५ वर्ष अघि…

नजिकै एउटा हवाई  जहाज दुर्घटना भयो । उक्त दुर्घटनामा थुप्रैले  ज्यान गुमाए ।  कपिलले पनि उक्त समाचार पढ्यो ।

त्यो बेला गहिरो प्रेममा रहेको कपिलले बडो  भावुक हुँदै कल्पिएर शान्तालाई अँगालेरै भनेको थियो, “शान्ता म तिमीलाई वचन दिन्छु कि यदि तिमी कतै यस्तै कुनै अकल्पनीय विपत्तिमा पर्यौ भने म तिमीलाई विश्वको जुनसुकै कुना काप्चामा भए पनि लिन आइपुग्ने छु तिमीलाई खोजी निकाल्ने छु । तिमी बिलकुलै  नअतालिनू । हार नखानू  । मलाई विश्वास गरेर पर्खेर बस्नु है, म जसरी पनि आइपुग्नेछु तिमीलाई लिन ।”

शान्ताले गहभरि आँसु पारी ठूलो विश्वासको साथ “हस्” भनेकी थिई। दुवै कल्पिएर धेरै दिनसम्मै भावुक बनेका थिए ।

५ वर्ष पछि…
शान्तालाई त्यस्तो खालको  विपत्ति त केही आइपरेन तर आज  शान्ता मानसिक डिप्रेसनको सिकार  भएकी छन्  ।  उसले धेरै पटक आत्महत्याको प्रयास गरिसकेकी छन्  । घरी हाँस्छिन् घरी रुन्छिन् घरी टोलाउँछिन्  । शान्ता बेस्सरी बिमार छिन् । अशान्त छिन्  । हो यो बेला  उसलाई  सबैभन्दा बेसी कपिलको जरुरत छ । खोज्दा सहजै भेटिने सहर अथवा भनौं  खोज्नै नपर्ने सहर काठमाडौँ मै छिन् शान्ता । फेसबुक, इन्स्टा, वाट्सएप सप्पैमा सहजै भेटिन्छिन्  तर उसको प्रेमी कपिल अमेरिकाबाट कार्य व्यस्तताले आउन नसक्ने अरे !

पढालेखा अबुझ उसको प्रेमी भनाउँदो कपिललाई कसले सम्झाइदियोस् कि  डिप्रेसनको समस्या  कुनै प्लेन खस्नुभन्दा कम विपत्ति हैन भनेर ।