नन्दलाल आचार्य

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठूलो ब्याधा कहलिन्छन्
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने भ्रमको प्यादा कहलिन्छन् ।
नोट-प्यादा = दूत

डराए स्याल भइन्छ सोच्न थाले सिंह बनिन्छ
उत्साह राखे प्रेमिसँग मज्जाले झुल्ने पिङ बनिन्छ
मर्द हुन मन छ भने पहिले नामर्द मेट्नुपर्छ हजुर
हिम्मत राखे जहिल्यै काममा आउने हिङ बनिन्छ ।

म स्वयम् र मेरो प्रेमलाई सुनाउन म लेख्छु
कलमले अरूलाई प्रेरित बनाउन म लेख्छु
विश्वास गर्न छाडेको धेरै भो भीडको तालीमा
आफ्नै तीतोमीठो उपहार कहलाउन म लेख्छु ।

आफू मिल्न नसक्ने अरूले नै मिलाउनुपर्ने अरे
खाने बेला भने मिलीजुली सबैलै नै रहनुपर्ने अरे
खै कसलाई के भन्नू, हाम्रो झेली नीति नै उस्तो
झरी लाग्दा धमाधम विकासे काम सक्नुपर्ने अरे ।

जात नसोधी एकै पटक हात समाइन् उनले
बात नगरी अपरिचित मसँग रात कटाइन् उनले
आनन्दको त्यस जोसमा होस हराएकै हुँ मैले
पछि पो लकडाउनले भात नपाएको बताइन् उनले ।