० ० ० ०
१. आफैँलाई खोज्न मन छ — सागर फुयाल
कवि तथा गीतकार सागर फुयालकाे दोस्रो कृति हो “आफैँलाई खोज्न मन छ” । नेपाल स्रष्टा समाजले प्रकाशन गरेको यस पुस्तक १ सय ४८ पृष्ठमा आबद्ध छ ।
कथासङ्ग्रह र गीतसङ्ग्रह दुई भागमा विभाजित यस पुस्तकमा ‘शुभकामना’, ‘दोष नबोक्नु आफूले’, ‘साथ पाएँ’, ‘ढुङ्गा र देवता’लगायत ४० थान कविता र ‘नेपाल हेर्दै छ तिमीलाई’, ‘किन हाँसेर व्यर्थै रुवाउँ तिमीलाई’, ‘यो शहरको रमझममा’, ‘के अर्थ छ’लगायत ४० थान गीतहरू समावेश छन् ।
भूमिकामा रोचक घिमिरे लेख्छन्, “सत्य कथन लाग्छ यो । आफ्नो ब्राह्मले देखेको कुरालाई शब्दमा उतार्नु नै वास्तविक सृजनात्मक हो । यस विपरीतको सृजना कृत्रिमताको आवरणमा बेरिएझैँ लाग्छ । अनि निरर्थक र नक्कली त्यस्तो सृजनाको सार्थक उपादेयता रहँदैन । कवि फुयालले आफ्नो ब्रह्म अर्थात् अन्तस्करणको अनुभूतिलाई नै कविता र गीतको रूप दिएका छन् । अतः पठनीय र चित्ताकर्षक अनि स्वाभाविक लाग्छन् ती ।”
“यस रचनामा छ, उहाँको लचकता, विषयवस्तु व्यापक छ, आजभोलिको एउटा कटु सत्य । सानो नानीले परदेशमा अन्धकार देखेको, सुनसान देखेको कुरा एउटा यथार्थ हो । कविता त्यही सानो नानीले गाँठो पारेको जुत्ताको तुना झैँ कसिएको छ । स्वयंले भोगेको एउटा यथार्थ ।” भूमिकामा किशोर पहाडी लेख्छन्, “कविता भन्नु आफैँले भोगेको एउटा यथार्थ त हो । भोगेका यथार्थहरूको मन्थन हो । विचारका पुलिन्दा कवितामा आफ्नै भोगाइहरूद्वारा नै आउने गर्दछ ।”
पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ,
“अस्तित्वसँग
भोलि घाम उदाउनुपर्ने शर्तमा
बास बस्न उडेका चखेवा हेर्दै
रंगीन बादलभित्रको दुनियाँमा
रमाएर डुबेका घाम हेर्दै
एउटा बैँशालु साँझमा
आफैँलाई खोज्न मन छ ।”
पुस्तकको मूल्य २ सय ५५ रुपियाँ रहेको छ ।
० ० ०
२. रत्न नीतिकथा सँगालो — कमल रिजाल
तेस्रो भागसम्म प्रकाशन भइसकेको लेखक कमल रिजलको “रत्न नीतिकथा सँगालो- भाग-४” रत्न पुस्तक भण्डारले बजारमा ल्याएको छ ।
९८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘सफलताको स्रोत’, ‘कर्मको फल’, ‘चन्द्रमाको दुःख’, ‘अल्छी भ्यागुतो’, ‘बुद्धिमान कमिलो’ लगायत अन्य १५ वटा नीतिकथा सङ्ग्रहित छन् । विशेष गरी कथाहरू रामायण र महाभारतादि ग्रन्थहरूबाट लिइएका छन् । केही स्वतन्त्र कथाहरू छन् भने केही विदेशी कथा पनि सन्दर्भ स्रोतमा रहेका छन् । यसले पनि कथानक रोचक बनेको छ । आफ्नै मौलिक चिन्तन र शैलीअनुसार लेखिएका सरल यस कथाहरू बालबालिकको लागि पठनीय छ ।
“भाइबहिनीका यिनै अभिरुचिले गर्दा चौथो भाग प्रकाशनतिर लागिएको हो ।” कमल रिजाल लेख्छन्, “बालबालिका भनेका मुलुकका भविष्य हुन् । जति बढी उनीहरूको नैतिक धरातल बलियो पार्न सकियो भोलिको समाज त्यति नै समुन्नत हुने हो । यिनै मान्यताका साथ पुर्खाले उनीहरूलाई नैतिक शिक्षा दिने गरेका थिए । यसैका कारण तत्कालीन समाज अपेक्षाकृत बढी नै अनुशासित हुने गरेको थियो । त्यसैले बालबालिकको नैतिक धरातललाई थप बलियो पार्दै जाने उद्देश्यले नीतिकथा लेखनमा लागेको हुँ ।”
० ० ०
३. रनाहा — विश्वराज अधिकारी, खेमराज पोखरेल
विदेशमा बसेर नेपाली साहित्यमा योगदान पुर्याउने कथाकार विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त आख्यानात्मक कृति हो — “रनाहा” ।
यसमा विश्वराज अधिकारीको ‘डान्सबार र सर्जन’, ‘भोक’लगायत ८ थान, खेमराज पोखरेलको ‘डायरीको डाम’, ‘टुप्पी’लगायत ८ थान जम्माजम्मी १६ थान यौनकथा समावेश छन् । कथामा समाज छ, यथार्थ छ, त्यस्तै समस्या पनि छ र समाधान पनि छ । यौन तथा यौनमनोविज्ञानलाई सशक्त र गतिशील भाषामा प्रस्तुतीकरण गरिएको देखिन्छ । विविध पात्रको संयोजनले पनि कथाहरू रोचक र जीवन्त छन् ।
विश्वराज अधिकारीको कथामा लेखिएको छ,
“‘पहिले, सुरेश राति पलङमा, मेरो छेउमा सुत्नासाथ ढुङ्गा हुन्थ्यो । त्यो ढुङ्गा केवल पाँच बजे जीवित हुन्थ्यो अनि हतारिँदै त्यो ढुङ्गा सात बजे अस्पताल पुग्थ्याे ।’
‘आजभोलि नि?’
‘आजभोलि त कुरा नै नगर । त्यो ढुङ्गाले कहिलेकाहीँ त रातभरि सुत्न पनि दिँदैन, यार । दुःख दिन्छ । तर सुरेशले आनन्ददायी दुःख दिन्छ । उफ् सुरेश ’”
खेमराज पोख्रेलको कथामा लेखिएको छ,
“फ्रेडरिकलाई छोडी दिएँ । ऊ त एकदम पढाकु रहेछ । चिप्पु पढाकु । नो टाइम फर मी । एकदम सुखा जिन्दगी । ऊ रसिलो मान्छे होइन । रस निकालेको कागतीको खोस्ताजस्तो । एनाटोमीका कङ्काल पढ्दापढ्दै, पढाउँदापढाउँदै कङ्काल नै भएको छ । सेन्सलेस भएको छ । बिलकुल मान्छे होइन । ऊ तिमीजस्तो माई डियर मान्छे त झन् हुँदै होइन । तर के गर्ने ? तिमी मेरो लोग्ने भएर पनि के लोग्ने भएनौ ।”
मोलुङ फाउन्डेसनले बजारमा ल्याएको, १ सय ८४ पृष्ठमा बुनिएको पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।
० ० ०
४. युगदूत
४४ वर्षमा टेकेको, २०५८ सालमा तेस्रो अङ्क र २०६२ सालमा चौथो अङ्क प्रकाशित भई रोकिएको ‘युगदूत’ २०८० साउनमा पाँचौँ अङ्क प्रकाशन भएको छ । रघु पन्तको सम्पादकत्व र नेकपा(एमाले) साहित्य, कला, संस्कृति विभागद्वारा प्रकाशित यस पुस्तक २ सय ६० पृष्ठमा मौलाएको छ ।
यसमा केपी शर्मा ओलीको संस्मरणात्मक निबन्ध देखि लिएर चार थान निबन्ध कविता/गजल/गीत/हाइकु २१ वटा, ४ वटा अनूदित कविता, प्रदीप ज्ञवालीको विचारसहित अन्य चार वटा विचार/दर्शन, कथा/लघुकथा ११ वटा, फिरदोस हैदरको अनूदित कथा, शार्दूल भट्टराईको नाटक, डा. माधवप्रसाद पोखेरद्वारा भाषासम्बन्धी लेख, उमेश राना ‘गोर्खाली’कृत इतिहास, प्रा.डा. बद्रीविशाल पोखरेलको बहस, प्रा.डा. भीम खतिवडाकृत संस्कृति सहित तीन वटा समालोचना र सम्पादकीय समावेश छन् ।
सम्पादकीयमा लेखिएको छ, “सांस्कृतिक क्षेत्रमा देखा परेको यो गतिरोधलाई तोड्ने र नयाँ ढङ्गले यस आन्दोलनलाई अघि बढाउने हाम्रो प्रयत्न हुने छ । त्यही प्रयत्नस्वरूप हामीले ‘युगदूत’को प्रकाशनलाई पुनः प्रारम्भ गरेका छौँ । ‘युगदूत’लाई पुनः प्रकाशन गर्नुको कारण पठन संस्कृतिलाई प्रोत्साहित गरौँ भन्ने नै हो ।” सम्पादकीयमा लेखिएको छ, “वामपन्थी वृत्तका छात्रदेखि लिएर नेता-कार्यकर्ता कुनै समय आफ्नो गहन अध्ययनशीलताका लागि चर्चित थिए । तर आज त्यो चर्चा र अध्ययनको शैली इतिहासको विषयजस्तो बन्न पुगेको छ । अध्ययनविनाको कार्यकर्ताको पङ्क्ति भिडजस्तो हुन पुग्छ, जसलाई दिग्भ्रमित पार्न विरोधीहरूको लागि कुनै गाह्रो काम हुँदैन । साहित्यको अध्ययनले मान्छेलाई तिखार्छ । संवेदनशील बनाउँछ । आफू बाँचेको समय र समाजप्रति चिन्तनशील बनाउँछ । गम्भीर बनाउँछ । सोचविचार गर्नेतर्फ प्रेरित गर्छ । थप अध्ययन गर्न घच्घच्याउँछ । त्यसैले अध्ययनको लागि सामग्री बनोस् र साहित्यिक गतिविधिमा सक्रियता बढोस् भनेर हामीले ‘युगदूत’ को पुनः प्रकाशन आरम्भ गरका हौँ ।”
पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।