कलेज जाँदाखेरिको मूल सडकको बिहारी मिठाइ पसल । रामशरणले हिजो नास्ता गरे । एउटा हरियो गैंडा दिएर बिल तिरे । फिर्ता पैसा लिऊँ कि नलिऊँ भने जसरी खल्तीमा पैसा हाले । उनी लुसुक्क पसलबाट निस्केर लामोलामो पाइला गर्दै पछाडि फर्कंदै हिंडे । अचानक पुलिस झ्वास्स देखिए । उनको हंशले ठाउँ छोड्यो र अर्को बाटो भएर छड्किए ।

घरमा पूजा थियो । अत्यन्तै व्यस्त पिताले भन्नुभयो, ‘बाबु । एक किलो मिठाइ तुरुन्तै ल्याऊ त ।’

‘अहँ अहँ म जान्न, भाइलाई पठाउनु होला’ रामशरण लप्पकाए । उनी सरासर कोठामा पसे । खल्तीको पैसा निकालेर गन्न थाले, ‘एक सय, दुई सय, … चार सय दस, चार सय पन्ध्र ।’

त्यसपछि रामशरण कलेज जाँदा पनि घुमेर जान थाले ।

केही दिनपछि साथीहरुले सोधे, “तिमी किन बिहारी पसल भएर जान गाह्रो मान्छौ ?”

उसले त्यही फिर्ता आएको पैसा मनमा खेलाइरह्यो ।