‘आजका यी बच्चालाई संस्कृति कुन चराको नाम हो थाहै छैन ।’ अमेरिका बिस वर्ष बसेर फर्केकी मीरा भाउजू गनगनाइन् ।

कम्प्युटरमा गेम खेलिरहेका छोराछोरीले उनको कुरा एक कानले सुनेर अर्कोबाट उडाइदिए । ल्याउनुपर्ने समानको सूची मेरो हातमा थमाएर भाउजू स्नानघर पसिन् ।

लेखिएका कुरा लिएर म आँगनमा उभिँदा उनी मगमग वासना आउने गरी सिँगारपटार गरेर बाहिर निस्किन् । हेर्दाहेर्दै पानी कल नजिक खनखान पारिन् । पानी हालेर हिलो बनाइन् । आफैँले हिलो दलदाल पारेर आफ्नो सुन्दर शरीर कुरूप पारिन् । मलाई भने क्यामेरा म्यानमा नियुक्ति गरेकी थिइन् ।

‘खै; ल्याउनुस् मैले मगाएका सामान !’ यसो भन्दै उनले कौसीको एक छेउमा गमला राखिन् । हिलोले भरिन् । फूलमालाले सजाइन् । धानको बिउ मागिन् ।

‘खोजेर हिँडे देउता भेटिएलान् तर धानको बिउ भेटिएन । चाहिएकै हो भने कुरियरबाट मगाइदिन्छु भनेको छ दोकानेले ।’ यसरी मैले भएको कुरा बताउँदा उनी केही बेर रिसाइन् । मौलिक संस्कृतिलाई भुल्ने भन्दै मेरो नाम भुलक्कड राखिन् ।

अड्को पड्को तेलको धूप भन्दै उनले धानको बिउको साटो दुबो रोपेर सेल्फी लिइन् ।

‘भाउजू, गमला दिवस यसरी पो मनाइन्छ र ?’ मैले सोधेको प्रश्न बिना उत्तर हावामा बिलायो ।