साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विद्यार्थीहरूले मात्र नभई शिक्षक र अभिभावकले पनि पढ्नै पर्ने पुस्तक

नेपालमा धेरैजसो किताब पढ्नुलाई मात्र सिकाइको रूपमा लिइन्छ । अभिभावकहरू पनि ठुल्ठुलो स्वरमा कराउँदै, घोक्दै पढेकोलाई मात्र सिकेको मान्नुहुन्छ । यस्तो सोचाइ भनेको एकदमै गलत हो ।

Chovar Blues Mobile Size

    निहारीका चापागाईं 

कक्षा ९, सिफल सेकेन्डरी स्कुल

विषय प्रवेश:

‘क ख रा’ प्रसिद्ध नेपाली लेखक हरिहर तिमल्सिनाद्वारा रचित वि. सं २०७८ सालमा प्रकाशित पुस्तक हो । यस पुस्तकमा नेपालको सामुदायिक विद्यालय र निजी विद्यालयहरूबीचको भिन्नताका साथै यी दुई प्रकारका विद्यालयमा हुने सिकाइ सम्बन्धी भिन्नतालाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृति सामुदायिक, निजी र आदर्श भनिएका विद्यालयहरूको उदाहरण दिएर हाम्रो समाजमा रहेको शैक्षिक प्रणालीको विस्तृत जानकारी गराउँदै अभिभावक तथा विद्यार्थीहरूलाई शिक्षा प्रणाली सुधारका लागि सचेत गराउन सक्षम छ । प्रस्तुत उपन्यासले अहिलेको समाजको महत्त्वपूर्ण समस्यालाई आम नेपालीसामु ल्याउन खोजेको छ । यस पुस्तकमा लेखकले आफ्नो शिक्षण पेसाको अनुभव लेखेका कारणले पनि यो पुस्तक एकदमै विशेष रहेको छ । पुस्तकमा धेरै जसो महँगो शुल्क लिएर शिक्षालाई व्यापारका रूपमा हेर्ने निजी तथा सरकारी विद्यालयहरूको वास्तविकता छर्लङ्ग पारिएको छ ।

कथावस्तु:

sagarmani mobile size

‘क ख रा’ उपन्यासको केन्द्रीय पात्र सफल सरकारी विद्यालयमा पढ्छ । उसलाई विद्यालयको पाठ्यक्रमका किताबभन्दा बाहिरका कुरामा रुचि भएकाले ऊ परीक्षामा सफल हुन सक्दैन । यसपछि उसलाई  वरदायिनी स्कुलबाट खराब विद्यार्थी ठानेर विद्यालयबाट निष्कासन गरिन्छ । ऋण लिएर उसका मातापिताले उसलाई एक निजी विद्यालय ‘शिविर स्कुल’ मा भर्ना गरिदिन्छन् । भौतिक रूपमा सुविधा सम्पन्न मानिएको शिविर स्कुल धनीमानीका छोराछोरीले मात्र पढ्न सक्ने हुन्छ । अभिभावकका आँखा छल्न र पैसा असुल्न माहिर मानिएका यस्ता विद्यालयको पनि पढाउने शैली भनेको विद्यार्थीहरूलाई किताब घोकाउने मात्र हुन्छ, किताब रटानमा मात्र जोड दिइन्छ । विशेष गरी गणित, अङ्ग्रेजी र विज्ञान विषयमा जसरी पनि धेरै अङ्क ल्याउन बाध्य पारिन्छ । भनेजति अङ्क नआए निष्कासन गर्ने धम्की दिइन्छ । उनीहरूलाई शिक्षकहरूसँग प्रश्न सोध्न पनि निषेध हुन्छ । सफल सरकारी विद्यालयबाट निजी विद्यालयमा सरिसकेपछि पनि सफलको पढाइ राम्रो हुँदैन । सफल शिविर स्कुलमा पनि आफ्नो रुचि भएको कोर्स बाहिरका  किताब पढ्थ्यो । सफलले प्रश्न सोध्दा शिक्षकहरू उसलाई काम नलाग्ने, धेरै जान्ने भएको र अनुशासनहीन भनेर गाली गर्थे । उपन्यासमा शिक्षा र नेपाली विद्यालयहरूको यस्तो तस्बिर देखाइएको छ, जहाँ सिकाइ भन्ने कुरा किताबमा मात्र सीमित छ । आदर्श विद्यालय कस्तो हुन्छ भनेर प्रेम शिविर विद्यालयलाई उदाहरणका रूपम देखाइएको छ । सफल शिविर स्कुलबाट भागेपछि प्रेम शिविर विद्यालयमा सिकाइने प्रयोगात्मक ज्ञानका कुरा पनि यस पुस्तकमा समेटिएको छ । जब सफल प्रेम शिविर विद्यालयमा भर्ना हुन्छ, तब त्यहाँ किताबी ज्ञान मात्र नभएर जीवनोपयोगी सिपहरूलाई प्रमुख सिकाइ मानिन्छ । प्रेम शिविरमा पढेपछि सफल एक असल,  सिपयुक्त र  जिम्मेवार नागरिक बनी शिक्षाक्षेत्र सुधार अभियानमा लाग्छ ।

निहारीका चापागाईँ

मूलभाव:

प्रस्तुत उपन्यासमा तीन वटा छुट्टाछुट्टै विद्यालयहरूको परिकल्पना गरिएको छ । पहिलो विद्यालय रहेको छ; एक सरकारी विद्यालय (वरदायिनी स्कुल) जहाँ किताबलाई मात्र ज्ञानको श्रोत मानिन्छ र परीक्षामा उत्तीर्णाङ्क नआएका विद्यार्थीहरूलाई खराब मानिन्छ । दोस्रो विद्यालय रहेको छ; निजी विद्यालय (शिविर स्कुल) जहाँ महँगो पैसा लिएर शिक्षाको व्यापार गरिन्छ । अन्तिम विद्यालय रहेको छ, एक आदर्श विद्यालय (प्रेम शिविर), जहाँ उपन्यासकारले परिकल्पना गरेका छन् कि शिक्षाको व्यापार हुँदैन । त्यहाँ ज्ञान कोर्सका किताबहरूमा मात्र सीमित छैन ।

लेखकले यस्तो विद्यालयको कल्पना गरेका छन् जहाँ जीवनोपयोगी सिपहरू सिकाइयोन् । जहाँ एक विद्यार्थीको भविष्य केवल एक परीक्षाको अङ्कले निर्णय नगरोस् । यस्तो विद्यालय किताबी ज्ञान मात्र नभएर व्यावहारिक ज्ञान पनि प्राप्त गर्नका लागि होस् । लेखकका अनुसार विद्यार्थीले प्रवेश परीक्षा दिनु र विद्यालयले विद्यार्थीहरू छनोट गर्नुभन्दा विद्यार्थीहरूले विद्यालयल छनोट गर्न पाउनु आजको आवश्यकता बनेको छ ।

उपन्यास विद्यालयको बारेमा मात्र केन्द्रित छैन । यहाँ अभिभावकहरूले आफ्ना बच्चामाथि राखेको अपेक्षा, सपना र उनीहरूको पढाइका लागि गरेको लगानीको पनि गहन रूपमा विश्लेषण गरिएको छ । प्रत्येक आमाबुबाको आफ्ना  छोराछोरीले राम्रो शिक्षा प्राप्त गरून् भन्ने  चाहना हुन्छ र त्यसलाई पूरा गर्न उहाँहरू दिनरात खट्नुहुन्छ । आफ्ना छोराछोरीमाथि यति लगानी गरेपछि उहाँहरूले अपेक्षा राख्नु पनि स्वभाविक नै हो । यस कुरालाई उपन्यासकारले राम्रोसँग केलाएका छन् । परिवार, समाज र शिक्षकहरूले राख्ने अपेक्षाका कारण एक विद्यार्थीले भोग्नुपर्ने मानसिक तनावलाई यहाँ देखाउन खोजिएको छ । विद्यार्थीहरूले आमाबाबुका साथसाथै सबैको अपेक्षा बोकेर हिँड्नुपर्ने हुन्छ, जसले उनीहरूमा एक प्रकारको डर पैदा हुन्छ । विद्यार्थीहरूले झेल्नुपर्ने मानसिक तनावका विभिन्न मनोवैज्ञानिक पक्षको पनि चित्रण गर्न उपन्यास सफल छ । सफल पनि दुईवटा विद्यालयमा उत्तीर्ण हुन नसकेपछि यदि ऊ असफल भयो भने के गर्ने होला भनेर डराएको छ ।

निष्कर्ष:  

यस उपन्यासले नेपाली शिक्षा प्रणालीमा रहेको विकृतिका साथसाथै कसरी शिक्षा प्रणालीलाई सुधार गर्न सकिन्छ भन्ने कुरालाई उल्लेख गरेको छ । नेपालमा धेरैजसो किताब पढ्नुलाई मात्र सिकाइको रूपमा लिइन्छ । अभिभावकहरू पनि ठुल्ठुलो स्वरमा कराउँदै, घोक्दै पढेकोलाई मात्र सिकेको मान्नुहुन्छ । यस्तो सोचाइ भनेको एकदमै गलत हो । जीवनमा व्यावहारिक ज्ञान प्राप्त गर्नु पनि किताबी ज्ञान जत्तिकै र त्योभन्दा बढी नै महत्त्वपूर्ण हुन्छ । उपन्यासमा सिकाइ र बुझाइको भिन्नतालाई प्रस्तुत गरिएको छ । हाम्रो देशको अहिलेको शिक्षा प्रणाली व्यापारको रूपमा मात्र फस्टाउँदै गएको छ । निजी विद्यालयहरूमा बढी शुल्क तिरेर धेरै अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई पढाइरहेका छन् । यसरी शिक्षालाई व्यापारमा परिणत गर्ने विद्यालयहरू र महँगो विद्यालयमा पढेपछि मात्र आफ्ना सन्तानको सिकाइ राम्रो हुन्छ भनी सोच्ने अभिभावकहरूको सोचाइ नै गलत  भएको कुरा यहाँ देखाउन खोजिएको छ ।

म यो पुस्तक विद्यार्थीहरू मात्र नभएर शिक्षक तथा अभिभावक सबैलाई पढ्न अनुरोध गर्दछु । यो पुस्तक पढेर हामी सबैले हाम्रो सिकाइप्रतिको दृष्टिकोण बदल्नु जरुरी छ । यदि हाम्रा विद्यालयहरूमा पढाउने सिकाउने प्रणालीमा सुधार गर्न सकिएन भने शिक्षा क्षेत्रमा सोचे जति उपलब्धि कहिल्यै हासिल गर्न सकिँदैन ।

कखरा : पुस्तक समीक्षा 

पुस्तक: क ख रा 

विधा : उपन्यास 

लेखक: हरिहर तिमिल्सिना

प्रकाशक: सिकाइ समूह प्रा. लि. 

संस्करण: वि. सं. २०७८

प्रतिक्रिया
Loading...