विषय प्रवेश :
‘एकलव्य’ पुस्तक लेखक रोशन पोखरेलद्वारा लिखित एक लघुउपन्यास हो र यो पुस्तक पौराणिक कथामा आधारित रहेको छ । रोशन पोखरेल एक नेपाली लेखक हुन् र साहित्यमा उनको कलम प्रायः बालकथाहरूमा चलेकाे पाइन्छ । पोखरेल दिनहुँ बैङ्कमा काम गर्दछन् र काम गरेर फुर्सद पाएको बेलामा उनी बाल पुस्तक लेख्ने गर्छन् । उनले लेखेका पुस्तकहरू धेरै जसो आफूले सानामा सुनेका कथाहरूको बारेमा रहेका छन् । त्यसै गरी यो पुस्तक पनि उनले आफ्नो बाल्यकाललाई याद गर्दै लेखेका हुन् । यस लघु उपन्यासमा अभय (एकलव्य) वृहतकाव्य महाभारतका एक पौराणिक पात्र रहेका छन् र अभयले उत्कृष्ट धनुर्धर बन्ने लक्ष्य पूरा गर्न गरेको संघर्ष, त्याग र परिश्रमको इतिहास रहेको छ र वर्तमानलाई उत्प्ररेणा दिएकाे छ ।
विषयवस्तु :
एकलव्य लघुउपन्यासकाे परिवेश द्वापरयुगको रहेको छ । अभिदुयम्न निषाध नामक जनजातिका प्रधानका छोरा थिए । निषाधहरू जङ्गलमा बसेर सिकार र खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्थे । उनलाई माया गरेर मानिसहरूले अभय भनेर बोलाउने गर्थे । अभयका आमाबाबुले उनलाई राम्रो शिक्षा दिनुभएको थियो । उनी एक बहादुर र बुद्धिमान् युवकको रूपमा हुर्किएका थिए । तर उनको हृदय सानैदेखि नै क्षत्रियको सिप सिक्नतिर लागेको थियो । उनलाई धनुर्विद्यामा विशेष लगाव थियो । उनको त्यो लगाव देखेर उनका पिता साह्रै चिन्तित थिए । उनीहरू जस्तो तल्लो जातको मानिसले क्षत्रिय ज्ञान प्राप्त गर्नु त्यति बेलाकाे समयमा अपराध मानिन्थ्याे ।
एकदिन उनीहरूको गाउँमा बाघ आएको थियो । त्यो बाघले गाउँका गाई, बाच्छालाई घाइते बनायाे । अभयले त्याे बाघलाई आफूले सिकेको धनुर्विद्याले भगाइदिए । उनको धनुर्विद्यालाई उत्कृष्ट बनाउन उनलाई एक गुरुको आवश्यकता थियो । उनले हस्तिनापुरका धनुर्विद्यामा निपुण द्रोणाचार्यको बारेमा धेरै सुनेका थिए । त्यसैले उनले द्रोणाचार्यको शिष्य बनी धनुर्विद्या सिक्ने निर्णय गरे। द्रोणाचार्यकै हातबाट धनुर्विद्या सिक्ने दृढ सङ्कल्प लिएर उनी आफ्नो पितासँग हस्तिनापुरतिर लागे ।
जङ्गलको यात्रा लामो र थकाइलाग्दो भए तापनि उनले हार मानेनन् । अन्ततः उनी हस्तिनापुरको राजदरबारको प्रवेशद्वारमा पुगे । गुरु द्रोणलाई भेटे । गुरु द्रोणाचार्यले अभयलाई धनुर्विद्या सिकाउन मानेनन् । अभय निराश भएर आफ्नो पितासँग घर फर्कदै गर्दा उनले आफ्नो पितालाई एक्लै घर पठाए । आफू त्यस जङ्गलमा गुरु द्रोणाचार्यको मूर्ति बनाएर, ध्यान तपस्याको मार्फत् ज्ञान आर्जन गर्न थाले । अभयको त्यो भक्ति, ध्यान र तपस्या देखेर मानिसहरूले उनलाई ‘एकलव्य’ नामले चिन्न थाले । अभयले द्रोणाचार्यको मूर्तिलाई गुरु मानी धनुर्विद्या आर्जन गरे र युद्धका लागि तयार भए । उनले जङ्गलमा रक्तासुर, एक विषालु साँप र अन्य जनावरहरूसँग लडेर आफ्नो अनि वनयात्रीहरूको ज्यान पनि बचाए ।
एकलव्य एकदिन जङ्गलमा धनुर्विद्याकाे अभ्यास गर्दैगर्दा द्रोणाचार्यले उनलाई देखे । एकलव्यको धनुर्शास्त्रमा रहेको प्रतिभा र क्षमता देख्दा, द्रोणाचार्य एकलव्यबाट प्रभावित भए । परिचय गर्दै जाँदा, एकलव्य त अभय रहेछन् भनेर थाहा पाएपछि, द्रोणाचार्य रिसाए । अनि आफ्ना शिष्यहरूलाई एकलव्यसँग युद्ध गर्न पठाए । युद्धमा द्रोणाचार्यका सबै शिष्यहरू एकलव्यसँग पराजित भए । आफ्नो प्रिय शिष्य अर्जुन पनि एकलव्यसँग हारेको देख्दा द्रोणाचार्य क्रोधित भए र गुरुदक्षिणाको रूपमा एकलव्यको बुढी औँला मागे । एकलव्यले आफ्ना गुरुले दक्षिणा माग्नु भएको हो सोचेर प्रफुल्लित भएर आफ्नो बुढी औँला द्रोणाचार्यलाई दिए । द्रोणाचार्यलाई बुढी औँला दिएपछि उनले आफ्नो धनुष उठाउन सकेनन् । उनी केही क्षणपछि बेहोस भए । सपनामा द्रोणले बुढी औँलाविना पनि धनुष चलाउन सकिन्छ, भनेको सुने र बिउँझिएपछि हार नमानी प्रयत्न गरिरहे । अन्त्यमा उनले बुढी औँलाविना पनि धनुष चलाउन सके । त्यसपछि उनी आफ्नो घर शृङ्गवेरपुरतिर फर्किन बाटो लागे । बिच बाटोमा उनीमाथि केही सिपाहीहरूले आक्रमण गरे । युद्धमा उनले आफ्नो उत्कृष्ट धनुर्विद्याको प्रयोग गरेर उनले ती सिपाहीहरूलाई घाइते बनाए र आफ्नो घर फर्किए ।
घर फर्किएपछि उनका पिता र माताले उनको स्वागत गर्नुभयो । केही क्षणपछि उनले पहिले उनीमाथि आक्रमण गरेका सिपाहीहरू उनको घर आएको देखे र चनाखो भए । तर त्यो उनीमाथि भएकाे आक्रमण त राजाको एक परीक्षा मात्र रहेछ ।
मूलभाव :
अभयको जीवनी चरित्रबाट द्वापरयुगको परिवेशलाई स्पष्ट देखाउँछ । द्वापरयुगको बेलामा जातीय भेदभाव हुने गर्थ्यो । त्यतिबेला जातको नाममा शिक्षा आर्जन गर्न मिल्ने, नमिल्ने भनेर छुट्टयाइने गरिन्थ्यो । उदाहरणका लागि एकलव्य शुद्र जातिका अर्थात् भिल्ल समुदायका भए तापनि धनुर्विद्या आर्जन गर्ने लक्ष्यले उनका पिता निसाधराजलाई असाध्यै चिन्तित बनाएको थियो किनभने शुद्रजस्तो तल्लो जातिले क्षत्रियहरूले मात्र प्राप्त गर्न मिल्ने शिक्षा आर्जन गर्न खोजे त्यसलाई ठुलो अपराध मानिन्थ्यो । जातीय भेदभाव अहिले पनि रहेको छ । जातको नाममा शिक्षा, स्वास्थ्यजस्तो आधारभूत अधिकारहरू पनि मानिसहरूले पाइरहेका छैनन् ।
अहिले पनि समाज उस्तै नै रहेको छ तर अहिले द्वापरयुगजस्तो कडा नियमहरू भने छैनन् । तर पनि अभयले त्यस्तो समाजलाई पार गरेर आफ्नो लक्ष्य प्राप्त गर्दा आउने यत्रो ठुलो बाधाको सामना गरेर हार नमानी दृढ सङ्कल्प लिएर आफ्नो लक्ष्य प्राप्त गरे । यस कुराले नै उनलाई महान् बनाउँदछ । उनी जस्तो महान् योद्धालाई सम्मानको रूपमा अहिले पनि मानिसहरूले पुज्दछन् । हरियाणाको गुरुग्राममा उनका लागि नै एउटा मन्दिर समर्पित गरिएको मानिन्छ । खान्डसा गाउँमा रहेको एकल कोठाको मन्दिर महाभारतको समयमा बनेको र द्रोणाचार्यलाई एकलव्यले गुरु-दक्षिणाका रूपमा चढाएको दाहिने औँला गाडिएको ठाउँमा रहेको मानिन्छ ।
त्यसैगरी यस कथाले हामीलाई एक विद्यार्थीको रूपमा गुरुले जे आदेश दिनुहुन्छ त्यसको पालना गर्नु हाम्रो कर्तव्य हो भनेर पनि सिकाउँदछ । गुरुप्रतिकाे भक्तिभावलाई बाेध गराउँदछ। यस लघु उपन्यासलाई हेर्दा द्रोणाचार्यले त्यस्तो गुरु दक्षिणा मागेर एकलव्यको जीवन बिगारेको हामीलाई महसुस हुन सक्छ तर यो एकदमै गलत बुझाइ हो भन्ने मान्दछु । गुरु द्रोणाचार्यले केवल राजगुरु र राजकुमारहरूको प्रशिक्षकको रूपमा आफ्नो धर्म निर्वाह मात्र पूरा गरेका हुन् । उनले त त्याे राज्यमा बनाएकाे नीतिनियमलाई पालना गरेका हुन् । एक राज गुरूको नाताले उनले न्याय नै गरेको हुन् जस्तो मलाई अनुभव भयो । त्यसैगरी हामी एक शिष्य भएर आफ्ना गुरुहरूप्रति पनि नतमस्तक रहनुपर्छ किनभने हिन्दू धर्ममा गुरुहरूलाई ईश्वरको वैकल्पिक स्वरूप मानिन्छ । उहाँहरूले जे भन्नु भए पनि त्यस कुराले गहिरो अर्थ प्रदान गर्दछ भनेर हामीले मान्नुपर्छ । त्यसैले विद्यार्थीहरू आफ्ना गुरुसँग असहमत हुनु हुँदैन र उहाँहरूको अपमान पनि गर्नु हुँदैन । यसै कारणले एकलव्य जो कोही पनि हुन सक्दैन । एकलव्य नामको सम्मान प्राप्त गर्न पनि मानिसमा आँट, ध्यान, वर्षौँवर्षको परिश्रम, गुरुप्रतिको भक्ति अनि त्याग गर्ने क्षमता हुनुपर्छ । अतः त्याग, तपस्या र बलिदानले लक्ष्य प्राप्तिकाे सिँढी तयार गर्ने गर्दछ । अभयकाे भगीरथ तपस्याले वर्तमान युवालाई परिश्रमकाे मार्ग अपनाएर अगाडि बढ्नका लागि आह्वान गरेकाे छ । गुरुभक्ति र निरन्तरकाे लगनले अन्धकारलाई हटाउन सहयाेग गर्दछ ।
निष्कर्ष :
अभयको निष्ठा, सङ्घर्ष, लक्ष्य प्राप्त गर्न गरेको त्याग र गुरुप्रतिको सम्मानलाई मानिसहरूले उहिलैदेखि नै मान्दै आएका छन् । अहिले पनि मध्यप्रदेशको अलिराजपुरमा रहेका भिल्ल समुदायका धनुर्धरहरूले तीर हान्दा आफ्नो औँलाको प्रयोग गर्दैनन् भन्ने कुरा मैले थाहा पाएँ । यी मानिसहरूले (अभय) एकलव्य उनीहरूको पुर्खाप्रति गरेको सम्मान र आदर हो । यस कारणले मलाई यो पुस्तक असाध्यै मन पर्याे । पहिलो त यो लघुउपन्यास सानैदेखि मलाई अति नै प्रेरणादायक लाग्थ्यो र दोस्रो, यो पुस्तकमा लेखकले विभिन्न चित्र र दृष्टान्तको प्रयोग गरेका कारणले यो पुस्तक पढ्न मलाई अति नै रमाइलो लाग्यो । बाल्यकालमा सुनेको कथालाई अहिले यस पुस्तकमार्फत पुन: सम्झिँदा बाल्यकालमा मैले पाएको हौसला मलाई अवगत भयो । अभयजस्तो लगनशील, परिश्रमी र आँटिलो पात्रले मानिसहरूलाई ठुलो हौसला प्राप्त गराउँदो रहेछ भन्ने म ठान्दछु । त्यसैले म यो पुस्तक बालबालिकालाई मात्र नभएर अभिभावकहरूलाई पनि एकपटक अध्ययन गर्न सिफारिस गर्दछु ।
निहारीका चापागाईं
कक्षाः १०, डियरवाक सिफल स्कुल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।