विषय प्रवेश:

‘उलार’ लेखक नयनराज पाण्डेद्वारा लेखिएको एक लोकप्रिय नेपाली उपन्यास हो । नयनराज पाण्डे एक सफल नेपाली उपन्यासकार एवम् कथाकार पनि हुन् । ‘उलार’ पहिलो पटक वि. सं. २०५३ मा तन्नेरी पत्रिकामा प्रकाशित भएको थियो र त्यसपछि वि. सं. २०५५ मा एक पुस्तकको रूपमा तन्नेरी प्रकाशनद्वारा प्रकाशित गरिएको थियो । याे उपन्यासको नवीनतम प्रकाशन वि. सं. २०६५ मा फाइनप्रिन्टद्वारा भएको हो । याे पुस्तकको शीर्षक ‘उलार’ भनेको एक गाडामा अगाडिभन्दा पछाडि बढी भार भएका कारण गाडामा असन्तुलन आएकोलाई मानिन्छ । प्रकाशन भएपछि यसमा रहेको प्रेमललवाको सङ्घर्षको यात्राका कारण यो पुस्तक धेरै लोकप्रिय हुन पुगेको थियो, जसका कारण यो पुस्तक धेरै पटक पुन: छापिएको पनि छ । पुस्तकले नेपाली समाजमा रहेको सामाजिक असमानता र धनी र शक्तिशालीबाट गरिब जनताको शोषण कसरी हुन्छ भन्ने कुरा देखाउँछ । तल्लो तहका जनताको शोषण र ती जनताप्रतिको राज्य र मानिसहरूको बेवास्तालाई यस पुस्तकमा चित्रण गरिएको छ ।

कथावस्तु:

यो कथाको सुरुवात पश्चिम नेपालमा रहेको सहर नेपालगन्जबाट हुन्छ र यो कथा एक टाँगा चलाउने निम्नवर्गीय मजदुरको कथा हो, जसको जीवनमा कयौँ समस्याहरू आइपर्छन्, जब उसको एक मात्र घोडी ‘वसन्ती’ को मृत्यु हुन्छ । यो कथा नेपालको मध्यपश्चिमाञ्चल मधेशमा आधारित छ । प्रेमललवा एक गरिब टाँगा चालक हुन्छ र ऊ राष्ट्रिय चुनावमा राजेन्द्रराजको समर्थक पनि हुन्छ । कथाको सुरुवात चुनावमा राजेन्द्रराज शान्तिराजासँग हारेको प्रसङ्गबाट हुन्छ । प्रेमललवा राजेन्द्रराजका लागि सित्तैमा चुनावी र्‍यालीमा आफ्नो टाँगा लिएर भाग लिने गर्थ्यो र ऊ राजेन्द्रराजलाई धेरै मान्ने गर्थ्यो किनभने जब उसका बुबालाई एक ट्रकले हानेको थियो र उनको मृत्यु भएको थियो, तब राजेन्द्रराजले नै उसलाई ८ हजार रुपियाँ क्षतिपूर्तिका रूपमा प्राप्त गर्न मद्दत गरेका थिए । जब प्रेमललवाकी आमाको पनि मृत्यु भयो, तब राजेन्द्रराजले उसको जमिन बेच्न मद्दत गरेर उसमाथि ठुलो उपकार गरेका थिए ।

त्यसैगरी उपन्यासमा वादी समुदायकी यौनकर्मी द्रौपदी र प्रेमललवाको प्रेम सम्बन्धको कथा पनि छ । प्रेमललवालाई द्रौपदीको साह्रै माया लाग्छ तर ऊ आर्थिक रूपले असहाय भएकाले उसले द्रौपदीसँग विवाह गर्न सकेको हुँदैन । त्यसैगरी द्रौपदीलाई पनि गाउँका धनी मानिसहरूले शोषण गरेका हुन्छन् र उसले त्यो काम आफ्नो परिवारको आर्थिक अवस्थालाई जोगाउनका निम्ति गरेकी हुन्छे अर्थात् परिवारकाे पेट पाल्नका लागि गरेकी हुन्छे । कथा अगाडि बढ्दै जाँदा यी दुईको सम्बन्ध पनि गहिरो हुँदै जान्छ र अन्त्यमा द्रौपदी पनि प्रेमललवालाई माया गर्न थाल्छे । यो सबै हुँदै गर्दा राजेन्द्रराजले चुनावमा हारिसकेका हुन्छन् । त्यसपछि जब प्रेमललवालाई दैनिक ज्याला दिने वाचासहित शान्तिराजाको विजयी र्‍यालीमा सहभागी हुन भनिन्छ, तब प्रेमललवा शान्तिराजाको र्‍यालीमा आफ्नो टाँगा र वसन्तीलाई लिएर बाध्यताले जान्छ तर र्‍यालीकै क्रममा प्रेमललवाकी बिरामी घोडी वसन्तीको मृत्यु हुन्छ ।

त्यसपछि प्रेमललवा राजेन्द्रराजको भनाइअनुसार शान्तिराजासँग मद्दत माग्ने निर्णय लिँदै राजेन्द्रराजद्वारा लिखित चिट्ठी बोकेर ऊ शान्तिराजा कहाँ भेट्न जान्छ । शान्तिराजा काठमाडौँ गएकाले उनले प्रेमललवालाई काठमाडौँ बोलाउँछन् । काठमाडौँ जाने पैसा नभएकाले प्रेमललवा निराश भएर द्रौपदीलाई भेट्न जान्छ र द्रौपदीले आफ्नो कानको झुम्का दिएर त्यसलाई बेचेर काठमाडौँ पठाउँछे । प्राप्त रकमको साथ प्रेमललवा शान्तिराजालाई भेट्न र घोडाको क्षतिपूर्ति माग्न काठमाडौँ जान्छ तर काठमाडौँमा प्रेमललवाले एक ठग लेखक निराकार प्रसादलाई भेट्छ, जसले प्रेमललवालाई पैसा छिट्टै फिर्ता गर्ने वाचा दिएर र उसको कथा प्रकाशित गर्ने आशा दिँदै पैसा ठगेर भाग्छ ।

निहारीका चापागाईँ

त्यसपछि शान्तिराजाले पनि प्रेमललवालाई मद्दत गर्दैनन् र ऊ राजेन्द्रराजसँग मद्दत माग्न घर फर्कन्छ तर उनले पनि प्रेमललवालाई मद्दत गर्दैनन् । बरु उनले प्रेमललवालाई उससँग रहेको एक मात्र जमिनको टुक्रा बेच्न सुझाव दिन्छन् । अन्तिममा प्रेमललवाले जमिन बेचेर त्याे पैसाले एउटा झुप्राे र टाँगा किन्छ अनि आफ्नी द्रौपदीकहाँ विवाहको प्रस्ताव लिएर जान्छ ।

मूलभाव:

मधेशमा गाडामा पछाडितिर मात्र बोझ एकत्रित भएर गाडामा सन्तुलन बिग्रिएको अवस्थालाई स्थानीय भाषामा उलार भन्ने गरिन्छ र लेखकले याे पुस्तकको नाम किन उलार राखेका हुन् भन्दा प्रेमललवाको जीवनलाई उनले उलारसँग दाँजेका हुन् जस्तो लाग्छ मलाई । कथा पढ्दै जाँदा प्रेमललवाको जीवनमा धेरै समस्याहरू आइपुगे र ती समस्याहरूले उसको जीवनलाई धेरै नै असन्तुलित बनाएका थिए । यस परिस्थितिलाई लेखकले एक असन्तुलित गाडा अथवा उलारसँग तुलना गरेर यस पुस्तकको नाम उलार राखेका हुन् जस्तो मलाई अनुभव भयो ।

याे पुस्तक ‘उलार’ द्वारा लेखकले नेपालमा रहेको भ्रष्टचार र राजनीतिका माध्यमबाट नेताहरूले गरेको दुष्कर्मको मुद्दा उठाएका छन् र उनले एक नेताले कसरी प्रेमललवाजस्ता निम्नवर्गीय मजदुरकाे गरिबीकाे फाइदा उठाउँछन् र तिनीहरूको जीवन बर्बाद गरिदिन्छन् भन्ने कुराको पनि चित्रण गरेका छन् । कथामा जब प्रेमललवा उसको क्षतिको पैसा शान्तिराजासँग माग्न राजधानी काठमाडौँ जान्छ, तब उसले भाेग्नुपरेका समस्याका माध्यमबाट लेखकले नेपालमा रहेका विभिन्न समस्याहरूको कुरा निकालेका छन् । लेखकले पुस्तकमा गरिबी, राजनीतिक छलकपट, ठगी, बेरोजगारीजस्ता समस्याहरू काठमाडौँमा भएको कुराकाे चित्रण गरेका छन् । उदाहरणका लागि काठमाडौँ पहिलो पटक गएको प्रेमललवालाई एक लेखकले ठगेर उसको पैसा लुटेर भागेको पनि पुस्तकमा चित्रण गरिएको छ । यस पुस्तकमा यसरी नै समाजमा रहेका गरिब मानिसहरूको असहायता र उनीहरूमाथि धनी र शक्तिशाली मानिसहरूले गरेको शोषणका बारेमा देखाइएको छ, जस्तैः कथामा द्रौपदीको अवस्था र परिस्थितिको फाइदा उठाएर उसमाथि धेरै धनी मानिसहरूले शोषण पनि गरेका छन् ।

उपन्यासमा थोरै जातीय भेदभाव पनि हामीले देख्न सक्छौँ किनभने जब प्रेमललवाले वसन्तीलाई उपचार गर्न लगिरहेकाे थियो, तब धेरै मानिसहरूले उसलाई “तँ मुस्लिम हो ?” भन्दै सोध्दै कुट्न लागेका थिए । यस्ता हेला र भेदभावका कथाहरू हामीले अहिलेको समयमा पनि प्रशस्तै नै भेट्न सक्छौँ र त्यसका उदाहरणहरू भारत र पाकिस्तान स्वयम् नै हुन् । हुन त एक प्रकारले यस पुस्तकले प्रेमललवाको जीवनमा रहेको सङ्घर्ष देखाएर हामीलाई हाम्रो जीवनप्रति खुसी र प्रफुल्लित हुन पनि सम्झाएको छ । हामीले यस पुस्तकबाट हामीसँग हाम्रो जीवनमा जे जे छ, त्यसमै सन्तुष्ट हुनुपर्छ भन्ने एक सानो तर महत्त्वपूर्ण ज्ञान पनि पाउन सक्छौँ । मेराे विचारमा याे पुस्तकले मुख्य रूपमा भ्रष्ट नेताहरूबाट सचेत हुनुपर्ने र आफूलाई उनीहरूको जालबाट मुक्त गराउनुपर्ने सन्देश पनि हामीलाई दिएको छ, जस्तैः प्रेमललवाको राजेन्द्रराजप्रतिको अन्धो विश्वास देखेर राजेन्द्रराजले प्रेमललवालाई सित्तैमा उनको र्‍यालीमा आउन लाउनुका साथै सित्तैमा आफ्नाे परिवारका सदस्यहरूलाई टाँगामा चढाउन लगाउँथे ।

निष्कर्ष:
‘उलार’ पुस्तक नयनराज पाण्डेको चौथो उपन्यास हो र यसको प्रकाशनपछि उपन्यासले अधिकतर सकारात्मक र आलोचनात्मक समीक्षा प्राप्त गरेको थियो । उलारलाई त्रिभुवन विश्वविद्यालयका स्नातक तह पढ्ने विद्यार्थीका लागि पढाइ हुने पाठ्यक्रममा पनि समावेश गरिएको छ र यसको सफलताले लेखक नयनराज पाण्डेलाई पूर्ण समय लेखनमा समर्पित हुन पनि प्रोत्साहित गरेको छ किनभने नयनराज पाण्डे सुरुवातमा चलचित्रका लागि कथाहरू लेख्ने गर्थे र याे किताबको कथावस्तुमा पनि एक नाटक तयार भएको थियो । नयनराज पाण्डे आफ्ना उपन्यासहरूमा समसामयिक नेपाली समाजको प्रतिनिधित्वका लागि परिचित छन् र उनको यो लेख्ने तरिका यस उपन्यासमा पनि झल्किएको हामीले देख्न सक्छौँ । यो उपन्यास एकदमै सानाे छ तर सुन्दर ढङ्गले लेखिएको छ । यो जति सानाे छ, यसले उठान गरेकाे विषय त्यति नै ठुलाे छ त्यसैले याे सबैले पढ्नै पर्ने किताब बनेकाे छ । लगभग २० वर्षअगाडि लेखिएकाे उल्लिखित उपन्यास आजका सन्दर्भमा पनि उत्तिकै सशक्त छ । याे कुराबाट लेखककाे परिकल्पना र लेखनी पनि सशक्त छ भन्न सकिन्छ ।

पुनश्चः २०७९ वैशाख महिनामा उल्लिखित पुस्तक पढ्ने अवसर विद्यालयले जुराएकाे थियाे । त्यसै मेलाेमा पुस्तक समीक्षा लेख्ने अभिप्रेरणा पनि गुरूहरूमा प्राप्त भएकाे थियाे ।

निहारीका चापागाईं
कक्षा १०, डियरवाक सिफल स्कुल