त्यो दिन कहिल्यै नमेटिने गरी मस्तिष्कको गहिराइमा डुबेर रहेको छ । एउटा अनन्त त्रासको घर भनौँ या कहिल्यै नमर्ने अजरअमर हाउगुजी । जे होस् सम्झँदा पनि हावा रोकिन्छ, धड्कन स्तब्ध हुन्छ, नौनारी गल्छ, छाती जल्छ अनि मनको पटाङ्गिनीमा तुफान मडारिन्छ । त्यो दिनको भयानक डरले संसारका धेरै मानिसलाई कहिल्यै नछोड्ने गरी समायो, कतिलाई माटोमुनि दबायो भने सबैको मनमस्तिष्कमा मुटुको खिल बनेर डेरा जमायो ।
त्यही दिन थियो, जुन दिन संसारका अरबौँ अर्जुनपुत्रहरू एकैपटक अकाट्य भयरूपी चक्रव्यूहको जालभित्र जकडिन बाध्य थियौँ । मानौँ, भयङ्कर युद्धविजेता देवीहरू पनि चण्डमुण्डको मायावी नागपाशमा बाँधिएका थिए । हो त्यही दिन थियो, जसले संसारको मुटु हल्लायो, पसिना छुटायो, रगत सुकायो अनि कतिको सिउँदो पुछ्यो, कतिको बुढेसकालको सहारा लडायो, कतिलाई अबोध कालमै टुहोरो बनायो, यस्तै यस्तै बिडम्बनाको घन्टी बजेको दिन ।
त्यो दिन थियो सन् २०१९ डिसेम्बर एकतिस अर्थात् २०७६ पुस १५, जसले त्यही कोरोना नामको महामारीलाई जन्म दिँदै आफैँलाई कुमाता साबित गर्यो । त्यो कालरात्रिबाट आजसम्मको अद्यावधि हेर्दा नेपालमा बाह्र हजारको सीमा पार भइसक्यो भने विश्वभरमा पैँसट्ठी लाखले धर्तीमाताको काखमा चिर निद्रा निदाइसके । अब भने लगभग तीन वर्ष पूरा गर्दै छ, कोरोना भाइरस याने कोभिड–१९ महामारीले ।
विगतका तीन वर्षमा ममा धेरै परिवर्तन आएछ, जुन मैले नै थाहा पाइनँ । आफू वरिपरिको परिवेशले मलाई परिवर्तन गर्यो वा मैले परिवेश परिवर्तन गरेँ, म पत्तो पाउन्नँ । मलाई मात्र यस्तो भएको हो कि सबै मानिसलाई हुन्छ, त्यो पनि मसँग उत्तर छैन । खै किन किन अचेल आनीबानीमा परिवर्तन आएको छ । भन्न त नेपाली समाजले भनेकै छ, नानीदेखिको बानी सिस्नोपानी लाउँदा नि नजानी तर खै यो उखानको अर्थ बङ्ग्याउने गरी कसरी भो त परिवर्तन ? उत्तर त सजिलो छ तर चाहेर पनि यसबाट म छुट्कारा पाउन सक्दिनँ । आखिर किन ?
समाज भयङ्कर युद्धपछिको शान्तिजस्तै कछुवा गतिमा चलिरहेको छ । जताततै त्रासको आगो र अकल्पनीय भयावहको धुवाँ मडारिइरहेको थियो । अब भने न्यु नर्मलको कुरा बढ्दै छ तर अझै स्पष्ट देखिइसकेको छैन । कता हो कता बादलपारि हिमाल खुलेको आभास हुँदै छ । समाज न्यु नर्मलमा जान खोज्ला तर कोरोनाको मानसिक साङ्लो चाहेर पनि छिट्टै चुँडाल्न नसक्ने देखिन्छ । यो कोरोनाको मनोविज्ञान कहिले जाने हो कसैले भन्न सक्दैन ।
प्रसङ्ग ग्रिक भाषाको फोबोसबाट उत्पत्ति भएको फोबियाको हो । फोबियाको अर्थ भयानक डरत्रास भए पनि यो शब्द भने ग्रिक देवताको नाम हो भन्दा अचम्म लाग्ला । ती फोबोस भन्ने देवता निकै डराउँथे रे । खासमा शत्रुको आक्रमणबाट भयभीत भइरहने । यसै परम्परालाई निरन्तरता दिँदै आज पनि विनाकारण वा कुनै डरलाग्दो स्थिति परिस्थितिको सामना गर्दा आवश्यकताभन्दा बढी त्रसित हुने वा त्राहित्राहि हुने रोग नै फोबिया हुन पुगेको हो । अहिले विश्वका अधिकांश मानिसहरू सायद यही फोबियाबाट पीडित छन् । कोरोना आएपछि फोबियाको बजार भाउले नेपालको आयल निगमलाई पछाडि छाडेको हुनुपर्छ ।
मोही माग्ने ढुङ्ग्रो किन लुकाउने ? भात चपाईचपाई खानुपर्छ नत्र ग्यास्ट्रिक हुन सक्छ तर कुरा भने नचपाई गर्दा राम्रो हुन्छ नि है ? हो, आजकल म भिन्न भएको छु, बाथरुम जाँदा होस् वा बेडरुम, बाटामा होस् वा घाटमा, रात होस् वा प्रभात, होटेल होस् वा होस्टेल, दरबार होस् वा घरबार सबैमा सर्तक हुन मन लाग्छ । पाटीमा होस् वा आँटीमा, वधूशाला होस् वा मधुशाला, विद्यालय होस् वा देवालय या भोजनालय नै किन नहोस् जहाँ जाँदा पनि पहिला आफ्नो ज्ञानले भ्याएसम्म सुरक्षित स्थान खोज्न मन लाग्छ ।
खुलेको निलो आकाश छ, सुन्दर वातावरण देखिन्छ, झिल्के घाम उदाएको हुन्छ, चाँदीजस्ता हिमाल टल्केका हुन्छन् तर पनि मनको आकाशमा चिन्ताको कालो बादल सधैँ डम्माडम्मी भइरहने । कहीँ कतै गएर आयो कि सेनिटाइजर लाउन मन लाग्ने, अझ दुईतिन पटक मिचीमिची हात धुन मन लाग्ने । यस्तो किन भइरहेछ , कसैले छोएको पैसा एकदुई दिन बाहिरै जुत्ता र्याकमा राखेर बल्ल भित्र्याउन मन लाग्ने । त्यत्ति मात्र कहाँ हो र, ढोकाको छेस्किनीसमेत सफा गर्न मन लाग्ने, अझै पसलबाट ल्याएका सामान साबुन पानीले धोएर बल्ल भोज्य बनाउन मन लाग्ने ।
मलाई स्मरण छ, कोही बसेर गएको कुर्सी पनि तातो पानीले धुन्थेँ अझै त्यस्तै गर्न मन लाग्छ भने भिडमा जान भनेपछि बाख्रालाई पानीमा हाम फाल्नु जत्तिकै कठिन हुन्छ । बाटोमा हिँड्दै गर्दा कसैसँग एक्कासि जम्काभेट भइहाले एकछिन सास रोक्ने गर्छु अनि ऊ गएपछि बल्ल लामो सास फेर्न मन लाग्छ । अन्यत्र कतै गएमा सबैले छुने ठाउँमा छोएर ढोका खोल्न मन लाग्दै लाग्दैन । यसो कतै छेउतिर मिलाएर खोल्न मन लाग्छ । यदि छोइहालेँ भने र साथमा सेनिटाइजर छैन भने सातो उड्छ । कतै कोरोना भाइरसले मेरो शरीरमा बसाइँ त सरेन ?
पर्दामा सिरियल आएझैँ कोरोनाले पनि भाग एक, दुई, तिन खेल्न थालेको देख्दा त झन् अचम्म लाग्छ । कहिले नयाँ भाइरस, कहिले कोभिड –१९, कहिले सार्स कोभ टु त कहिले ओमिक्रोन आउन थाल्यो । अझै रोकिएन यसको डर । पुरानोमा बल्लबल्ल बानी परेको थियो । फेरि नयाँ प्रकरणमा के जोडदार विशेषता थपिने हो भयभीत बनाइरहने । आइफोनका नयाँ मोडलझैँ चर्चाको विषय बनिरह्यो कोरोना भाइरस । त्यति मात्रैमा समाप्त भएन भागहरू क्रमशः आउँदै गए ।
संसाररूपी बृहत् प्रेक्षालयमा हामी मानिसरूपी निरीह दर्शकहरू अरिङ्गालले आक्रमण गर्न लागेका माहुरीझैँ जिरिङ्ङ जिरिङ्ङ हुँदै कहिले यसको सामना त कहिले नयाँ प्रकरणको प्रतीक्षा गर्न थाल्यौँ । यस स्थितिबाट डरको डिग्री ह्वात्तै बढेर अन्तिम बिन्दुमा अडिन्थ्यो । अनि धेरैलाई मृत्युको मुखमा धकेलेपछि फेरि आए कप्पा हुँदै डेल्टा भेरियन्ट ।
कोरोनाको उत्परिवर्तन देख्दा जसै यसैले लाने भो जस्तो लाग्थ्यो । यसपछि चिन्ताको कालो रङ पुरै मुहारभरि मडारिन्थ्यो । मुटुको धड्कन तीव्र गतिमा हान्न सुरु गर्थ्यो । यस्तै तरङ्गित भएका बेलामा एउटै थालमा खाएको साथीको हार्दिक श्रद्धाञ्जलि आउँदा टाउको भननन पारेर दिउसै अँध्यारो हुन्थ्यो । अझ सेना लगाएर गरिएको अन्त्येष्टि जसमा कोही आफन्तले पनि छुन नपाइने । यसले मनभित्र केही अङ्ग नै नभएझैँ खङ्रङ्ङ पार्थ्यो ।
सधैँका साथी रेडियो, टिभी र समाचार दिने पोर्टलहरू भयत्रस्त बनाउने साधन बनेका थिए र छन् । मानौँ यमराजका दूत हुन् जसले मृत्युको सन्देशबाहेक केही ल्याउन सक्दैनन् । मानिसका मृत्युका दर्दनाक घटना सुन्नुपर्छ जसले त्रासको आगो झन् फैलिन्छ भनेर समाचार नसुनेको पनि निकै धेरै भो । अचेल बिबिसीतिर केके भाछ खै मलाई केही थाहा नै छैन ।
एक दिन कुरैकुरामा मेरा साथी जो डाक्टर पनि थिए उनैसँग सबै कुरा खोल्न पुगेछु । उनले लामालामा आँखीभौँ माथि उचाल्दै तपार्इँलाई जर्मोफोबिया एक्चुअल्ली कोरोनफोबिया भएछ भन्दा त म झन् झसङ्ङ भएँ । उनले अझै थपे, “सामान्य फोबियाबाट विशिष्टमा नै पुगिसक्नुभएछ ।” हो साथी मलाई जर्मोफोबिया भएको रहेछ । कुनै पनि सामानमा जर्मस् छन् कि भन्दै डराउँदै गर्ने र तनावग्रस्त हुने । यसका कारण मेरो गुाणात्मक जीवनमा पनि ठुलै सङ्कुचन आएको छ ।
अहिलेलाई यत्ति भन्न चाहन्छु मलाई जर्मोफोबिया भइहाल्यो तपाईँ बच्नुस् है । नत्र यो कोरोनाको फोबियाले भित्रभित्रै खोक्रो पार्नेछ जसले गर्दा मृत्युभन्दा भयानक जिन्दगी बाँच्नुपर्नेछ अनि नचाहेर पनि उही नेपाली उखान भन्नै पर्ने हुन्छ – बहादुर एकपल्ट मर्छ काँतर सयपल्ट मर्छ भनेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।