विषयप्रवेश :

विद्यालयको मासिक पुस्तकअन्तर्गत कार्तिक महिनामा मैले यो किताब पढेकाले, यो पुस्तकको समीक्षा लेख्ने अवसर पाएकी छु ।

‘कर्णाली ब्लुज’ प्रसिद्ध नेपाली लेखक बुद्धिसागरद्वारा रचित एघार खण्डमा विभाजित एक प्रेरणात्मक मनोवैज्ञानिक उपन्यास हो । यस उपन्यासको शीर्षक ‘कर्णाली ब्लुज’ भए तापनि उपन्यासमा सुदूर पश्चिमाञ्चल लगायत मध्यपश्चिमाञ्चलका कुराहरू पनि जोडिएका छन् । यो उपन्यास लेखेकको पहिलो प्रकाशित कृति हो । उनले यस उपन्यासमा एक पिताको सङ्घर्ष प्रस्तुत गरेका छन्, जसले आफ्नो सन्तानलाई हरेक कुरामा खुसी दिएर श्रेष्ठ बनाउन चाहन्छन् । नेपालको पश्चिम तराईका केही भाग र कर्णाली अञ्चलका मानिसहरूको जीवन विभिन्न राजनीतिक परिवर्तनपछि पनि परिवर्तन नभएको कुरा उपन्यासमा चित्रित छ । त्यहाँका धेरै मानिसहरू शिक्षित छैनन् । त्यहाँका मानिसहरूमा धार्मिक आस्थाका साथै रूढिवादी चिन्तन पनि पाइन्छ । त्यहाँका हरेक मानिसको दिनचर्या सहरिया मानिसको भन्दा बेग्लै हुन्छ । त्यसैले होला धेरै मानिसहरू अवसरको खोजीमा कर्णाली अञ्चलबाट सहरतर्फको यात्रा गरिरहेका नै हुन्छन् । यी सबै कुरलाई समेटेर लेखकले उपन्यासमा मटेरा गाउँमा बसोबास गर्ने हर्षबहादुर र उसको छोरा वृषबहादुरको कथा लेखेका छन् ।

निहारीका चापागाईँ

कथावस्तु :

मटेरा गाउँमा बसोबास गर्ने हर्षबहादुरको मूल घर सुर्खेतमा रहेको थियो तर उनी आफ्नो परिवारसँग मटेरा र कटासेमा बस्ने गर्थे । उनको परिवारमा ४ जना सदस्य थिए । उनी, उनकी श्रीमती, उनको छोरा वृषबहादुर र उनकी छोरी पार्वती । उनले जसोतसो काम गरेर आफ्ना दुई छोरा र छोरीलाई विद्यालय पठाएका थिए । उनी आफू शिक्षित हुनाले आफ्ना छोराछोरी पनि शिक्षित हो‌ऊन् भन्ने चाहन्थे तर वृषबहादुर भने पढाइमा बाबुले सोचेजस्तो थिएन । उसले कक्षा ४ मा नै दुईपटक असफल भएर आफ्नो बुबालाई निराश पारेको थियो । उसले चाहिने नचाहिने काम गरेर जतिखेर पनि समस्या थोपरिरहेको हुन्थ्यो तर पनि उसको बुबाले उसलाई कहिले पनि गाली गर्ने पिट्ने काम गर्दैनथे । हर्षबहादुरको मध्यम वर्गीय परिवारका भए पनि उनले आफ्नो छोराको इच्छा पूरा गरिदिन्थे । बाल्यकालका रुचि साइकल, घडी, टोपी, आदि जसोतसो किनिदिन्थे । उनले आफ्नो छोरालाई धेरै मायाँ गर्थे र जब उनीहरू सुर्खेतमा बस्थे तब उनीहरूको घरमा पानी पर्दा छतबाट पानी चुहिन्थ्यो । त्यहाँ उनीहरूको व्यापार पनि राम्रो थिएन। त्यसैले मटेरामा मेडिकल राम्ररी चल्छ कि भनेर त्यहाँ बसाइ सरेर आएका थिए । त्यहाँ सरेको दुई तीन वर्षसम्म राम्ररी नै चलेको पनि थियो तर कर्णाली पुल बनेपछि कटासे बजार एकदमै सुनसान हुन थाल्यो र हर्षबहादुरको व्यापार कम हुन थाल्यो । हर्षबहादुरलाई आफ्नी छोरीलाई पढाउन मन थियो तर पार्वतीले घरको आर्थिक स्थिति कमजोर देखेर विवाह गर्ने निर्णय लिई ।

व्यापार कम भएपछि उनीहरू कालीकोटको सदरमुकाममा बसाइ सरे । त्यहाँ सरेपछि मेडिकल चलाउन थाले । केही समय मेडिकल चलाएपछि स्वास्थ्यले साथ नदिएकाले उनले कपडा पसल खोले । कपडा पसल केही समय राम्रै चल्दै थियो । हर्षबहादुरकी श्रीमती जीवनका प्रत्येक क्षण सुन्दर घरको कल्पना गर्थिन् र त्यो सपनालाई पूरा गर्न दुवै श्रीमान् र श्रीमती खटिरहेका थिए । वृषबहादुरले त्यस वर्ष कालिकोटबाट एस. एल. सी दिएको थियो । ऊ उच्च शिक्षाका लागि काठमाडौँ जाने भनेर ढिपी कसेर घरमा बसेको थियो तर हर्षबहादुरलाई आफ्नो छोरालाई परिवारदेखि टाढा पठाउन मन थिएन । जे जसो भने पनि अन्तिममा वृषबहादुर उच्च शिक्षाका लागि आमाबुबालाई गाउँमा छोडेर काठमाडौँ गयो । छोरालाई जसोतसो मिहिनेत गरेर पैसा पठाइरहन्थे । वृषबहादुर काठमाडौँ आएको तीन वर्षपछि तत्कालीन माओवादीको गाउँ-गाउँमा द्वन्द्व बढ्न थाल्यो । उता घरतिर व्यापार पनि कम हुन थाल्यो । हर्षबहादुरको व्यापार घाटामा जाँदा चिन्ता थपिँदै गयो । चिन्ताले उनी रोगी हुँदै गए । रोगले च्याप्दै गएपछि उनी ढले र उनलाई हेलिकप्टरबाट कोहलपुर टिचिङ अस्पताल पुऱ्याइयो । बुबालाई भेट्न छोरा र छोरी अस्पताल आए । उनलाई ब्रेनह्याम्रेज भएको रहेछ । उनलाई उपचार गर्न धेरै समय लाग्ने तथा निको नहुने भएकाले डाक्टरले अन्तिम इच्छा सोधे । उनले आफ्नो सुर्खेतमा भएको पुरानो घर जाने इच्छा बताए । अफसोस बाटामै उनको निधन भयो । उनको निधनसँगै, सबैका सपनाहरू पनि मरेर गए । आफ्ना बुबाको निधन हुनुभन्दा ११ दिन अगाडिदेखि जब उसले आफ्ना बुबाको हेरचाह गर्न थाल्छ तब उसले आफू सानो हुँदा आफ्ना बुबालाई दिएको दुःख सम्झन्छ । बुबाको निधन भएपछि ऊ बाल्यकालमा आफूले बुबालाई दिएको दुःख सम्झेर पश्चात्ताप गर्छ ।

परिवेश :

यस उपन्यासले व्यापक परिवेश ओगटेको छ । उपन्यासको कथा सुदूर तराईको गाउँ मटेरादेखि कटासे बजार हुँदै सुदूर पहाड कालीकोटसम्म र देशको मुख्य राजधानी काठमाडौँदेखि बाँकेको कोहलपुरसम्मको व्यापक परिवेश उपन्यासमा समेटिएको छ । चन्द्रे, ममता दिदी, भागीराम, बाटु, शिवशङ्कर, सद्दाम, एकराज, मन्दिरे, छोट्कु जस्ता पात्रले फरक-फरक परिवेशको चित्रण गरेका छन् । उपन्यासमा तत्कालीन माओवादीको द्वन्द्वकालीन परिवेशको पनि चित्रण गरिएको छ जस्तै : ठाउँ-ठाउँमा बम पड्काउने, सरकारी संरचना ध्वस्त पार्नेजस्ता विभिन्न स्थलगत परिवेश चित्रण गरिएको छ ।

पात्र :

उपन्यासको मुख्य पात्र हर्षबहादुर हुन् । हर्षबहादुरले सामान्य लेख पढ गरेर मात्र पनि आफ्नै अनुभवहरूका आधारमा एक मेडिकल चलाएका थिए र उनी एक परम्परावादी सोच भएका मानिस हुन् । उनी उपन्यासमा एक स्वावलम्बी, मानवतावादी आदर्श पिता, आदर्श पतिका रूपमा आएका छन् । कसैसँग पनि झैझगडा नगर्ने, गरिब दुःखीलाई सित्तैमा उपचार गर्ने, छोराछोरीका इच्छा पूरा गर्ने, छोराछोरीप्रति रिस नदेखाउने जस्ता कार्यहरूले हर्षबहादुर यस उपन्यास अनुकूल र स्थिर पात्र हुन् । त्यसै गरी, उपन्यासमा भएको वृषबहादुरको मित्र चन्द्रेको पिताको कुरा गर्ने हो भने उनी हर्षबहादुरजस्ता छैनन् । उनको स्वभाव एकदमै रुखो छ त्यसैले चन्द्रे कक्षामा फेल भएपछि घरमा बस्न नसकेर, होटेलमा भाँडा माझ्न बाध्य भएको छ । यस्तै हर्षबहादुरकी श्रीमती, उसको छोरा वृषबहादुर र उसकी छोरी पनि अनुकूल पात्रका रूपमा चित्रित भएका छन् ।

निष्कर्ष :

कर्णाली ब्लुज छोराको आँखाबाट पिताको सङ्घर्ष देखाउने उपन्यास हो । सानो छँदा पितालाई संसारकै सबभन्दा ज्ञानी र बलवान् ठान्ने छोराले आफ्नो हुर्काइसँगै पिताबारे धारणा फेर्दै जान्छ । यस उपन्यासमा केवल हर्षबहादुरको कथा मात्र रहेको छैन । यहाँ माओवादीको द्वन्द्वका बेला हुने कुकार्यहरू, बजारमा खेलिने जुवा, प्रहरीले भरियाहरूसँग पैसा मागेर गरिने अत्याचार, सङ्कटकालको नाममा जनतालाई दुःख दिने प्रवृत्ति, प्रहरी थानालाई सफा नराख्ने, नदीनालामा फोहोर फ्याक्ने आदि कुराहरूका बारेमा लेखेकको आक्रोश छ । उपन्यासमा केही पहाडी भाग र तराईको जनजीवनको विस्तृत चर्चा गरिएको छ । कर्णालीका जनताको दुःख, पिर, व्यथालाई कथामा विस्तृत रूपमा चित्रण गरिएको छ । मध्यम तथा निम्न वर्गीय परिवारको पीडा र व्यथा समेटिएको यो उपन्यास समग्र नेपाली जनजीवनलाई प्रतिनिधित्व गर्न सफल भएको छ । त्यसैले मलाई यो उपन्यास निकै मन पऱ्यो । उपन्यास पढ्दै जाँदा आँखा नरसाउने मानिस सायद कमै होलान् । प्रस्तुत उपन्यासले मजस्ता धेरै मानिसहरूको मन छोयो होला । प्रस्तुत कृतिमा छोटा र साना वाक्यको प्रयोगले उपन्यासलाई सरल बानाएको छ । कृतिको अध्ययन गर्दै जाँदा आफू नै उपन्यासमा भएको अनुभूति हुने रहेछ । उपन्यासको भाषा झर्रो तर सरल छ । उपन्यास पढेर मैले एक पिताले वहन गर्नुपर्ने जिम्मेवारी थाहा पाएँ र आफ्ना पिताले दिनहुँ भोग्नुपर्ने चिन्ता र तनाव पनि महसुस गरेँ ।

निहारीका चापागाईँ

कक्षा ९, सिफल सेकेन्डरी स्कुल