नन्दलाल आचार्य

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठूलो व्याधा कहलिन्छन् ।
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने  भ्रमको प्यादा कहलिन्छन् ।
नोट– प्यादा= दूत
डराए स्याल भइन्छ; सोच्न थाले सिंह बनिन्छ
उत्साह राखे प्रेमीसँग मज्जाले झुल्ने पिङ बनिन्छ ।
मर्द हुन मन छ भने पहिले नामर्द मेट्नुपर्छ हजुर
हिम्मत राखे जहिल्यै काममा आउने हिङ बनिन्छ ।
+++
म स्वयम् र मेरो प्रेमलाई सुनाउन म लेख्छु
कलमले अरूलाई प्रेरित बनाउन म लेख्छु ।
विश्वास गर्न छाडेको धेरै भो भीडको  तालीमा
आफ्नै तीतोमीठो उपहार कहलाउन म लेख्छु ।
+++
आफू मिल्न नसक्ने अरूले नै मिलाउनुपर्ने अरे
खाने बेला भने मिलीजुली सबैलै नै रहनुपर्ने अरे ।
खै कसलाई के भन्नु हाम्रो झेली नीति नै उस्तो
झरी लाग्दा धनाधम विकासे काम सक्नुपर्ने अरे ।
+++
जात नसोधी एकैपटक हात समाइन् उनले
बात नगरी अपरिचित मसँग रात कटाइन् उनले ।
आनन्दको त्यस जोसमा  होस हराएकै हुँ मैले
पछि पो लकडाउनले भात नपाएको बताइन् उनले ।
+++