नन्दलाल आचार्य

घाट पुगेको लास पोल्दिने कोही छैन
सुख-दुःखको पोको खोल्दिने कोही छैन ।

कर्तव्यले बाँधेको जीवन मेरो भोको
पीरव्यथा बुझेर बोल्दिने कोही छैन ।

सगरमाथा उक्लने कोसिस गर्दा थाकेँ
उँभो चढ्दा जोखिम मोल्दिने कोही छैन ।

नुहाउँदा कामले घरमा नानी एक्लै
रुँदै गरेको कोक्रो डोल्दिने कोही छैन ।

थिच्दाखेरी बिमारले प्रेमरस मिसाएर
नुन, चिनी, पानी घोल्दिने कोही छैन ।