१. लघुकथा- इच्छाशक्ति
“पर्दै पर्दैन । जसले जेजे भन्छ, त्यहीत्यही तामेल गर्दै जाने होइन ।” शङ्करराजको अस्वीकृतले रामकुमारीको मुटु चिसो भयो ।
“जेठो छोरो नै बकलाटो निस्किए अरू सन्तानको के हालत होला ?” रामकुमारीले मन खोलेर प्रश्न गरिन् ।
पाँच वर्षको हुँदासम्म नबोलेका सत्यलाई बोल्ने बनाउन हरसम्भव प्रयत्न गरिन् उनले । धामीझाँक्रीलाई देखाइन् । जान्नेबुझ्नेका कुरा सुनिन् ।
अन्ततः धामीझाँक्रीले भने अनुसार देउताको कृपा पाउन सत्यलाई सूर्यविनायक वनमा छाड्ने निष्कर्षमा पुगेकी थिइन् । पतिले नमानेपछि गहभरि आँसु बनाउन विवश बनिन् ।
पत्नीको मनोभावनालाई सम्बोधन गर्ने मन नभएको होइन तर वन्यजन्तुको भयले खतरा मोल्न सकिरहेका थिएनन् शङ्करराज ।
सत्यको बोली फुटोस् भनी दुबैले भाकल गरेको याद दिलाइन् रामकुमारीले । शङ्करराजको मुन्टो लत्रियो । सत्यलाई वनमा एक्लै छाडियो ।
आफूलाई कहिले डोहर्याउँदै, कहिले बोक्तै ल्याएर अनकन्टार वनमा छाड्ने बाआमालाई केही भन्न सकेनन्, मात्रै आँसु खसाएर विरोध जनाए सत्यले ।
केहीबेरमै हिंसात्मक वन्यजन्तुको भयले सत्य चिच्याए- “माँ, ए मा ।” लुकेर बसेकी रामकुमारीले सत्यलाई समालिन् ।
यो दृश्य देखेर शङ्करराजले मनमनै सोचे – “दृढ इच्छाशक्तिका सामु परिस्थिति पनि लम्पसार पर्दो रहेछ ।”
+++
२. लघुकथा- सत्यजात्रा
“तपाईंको छुटले मेरो इज्जत लुट्यो । यसको हर्जाना कसैले भर्छ ?” महाप्रबन्धकले सत्यमोहनको निश्चल मनस्थिति हल्लाउन खोजे ।
“तपाईंले के काम गर्नुभएन र ?” सत्यमोहनको प्रश्नले महाप्रबन्धक रातापिरा भए ।
“मलाई थाहा छ; तपाईं गर्ने काममा रिपु हुनुहुन्छ । सरकारले पनि यही अपेक्षा राखेको हुनुपर्छ । कुरा यहाँ ‘तर’ को छ…!” सत्यमोहनले कुरा टुंगोमा पुर्याउन नपाउँदै महाप्रबन्धक फन्केर ओझेल परिसकेका थिए ।
नेपथ्य बोली सुनिँदै थियो “नेप्रप्रको सदस्य सचिव बन्दैमा महाराज नै बनेको धम्की दिने ! तिम्रो गाईजात्रा बन्द नगराइ मुखमा पानी पनि हाल्दिनँ ।”
त्यसको एक घण्टामै दरबारबाट पत्र आयो- व्यापक जनगुनासो आएको कारण गाईजात्रा महोत्सव नामक चित्त दुखाउने कार्यक्रम सदाको लागि बन्द गरेको ब्यहोरा हामीकहाँ पेस गर्नू !
सत्यमोहनले पनि तात्तातै जवाफ खामबन्दी गरेर पठाए । त्यसपछि अद्यापि बेरोकटोक गाईजात्रा महोत्सव चलिरहेछ ।
खामबन्दीमा जवाफ थियो- व्यापक जनसमर्थन भएको कारण गाईजात्रा नामक सत्यजात्रा कार्यक्रम निरन्तर चल्ने हुँदा नजर लगाइबक्सन मौसुफ सवारी होइबक्सने प्रतीक्षामा छौँ ।
+++
३. लघुकथा- सत्य-सौगात
“शताब्दी नाघ्नु भएछ । गन्धेरोगबाट बच्नु भएछ । अब स्पष्टीकरणको फेहरिस्त प्रस्तुत गर्नका लागि भित्र जाने हो भने मेरो चित्त भर्नुस् ।” यसो भन्दै यमलोकको द्वारपालले बाटो छेक्दा सत्यमोहन झसङ्ग भए ।
“भाषासाहित्य, कला, संस्कृतिको अनन्य सेवक भएर हुन्न । जीवनभर आफ्नो जाति र राष्ट्रहितमा समर्पित भएर मात्रै हुन्न ।” द्वारपाल भट्याउँदो थियो ।
त्यसको तगारो पन्साउन सत्यमोहनले अघि सार्दै गए-
– करिब सात दर्जन नेपाली-नेपाल भाषाका पुस्तक ।
– नेपालजस्तो बहुभाषिक र बहुसांस्कृतिक मुलुकलाई सशक्त र भावनात्मक एकतामा बाध्ने सूत्र ।
– आफूले खोजेको गिनिज बुक अफ रेकर्ड राखेको जयप्रकाश मल्लकालिन सबैभन्दा सानो मुद्रा ।
– विदेशमा पुगेर भाषा, साहित्य, कला, संस्कृतिको विकासमा गरेको कार्यको फेहरिस्त ।
द्वारपालले भन्यो; “ती तिम्रा जम्मै कुराभित्र काम लाग्छ । समेट । मलाई दिने सौगात जे हो त्यो मात्रै देऊ ।”
मैले जीवनभर बाँड्दै आएको सौगात यही हो भन्दै उनले एउटा पोको द्वारपालको हातमा थम्याए ।
पोको खोल्नासाथ द्वारपालले सन्तोषको सास फेर्यो । पोकोभित्र थियो – सकारात्मक सोच र आशावादी जीवनदृष्टि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।