनमा खेलिरहे ।

‘मणिपुरको नेपाली साहित्यको इतिहास कस्तो छ ?’ मैले भवानी अधिकारीलाई सोधेँ थेँ ।

‘भाषा, साहित्य, कला अनि संस्कृति र जातजातिका हिसाबले बर्मा (म्यानमार) र नेपालबीच धेरै समानता छन् । जसै गरी घुमाएर ल्याउँछौँ । सार, हुन्न नभन्नु है ।’ हार्दिकता साथ सीता दिदीले भन्नुभएको थियो ।

‘यो पटक नजाऊँन ।’ मैले भनेको थिएँ ।

किन ?

यो अनुत्तरित प्रश्नसँगै आज पनि मेरो नजरभरि, मेरो मनभरि छ मणिपुर । मानौँ, वर्षौँदेखि हृदयमा जमेको नदी आजैदेखि बग्न थालिरहेछ । बर्माको यात्रा थाँती नै राखेर यसपटकलाई १९ सेप्टेम्बर २०१८ दिनको एक बजे इम्फालबाट इण्डिगोमार्फत् फर्कियौँ ।

मणिपुरलाई पढेर र सुनेर होइन, हेरेर र भोगेर आनन्द लिनुपर्ने रहेछ । हो, सौन्दर्यले आँखाको बाटो हुँदै गएर हृदयलाई छुनु पर्दोरहेछ । यसरी छोइएको सुन्दरताले नै मानिसलाई असल बनाउँदो रहेछ अनि लट्याउँदो पनि रहेछ ।

गौरादह, झापा